नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा हुनुभएको छ । निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका नेता रामचन्द्र पौडेल झण्डै तीन घण्टापछि रिहा हुनुभएको हो ।पौडेलसहित उहाँसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुग्नुभएका पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । पुल उद्घाटनका विषयमा नेपाली कांग्रेस र नेकपा निकट युवा सङ्घबीच विवाद भएपछि प्रहरीले दिउँसो त्यहाँ निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटनका लागि जानुभएका पौडेलसहितका नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले नेता पौडेलको सुरक्षाका लागि उहाँलाई नियन्त्रणमा लिएको बताउनुभयो ।    

रिहापछि काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकाेमा आपत्ति जनाउनुभयो । ‘तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ’, उहाँले भन्नुभयो, ‘उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ ।’ प्रहरी शक्तिको दुरुपयोग गरी काङ्ग्रेसलाई निषेध गर्न खोजिएको भनी उहाँले आपत्ति जनाउनुभयो