बिरामी भएर मेडिसिटी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले नै ब्यहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वउपप्रधानमन्त्री केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । बैठकपछि अर्थमन्त्री विष्णु पौडेलले ट्विट गर्दै भनेका छन्, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।’
मन्त्रिपरिषदको निर्णयसहित राजमोले अध्यक्ष केसीको उपचारका लागि सुरु गरेको आर्थिक संकलन रोकेको छ ।

यसैबीच राष्ट्रिय जनमोर्चाले एक वक्तव्य प्रकाशित गरी उहाँको स्वास्थ्यलाभको कामना गर्ने तथा उपचारका लागि सहयोग गर्नेहरुप्रति आभार प्रकट गर्दै थप सहयोग नगर्न आग्रह गरेको छ ।

उपाध्यक्ष पौडेलद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ–
‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष क. चित्रबहादुर केसी कोरोना भाइरसको पोजेटिभ देखिएर ललितपुरको मेडीसीटी अस्पतालमा भर्ना भएको कुरा पहिले सार्वजनिक भइसकेको छ । कोरोना भाइरसको कारणले भन्दा निमोनियाका कारणले उहाँको स्वास्थ्यअवस्था गम्भीर हुँदै गइरहेको छ । पहिलेदेखि नै उहाँ दीर्घरोगी भएको र बृद्धावस्थासमेतको कारणले कमजोर हुँदै गइरहनुभएको थियो । हामीले आशा र कामना गर्दछौं, उहाँलाई छिटो स्वास्थ्यलाभ हुनेछ ।

उहाँको उपचारको लागि हामीले पहिले सहयोगको लागि सार्वजनिक अपील गरेका थियौं । अहिले उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समाचार प्राप्त भएको छ । उहाँको स्वास्थ्यलाभको शुभकामना र सहयोग दिएका सबैप्रति आभार प्रकट गर्दै अहिले सरकारले उहाँको उपचारको खर्च व्यहोर्ने भनेको हुनाले थप सहयोग नगर्नुको लागि अनुरोध गर्दछौं ।’

पार्टी भन्छ– अवस्था गम्भीर छ

बिहीबार नेकपाका मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा केसीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । महामन्त्री सिंहले भनेका छन्, ‘का. के.सी अहिले पाटनको मेडिसिटी हस्पिटलमा उपचाररत हुनुहुन्छ । उहाँलाई कोरोना भाइरसको पोजेटिभ देखिएको छ । त्यो सामान्य कुरा हो । तर, उहाँ लामो समयदेखि पेटको दीर्घरोगी हुनुहुन्छ । त्यसले गर्दा उहाँ धेरै कमजोर हुनुभएको छ । अहिले निमोनिया र लामो कैयौँ दिनदेखिको डाइरिया तथा वृद्धाअवस्थाका कारणले पनि उहाँको स्वास्थ्य चिन्ताजनक बन्न पुगेको छ ।’