सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि (बुधबार) दिउँसो १ बजे बालुवाटारमा बस्दैछ । बैठकको अघिल्लो दिनसम्म केपी शर्मा ओली पक्ष र प्रचण्ड-माधव पक्षका नेताहरुवीच सहमति जुटाउने प्रयासहरु भइरहेका छन् ।

सचिवालय बैठकको अघिल्लो दिन मंगलबार बिहान खुमलटार पुगेर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

भेटमा के कुराकानी भयो भन्नेबारे नखुलाइए पनि पार्टीभित्र देखिएको द्वन्द्व कसरी समाधान गर्ने भन्नेबारे छलफल भएको स्रोतले बताएको छ । बुधबार बस्ने बैठकका एजेण्डाहरु के-के तय गर्ने भन्नेबारे कार्यकारी अध्यक्ष र महासचिववीच छलफल भएको स्रोतले बताएको छ

पार्टीको विधानअनुसार अध्यक्षको परामर्शमा महासचिवले बैठकको कार्यसूची तयार पारेर बैठकमा पेश गर्नुपर्ने हुन्छ । शुक्रबारको बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गरे पनि ठोस कार्यसूची तयार गर्न बाँकी रहेको र बुधबारको बैठकमा महासचिवले ठोस कार्यसूची बनाई त्यसमाथि छलफल हुने स्रोतले बतायो ।