बाहिरी संसारको मिठो कल्पना गर्दै
आमाको गर्भमा हुर्किँदै गरेको
त्यो सानो भ्रुण,
जब, छोरी हो भनी गर्भमै उसको
लिङ्ग पहिचान हुन्छ,
तब,आफू छोरीको नाममा
तुहिन्छु कि भन्ने त्यो त्रासको अगाडि
सुन्दर सपना, अनि
संसार स्पर्स गरुँला भन्ने बृहत् खुशी
त्यो बेला उसको लागि क्षणिक बन्न पुग्छ
यो हो छोरीको
पहिलो भयभित र त्रासमय जीवन

जता गयो त्यतै
पितृसत्तात्मक व्यवस्था भन्दै
अझै पनि
छोरीमाथि अनेकौँ प्रहार गर्ने
यो मेरो देशमा
पुस्ताहरूको वंश बचाउन
बाउबाजेको गैरी राख्न
अंशभोग गर्न छोरा खोज्ने
यो मेरो समाजमा
छोराको चाहना लिएर
अदृश्य वस्तुमाथि अन्धविश्वास राख्दै
दिनरात प्रार्थना गर्ने परिवारभित्र
छोरी जन्मदा
छोरीप्रति आमाको ममता र मायाको
उच्च मूल्य भएता पनि
छोरी जन्माएको निहुँमा
श्रीमान र छोराब्रत परिवारले
आलो सुत्कोदेखि जीवनकालसम्म
दिएको त्यो असह्य पीडाको अगाडि
त्यो ममताको घडी निर्मम बन्न पुग्छ
यो हो
त्यहीँ श्रीमानकी श्रीमती
त्यहीँ परिवारकी बुहारी
अनि, हामी सबकी आमाको
दोस्रो भयभित र त्रासमय जीवन

छोराको चाहना लिई मरिहत्ते गर्ने घरमा
छोरीको जन्म हुँदा,
उक्त घरको मानमर्यादा र प्रतिष्ठामाथि
औँला उठ्छ कि भन्दै
नमिठो कल्पना गरेर छोरीप्रति गरिने
छुट्टै प्रकारका अविश्वासको डोरी बाट्ने
यो समाजले गर्दा
आजको यो समयमा पनि छोरीहरू
साक्षर हुन् या निरक्षर
शिक्षक हुन् या विद्यार्थी
मालिक्नी हुन् या दासी
साहसी हुन् या हतासी
दायित्वबोध र देश हाक्ने नेत्री हुन्
या घरगृहिणी
डाक्टर, पाइलट, इन्जिनियर, समाजसेवी जस्ता
देशका क्षमतावान नारी हुन्
या साधारण महिला नै किन नहुन्
आखिर छोरी त छोरी नै हुन्
जसलाई
यो समाजले शारीरिक अशक्तताका साथै
उर्जाहीन, बौद्धिक क्षमताहीन
र, अबोध प्राणीको रूपमा स्वीकार्दै आएको छ
अन्ततः
हाम्री महान् आमा—सक्षम नारी
छोरीचेली, महिला दिदीबहिनीहरू
त्यो साँघुरो सोचाइको पालादेखि
अहिलेको बृहत् सोचाइको पालासम्म पनि
हिच्किएर हिँड्न बाध्य छन्
कारण यो हो कि
उनिहरुलाई मिठो बोल्दा डर छ
तितो त झन् अपच र असह्य हुने
राम्रो पहिरन गर्दा पनि डर भयो ।
कुपहिरहनले त झन् चरित्र औल्याउने
भद्र बन्यो खेपैपिच्छे मरिने डर भयो
अभद्रले त झन संस्कारलाई औल्याउने
हास्यो, उत्ताउलोको सङ्ज्ञा पाउने डर भयो
निरासी त झन् निराशावादी हुन्छ
यस्तै यस्तै कहानीले भरिएको
जति पोखे पनि नसकिने
जति तान्यो उति लम्बिने
एक पीडाभित्र सङ्घर्ष अनेक रहेको
चुनौती नै चुनौतीले भरिएको
यो आधा धर्ती ओगटेका
ती नै छोरीहरूको
बेग्लै भयभित र त्रासमय जीवन

अब छोरीनारीहरू
चुनौतीदेखि भाग्ने होइन
रोएर अधिकार माग्ने होइन
निडर भई सबै छोरी मिली
हिंसा विरुद्ध आवाज उठार्इ
दमन विरुद्ध औँला ठड्यार्इ
सफलताभित्र समानता ल्याउने छ
ती छोरी
जो बाहिरी संसारको स्पर्श गर्न नपाउदै
गर्भमै पतन हुन्छे
जन्मिसके पनि बालकदेखि
वृद्धावस्थासम्म असुरक्षित महसुस गर्छे
ती आमा,
जसले छोरी जन्माएको निहुँमा
हरेक यातना सहेर बसेकी हुन्छिन्
ती बुहारी,
जसलाई दाइजो नल्याएकै निहुँमा
ज्युँदै जलाइएको हुन्छ
हो, उनीहरुको मुक्ति र न्यायका लागि
हामी छोरी जुर्मुराउनु आवश्यक छ
बलात्कारको सिकार होइन
बलात्कारीको शिकारी बन्नु छ

हामी अदम्य साहस लिएर
एकता र समानताको बिगुल फुक्दै
निरन्तर लाग्दाखेरि
त्यो बेला पक्कै पनि
हाम्रो न्याय, अधिकार र मुक्तिका लागि
अरूले आवाज उठाइरहनु पर्ने छैन
हामी छोरीचेली,
आफ्नो मुक्तिको बाटो आफै खन्नु छ
आफूलाई परिवर्तन गराई
परिवार, समाज र देशले छोरीप्रति
हेर्ने दृष्टिकोणलाई फेर्नु छ
हामीलाई हिम्मत दिलाउने
देशविदेश र विश्वभरिका लाखौँ
छोरीहरुको गौरवान्वित उदाहरण छन्
त्यहीँ उदाहरणलाई हेरेर
प्रभावशाली छोरीको सूचीमा हामीले
प्रत्येक छोरीको नाम कोर्नु छ
जहाँ
छोराछोरीको भेदभाव नहोस्
छोरीलाई आँखा चिम्लेर विश्वास गरियोस्
यो समाजमा भयभित भई बस्न नपरोस् ।