अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई बुटवलमा नेपाली कांग्रेस, उसको भातृ संस्था नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका छन्।

गृहजिल्ला पुगेका अर्थमन्त्री पौडेललाई बुधबार बिहान सडकमा कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै प्रदर्शनसमेत गरेका हुन्।

तिनाउ पुल नजिकै उनीहरूले अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाएका थिए। 

अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका थिए।

अर्थमन्त्री पौडेल करिब एक वर्षपछि मंगलबार बुटवल आएका हुन्।

पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाइएको कांग्रेसले जनाएको छ।अर्थमन्त्री पौडेल बुधबार र बिहीबार रूपन्देहीका विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटनमा सहभागी हुने कार्यक्रम छ।

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल थियो। हालै प्रदेशको स्थायी राजधानी दाङ तोकिएको थियो।

यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए।

त्यसबेला नेविसंघले मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेका थिए।