ब्राजिलको अमेजन जंगल फडानी सन् २००८ यताकै सबैभन्दै धेरै भएको देखिएको छ । ब्राजिलको अन्तरिक्ष एजेन्सी (इनपे) को पछिल्लो प्रतिवेदन अनुसार अमेजन रेन फरेस्टमा पछिल्लो १२ वर्ष यताकै सबैभन्दा ठूलो बिनास भइरहेका छ ।

सन् २०१९ को अगस्टदेखि २०२० को जुलाइसम्ममा अमेजनको ११ हजार ८८ स्क्वायर किलोमिटर क्षेत्र फडानी भएको छ । यो अघिल्लो वर्षको भन्दा ९.५ प्रतिशत बढि हो ।

अमेजनलाई विश्वको सबैभन्दा ठूलो अक्सिजन भण्डार र कार्बनडा प्रापकका रुपमा लिइन्छ । विश्वव्यापी रुपमा बढ्दै गएको तापक्रम नियन्त्रणमा लिनका लागि अमेजनको भूमिका महत्वपूर्ण रहेको जलवायु वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

जायर बोल्सोनारो सन् २०१९ को जनवरीमा सत्तामा आएसँगै अमेजन जंगल निशानामा आएको भन्दै वैज्ञानिकहरुले चासो र चिन्ता व्यक्त गरेका छन् ।

विश्वको सबैभन्दा ठूलो रेनफरेस्टमा राष्ट्रपति बोल्सोनारोले कृषि तथा उत्खनन् गतिविधिलाई प्रोत्साहन गर्दै आएका छन् ।

अमेजन ३० लाख प्रजातिका बोटबिरुवा तथा जनावरको आवास क्षेत्र हो । यस्तै अमेजन क्षेत्रमा १० लाख भन्दा बढि आदिवासी समुदायको बसोबास छ ।

बोल्सोनारोले सत्ता सम्हाल्नु पूर्व इनपेले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा अमेजनको सात हजार ५३६ स्क्वायर किलोमिटर क्षेत्र फडानी भएको उल्लेख थियो ।

अहिले फडानी त्यो भन्दा अधिक भएको हो । हाल सर्वाजनिक भएको प्रतिवेदन प्रारम्भिक रहेको र आउँदो वर्ष (२०२१) को सुरुमा पूर्ण आधिकारिक प्रतिवेदन सार्वजनिक गर्ने इनपेले जनाएको छ।

ब्राजिलले वन फडानी कम गर्ने रणनीति लिएको भए पनि वास्तविकता त्यसको विपरित छ । सन् २०२० सम्ममा वार्षिक वन फडानीको दर तीन हजार ९०० स्क्वायर किलोमिटरमा सीमित गर्ने लक्ष्य लिएको छ ।

तर बोल्सोनारोले अमेजन क्षेत्रमा विकासका गतिविधिलाई प्रोत्साहन गर्नुका साथै वातावरणीय कानून उल्लंघन गर्नेहरुलाई कारवाही गर्ने प्रयोजनको बजेट कटौति गरेका छन् ।