सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ । प्रमुख सचेतक गुलाफजङ शाहलाई दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निलम्बन गरेका छन् । उनको ठाउँमा सीता नेपाली नियुक्त गरेको पत्र थमाएको एक सांसदले बताए ।

यसअघि सचेतक नियुक्त गरिएका शाह ओलीनिकट हुन् । उनी सल्यानबाट प्रतिनिधित्व गर्छन् ।

मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेको छ ।

आइतबार १८ सांसदले विद्रोह गरेपछि केन्द्रबाट मिलाउने प्रयास भइरहेको छ । सोमबार बिहानै मात्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूले छलफल गरेका थिए ।

प्रचण्डले अविश्वासको प्रस्ताव तत्काल रोक्न पार्टी अध्यक्ष ओली र वरिष्ठ नेतालाई आग्रह गरेका छन् । नेता नेपालले पनि मुख्यमन्त्रीको कार्यशैली स्वेच्छाचारी भएकाले सच्चिनुपर्ने र अविश्वासको प्रस्ताव रोकिनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रले पहल गरिरहँदा मुख्यमन्त्रीले अर्को जवाफी‘एक्सन’ सुरु गरेको प्रदेशसभा सदस्य बताउँछन् ।