-लुसुन

काशनका लागि केथे कल्वित्जका कृतिहरूको संकलन गरिरहँदा मैले सुश्री यज्ञे स्मेडलेसँग एउटा भूमिका लेखिदिन अनुरोध गरें । यो मलाई खुबै सुहाउँदो लाग्यो, किनभने तिनीहरू दुवै मिल्ने साथीहरू थिए । भूमिका तयार हुनासाथै मैले माओ तुनद्वारा  त्यसको उल्था गर्न लगाएँ र अहिले यो चिनियाँ संस्करणमा देखा परेको छ । त्यसमा रहेको एउटा हरफ यस्तो छ–
“यी सबै वर्षहरूमा, आफूलाई दिइएका कुनै पनि उपाधिहरू कहिल्यै पनि प्रयोग नगर्ने केथे कल्वित्जले धेरै रेखांकनहरू, सिसाकलम र मसीका चित्रहरू, काठका कुंदाईहरू र ब्लक बनाउने धातुमा कोरेर बनाइएका चित्रहरू बनाएकी छिन् । तिनलाई अध्ययन गर्दा हाम्रा सामु दुईवटा मुख्य विषयहरू खुलस्त हुन्छन् । तरूनो छँदा उनका मुख्य विषय विद्रोह थियो, तर पछिको विषय मातृवत प्रेम, रक्षात्मक मातृ–भावना, सरसहयोग र मृत्युका भावनाहरू हुन् । उनका सबै कृतिहरू दुःखको विजोगको र थिचिएका मिचिएकाहरूलाई रक्षा गर्ने जोशिला भावनाले छताछुला छन् ।
“एक चोटि मैले उनीसँग सोधें, आफ्नो पहिलेको विद्रोको विषयको साटो अहिले तपाई किन मृत्युको भावनाबाट पन्छिन नसकेको जस्तो देखिनुहुन्छ ? उनले उराठिलो स्वरमा भनिन्, मेरो उमेर झन्झन् ढल्कँदै गएकाले यस्तो भएको हुनसक्छ… ।” यहाँनेर मैले गम्न छाडें । उनी ४३ वा ४४ वर्षकी हँुदा नै उनले मृत्युलाई आफ्नो विषयका रूपमा पहिलोपल्ट लिएको १९१० तिर हुनुपर्छ, मैले हिसाब लगाएँ । वास्तवमा मेरो आफ्नै उमेरले गर्दा म यसबारे गम्न छाड्छु । मलाई सम्झना भएअनुसार गोडा बाह्र वर्षअघि मृत्युबारे मेरो यस्तो धारणा थिएन । के कुरामा कुनै शंका छैन भने हाम्रो जीवनसित यसरी अपर्झट आइपर्ने कुराहरूले भरिएको, केही भाउ नभएको र कुनै काम नलाग्ने कुरासित यसरी पहिलेदेखि नै व्यवहार गरिएको छ । हामीहरू यसलाई यूरोपियालीहरूले झैं गहिरिएर नलिई असाध्य हलुँगो पाराबाट हेर्छौं । चिनियाँहरू मृत्युदेखि निक्कै तर्सन्छन् भनी केही विदेशीहरू भन्छन् । तर यो साँचो कुरो होइन । साँच्चो कुरो त के हो भने हामीहरूमध्ये धेरैजसो मानिसहरू मृत्युको ठीक अर्थ के हो भन्ने कुरा राम्ररी नबुझिकन नै त्यसै त्यसै मर्छौं । मरेपछिको जीवनमा विश्वास गर्ने चलनअनुसार मृत्युप्रतिको आकस्मिक दृष्टिकोणलाई अझ दरिलो पार्छ । हरेक व्यक्तिले थाहा पाएकै कुरा हो, हामी चिनियाँहरू भूतप्रेतमा पत्यार गर्छौं हालसालै तिनलाई आत्मा वा प्रेतात्मा पनि भन्ने गरेका छन् र प्रेतहरू भएको हुनाले मृत्युपछि मानिस भएर रहन नसके, नहुने मामाभन्दा कानो मामा निको भने झैं हामीहरू प्रेत भएर त रहन सक्छौं । तर प्रेत जीवनको आयुको कल्पना र निधो मानिसको सम्पत्तिको हिसाबले गरिन्छ । बौद्धिक शिक्षाअनुसार मरेपछि तिनीहरूको आत्मा अर्को जिउमा भित्रिन्छ भनी गरिबहरू चिताउँछन् जस्तो लाग्छ । तर बुद्ध धर्ममा सिकाइएको पुनर्जन्मको कुरा निक्कै जटिल छ, यो कुनै किसिमबाट पनि त्यति सजिलो छैन । । तर गरिबहरू खासगरी अज्ञानी छन् र उनीहरूलाई यो कुरा थाहा छैन । त्यसैले त हो नि प्राणदन्ड दिनाका लागि मार्ने ठाउँमा लैजाँदा अपराधीहरू धेरैजसो बेला डर देखाउँदैनन्, बरू चिच्याउँछन्, “आजभन्दा बीस वर्षपछि म फेरि मोटोघाटो हुनेछु” फेरि चलिआएको चलनअनुसार प्रेतले पनि मर्ने बेलामा लाएकै लुगा लाउँछ र गरिबहरूसित राम्रो लुगा नहुने हुनाले तिनका प्रेतहरूले पनि राम्रा लुगा लाउन पाउँदैनन् । उनीहरूका लागि तुरून्तै अर्को बच्चा भएर जन्मिनु धेरै जाति कुरा हो । भर्खरै जन्मेको बच्चोले माग्नेको झुत्रो झाम्रो र पौड्ने लुगा लगाएर जन्मेको तपाईले कहिल्यै देख्नुभएको छ ? अहँ, कहिल्यै छैन होला । त्यसो भए बेस भयो । यो एउटा राम्रो थालनी हो । कसैले यस कुरालाई काट्न सक्छ–तिमी पुनर्जन्ममा विश्वास गर्छौं भने अर्को जन्ममा यो भन्दा खराब पनि त हुन सक्छ वा पशु पनि त हुन सक्छ । कस्तो डरलाग्दो कुरा” तर गरिबहरूले यसरी विचारेका देखिंदैन । तिनीहरूलाई पछि गएर पशु हुनेछौं भनी सराप्ने हो । भने आफूले त्यस्तो अचाक्ली पाप गरेकै छैन भन्ने तिनीहरूको दरो विश्वास हुन्छ किनभने त्यस्तो पाप काम गर्न न तिनीहरू त्यस्तो अवस्था नै छ न त तिनीहरूसँग शक्ति र पैसा नै छ ।
फेरि अवस्था, शक्ति र पैसा भएकाहरूले पनि तिनीहरू पशु हुनुपर्छ भनेर विश्वास गर्दैनन् कि त तिनीहरू ऋषिमुनि हुनाका लागि बौद्धमार्गी हुन्छन् वा कन्फुसी शास्त्रहरूको अध्ययन गर्न र कन्फुसी ऋषिमुनि बन्नाका लागि पुराना पद्धतिहरूमा लाग्ने कुराको प्रचार गर्छन् । बाँचिरहँदा जसरी तिनीहरू माथिल्ला वर्गमा रहने कुरा चिताउँछन् त्यसरी नै मरिसकेपछि पनि पुनर्जन्मबाट फुक्का हुने कुरा चिताउँछन् । अलिकति पैसा हुनेहरूको हकमा तिनीहरू पनि पुनर्जन्मबाट फुक्का हुने कुरा चिताउँछन् तर ठूल्ठूला आकांक्षाहरू र योजनाहरू आफूसित नभएकाले तिनीहरू नम्र भएर भूत प्रेत हुन पर्खिरहन्छन् । तिनीहरू ५० वर्ष पुगेपछि चिहान खोजिहिंड्छन्, मुर्दा राख्ने बाकस किन्छन्, तिनीहरूका छोरा नातिले हरेक वर्ष केही ख्वाउन् भनेर वल्लो देशको बैंकमा खाता खोल्न भनी नोटहरू जलाउँछन् । साँच्चै, पृथ्वीमा जिउनुभन्दा यो बढी रमाइलो कुरा हो । मेरा यी नाति पनातीहरूको संसारमा अहिले म प्रेत भएको भए मैले मेरा कृतिहरू यसरी एक एक गरी बेच्न पर्दैनथ्यो वा पेशीन प्रकाशन गृहसित आफ्नो पारिश्रमिकका लागि हात जोडिहिंड्न पर्दैनथ्यो होला । म त्यसै आफ्नो “नम्बु” मा अर्थात् देवदारू काठबाट बनेको लास राख्ने बाकसभित्र मजासित बस्न सक्थें र हरेक चाड पर्वमा वा हरेक नौलो वर्षमा मेरो अघिल्तिर मीठा खानेकुरा र नोटहरू राखिन्थे होला जिन्दगानी भनेको त्यस्तो हुनु पो ¤”
साधारण रूपमा पातालका ऐन कानुनले नबाँधिएका ठूला र धनी बाहेक गरिबहरू तुरून्तै पुनर्जन्म पाउने इच्छा गर्थे, तर उता सुबिस्तामा पालिएकाहरू भने जति सक्यो उति धेरै समयसम्म प्रेत भइरहन चिताउँथे । ती सुबिस्तामा पालिएकाहरू प्रेत भइरहन खोज्थे किनभने तिनीहरूको प्रेत जीवन पनि पृथ्वीमा तिनीहरूले बिताउने गरेको जीवनकै एउटा क्रम हो र तिनीहरू यसबाट थाकेका पनि छैनन् । (यसो भन्नु नमिल्दो देखिन्छ तर यसभन्दा रामरी भन्ने अर्को बाटो मैले भेट्टाउन सक्दिन ) साँच्चिको कुरा के भने पातालमा निक्कै कठोर र न्यायी शासकहरू छन् तर तिनीहरूले ती प्रेतहरूका लागि सुविधाहरू पु¥याउँछन्, पृथ्वीका असल अधिकारीहरूले झैं तिनीहरूले ती प्रेतहरूबाट कोसेलीहरू लिन्छन् भनौं, पाउँछन् । 
त्यसपछि आफू मरिरहँदा समेत पनि मृत्युबारे नसोच्ने अलि असाधारण खालका मानिसहरू छन् र म त्यही काँटको हुँ । तीस वर्ष अगाडि ओखतीको विषयमा अध्ययन गरिरहेको विद्यार्थीका हैसियतले मैले आत्माको अस्तित्वको समस्याबारे गमी हेरें । तर कुरा कसरी टुंग्याउने हो मलाई थाहा हुन सकेन । पछि मृत्यु दुःखपूर्ण छ कि छैन भन्ने विषयमा विचार गरें र यो कुरा अवस्था हेरेर भिन्नाभिन्नै हुन्छ भनी टुंगो लगाएँ । त्यसपछि मैले यसबारे गम्न नै छाडें र पछि गएर यस्ता कुराहरूलाई बिसें पनि । गएका दश वर्षभित्रमा मैले मेरा साथीहरूको मृत्युबारे कहिलेकांही केही लेखेको थिएँ, तर साँच्चै भनुँ भने मेरो आफ्नो मृत्युका विषयमा कहिल्यै पनि सोचिन । गएका दुई वर्षमा म निक्कै लामो र साह्रो विरामी परें र बरोबर यस कुराले मलाई म बुढो हुँदै गइरहेछु भन्ने कुरा औल्याइरहेको थियो । हुन त अरू लेखकहरूसितको मेरो मितेरीपूर्ण सम्पर्कले गर्दा बरोबर मलाई यस कुराको हेक्का भईनै रहेको छ ।
पोहोर सालदेखि विरामीबाट निको भइसकेपछि बेतको मेचमा बसेर अब के गर्ने, कुन लेखक लेख्ने, कुनचाहिं किताब अनुवाद गर्ने र कुन चाहिं प्रकाशित गर्ने भनी सोच्थें । मेरा योजनाहरू बन्थे, म ठोकुवा गर्थे–“लौ हुन्छ तर मैले चाँडचाँडो गर्नुपर्छ ।” मलाई पहिले कहिल्यै नलागेको यो चाँडचाँडोको भावनाचाहिं चालै नपाइकन मैले आफ्नो ढल्केको उमेरबारे सोच्न थालेकोले हुनुपर्छ । तर अझै मैले मृत्युबारे सोझै कहिल्यै सोचिनँ ।
यस वर्ष म साह्रै विरामी भएँ र त्यस कुराले मलाई मृत्युबारे केही गम्न लगायो । मैले चिनेजानेको एक जना जापानी डाक्टरमा भर परेर मैले पहिले जस्तै आफ्नो रोगको उपचार गरिरहें । ट्यूबरकुलोसिसको विषयमा सिपालु नभए तापनि मेरो चिनजानका, मभन्दा अघि ओखतीसम्बन्धी अध्ययन गरेको र राम्रो अनुभवी र पुरानो भएकाले ऊ मसँग खुलस्त कुरा गर्ने गर्छु । हुन त रोगीलाई डाक्टरले जतिसुकै चिने तापनि केही कुरा लुकाएरै कुरा गर्छ तर उसले मलाई कमसेकम दुई तीन चोटी जनाउ दियो, तर मैले भने केही वास्ता गरिन र कसैलाई भन्न पनि भनिन । यसपाली सके म लामो समयसम्म बिरामी परेकाले हो वा निक्कै साह्रो नै भएकोले हो मेरा साथीहरूले मलाई केही नभनीकन मलाई जचाउन एकजना अमेरिकाली डाक्टर ल्याए ।  ऊ शाङघाईमा रहेको टि.बी. विशेषज्ञ पश्चिमा–डाक्टर हो । उसले मलाई जाँचिसकेर मेरो विशेष खाले प्रतिरोधात्मक शक्तिको बखान ग¥यो र उसले के घोषणा ग¥यो भने मेरो मृत्यु नजिकै आइपुगेको छ र के थप्यो भने म यूरोपेली भएको भए पाँच वर्षअघि नै चिहानभित्र पुगिसक्थें होला । यस भनाइले कमलो हृदय भएका मेरा साथीहरूलाई धुरूधुरू रूवायो । पश्चिममा अध्ययन गरेको र पाँच वर्षअघि नै मरिसक्ने रोगीलाई ओखती लेख्ने त्यसतो डाक्टरसँग के ओखती लेखाउने भनेर मैले ओखती लेखाइनँ । तर उसको जाँच भने साँचो ठहरियो । पछि मैले मेरो छातीको एक्सरे लिन लाएँ र त्यसमा उसको जाँच धेरै सही निस्क्यो ।
उसले भनेको कुरामा मैले ध्यान नदिएको भए तापनि उसको कुराले अलिकति प्रभाव पा¥यो । मैले कुरा गर्ने, पढ्ने र खबर कागतहरूसम्म पनि उठाउन नसक्ने भएर पल्टेरै दिन काटें । मेरो मन “पुरानो इनार झैं बिरानो” नभएकोले मैले विचार गर्नुपथ्र्यो र कहिलेकांही म मृत्युको विषयमा पनि विचार गर्न पुग्थें । तर “बीस वर्षपछि म फेरि मोटाघाटो मानिस हुनेछु” वा मुर्दा राख्ने बाकसभित्र धेरै समयसम्म कसरी बस्ने हुँला भनेर छक्क पर्नु साटो मृत्युभन्दा अघि उब्जिने नचाहिंदा कुराहरूसित गम्न थाल्छु । मानिसहरू मरेपछि प्रेतमा फेरिन्छन् भनेर विश्वास नगरेको अहिले मात्र हो । यसले गर्दा एउटा इच्छा पत्र लेख्ने कुरा मेरो मनमा आयो र मैले गमें–म धेरै सम्पत्ति भएको मान्छे हुँदो हुँ त मेरा छोराहरू र ज्वाइँहरू र अरूहरूले उहिल्यै इच्छापत्र लैख्न मलाई करलाई सकेका हुन्थे होलान् तर मेरो अघिल्तिर यस्तो कुरा कसैले उठाएको छैन । त्यसो हुँदाहुँदै पनि म एउटा इच्छा पत्र लेखेर छाड्न चाहन्छु । मैले आफ्नो परिवारका लागि केही विषयहरूबारे सोचिसकेको छु जसमध्ये–
(१) मलामीका लागि कसैबाट एक दाम पनि नलिनु यो कुरा मेरा पुराना साथीहरूमा लागु हुनेछैन ।
(२) छिटै नै सबै कुरा पन्छाउनु, मलाई गाड्नु र छाडिदिनु ।
(३) मेरो सम्झनामा केही पनि नगर्नु ।
(४) मलाई बिर्सेर आफ्नो काममा लाग्नु, त्यसो गरेनौं भने तिमीहरू सिल्ली हौ ।
(५) छोरो ठूलो भएपछि उसमा कुनै त्यस्तो योग्यता छैन भने पेट पाल्नाका लागि कुनै पनि काम गर्न लगाउनु, नाउँ मात्रको लेखक वा कलाकार बन्न नलगाउनु ।
(६) अरूहरूले गरेका बाचाहरूमा कहिल्यै भर नपर्नु ।
(७) अरूहरूलाई दुःख दिने, साटो फेर्ने कुराको विरोध गर्ने र सहनशीलताको प्रचार गर्ने मानिसहरूसित कहिल्यै नलाग्नु ।
यस्तै अरू विषयहरू पनि छन् तर मैले ती सबै बिर्सिसकें । म बिरामी हुँदा मैले एउटा के कुरा सम्झेको थिएँ भने यूरोपका मानिसहरू मर्ने बेलामा आफूले अरूसित क्षमा माग्ने र अरूहरूलाई क्षमा दिने खालको एउटा समारोहको आयोजना हुन्थ्यो वा गरिन्थ्यो । यता मेरा पनि थुप्रै बैरीहरू छन् र अचेलका कुनै व्यक्तिले यस विषयमा मेरो विचार सोधे भने मैले के भन्नुपर्ला ?
केही छिन विचार गरिसकेपछि मैले उसलाई के भन्नुपर्ने हो ठम्याएँ । तिनीहरूले मलाई घृणा गर्दै जाउन् म पनि तिनीहरूमध्ये कसैलाई पनि माफी दिन सक्तिनँ । तर त्यस्तो कुनै समारोहको आयोजना भएन र मैले इच्छापत्र पनि लेखिन । कहिलेकांही मेरो मनमा मन नै बिझाउने खालका विचारहरू आउने गर्थे र म त्यसै चुप लाएर बस्थें र त्यसबेला म मर्न लागिरहेछु क्यारे भन्ने लाग्थ्यो तर त्यो त्यति साह्रो दुःखको कुरा भएन । वास्तवमा मर्ने बेलामा यस्तो हुन सक्दैन तर जीवनमा एकचोटी मात्र मर्नु पर्ने भएकोले म यसलाई मान्न पनि सक्छु । पछि कसो कसो म राम्रो हुँदै आएँ । अहिले म छक्क परिरहेको छु–मर्नुभन्दा अघिको अवस्था त्यस्तै पो हुने हो कि ? साँच्चै नै मर्न लागिरहेको मान्छेको मनमा यस्ता विचारहरू चढ्न सक्दैन होला त । हैन, साँच्चै नै हुने होला त भन्ने कुरा म अझै जान्दिनँ । (लुसुनका निबन्धहरुबाट)