नेपालको राजनीतिक आन्दोलनमा महत्वपुर्ण परिघटना मध्येको एउटा घटना हो, संविधान सभाको निर्वाचन। विश्वमै दुर्लभ मानिएको संविधानसभाको निर्वाचन नेपालमा भने दुई–दुई पटक भयो।

संविधानसभाबाटै नेपाली जनताका प्रतिनिधिले आफ्नो संविधान आफै बनाएका छन्। दशकौँदेखि जनताले राजतन्त्र विरुद्ध गरेको संघर्षको परिणामस्वरुप संविधानसभाको गठनसँगै गणतन्त्र घोषणा गर्ने कामपनि सफल रुपमा सम्पन्न भयो।

तर, यो मुद्दा नेपालको कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका दुई अग्रज नेताबीच सम्बन्ध जोड्ने कारक बन्यो, तोड्ने कारणपनि। संयोगबस, दुबै नेताको नामसँग मोहन जोडिन पुगेको थियो।

ती दुई नेता हुन्– मोहनबिक्रम सिँह र भरतमोहन अधिकारी। यीमध्ये भरतमोहन अधिकारीको ८२ बर्षको उमेरमा शनिबार (१८ फागुन) मा निधन भयो, नेकपा (मसाल) का महामन्त्री समेत रहेका ८५ वर्षीय सिंह भने अझै पनि राजनीतिमा क्रियाशील छन्।

सर्वप्रथम ‘विधानसभाको निर्वाचनबाट जनताले आफ्नो संविधान आफै बनाउने’ घोषणा २००७ सालको राजनीतिक परिवर्तन लगत्तै गरेका थिए, तत्कालिन राजा त्रिभुवनले। तर, यसलाई राजनीतिक नारा बनाउने र बहसको रुपमा अघि बढाउने काम चाहिँ मोहनविक्रम सिंहले गरे।

र, उनलाई दह्येसँग साथ दिने थोरै नेता मध्येका एक थिए, शनिबार (१८ फागुन) दिवंगत भएका भरतमोहन अधिकारी।

मोहनविक्रम सिंहले नाराकै रुपमा अघि बढाएको संविधान सभामार्फत् संविधान निर्माण गर्ने मुद्दालाई पछिल्लो समय तत्कालिन माओवादीको सशस्त्र विद्रोहले कार्यान्वयनकै तहसम्म पुर्‍यायो। तर, संविधानसभाको निर्वाचन कार्यान्वयनको चरणमा आउनुपूर्व कठिन संघर्षबाट स्थापित भएको नारा थियो।

त्यो मुद्दालाई नेपाली राजनीतिमा स्थापित गर्न अग्रणी भूमिका खेल्ने अग्रणी कम्युनिष्ट नेतामध्ये एक थिए, स्व भरतमोहन अधिकारी। बिसं २०१० को दशकमा मोहनविक्रम सिंहको अगुवाईमा अविभाजित नेकपाले यसलाई नारा बनाउनु पर्ने जोड गर्दा सिँहलाई साथ दिने अग्रणी नेता अधिकारी नै थिए।

सिँह पार्टी कामको सिलसिलामा यतिबेला उपत्यका बाहिर छन्, त्यहीँ उनले भरतमोहनको मृत्युको खबर सुने। भरतमोहन अधिकारीको मृत्युले जति दुःखी बनायो, उनलाई अन्तिम अवस्थामा भेट्न नपाउँदा त्यत्तिकै पछुतो पनि लागेको सिंहले नेपालखबरलाई सुनाए।

मोहनविक्रम सिंह केही दिन अघि उपचाररत भरतमोहनलाई भेट्न मेडिसिटी अस्पताल पुगेका थिए। तर, उनको अवस्था खराब भएको भन्दै चिकित्सकहरुले भेट गर्न दिएनन्। सिंहले भरतमोहन उपचाररत क्याविनको बाहिरबाटै आफ्ना प्रिय सहयात्रीको स्वास्थ्यलाभको कामना गरे। सिँह भेट्न गएको केही दिनपछि नै अधिकारी मेडिसिटीबाट ह्याम्स अस्पताल सारिए, २४ माघमा। त्यहीँ (ह्याम्स अस्पताल) मै शनिबार (१८ फागुन) अधिकारीले संसार त्यागे।

नेपाली राजनीतिमा संविधानसभाको निर्वाचनलाई कसरी जवर्जस्त बहस र आन्दोलनको विषय बनाउन सम्भव भयो? र, त्यसमा भरतमोहनको योगदान कस्तो रह्यो? भन्नेबारे नेता सिँहले नेपालखबरसँगको कुराकानीमा अंश उल्लेख गरे।

सिँहका अनुसार, उनी र स्व. अधिकारीबीच पहिलो भेट विसं. २०१४ सालमा नेपाल कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशनमा भएको थियो। त्यो महाधिवेशनमा सिँह र अधिकारी दुबै प्रतिनिधिका रुपमा सम्मेलनमा भाग लिएका थिए। त्यहीँबाट यी दुई नेताको घनिष्ट सम्बन्ध कायम हुन पुग्यो।

त्यति बेलासम्म नेकपा अविभाजित नै थियो। दोस्रो महाधिवेशनबाट मोहनविक्रम नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। पार्टी महामन्त्री डा केशरजंग रायमाझी थिए।

२०१७ मा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी पञ्चायती व्यवस्था लादेपछि दलहरुका लागि कठिन दिन सुरु भए, राजाको कदमविरुद्ध संघर्ष सुरु भयो। ३० वर्षे पञ्चायती व्यवस्थाका विरुद्ध मोहनविक्रम र भरतमोहन निरन्तर संघर्षका सहयात्री बने।

पञ्चायती व्यवस्था लादिएको अर्काे बर्ष, २०१८ नेकपाको बिस्तारित बैठक सम्पन्न भयो, भारतको दरभंगामा। १ महिना निरन्तरता पाएको यो बैठक ‘दरभंगा प्लेनम’का नामले ईतिहासमा उल्लेखित छ। २४ जिल्लाका ५४ प्रतिनिधि सहभागी दरभंगा प्लेनममा कसरी अघि बढ्ने भन्नेबारेमा पार्टीमा तीन राजनीतिक लाइन प्रस्तुत गरिए, केशरजंग रायमाझीको संसदीय व्यवस्थाको स्थापनाको लाइन, पुष्पलाल श्रेष्ठको विघटित संसदको पुनरस्थापनाको लाइन र मोहनविक्रम सिँहको संविधानसभाको निर्वाचनको लाइन।

तीन नेताले तीन फरक लाइन प्रस्ताव गरेपछि नेताहरु विभाजित भए। पार्टीले कुन नीति लिने भन्नेबारेमा मतदान नै गर्नुपर्ने भयो। मतदान हुँदा मोहनविक्रमले २८ मत पाए, रायमाझीले १७ मत र पुष्पलालले ६ मत प्राप्त गरे।

राजनीतिक लाइनमा सबैभन्दा कम मत पुष्पलालको लाइनले पाएपनि केन्द्रीय समितिको बहुमत पुष्पलालको पक्षमा रह्ये।

अत्याधिक बहुमत प्राप्त गरेको मोहनविक्रमद्वारा प्रस्तुत ‘संविधानसभाको निर्वाचन’ सम्बन्धी प्रस्तावलाई दह्रो साथ दिनेमध्येमा कमल कोइराला, भरतमोहन अधिकारी जस्ता तत्कालिन युवा नेताहरु थिए।

सोही प्लेनमबाट नै नेपालको राजनीतिमा संविधानसभा तीब्र बहसको विषय बन्न पुग्यो।

सिँहका भनाईमा, भरतमोहन नै थिए, जसले पार्टीलाई राजावादी लाईनमा लैजाने केशरजंग रायमाझीको प्रयत्न विरुद्ध तथा संविधानसभाको कार्यान्वयनका लागि कठिन संघर्ष गरे।

राजाको नेतृत्वमा रहेको पञ्चायती शासनले कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो। सरकारी दमनबाट धेरै नेताहरु जेलनेल परेका थिए। दरभंगा प्लेनमपछि एकीकृत कम्युनिष्ट पार्टी मतभिन्नता र नेताहरुको धरपकडका कारण विस्तारै छिन्नभिन्न हुन थाल्यो।

दंरभंगा प्लेनमपछि मोहनविक्रम जेल परे, २०१८ मा। ९ वर्ष जेल जीवन बिताएर सिँह २०२७ मा रिहा भए। त्यतिबेलासम्म कम्युनिष्ट पार्टी छिन्नभिन्न भएर ६-७ समूहमा विभाजित भइसकेको थियो।

‘२०२८ सालमा केन्द्रीय न्यूक्लसको गठन गरेर हामीले पुनः पार्टीलाई एकीकृत गर्ने प्रयत्न गरेका थियौँ, त्यो बेला भरतमोहन अधिकारी पनि केन्द्रीय न्यूक्लसमा हुनुहुन्थ्यो’ सिँहसिंह ले सम्झे, ‘हामीले विभिन्न भट्कावहरूका विरुद्ध सङ्घर्ष गर्दै पार्टीलाई एकीकृत गर्ने प्रयत्न गरेका थियौँ। र, त्यसमा अधिकारीको पनि साथ थियो।’

केन्द्रीय न्युक्लसको सेक्रेटरी थिए, भरतमोहनका दाजु मनमोहन अधिकारी। २०३० को फागुनमा पार्टीले सिरहामा चौथो महाधिवेशन गर्ने निर्णय गरेको थियो। सिँहको दावी अनुसार, ‘तर, पार्टी सेक्रेटरी रहेका मनमोहनले नै महाधिवेशनबारे ‘एक्सपोज’ गरिदिए। त्यसपछि उनलाई कारबाही गरियो र मोहनविक्रमलाई सेक्रेटरी चयन गरियो।’

सिँह भन्छन्, ‘मनमोहनलाई कारबाही गर्ने प्रस्तावमा भरतमोहनको पनि समर्थन थियो।’

पछि मोहनविक्रमले नेतृत्व गरेको नेकपाले २०३१ मा भारतको बनारसमा चौथो महाधिवेशन गर्यो। तर, त्यो ‘एकताको महाधिवेशन’ बन्न सकेन। मनमोहनको नेतृत्वमा बेग्लै महाधिवेशन भयो नेकपा (पुष्पलाल समूह) बन्यो, त्यतिबेलासम्म भरतमोहनले सिँहको साथ छाडेर दाजुलाई साथ दिन थालिसकेका थिए।

बिचारधारात्मक र संगठनात्मक रुपमा अलग रहेपनि सिंह र भरतमोहनबीच ब्यक्तिगत सम्बन्ध सधैँ सुमधुर रहिरह्यो।

‘चौथो महाधिवेशनमा उहाँ उपस्थित हुनु भएन र हामीहरू एक अर्काबाट अलग भयौँ, त्यसपछि राजनीतिक र सङ्गठनात्मक रूपले हाम्रा दिशा र कार्यक्षेत्रहरू बेग्ला–बेग्लै भए’ सिँहले सम्झे, ‘तैपनि, व्यक्तिगत रूपमा मेरो सधैँ उहाँसित घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध रहिरह्यो।’

२०४६ मा पञ्चायती व्यवस्था विरुद्ध संयुक्त जनआन्दोलन प्रारम्भ भयो। त्यो आन्दोलनमा नेपाली कांग्रेस र संयुक्त संयुक्त वाममोर्चा एक भएर पञ्चायत विरुद्ध संघर्ष गरे।

यता, पञ्चायतविरुद्ध संघर्ष गर्न मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा (मशाल) र रुपलाल विश्वकर्मा नेतृत्वको सर्वाहारावादी श्रमिक संगठनसहितको छुट्टै मोर्चा बन्यो, संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति।

राजनीतिक लाइनका दृष्टिले यतिबेलासम्म सिंह र अधिकारी निकै पर पुगिसकेका थिए।

जस्तो कि, २०४६ को जनआन्दोलनको सफलतापछि बनेको संविधान सुझाव आयोगमा भरतमोहन सदस्य थिए। उनी लगायतले दिएको सुझावको आधारमा २०४७ सालमा ‘नेपाल अधिराज्यको संविधान-२०४७’ राजा वीरेन्द्रबाट घोषणा भयो।

आफैले बनाएको संविधान भरतमोहनले नमान्ने कुरा भएन। सिँह भने अझैपनि संविधान सभाबाट संविधान बनाउनु पर्छ भन्ने अडानमा थिए। खासमा यी दुई ‘मोहन’ को राजनीतिक बाटो २०३१ मा नै अलग भइसकेको थियो।

संविधान जारी भएपछि २०४८ को निर्वाचनमा नेपाली कांग्रेस र वाममोर्चामा सम्मिलित घटकहरुले चुनावमा भाग लिए। तर, संविधान सभाको माग, जनआन्दोलनमा धोका भएको र कांग्रेस–वाममोर्चाले राजासँग सम्झौता गरेको भन्ने आरोपका साथ सिँह नेतृत्वको मसालले निर्वाचन बहिष्कार गर्न पुग्यो।

२०३१ को चौथो महाधिवेशनबाट अलग राजनीतिक बिचार र संगठनमा आवद्ध भएपनि नेपालको कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताका यी नेताहरुको संघर्षले धेरै हदसम्म सफलता पाएको छ।

आफ्ना पुराना सहयात्री भरतमोहनको निधनबाट आफू धेरै दुःखी बनेको बताउने सिंह बिरामी भरतमोहनलाई भेट्न जाँदा भेट्न नपाएको र एक्कासी सधैँका लागि गुमाउनुपरेको खबरबाट अझ बढी मर्माहत छन्।

सिंह सम्झन्छन्, ‘स्व अधिकारीसँग नेकपाको दोस्रो महाधिवेशनदेखि नै मेरो संगत भयो, उहाँ एक ईमान्दार र दृढ अठोट भएको नेता हुनुहुन्थ्यो।’विद्यानाथ अधिकारी