आज मंगलबार ब्रिक्सको १२औं शिखर सम्मेलन हुँदैछ। यो सम्मेलन यस पटक कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट हुने छ। यसमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने छन्। विश्व शक्ति बन्ने दौडमा रहेका यी दुई देशबीच पछिल्लो समय सम्बन्ध सुमधुर छैन।

चीनले अघि सारेका कतिपय व्यापारिक योजनामा भारतको असहयोग रहँदै आएको छ। त्यतिमात्र होइन, यी दुई विशाल मुलुकबीच सीमा तनाव हालैका दिनमा थप बढेको छ।

यही वर्षको मे महिनामा दुई देशका सेना आमनेसामने भए। पूर्वी लद्दाखमा दुई देशका सेनाबीच हिंसक झडपसमेत भएको छ। साथै, सेनाका शीर्ष अधिकारीबीच वार्ता पनि चलिरहेको छ। तर, तनाव भने कम भएको छैन।

यस्तो समयमा दुवै देश सहभागी संस्थाको शिखर सम्मेलन हुन लागेकाले पनि चासो बढेको हो। गत साता संघाई सहयोग संगठनको बैठकमा पनि जिनपिङ र मोदी सहभागी थिए। ब्रिक्सको शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मोदीलाई सहभागिताका निम्ति आमन्त्रण गरेका हुन्।

ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका सामेल छन्। सम्मेलनमा आतंकवाद, व्यापार, ऊर्जाका साथै कोरोना महामारीका कारण हुन गएको हानिबारे चर्चा हुने छ। आगामी ब्रिक्स सम्मेलनको अध्यक्षता भारतले सुम्पिने कार्यक्र पनि रहेको छ। भारतले २०२१ मा हुने १३औं ब्रिक्स शिखर सम्मेलनको आयोजना गर्ने छ। भारतले यसअघि २०१२ र २०१६ मा अध्यक्षता गरिसकेको छ।

प्रधानमन्त्री मोदी र राष्ट्रपति जिनपिङ यही नोभम्बर १० तारिखका दिन संघाई सहयोग संगठनको बैठकमा आमनेसामने भएका थिए। यी दुई नेताबीच यही महिनाको २१ र २२ तारिखमा हुने जी–२० बैठकमा पनि आमनेसामने हुने छ।

ब्रिक्स होस् या जी–२०, यिनको मुख्य उद्देश्य भनेको सदस्य राष्ट्रहरुबीच सहकार्य र सहयात्रा गर्नु हो। तर, चीन र भारतले विगत केही वर्षदेखि सम्बन्ध सुधारका लागि गरेका प्रयास असरहीन हुँदै आएका छन्।

भारतले चिनियाँ टेक्नोलोजी (टिकटकलगायत)लाई सकेसम्म आफ्नो देशमा नभित्राउने र चल्न नदिने नीति लिन थालेको देखिन्छ। ब्रिक्सजस्तो विशेषगरी व्यापारमा सहकार्य गर्ने नीति रहेको संगठनमा रहेका यी दुई देशका शीर्ष नेताबीच हुने आमनेसामनेले सुधार ल्याउन सक्दा बैठकको उपादेयता झल्कन्छ। अन्यथा, यस्ता संगठनहरु खुल्नु वा त्यसमा सदस्य हुनुले तात्विक असर पार्ने छैन।