नेपाली भूमिमा चीनले नौ वटा भवन बनाएको समाचार आइरहेका बेला ७ असोजमा सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले हुम्लाको लिमी उपत्यकामा चीनले भूमि अतिक्रमण नगरेको बताए ।

सीमा क्षेत्रको स्थलगत अनुगमनपछि भूमि मिचिएको विषयमा अभिव्यक्ति दिएको भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालसँग गृह मन्त्रालयले ७ असोजमै लिखित स्पष्टीकरण लियो ।

त्यसको एक हप्तापछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कर्णाली संसदीय दलका नेता तथा हुम्लाबाट निर्वाचित सांसद जीवनबहादुर शाही नेतृत्वको १९ सदस्यीय टोलीले सीमा क्षेत्रको स्थलगत अवलोकन गर्‍यो ।

अन्ततः शाही नेतृत्वको टोलीले चीनले नेपाली भूमि मिचेको र सीमास्तम्भ पनि चुस्त दुरुस्त अवस्था नरहेको निश्कर्ष निकालेको छ ।