प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

मङ्सिर २८ गते बिहान ९ बजे परिषद्को बैठक बोलाइएको एक सदस्यले जानकारी दिए । उनका अनुसार संवैधानिक नियुक्तिहरूको कार्यसूची राखेर बैठक आह्वान गरिएको छ । “मङ्सिर २८ गते बिहान ९ बजे बैठक बोलाउनुभएको छ । बैठकको कार्यसूची नियुक्तिहरू भन्ने छ,” स्रोतले भन्यो ।

सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबन्डा नमिल्दा ४० भन्दा बढी पद रिक्त छन् । संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेका छैनन् । राष्ट्रिय मानवअधिकार आयोगमा प्रमुखसहित चार आयुक्त खाली छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुखसहित दुई आयुक्त रिक्त छन् । निर्वाचन आयोगमा पनि दुई आयुक्त पूर्ति हुन सकेको छैन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग चार आयुक्त खाली छ । राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित चार आयुक्त रिक्त छ । राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ । त्यहाँ पनि अध्यक्षसहित चार आयुक्त खाली छ । समावेशी आयोगमा अध्यक्ष र तीन आयुक्त, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र चार आयुक्त, मधेसी, थारू, मुस्लिम आयोगले पनि अध्यक्ष मात्रै पाएका छन् । आयुक्तहरू खाली छ ।

प्रमुख प्रतिपक्षी दलका नेता बैठकमा उपस्थित नहुँदा यसअघिका बैठक प्रभावित हुँदै आएको थियो । गत वैशाख ८ गते मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्को गणपूरक संख्या कटौती गर्नेगरी, प्रमुख प्रतिपक्षीको उपस्थितिबिना नै निर्णय गर्न बाधा नपर्नेगरी अध्यादेश जारी गरेको थियो ।