पर्यटन मन्त्रीज्यू नमस्कार,
देश र जनता को अनवरत सेवा गर्ने उदेश्य लिएर एक सम्मानित मन्त्री को ओहोदा मा बसेको पनि एक बर्ष बढी भएको छ ! हजुर जस्तो एक होनहार युवा नेता, शिक्षित, र बौद्धिक ब्यक्तित्व सानातिना भागबन्डा मा अल्झनु हुन्न भन्ने आम बुझाइ छ ! पर्यटन संग सम्बन्धित हरेक को प्रतिनिधित्व गर्ने हजुर को भरोसामा थिलथिलो परेको पर्यटकिय क्षेत्र र सम्बन्धित नागरिकहरु सकारात्मक निर्णयको अपेक्षामा छन् । तर, अनेकन समस्या झेलिरहेको पर्यटकिय क्षेत्रलाई आजकाल मिडियामा आइरहेका अपरिपक्व र अपुस्ट समाचारहरु ले झन थिचोमिचो पार्ने त हैन? आन्तरिक पर्यटनको प्रबर्धनमा लागिपरेका हामि बिदेशी पर्यटकहरु र तिनीहरुले पुर्याएको योगदानको बारे मा सोच्ने बेला आएन र? हो, मन्त्रालयले आफ्नै तरिकाले तयारी गर्दै छ र होला त्यो तपाइ, मन्त्रालयसँग सम्बन्धित कर्मचारी र विभाग लाइ जानकारी होला !

हामी यस क्षेत्रमा कार्यरत पर्यटनकर्मीहरुको जिबिकोपार्जन को मुख्य श्रोत बिदेशी पर्यटकहरु र तिनीहरु का गतिविधिहरु सन्चालन गर्न ढिला भएन र? भन्नुहोला बिदेशी हरु लाइ आउन दिएकै छ नि ! हो दिएको छ तर अनेकन सर्त र पुर्बसर्त को चक्रब्युह मा अल्झाएर, यता बाट उता सिफारिस, पत्र, परिपत्र, जस्ता उल्झन ले पर्यटक हतोत्साहित बन्छ र नेपाल घुम्ने योजना नै रद्ध गर्छ । गत महिना मेरा २ जना पाहुना नेपाल आउने योजनामा थिए । मैले उनिहरुलाई नेपाल आएर क्वारेन्टाइन बस्ने, नबस्ने, कति दिन बस्ने भन्ने स्पष्ट निर्णय दिन सकिन । कारण थियो तपाइँहरुको अस्पष्ट निति र अब्यबहारिक निर्णय । उनीहरुले मेरो दुइतिहाइको सरकारको निर्णय क्षमता माथी नै प्रश्न उठाएर गए, म निरिह भएर सुनिरहे । मन्त्रालयको सूचना निस्कन्छ अनअराइभल भिसा उपलब्ध हुन्छ भनेर, तर त्ब्ब्ल् को सिफारिस, कम्पनीको पत्र र अध्यागमन बिभागको चिट्ठी को झमेलाको बारेमा किन प्रष्ट पारिदैन ? के चिट्ठी र सिफारिस को खाम भित्र कोरोना को औषधि राखेर पठाइन्छ ? सायद नेपालमा कोराना नियन्त्रण गर्न यस्तो नियम बनाउनु भएको होला । अध्यागमन विभागका कर्मचारीहरुले आउन लागेका पाहुनालाई कोरोना लागे–नलागेको थाहा पाउन सक्ने हुन् त ? बिश्लेषण गर्नु होला ।

अनि रह्यो संघ, प्रदेश र स्थानीय तह को समन्वयको बारेमा। तपाईंहरु अब पदयात्रा मा जान सकिन्छ भनेर सूचना जारी गर्नुहुन्छ र व्यावसायि ले उल्झन झेलेरै पर्यटक भित्राउँदछन् । पदयात्रामा निस्किनै लाग्दा समाचार आउछ फलानो गन्तव्य त बन्द भयो रे ! यो करिब ३ हप्ता अगाडि सगरमाथा क्षेत्रमा भएको सत्य घटना हो । तर्क हुन सक्छ एउटा नजादैमा सगरमाथामा जानेको संख्या मा कुनै असर गर्दैन, महोदय एक जना ले नै सिङ्गो देश को प्रतिनिधित्व गर्छ । मनन गर्नु होस कि उक्त पर्यटन व्यावसायि र सिङ्गो राज्यब्यबस्ता को विश्वसनियता कहाँ पुग्यो होला ।
भन्नुहोला अनि सुरक्षा सतर्कता त हुनुपर्यो नि हो अपनाउनु पर्छ सबैलाई ज्यान प्यारो लाग्छ र सुरक्षित हुन चाहान्छ्न तर सबैलाई समान व्यबहार हुनुपर्ने होइन र ? कि नेपाली नेगेटिभ रिपोर्ट लिएर आउँदा खुलेआम घुम्न पाउने र बिदेशी सोही प्रकृया अपनाएर आउदा अनिवार्य क्वारेन्टाइन बस्नै पर्ने हो ? नेपालीले कोरोना सजिलै हाच्क्ष्युँ गरेरै पचाउछ्न र बिदेशीले सक्दैनन् भनेर हो कि हजुर नै बिधिवत हुनुहुन्छ ! मुलुकको अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेको पर्यटकिय क्षेत्र यसैगरी बेवास्ता गर्ने हो भने भोलि नेपाली को टाउकोको ऋणभार बढ्ने बाहेक अरु उपलब्धि होला जस्तो मलाई लाग्दैन । अनि नेपालमा आन्तरिक पर्यटकहरु सुरक्षा सतर्कता बिना खुलयाम यात्रा गर्दा कोरोना नसर्ने तर बिदेशीहरु आफ्नो सुरक्षा आफै गरि नेपाल घुम्न आउँदा कोरोना सर्छ भन्ने बुझाइ कत्तिको सान्दर्भिक हो बिश्लेषण गर्नुहोला । नेपाल लाइ पुग्ने पर्याप्त कोरोना यतै चौतर्फी छ ल्याउनै पर्दैन ।

भन्नुहोला पर्वतीय उडान खोलेको छ, पर्यटकिय क्षेत्र खुल्दै छ्न, मन्दिरहरु खोलिदै छन । तर पर्यटकबिना नै खोलेर कुनै औचित्य छ र ? समाचार आयो पर्यटनकर्मी लाइ जिबिकोपार्जनका लागि सहुलियत ऋण को । प्राय सबै पर्यटनकर्मीहरु उत्साहित थिए । तर अनेकन प्रक्रिया, पर्खाइ र भोगाइ पछि थाहा भयो कि यो त अर्को महिनामानै फिर्ता गर्नुपर्ने नगरे ब्याज बढ्दै जाने पो रहेछ । अनि यो बैंक को कार्ड बिकाउने र ठुला भनिएका सपिङ मलहरुलाइ मोटाउने चलखेल हो ? नत्र एउटा गरिब भरिया र गाइड उक्त कार्ड लिएर एक बोरा चामल र दुइ किलो दाल किन्न सेल्सबेरि र भाट्भटेनि धाउनु ? आखिर समाचार मा आउँदा किन स्पष्ट आउदैन ? कि तपाईंहरुले यो यो कुरा लुकाउनु र पछि दुख दिन सजिलो हुन्छ भनेर आदेश गर्नुहुन्छ ? नत्र हरेक सूचना र गतिविधि हरेक नागरिकले स्पष्ट रुपमा प्राप्त गर्न पाउने अधिकार् संविधान मा किन उल्लेख गरेको ?

यसर्थ, ९–९ महिना सम्म बन्द रहेका होटेल, पर्यटन कम्पनी र समन्धित कर्मीहरु तपाईंहरुको स्पष्ट कार्यनीति र प्रतिक्रियाको अपेक्षामा छन् । पर्यटकिय गन्तव्यहरु पर्यटकहरुलाइ अनवरत कुरिरहेका छन । म जस्ता गाइडहरु काम पाउने आशामा छ्ट्पटिरहेका छन । व्यावसायिहरु पूनर्उत्थान हुने भरोसामा जिवित छन । अन्य समन्धित कर्मचारीहरु जिबिकोपार्जन गर्ने आशामा अझै पलायन भएका छैनन् । तर यस्तै अवस्था रहिरहे बिदेशी नागरिक आउन अझै लामो समय कुर्नुपर्ने र लाखौं को संख्याले यस क्षेत्र छाड्नुपर्ने निश्चितप्राय छ !