तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । भीमाद नगरपालिका ६ का ९८, ७५ र ७२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट ज्यान गएको हो । तीमध्ये एक बाबु र दुई छोरा छन् ।

९८ वर्षीय पुरुषको काठमाण्डाैकाे मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाण्डाैकाे बी एण्ड बी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

९८ वर्षीय बाबु बिरामी परेपछि चितवनकाे एक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उहाँलाई काठमाण्डाै लगिएपछि उपचारका क्रममा उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो ।

योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या आठ पुगेको छ । यस अगाडि व्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो ।