सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको अन्तरविरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मङ्लबार अपराह्न बोलाएर चासो व्यक्त गरेको नेकपा स्रोतले जानकारी दिएको छ ।

विगतमाजस्तै पार्टीभित्रको विवाद मिलाउन भूमिका खेलिदिन र पार्टीको सबलीकरणमा जोड दिन आग्रह गरेको स्रोतको भनाइ छ  । राष्ट्रपति भण्डारी र उपाध्यक्ष गौतमबीचको भेटवार्ताको नेकपाका केन्द्रीय सदस्य बलराम बास्कोटाले पनि पुष्टि गरे ।

“उहाँहरूबीच भेटवार्ता भएको हो । भेटघाटमा देशको समयसामयिक विषयमा कुराकानी भयो,” बास्कोटाले बाह्रखरीसँग भने, “राष्ट्रपतिले एउटा पार्टीको विषयमा कुरा गर्ने कुरा आएन । पार्टीभित्रको अन्तरविरोधको सबालमा कुरा गर्ने कुरा आएन । समग्र देशकै परिस्थितिबारे कुरा भयो ।

राष्ट्रपतिसँग कार्यकारी अधिकार नभएकाले पार्टीभित्रको विवाद मिलाउने विषयमा कुरा गर्न नसक्ने उनको भनाइ थियो । “उहाँ राष्ट्र देशको संरक्षक र दलीय व्यवस्था भएकाले दलको सबलीकरणको कुरा गर्नुभयो,” उनले भने ।

नेकपाको विवादमा पटकपटक राष्ट्रपति भण्डारीले समन्वयको भूमिका खेल्दै आएकी छन् । मङ्सिर ४ गतेको समझदारी निर्माणमा पनि राष्ट्रपतिको महत्त्वपूर्ण भूमिका थियो । त्यस्तै गत साउन ३ गते पनि मङ्सिरमै महाधिवेशन गर्ने सन्दर्भमा राष्ट्रपति कार्यालयमै समझदारी जुटाउने प्रयास गरिसकेको थियो ।

पछिल्लो विवादमा पनि राष्ट्रपतिले देखिनेगरी नै चासो र चिन्ता व्यक्त गरेको स्रोतको भनाइ छ ।