नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्वाचनका क्रममा घोचपेच, मनमुटाव भए पनि सबै सकिएको बताएका छन्। महासंघको पदभार ग्रहण गर्दै अध्यक्ष गोल्छाले सबै मनमुटाव हटाएर व्यवसायी एक हुने बताए। ‘निर्वाचनका क्रममा केही थिए भने पनि आजबाट सकिए’, उनले भने, ‘भोलिबाट व्यवसायीको हितका लागि लाग्नेछौं।’ नवनिर्वाचित कार्यसमितिको आइतबार सम्पन्न  पदभार ग्रहण कार्यक्रममा उनले  यस्तो बताएका हुन्।

अध्यक्ष गोल्छाले आफ्ना बुवा र दाजुको महासंघ नेतृत्व गर्ने सपना पूरा नभए पनि आफू नेतृत्वमा आएपछि खुसी व्यक्त गरे। गोल्छाले निवर्तमान अध्यक्ष भवानी राणा पहिलो महिलाका रूपमा नेतृत्वमा सफल रहेको स्मरण गरे। व्यवसायीको हित र कोरोना भाइरसको जोखिममा सफल नेतृत्व गरेको उनले बताए।  विगत तीन वर्षदेखि विधान संशोधनका नाममा गुटउपगुट भएर मानसिक तनाव भए पनि त्यो सिकाइका रूपमा रहेको उनले बताए। सदैव व्यवसायीको हितका लागि लाग्ने उनले बताए। ‘निर्वाचनसम्म प्यानल भए पनि अब हामी सबै एक हौं’, उनले भने । तत्कालका लागि कोरोना महामारीबाट राहत दिन काम गर्ने विश्वास उनले दिलाए। 

अल्पकालीन, दीर्घकालीन र मध्यकालीन नीति बनाएर अघि बढ्ने उनले सुनाए।  निवर्तमान अध्यक्ष भवानी राणाले सरकारसँगै मिलेर चुनौती सामना गर्दै अघि बढ्नुपर्ने बताइन्। कोरोना भाइरस (कोभिड–१९) ले अर्थतन्त्रमा जोखिम आएको भन्दै जोखिम पार लगाउन एकजुट भएर अघि बढ्ने विश्वास उनले दिलाइन्। यसैबीच नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि आइतबार पदभार ग्रहण भएलगत्तै सम्पन्न भएको छ। निवर्तमान अध्यक्ष राणाले वर्तमान अध्यक्ष गोल्छालाई शपथ खुवाएकी थिइन्। वर्तमान अध्यक्ष गोल्छाले अन्य कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यलाई शपथ खुवाएका थिए।

वरिष्ठ उपाध्यक्षमा ढकाल 
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन्। काठमाडौंमा शनिबार सम्पन्न ५४औं वार्षिक साधारणसभा तथा महाधिवेशनपछि भएको निर्वाचनबाट उनी चुनिएका हुन्। 

महाधिवेशनले शेखर गोल्छाको अध्यक्षतामा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन्। यो जितसँगै उनी महासंघको आगामी २०औं अध्यक्ष बन्ने निश्चित भएको छ। 
५० प्रतिशत मतभार रहेको जिल्ला–नगरतर्फ ढकालले ५२ र प्रधानले ५३ मत प्राप्त गरेका छन्।

यस्तै ३० प्रतिशत मतभार रहेको एसोसिएटतर्फ ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत प्राप्त गरेका छन्। २० प्रतिशत मतभार रहेको वस्तुगततर्फ ढकालले ५९ र प्रधानले ३९ मत पाएका छन्।   

ढकालले एसोसिएटतर्फ १७.४६ प्रतिशत मत ल्याएर कुल ५४.२६ प्रतिशत, वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६  प्रतिशत मत प्राप्त गरेका छन्। प्रधानले ४५.७४ प्रतिशत मत मात्रै ल्याउन सफल भए। 

मत परिणामअनुसार महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ प्रधान पक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघाई निर्वाचित भएका छन्। 

यसअघि ढकालले २ पटक कार्यकारिणी समितिको सदस्य र अघिल्लो कार्यकालमा एसोसिएट उपाध्यक्षको भूमिका निर्वाह गरेका थिए।