स्टिफन वर्थाइम

अमेरिकामा आगामी राष्ट्रपतिको निर्वाचन कसले जित्छ, निश्चित छैन। तर, राष्ट्रपति जो भएपनि उसले भविष्यमा अमेरिकाको भूमिका कस्तो हुने भन्ने निर्धारण गर्नेछैन। किनभने जो बाइडेन अमेरिकको भूमिकामा कुनै समस्या देख्दैनन्। डोनाल्ड ट्रम्पसँग कुनै उपाय छैन।

शीतयुद्ध सकिएको तीन दशक भइसक्यो। तैपनि यो अवधिलाई ‘उत्तर–शीतयुद्धकाल’ भनेर चिन्ने गरिएको छ। यतिबेला अमेरिकासँग महाशक्ति कायम रहिरहन आवश्यक कुनै साझा र गहिरो उदेश्य छैन। आज अमेरिकी सैन्य शक्तिलाई राजनीतिक सम्भ्रान्तहरुले अजेय मान्छन्। तथापि, त्यसमाथि चुनौती उत्पन्न हुन थालेका छन्।

यो चुनौतीको एउटा स्रोत हो, हालैका घटना। मध्यपूर्वमा अमेरिकी युद्धले विनाश र अव्यवस्था पैदा गरेको छ। यसले हिंसालाई अमेरिकी सडकसम्मै ल्याइपुर्‍याएको छ। अर्को स्रोत हो, भविष्यप्रतिको शंका। अमेरिकामा दुवै पार्टीले ऋण थपिरहेका छन्। यस्तोमा राष्ट्रिय सुरक्षाका नाममा हुने वार्षिक १ ट्रिलियन डलरभन्दा ठूलो खर्च कटौतीको दबाब उनीहरुमाथि पर्नेछ।

तर, अमेरिकी शक्तिमाथिको सबैभन्दा प्रमुख चुनौती भने विगतसँग जोडिएको छ। अमेरिका संसारभरको पुलिस किन बन्नुपर्ने हो, यतिबेला धेरै अमेरिकीहरु बुझ्दैनन्। यसको कारण छ। जुन उदेश्यले अमेरिकाले विश्वमा सैन्य प्रभुत्व कायम गरेको थियो, त्यो उदेश्य पुरा भइसकेको छ। अर्थात्, अमेरिकी सैन्य प्रभुत्व आफ्नो वास्तविक उदेश्यभन्दा बढी समय बाँचिसकेको छ।

८० वर्षअघि दोस्रो विश्वयुद्धमा प्रवेशको तयारी गर्दैगर्दा अमेरिकाले विश्वभर सैन्य प्रभुत्व कायम गर्ने र त्यसलाई लामो समय टिकाउने निर्णय लिएको थियो। त्यसबेला पनि यो निर्णय दुःखद् थियो। अहिले त झन् त्यसको पालना गर्न कठिन बनेको छ। अहिले अमेरिकी नेताहरु ठान्छन्– अमेरिकाको सैन्य वर्चस्व नभई संसारसँग कुनै सम्बन्ध राख्नै सकिन्न। यसको कारण पनि त्यही निर्णय थियो।

सन् १९४५ ताका विश्वमा अमेरिकाको हैसियत जस्तो थियो, बाइडेन र ट्रम्प दुवै त्यही हैसियत फर्काउन चाहन्छन्। ट्रम्प दोस्रो विश्वयुद्धका जर्नेलहरु जर्ज प्याटन र डगलस म्याकआर्थरको प्रशंसा गर्छन्। बाइडेन विश्वयुद्धपछि ‘उदार अन्तर्राष्ट्रिय व्यवस्था’ कायम राख्ने बाचा गर्छन्। यस्तै नोस्टाल्जियाका कारण हामी आजका समस्या समाधान गर्न सक्दैनौँ।

७ डिसेम्बर १९४१ मा जापानले पर्ल हार्बरमा आक्रमण गर्‍यो र अमेरिकालाई दोस्रो विश्वयुद्धमा तान्यो। तर, त्यो आक्रमणअघि नै अमेरिकी नेताहरुले आगामी युगमा अमेरिकालाई विश्वको सबैभन्दा ठूलो शक्ति बनाउने योजना तयार गरिसकेका थिए। त्यसको १८ महिनाअघि नाजी जर्मनीले फ्रान्स कब्जा गरेको थियो। जसका कारण अमेरिकाले सो निर्णय लिएको थियो।

फ्रान्सजस्तो शक्तिशाली मुलुक ६ हप्तामै कब्जा गरेपछि एडोल्फ हिटलर अचानक युरोपमाथि हावी भयो। उसले तुरुन्तै फासिवादी इटली र साम्राज्यवादी जापानसँग गठबन्धन कायम गर्‍यो। यससँगै इतिहासमा पहिलो पटक युरोप र एसियामा फासिवादी शक्तिले प्रधानता हासिल गर्ने भय उत्पन्न भयो। र, युद्धमा नभएपनि अमेरिकी संसदले सैन्य शक्ति बढाउने योजना पारित गर्‍यो।

त्यसबेला अमेरिका खतराबाहिर थियो। ‘हामीमाथि आक्रमण हुनेछैन,’ फ्रान्सको पतनपछि स्तम्भकार वाल्टर लिपम्यानले लेखेका थिए। समुद्र, हवाई प्रतिरक्षाका कारण युरोप वा एसियाबाट हुने जुनसुकै आक्रमण अमेरिकाले असफल तुल्याउन सक्थ्यो। त्यसमाथि अमेरिकाको अर्थतन्त्र पनि आत्मनिर्भर थियो।

यी कारणहरुले गर्दा केही अमेरिकी चाहन्थे– अमेरिकाले पश्चिमी गोलाद्र्धको रक्षा गरोस् तर त्योभन्दा टाढा नजाओस्। तर, डेमोक्रेटिक सोसलिस्ट नर्मन थोमस, भविष्यका राष्ट्रपतिहरु जोन एफ केनेडी र जेराल्ड फोर्ड, यहुदीविरोधी पाइलट चार्ल्स लिन्डबर्गजस्ता अनेकथरी व्यक्तिहरुको गठबन्धनले ‘अमेरिका फर्स्ट’ को नारा उचाल्यो।

युरोपेली शक्तिको खिचातानीबाट टाढै बसेर पनि अमेरिका सुरक्षित रहन सक्थ्यो। तर, अमेरिकाको शासक वर्गको चाहना त्यो थिएन। त्यो वर्ग विश्वभर फैलिन र इतिहासको दिशा बदल्न चाहन्थ्यो। खासमा धुरी राष्ट्रको गठबन्धनले अमेरिकामाथि भन्दा अमेरिकाको विस्तारवादी दृष्टिकोणमा खतरा पैदा गरेको थियो।

‘आफैँमा सिमित हुने हो भने अमेरिका शक्तिशालीको हालीमुहाली चल्ने विश्वमा एक्लो टापु बन्ने छ,’ जुन १९४० मा राष्ट्रपति फ्र्यांकलिन डिलानो रुजबेल्टले घोषणा गरेका थिए। त्यस्तो अवस्थामा अमेरिकी जनतालाई ‘निर्दयी विदेशी मालिकहरुले हतकडी लगाएर भोकैतिर्खै जेलमा कोच्ने’ चेतावनी पनि उनले दिएका थिए।

अमेरिका सुरक्षित थियो। तर, तानाशाहीहरुको शक्ति बढ्दै जाँदा एउटा सिंगै गोलार्धको नेतृत्व गरिरहनु पनि अमेरिका लागि जेलजस्तो लाग्न थाल्यो। त्यसैले, आफूले चाहेको कुरा लाद्न सक्ने सैन्य शक्ति हासिल नगरुन्जेल अमेरिका नयाँ विश्वमा प्रवेश गर्न सक्दैनथ्यो। नाजीहरुले शक्ति टिकाउन नसकेपनि भोलि अर्को शक्ति अघि सर्थ्यो। त्यसैले अमेरिकाले वर्तमानका तानाशाहहरुलाई हराउन मात्र होइन, भविष्यका तनाशाहलाई शक्तिमा आउन नदिन पनि हतियार उठाउने भयो।

विज्ञहरुलाई थाहा थियो, भयानक मूल्य नतिरी विश्वव्यापी प्रभुत्व प्राप्त गर्न सकिने छैन। त्यसका लागि निरन्तर युद्ध र अमेरिकालाई एउटा साम्राज्यका रुपमा विकास गर्न आवश्यक थियो।

करिब आधा शताब्दीसम्म अमेरिकाले आफूले तय गरेको उदेश्य पुरा गर्‍यो। अमेरिकाले १९४५ मा धुरी राष्ट्रमाथि र १९९१ मा सोभियतमाथि विजय हात पार्‍यो। तथापि ग्वाटेमाला, भियतनाम र अन्य स्थानमा निरन्तर हिंसा जारी रह्यो।

सोभियत संघको पतनपछि पनि अमेरिकी अधिकारीहरुले आफ्ना सैनिक फिर्ता गर्ने विषयमा पुनर्विचार गरेनन्। बरु, तिनलाई अझ विस्तार गरियो। १९४५ सपना अर्थात् अमेरिकी सुवरीवेक्षण र सर्तमा एक ध्रुवीय विश्वको सपना पुरा भएको देखियो। राष्ट्रपति जर्ज एचडब्लू बुसले इराक युद्धको तयारी गर्दै गर्दा ‘नयाँ विश्व व्यवस्था’ को घोषणा गरे र भने, ‘विश्वमा अमेरिकी नेतृत्वको कुनै विकल्प छैन।’ यसलाई अस्वीकार कसले गर्न सक्थ्यो र! रुस थला परेको थियो। चीन गरिब थियो। त्यसैले सैन्य खर्च कटौती गरेर पनि अमेरिकाले महाशक्तिकै रुपमा १९९० को दशक पार गर्‍यो।

त्यसपछि पनि दशक बित्दै गए तर अमेरिकालाई चुनौती दिने तानाशाही शक्ति उदाएन। अमेरिकाले जजसलाई दुश्मन भन्यो, ती मुलुक महाशक्ति आर्जन गर्न सक्ने खालका थिएनन्। अमेरिकी नेताहरुले कमजोर मुलुकहरुलाई ‘दुष्ट गठबन्धन’ वा आतंकवाद प्रबद्र्धक भनिरहे। २१ औँ शताब्दीमा यदि कुनै शक्तिले विश्व्यापी प्रभुत्व स्थापना गर्न चाह्यो र अरुमाथि जबर्जस्ती गर्‍यो भने त्यो अमेरिका नै थियो। मुलुकहरुबीच सम्बन्ध विस्तार गर्न भन्दै बढावा दिइएको अमेरिकी सर्वोच्चताले अहिले त्यस्तो सम्बन्धमा नै बाधा पुर्‍याउन थाल्यो। आज अमेरिकाले करिब १ सय ७० मुलुकमा आफ्नो सेना तैनाथ गरेको छ। आतंकवादविरुद्ध मात्रै विश्वका करिब ४० प्रतिशत मुलुकमा अमेरिकी सेना परिचालित छ। अमेरिकाले दर्जनौँ मुलुकमाथि नाकाबन्दी लगाएको छ।

अमेरिकाले ज्यादती गरेको वासिङ्टनका धेरैले स्वीकार्छन्। ट्रम्प र बाइडेन दुवै अनन्त युद्ध अन्त्य गर्ने बाचा गर्छन्। तर, दुवै पार्टीका नेताहरु चीनलाई अमेरिकाको प्रमुख शत्रु ठान्छन्। चीनलाई विस्तारवादी–अधिनायकवादी शक्ति भन्छन्, जसलाई नियन्त्रण गरे अमेरिकाको उदेश्य पूर्ति हुन्छ। जुलाईमा अमेरिकी विदेशमन्त्री माइक पम्पेओले घोषणा गरे, ‘चिनियाँ कम्युनिस्ट पार्टीबाट स्वतन्त्रताको सुनिश्चित गर्नु हाम्रो युगको उदेश्य हो।’

हो त? चीन अधिनायकवादी शक्ति हो र यो उदाउँदो छ। तर, यो नाजी जर्मनी वा सोभियत संघ होइन। सर्त निष्पक्ष होस् या नहोस्, चीन व्यापारका लागि खुला छ। विश्वको सबैभन्दा ठूलो व्यापारिक राष्ट्र दुष्ट सर्वसत्तावादी मुलुक बन्न सक्दैन। त्यसमाथि चीन सशस्त्र युद्धमा सामेल पनि छैन। चीनले ताइवानलाई धम्क्याउँछ तर उसले दक्षिण कोरिया वा जापानजस्ता अमेरिकी गठबन्धनका मुलुकमाथि आक्रमण गर्ला भनेर कसैलाई सोच्दैन।

कुनै समय अमेरिकीहरु ठान्थे– सैन्य प्रभुत्वले विश्वसँगको उचित सम्बन्धलाई बिगार्छ। त्यो अन्तर्दृष्टि अहिले कसैसँग छैन। तथापि यो पूरै हराएको नहुनसक्छ।

(द न्युयोर्क टाइम्सबाट। स्टिफन वर्थाइम कोलम्बिया युनिभर्सिटीस्थित साल्जम्यान इन्स्टिच्युट अफ वार एन्ड पिस स्टडिजमा आबद्ध छन्। उनको ‘टुमरो, द वर्ल्डः द बर्थ अफ यूएस ग्लोबल सुप्रिमेसी’ पुस्तक प्रकाशोन्मुख छ)