कमानसिंह लामाका अनेक व्यक्तित्व थिए। मूलतः उनी कम्युनिस्ट आन्दोलनका एक निष्ठावान् सिपाही थिए। तर उनको व्यक्तित्व यतिमा मात्र सीमित भएन। आफ्नो जीवनको अन्तिम समयसम्म सक्रिय लामा एक कूटनीतिज्ञसमेत हुन् भने ‘करिअर’का सुरुवाती दिनमा कुशल शिक्षक। २००८ फागुन ९ गते चन्द्रसिंह लामा र आमा मिश्रीमाया लामाका छोराका रूपमा काभ्रेको चौरीदेउराली गाउँपालिकामा जन्मिएका उनै लामाको कोरोनाका कारण बुधाबर त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ। यही मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए। लामाको जीवन एउटा चलचित्रजस्तै छ। समय समयमा आएका फरक फरक जिम्मेवारीमा उनी सधैं ‘फिट’ रहे। उनको भूमिका राजनीतिदेखि कूटनीतिसम्म रह्यो।  

लामाले विद्यार्थी कालदेखिनै कम्युनिस्ट राजनीति सुरु गरेका थिए। सुरुवाती दिनमा विद्यार्थी संगठनबाट राजनीतिक गतिविधि सुरु गरेको उनका मित्र तथा नेकपाका नेता देव गुरुङ बताउँछन्।  

२०४८ सालको संसदीय निर्वाचनमा लामा काभ्रेपलाञ्चोक–३ बाट संयुक्त जनमोर्चा (संजमो) का तर्फबाट संसदमा निर्वाचित भएका थिए। उक्त समय संजमोले संसदमा ९ सिट जितेको थियो। लामा दोस्रोपटक एकता केन्द्रबाट २०६३ मा अन्तरिम संसदको सदस्य बनेका थिए। लामा २०३३ सालमा निर्मल लामा नेतृत्वको नेकपा ९चौम० बाट कम्युनिस्ट पार्टीको सदस्य बनेका थिए।  

एक जना क्रान्तिकारी कम्युनिस्टमा हुनुपर्ने शैली उहाँमा रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन्। ‘लामाजी पार्टी र आन्दोलनबाट कहिल्यै विचलित हुनुभएनु,’ श्रेष्ठले नागिरकसँग भने, ‘जनताका मुद्दामा उहाँको सधैँ खरो आवाज रह्यो।’

पछिल्लो समय, नेकपाका केन्द्रीय सदस्य रहेका लामा सन् २०१२ देखि २०१६ सम्म दक्षिण कोरियाका लागि नेपाली राजदूतसमेत भएका थिए। नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री रहेका बेला उनी राजदूत नियुक्त भएका थिए।

२०३८ सालमा नेकपा (चौम) ले युवक संगठन बनाउने भएपछि लामा त्यसमा आवद्ध भएका थिए। २०३८ सालामा भारतको कुशीनगरमा भएको युवक संगठनको भेलामा आफूहरूसँगै रहेको नेता गुरुङ सुनाउँछन्। ‘प्रचण्ड कमरेडलाई भेलाले संयोजक चयन गर्यो,’ उनले भने, ‘लामाजी लगायत हामी त्यसका संस्थापक सदस्य थियौं।’

२०३८ सालमा नेकपा (चौम) ले युवक संगठन बनाउने भएपछि लामा त्यसमा आवद्ध भएका थिए। २०३८ सालामा भारतको कुशीनगरमा भएको युवक संगठनको भेलामा आफूहरूसँगै रहेको नेता गुरुङ सुनाउँछन्। ‘प्रचण्ड कमरेडलाई भेलाले संयोजक चयन गर्यो,’ उनले भने, ‘लामाजी लगायत हामी त्यसका संस्थापक सदस्य थियौं।’

उक्त भेलामा २९ जिल्लाका प्रतिनिधि र पर्यवेक्षकले भाग लिएका थिए। भेलाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयोजक, देव गुरुङ (मनाङ), विष्णु पोखरेल (दाङ), हुकुमबहादुर सिंह (प्युठान), राजेन्द्र श्रेष्ठ (गोरखा), कमानसिंह लामा (काभ्रे), विश्व गुरुङ (कास्की), मोहन घिमिरे (सिन्धुली), मेघराज ज्ञवाली (कपिलवस्तु), किसुन मण्डल (धनुषा), टीकाराम भुसाल (पर्वत), राजकृष्ण श्रेष्ठ (तनहुँ), रामचन्द्र चौधरी (बर्दिया) लगायत १७ जनाको केन्द्रीय संगठन समिति चयन गरेको थियो।  

लामाले पार्टीमा सुरुवाती दिनमा संस्कृतिकर्मीका रूपमा समेत काम गरेका थिए। २०३६/३७ सालतिर चौमले देशव्यापी रूपमा सीमा गीतिनाटक मञ्चन गरेको थियो। निकै चर्चित नाटकमा कमानसिंह लामाले पनि अभिनय गरेका थिए। उनी त्यतिबेला वेदना सांस्कृतिक परिवारमा आवद्ध रहेको गुरुङ बताउँछन्।  

‘लामाजी अत्यन्तै खुला र स्पष्ट वक्ता हुनुहुन्थ्यो। उहाँले कार्यकर्ता वा नेता, जोसँग पनि समान व्यवहार गर्नुभयो,’ गुरुङले भने, ‘स्पष्टता र खुलापन उहाँबाट भावी पुस्ताले सिक्न जरुरी छ।’  

आदिवासी जनजातिका पक्षमा लामाले खेलेको भूमिका सह्रानीय भएको गुरुङ बताउँछन्। पार्टीका बैठकमा समानुपातिक र समावेशीताका मुद्दा निरन्तर उठाउनेमा उनी पनि पर्छन्। नेपाली कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह लामा हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल बताउँछन्।  

लामो समय एउटै पार्टीमा कम गरेको स्मरण गर्दै नेकपा मशालका महामन्त्री मोहनविक्रम सिंहले लामाको निधनबाट नेपाली कम्युनिस्ट आदोलनलाई गम्भीर क्षति पुगेको बताए।  

नेकपामा देखिएको विवादबारे समेत लामाले केही समयअघि मात्र सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए। नेकपाको विवाद सैद्धान्तिक नभएको लामाको ठम्याइ थियो।  

उनले लेखेका थिए, ‘नेकपा यदि फुट भए फुट सैद्धान्तिक हो भन्न गाह्रै हुने भयो। म त गाई कि त्रिशूल भनेर पार्टी रोज्न बाध्य हुने भएँ।’

=प्रशान्त लामिछाने