लगानी बोर्डले तीन वटा परियोजनाका लागि ३८ अर्ब ६८ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पन्न बोर्डको ४५औं बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको हो।

बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७.५ मेगावट क्षमताको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख रूपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावटको दूधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको बोर्डले जानकारी दिएको छ। 

बोर्डमा सुशील भट्ट प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपछि बसेको यो पहिलो बैठक हो।

बैठकमा लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरूसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारेसमेत छलफल भएको थियो।  त्यसैगरी, लगानीकर्तालाई एक विन्दु सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने तथा नलेज म्यानेजमेन्ट पोर्टल (केएमपी) को स्थापना र उपयोग गर्ने सम्बन्धमा छलफल भएको बोर्डले जनाएको छ। 

बैठकमा प्रधानमन्त्री ओलीले कोभिड-१९ ले हामीलाई नयाँ शिक्षा दिएको बताउँदै परियोजना कार्यान्वयनमा भइरहेको काममा हुने ढिलाइलाई हटाउन नयाँ प्रविधिको आवश्यकता रहेकोमा जोड दिएका थिए। ऊर्जा विकासको सम्बन्धमा विद्युत् उत्पादनको साथसाथै उत्पादित विद्युत् खपतको योजनासमेत सम्बन्धित निकायहरू मिलेर बनाउनुपर्नेमा उनले जोड दिए।

बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बोर्डमार्फत् प्रवर्द्धन र सहजीकरण भएका परियोजनाहरू कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिहरूको बारेमा जानकारी गराएका थिए।

बैठकमा बोर्डका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्धी लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा  सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, नेपा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।