फागुन, काठमाडौं ।   आज सैनिक मंचमा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ । प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा नेपाली सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका हुन् ।

सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको जानकारी दिए । ‘प्राविधिक कारणले सही रूपमा ल्याण्ड नभएको हो’, ढकालले  भने । घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन विविध कार्यक्रम गरेर सेना दिवस मनाउने गरेको छ । त्यही परम्पराअनुसार सैनिक परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।