दसैँ नजिकै छ । त्यससँगै प्रगतिशील चिन्तन राख्नेहरूले दसैँमा के गर्ने, के नगर्नेजस्तो बहस सधैँ झैँ यस पटक पनि गर्नु सान्दर्भिक नै हुने छ । हामी यहाँ दसैँमा प्रगतिशील चिन्तन राख्नेहरूले के गर्दा ठिक हुन्छ ? के नगर्दा ठिक हुँदैन भन्नेबारेमा सामान्य छलफल चलाउने छौँ । तर स्थानाभावका कारण हामी दसैँको उत्पत्तिको बारेमा समाजशास्त्रीय दृष्टिकोणबाट छलफल भने चलाउने छैनौँ ।

दुई गम्भीर प्रश्न

हाम्रासामु दुई वटा गम्भीर प्रश्न छन्; ती हुन्–

१. दसैँलाई उपयोग गर्ने कि बहिष्कार गर्ने ?

२. दसैँ सारतत्त्वको हिसाबले समर्थनयोग्य कि बहिष्कारयोग्य ?

दसैँको सन्दर्भमा यी प्रश्न वैचारिक हिसाबले महत्त्वपूर्ण छन् । यी प्रश्नको बारेमा प्रष्ट धारणा बनाउनुपर्ने आवश्यकता छ ।

प्रथम प्रश्नको जवाफमा दुई वटा धारणा हामीमाझ पाइन्छ ।

एकथरिले दसैँलाई उपयोग गर्नुपर्दछ भन्ने धारणा राख्दछन् । खासगरी दसैँले सामाजिक स्वरूप ग्रहण गरिसकेकाले यसलाई बहिष्कार गर्नु हुन्न । यसो गर्दा हामी सामाजिक रूपमा अलगथलग हुने छौँ—वामपन्थी वृत्तभित्र यस खालको धारणा राख्नेहरूको सङ्ख्या व्यापक छ । सम्भवतः यसलाई सन्तुलित धारणा मान्न सकिन्छ ।

अर्काथरिले दसैँ परम्परागत र रूढीवादी चाड भएकाले यसलाई बहिष्कार गर्नुपर्दछ भन्ने धारणा व्यक्त गर्दछन् । यस्तो धारणा एकातिर चिन्तनको छिपछिपेपनको कारण उत्पन्न हुन्छ भने अर्कातिर, हिन्दु धर्मप्रतिको वितृष्णाका कारणले । खासगरी इसाई धर्मावलम्बीहरू दसैँप्रति खरो प्रकारले विरोधमा उत्रिएको पाइन्छ । फलस्वरूप यस्ता मतालम्बीहरू दसैँलाई बहिष्कार गर्न पुग्दछन् ।

अर्को प्रश्नको उत्तरमा परिस्थिति अन्तरविरोधपूर्ण बन्न जान्छ । दसैँ प्रगतिशील वा वर्गसङ्घर्षयुक्त चाड नभएकाले सारतत्त्वका हिसाबले बहिष्कारयोग्य छ । तर विडम्बना यो छ ः विचार वा सिद्धान्तको हिसाबले यो दृष्टिकोण अपनाए पनि व्यवहारमा भने दसैँलाई समर्थन गरेर जान्छन्; अझै कतिपय अवस्थामा निरपेक्ष समर्थनको प्रवृत्तिसमेत देखा पर्दछ ।

दसैँले सामाजिक स्वरूप ग्रहण गरिसकेको छ । एक अर्थमा यसले सामाजिक एकताको काम पनि गरेको छ । पहिले त दसैँमार्फत पारिवारिक एकता र सद्भाव, त्यसपछि यसले सामाजिक एकता हासिल गर्दछ । प्रष्टै छ, दसैँको यस्तो पक्षको विरोध कसैले पनि गर्ने छैन ।

दसैँको यो सकारात्मक पाटोसँगै धार्मिक, सांस्कृतिक पक्ष पनि जोडिएका छन् । प्रगतिशीलहरूको सर्वाधिक ध्यान जानुपर्ने विषय नै यही हो ।

सर्वप्रथम दसैँको सन्दर्भमा हामी यस निस्कर्षप्रति प्रष्ट हुनुपर्ने आवश्यकता छ ः त्यो हो– दसैँ विशुद्ध हिन्दु धार्मिक चाडपर्व होइन; बरु त्यो काफी हदसम्म प्रकृतिपूजाको निरन्तरतासमेत हो ।

‘दसैँ’ र ‘दशैँ’ वा ‘विजयादशमी’

नेपालमा जसलाई हामी ‘दसैँ’ भन्दछौँ, हिन्दु धर्मावलम्बीले ‘दशैँ’ वा ‘विजयादशमी’ भन्दछन्, भारतमा त “दशहरा” भनिन्छ । ‘दसैँ’ र ‘दशैँ’ वा ‘विजयादशमी’ को माझमा अन्तर गर्न सकिन्छ । ‘दसैँ’ मा हिन्दु धर्मको प्रभावले कतिपय पक्षमा परिवर्तन भए पनि त्यो मूलतः प्रकृतिपूजाको निरन्तरता हो । ‘दसैँ’ मा प्रयोग गरिने जमरा र हतियारको पूजाले मात्र पनि यो चाड प्रकृतिपूजासित सम्बन्धित छ भन्ने प्रष्टै छ ।

अर्कातिर, ‘दशैैँ’ वा ‘विजयादशमी’ मूलतः हिन्दु धार्मिक चाडपर्व मान्न सकिन्छ । यो पर्व रामको रावणमाथिको विजयोत्सव हो । यसमा प्रकृतिपूजाका न्यून वा नाम मात्रका अवशेष छन् । नेपालको तराई प्रदेशतिर भारतीय हिन्दु धर्मावलम्बीले मनाउने “रामलीला’ यसको सबैभन्दा प्रभावशाली पक्ष हो ।

नेपालमा बहुसङ्ख्यक हिन्दु धर्मावलम्बी भएता पनि “रामशीला” ‘दसैँ’ को अनिवार्य वा प्रभावशाली पक्ष होइन । त्यसकारण ‘दसैँ’ र ‘दशैँ’ वा ‘विजयादशमी’ माझको प्रष्ट भेद कायम गर्न सकिन्छ ।

दसैँमा जुन प्रकृतिपूजाको अवशेषजन्य संस्कार, संस्कृति छन्, ती रूढीवादी परिघटना हुन् । यो तथ्य प्रष्ट छ, प्रगतिशीलहरूले यस्ता रूढीलाई मान्यता दिनु आवश्यक छैन । त्यसका बाबजुद ‘दसैँ’ को जमरा र हतियार पूजाजन्य संस्कृतिले ‘दशैँ’ वा ‘विजयादशमी’ सित रहेको भिन्नतालाई त बताउँछ नै, साथै त्यसले नेपालको समाजशास्त्रीय अध्ययनका लागि सांस्कृतिक सन्दर्भको काम दिन्छ । प्रगतिशील पक्षले दसैँको सन्दर्भमा यो भिन्नताप्रति अवश्य पनि ध्यान दिनुपर्दछ ।

फिजुलखर्ची र तडकभडकपन

दसैँसित थुपै्र प्रचलन जोडिएका छन् । तीमध्ये धेरैजस्तो पछिल्लो सामाजिक विकाससित जोडिएका छन्; जस्तै– फिजुलखर्ची र तडकभडकपन ।

दसैँको सन्दर्भमा फिजुलखर्चीमा प्रतिष्पर्धा गर्नु सामाजिक विकाससित जोडिएको त्यस्तै प्रचलन हो । यो बढ्दो सहरीकरण, बसाइँसराइ, आप्रवासन/वैदेशिक रोजगारी र सांस्कृतिक साम्राज्यवादसित जोडिएको छ ।

प्रगतिशीलहरू सधैँ फिजुलखर्चीको विरोधमा जोड दिन्छन् । साङ्घाई टेक्स्टबुक अफ पोलिटिकल इनोनोमी नामक पुस्तकमा चिनियाँ कम्युनिस्ट पार्टीले फिजुलखर्चीको विरोध अथवा किफायतीपनमा जोड दिइएको सबैलाई थाहा छ । कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी सत्ता सञ्चालन भइरहेका बेलामा त किफायतीपनको त्यति महत्त्व हुन्छ भने सर्वहारा क्रान्तिपूर्व त्यसको महत्त्व कम त हुनै सक्दैन । त्यसकारण दसैँको सन्दर्भमा प्रगतिशील पक्षले फिजुलखर्चीको विरोध गर्नैपर्दछ । त्यस सन्दर्भमा उनीहरू उदाहरणीय बन्नैपर्दछ ।

त्यसैगरी तडकभडकपन वा उत्ताउलोपनको त कुनै पनि सभ्य समाजले समर्थन गर्न सक्दैन । दसँैको सन्दर्भमा पनि तडकभडकपन वा उत्ताउलोपन पटक्कै देखाइनु हुँदैन । यस्तो उत्ताउलो, उच्छृङ्खल प्रवृत्तिलाई नियन्त्रण गर्न सबै पक्ष एकजुट हुनुपर्दछ । प्रगतिशीलहरू यस अभियानको अग्रपङ्क्तिमा देखिनुपर्दछ ।

अर्को दार्शनिक प्रश्न

अब अर्को एउटा दार्शनिक पक्षबारे चर्चा गरौैँ ।

दसैँ सारतत्वको हिसाबले क्रान्तिकारी कि प्रतिक्रियावादी वा रूढीवादी ? यो सत्य हो– दसैँ सारतत्त्वको हिसाबले रूढीवादी वा प्रतिक्रियावादी नै हो । त्यस अर्थमा दसैँ सम्पूर्ण रूपले बहिष्कारयोग्य सामाजिक पर्व हो । यो विषयको एउटा पाटो हो ।

यस सन्दर्भमा एउटा पक्ष त यो हो, कुनै पनि वस्तु वा परिघटनालाई सम्पूर्ण रूपमा स्वीकार वा अस्वीकार गर्न सकिन्न । अझै खासगरी संस्कार, संस्कृति र परम्पराको सन्दर्भमा त यसरी सम्पूर्ण रूपमा स्वीकार र अस्वीकार गर्नु वस्तुसङ्गत दृष्टिकोण हुन सक्दैन ।

सकारण सारतत्त्वको हिसाबले दसैँलाई रूढीवादी वा प्रतिक्रियावादी बताउँदा–बताउँदै पनि त्यसभित्रको सकारात्मक पक्षको उपयोग गर्ने प्रश्नको गम्भीर महत्त्व हुन्छ । यही दृष्टिकोण दसैँको सन्दर्भमा पनि सत्य हो । त्यसका विपरीत दसैँको सम्पूर्ण रूपमा समर्थन वा बहिष्कार दुवै दृष्टिकोण गलत भएको प्रष्टै छ ।

परम्परागत चाडपर्वको सवालमा पनि सम्पूर्ण रूपमा सहभागिता वा बहिष्कार दुवै गलत हुन्छ । यदि त्यसो हो भने त आवश्यकता चाडपर्वको सूक्ष्म वैचारिक–सैद्धान्तिक विन्न्यासको हो । चाडपर्वको विश्लेषण गरेर, अर्थात् चाडपर्वसित जोडिएका परम्परा, संस्कार र संस्कृतिको गहन अध्ययन गरेर सकारात्मक तत्त्व ग्रहण गर्ने र नकारात्मक तत्त्वलाई अस्वीकार गर्ने तरिका अपनाउनुपर्दछ ।

प्रगतिशीलहरूले गर्न हुने र गर्न नहुने काम

यी सैद्धान्तिक–वैचारिक आलोकमा प्रगतिशीलहरूले दसैँको सन्दर्भमा गर्न हुने र गर्न नहुने विषयलाई यसरी बुँदाकृत गर्न सकिन्छ :

१. पारिवारिक जमघटमा सहर्ष सामेल हुने ।

२. दसैँको समाजशास्त्रीय उत्पत्तिबारे बहस, छलफल चलाउने ।

३. दसैँसित सम्बन्धित संस्कार, प्रचलन र रीतिरिवाजको उत्पत्ति र निरन्तरताबारे छलफल चलाउने । त्यस क्रममा उत्पत्तिकालको र पछि जोडिएका संस्कार, प्रचलन र रीतिरिवाज कुन कुन हुन् ? छुट्याउने ।

४. पारिवारिक सरसल्लाहमा टिकाटालो गर्न सकिने; तर त्यसो गर्दा रूढीवादी वा धार्मिक क्रियाकलापलाई अस्वीकार गर्ने । त्यसका विपरीत प्रतीकात्मक स्वरूपमा टिका लगाउने ।

५. चाडवाडसित सम्बन्धित फिजुलखर्ची र भड्किलोपनलाई नियन्त्रण गर्ने ।

६. चाडवाडलाई खुसीयाली वितरणको अवसरको रूपमा प्रयोग गर्ने; तर त्यसो गर्दा धार्मिक वा रूढीवादी प्रचलनलाई होइन, आफ्ना निजी जीवनका खुसीलाई आधार बनाउने ।

७. चाडवाडसित सम्बन्धित जुवातास, धुम्रपान, मध्यपानजस्ता विकृतिबाट टाढा रहने ।

समग्रमा पारिवारिक जमघटको आधारमा रूढीवादी र धार्मिक क्रियाकलाप बिना पनि क्षणिक खुसीयाली वितरण सम्भव छ भन्ने सन्देश दिने गरी चाडवाड मनाउन सकिन्छ ।

प्रगतिशीलहरूसित सून्य विकल्प ?

परम्परागत चाडवाडको सन्दर्भमा स्वयम् प्रगतिशील पक्षबाट उठ्ने प्रश्न यो हो– पुराना चाडवाडको प्रगतिशील विकल्प छैन । त्यसकारण परम्परागत र धार्मिक चाडपर्व मनाउनुको विकल्प छैन ।

यस सन्दर्भमा यी प्रश्नको आधारमा विचार गरौँ :

१. के पुराना चाडपर्वको विकल्पमा एकाएक नयाँ प्रगतिशील विकल्पको उत्पत्ति सम्भव छ ?

२. के पुराना चाडपर्वको विकल्प पुरानै चिन्तन भएकाहरूले दिने हुन् ?

३. के प्रगतिशील पक्षसित विकल्प नै नभएको अथवा सून्य विकल्पको अवस्था हो ?

यी तीन प्रश्नको उत्तरमा पुराना चाडपर्वप्रतिको प्रगतिशील दृष्टिकोण पाउन सकिन्छ ।

पुराना चाडपर्व, संस्कार, संस्कृति र परम्परा एकाएक सम्पूर्ण रूपमा एकै चोटि न त उत्पत्ति हुन्छन्, न समाप्त नै; बरु ती सबै क्रमशः उत्पत्ति र रूपान्तरणको प्रक्रियामा अघि बढिरहन्छन् ।

यस सन्दर्भमा दुई वटा उदाहरण प्रस्तुत गरौँ ।

१. भनिन्छ, मुस्लिभ धर्ममा पहिले बकरिदमा मानवबलीको प्रचलन थियो । पछि समयक्रममा मानवबलीको स्थान बाख्राबलीले लियो । मानिसको स्थानमा बाख्रालाई विकल्पको रूप दिँदा मुस्लिम धर्मावलम्बीमा कति दूरगामी संस्कारजन्य रूपान्तरण भयो ? जोकसैले सहजै अनुमान गर्न सक्छ ।

२. माओत्सेतुङको समयमा चीनको एउटा समुदायमा मानवबलीको प्रचलन थियो । यस खालको प्रचलन हटाउन माओले मानवबलीको स्थानमा बाँदरबलीको विकल्प सुझाएका थिए । यसबाट माओत्सेतुङको संस्कृतिको क्रमिक रूपान्तरणसम्बन्धी प्रष्ट दृष्टिकोणको झलक मिल्दछ ।

यसरी संस्कार, संस्कृति र परम्पराको रूपान्तरण क्रमिक रूपमा हुन्छ भन्ने प्रष्ट हुन्छ ।

अर्कोतर्फ, पुराना चाडपर्व तथा संस्कार, संस्कृति र परम्पराको विकल्प नयाँ अथवा प्रगतिशील चिन्तन भएकाले दिने हो, परम्परागत चिन्तन भएकाबाट प्रगतिशील विकल्पको सम्भावना हुन्न । त्यसकारण प्रगतिशील तत्त्वहरू स्वतःस्फूर्तताको पूजा गरेर अर्थात् चुपचाप बसेर पुराना चाडपर्व, संस्कार, संस्कृति र परम्परामा रूपान्तरण हुन्न ।

त्यस्तै, के प्रगतिशीलहरूसित रूढीवादी तथा धार्मिक चाडपर्व, संस्कार, संस्कृति र परम्पराको विकल्प नभएकै हो ? अथवा प्रगतिशील पक्षहरू सून्य विकल्पको अवस्थामा छन् त ? त्यस्तो पनि होइन ।

वर्गसङ्घर्ष र सामाजिक सुधारसित सम्बन्धित अवसर नै नयाँ विकल्प

प्रगतिशीलहरूको संस्कार, संस्कृति र परम्परा वर्गसङ्घर्ष तथा सामाजिक सुधार आन्दोलनमाथि आधारित हुन्छन् भन्ने प्रष्टै छ । विश्वभरिका लागि अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस (मार्च ८), अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १), त्यसैगरी माक्र्स दिवस (मे ५), एङ्गेल्स दिवस (सेप्टेम्बर २८), लेनिन दिवस (अप्रैल २२), स्टालिन दिवस (डिसेम्बर २१), माओ दिवस (डिसेम्बर २६) जस्ता वर्गसङ्घर्ष र समाज रूपान्तरणसम्बन्धी स्मरणीय अवसर छन् ।

त्यसैगरी नेपाली समाजकै अग्रगामी रूपान्तरणसित सम्बन्धित योगमायाको बलिदानदेखि लिएर लखन थापा, २००७ सालदेखि अहिलेसम्मका जनआन्दोलन दिवस, जातीय छुवाछूत विरुद्ध भगत सर्वजीतको योगदान, सहिद भीमदत्त पन्त, फागुन २४ को प्युठान जनता शिविर—यस खालका थुप्रै वर्गसङ्घर्ष, लोकतान्त्रिक आन्दोलन र सामाजिक सुधारसित सम्बन्धित स्मरणीय अवसर छन् । प्रगतिशील चिन्तन राख्नेका लागि यी अवसर एक अर्थमा पर्व नै हुन् । यी असर दसैँतिहारभन्दा कुनै पनि अर्थमा कम छैनन्, बरू बढी नै छन् ।

मे १ र दसैँ तथा मार्च ८ र तिज

नेपालको सन्दर्भमा यहाँ दुई वटा उदाहरण प्रस्तुत गर्नु सान्दर्भिक हुने छ ।

क. हामी कम्युनिस्ट (जसभित्र प्रगतिशीलहरू पनि आउँछन्) मजदुर दिवस (मे १) वर्षमा एक दिन केही घण्टा मनाउने गर्दछौँ; त्यो पनि अनिवार्य रूपमा होइन, ऐच्छिक रूपमा ।

ख. हामी कम्युनिस्ट पार्टीका महिला कमरेडहरू अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) वर्षमा केही घण्टा मनाउँछौँ; त्यो पनि अनिवार्य रूपमा होइन, ऐच्छिक रूपमा ।

त्यसका विपरीत हामी कम्युनिस्टहरू दसैँ मनाउनका लागि वर्षदिन पहिलेबाट तयारी गरिरहेका हुन्छौँ । त्यसैअनुसार खर्चको जोहो गरिरहेका हुन्छौँ । अन्य सबै काम स्थगित गरेर भए पनि दसैँका लागि अनिवार्य रूपमा समय व्यवस्थापन गर्दछौँ ।

त्यसैगरी, हाम्रा थुप्रै महिला कमरेडहरू तिजका लागि कति सक्रिय र समर्पित हुन्छौँ ? त्यो आम रूपमा थाहा भएको विषय हो । दर खाने दिनदेखि लिएर ऋषिपञ्चमी ब्रतसम्मको क्रियाकलापमा ठुलो सङ्ख्यामा महिला कमरेडहरूको सक्रियता, सहभागिता र समर्पण देख्न सकिन्छ ।

यी दुई उदाहरणले बताउँछन्, हामी कम्युनिस्ट पार्टीमा सामेल भएकाहरूसमेत वर्गसङ्घर्ष र सामाजिक सुधार आन्दोलनसित सम्बन्धित स्मरणीय अवसरलाई प्रभावशाली प्रकारले सामाजिक रूपमा नै स्थापित गर्न मानसिक रूपमा तयार छैनौँ । यदि त्यसो हो भने प्रगतिशील नयाँ संस्कार, संस्कृति र परम्परा कसरी निर्माण हुने छ ? कसले निर्माण गरिदिने छ ? विषयवस्तु आफैमा प्रष्ट हुने छ ।

उपर्युक्त सङ्क्षिप्त चर्चाबाट स्पष्ट हुन्छ, हाम्रै नेपाली समाजमा प्रगतिशील सारतत्त्वका चाडपर्व, संस्कार, संस्कृति र परम्परा निर्माणयोग्य प्रशस्त आधार विद्यमान छन् । अन्तर्राष्ट्रिय र राष्ट्रिय वर्गसङ्घर्ष र सामाजिक सुधार आन्दोलनका महत्त्वपूर्ण अवसरलाई हामीले नयाँ प्रगतिशील संस्कार, संस्कृतिको क्षेत्रमा विकल्पको रूप दिन सक्दछौँ । तर हामी स्वतःस्फूर्तताको यतिसम्म पुजारी छौँ, हामी आफै केही नयाँ गर्न चाहदैनौँ; बरू अरू कसैले गरिदिने अपेक्षा राख्दछौँ । हामी चाहन्छौँ– अरू कसैले प्रगतिशील चाडपर्व, संस्कार, संस्कृति र परम्परा एकाएक वा अकस्मात स्थापित गरिदेओस्, जसले गर्दा हामीले जसरी अहिलेका दसैँतिहारजस्ता रूढीवादी तथा धार्मिक चाडपर्व मान्दै आइरहेका छौँ, त्यसरी नै कसैले निर्माण गरिदिने प्रगतिशील चाडपर्वलाई पनि अपनाउन सकौँ । स्पष्ट छ, यो दृष्टिकोण ऐतिहासिक भौतिकवादसम्मत छैन । यस्तो दृष्टिकोणले जनताको ऐतिहासिक र निर्णायक भूमिकालाई अवमूल्यन गर्दछ ।

चाडपर्व, संस्कार, संस्कृति र परम्पराको गतिशील चरित्र

अन्तिममा एउटा तथ्य स्पष्ट गरौँ ।

अहिलेका रूढीवादी तथा धार्मिक चाडपर्व, संस्कार, संस्कृति र परम्पराको विकल्पमा प्रगतिशील चाडपर्व, संस्कार, संस्कृति र परम्पराको स्थापना गरिए पनि त्यसको स्वरूप शास्वत र जड प्रकृतिको हुने छैन; अर्थात् अपरिवर्तनीय हुने छैन । समयक्रममा तिनीहरू पनि रूढीवादी स्वरूपमा रूपान्तरण हुने छन् । त्यसकारण चाडपर्व, संस्कार, संस्कृति र परम्परालाई जड चरित्रमा बुझ्नु सही हुने छैन । जसरी दासविद्रोहको सन्दर्भ हाम्रा लागि पुरानो भइसकेको छ, त्यसैगरी जब नेपालमा पुँजीवाद वा समाजवाद स्थापना हुने छ, त्यतिबेला सामन्तवाद विरोधी वर्गसङ्घर्षयुक्त चाडपर्व, संस्कार, संस्कृति र परम्परा पनि पुराना महसुस हुने छन् ।

रूढीवादी तथा धार्मिक चाडपर्व, संस्कार, संस्कृति र परम्पराभन्दा प्रगतिशील चाडपर्व, संस्कार, संस्कृति र परम्परा यस अर्थमा भिन्न हुने छन्, ती नयाँ वर्गसङ्घर्ष र सामाजिक रूपान्तरणको इतिहाससित सम्बन्धित हुने छन् र तिनीहरूले शोषणविहीन समाज निर्माण अभियानलाई सांस्कृतिक आधार प्रदान गर्ने छन्, जसरी अहिलेका चाडपर्व, संस्कार, संस्कृति र परम्पराले वर्तमान शोषणमूलक व्यवस्थालाई दीर्घायु प्रदान गरिरहेका छन् ।

ती पर्व मनाउनुको अर्थ रूढीवाद र अन्धविश्वासलाई प्रश्रय दिनु हुने छैन, बरु वर्गसङ्घर्ष र सामाजिक रूपान्तरणको इतिहासलाई स्मरण गरेर त्यो वर्गसङ्घर्षलाई नयाँ रूपमा अगाडि बढाउने तथा वर्गसङ्घर्षको माध्यम हुँदै अघि बढेर अन्ततः वर्गविहीन, शोषणविहीन उच्चस्तरको मानव समाजको निर्माण गर्नु त्यसको उद्देश्य हुने छ । त्यसकारण प्रगतिशीलहरूले निर्माण गर्ने नयाँ प्रकारको चाडपर्व, संस्कार, संस्कृति र परम्परा निर्माणको गम्भीर, न्यायपूर्ण र दूरगामी महत्त्व भएको प्रष्ट हुन्छ ।