नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आजदेखि कार्यान्वयन गर्न थालेको छ । काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ उक्त योजना लागु गरिएको महाशाखाले जनाएको छ ।
उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणका लागि सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले यात्राको क्रममा कसैलाई केही समस्या भए १०३ मा फोन गर्न सबैमा आग्रह समेत गर्नुभयो ।
ट्राफिक व्यवस्थापन मात्र होइन, चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओरालदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी चनाखो भएको छ ।

सादा पोसाकमै प्रहरी परिचालन गरि टिकट काउन्टरमा विशेष निगरानी
भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न महाशाखामा रहेको पीडित सहायता ईकाईबाट सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी गरिरहेको महाशाखाका प्रवक्ता तथा एसपी रामेश्वर प्रसाद यादवले बताउनुभयो ।
मुख्यतः बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशाला लगायत टिकट काउन्टर भएका स्थानमा सादा पोसाकमै प्रहरी परिचालन गरि टिकट काउन्टरमा विशेष निगरानी गरिने एसपी यादवले बताउनुभयो । सादा पोसाकका ट्राफिक प्रहरीले बढिभाडा लिई टिकट काट्ने, फर्जि टिकट तथा डबल टिकट काट्ने व्यक्ति माथि निगरानी राख्नेछ भने भाडाका बसहरूमा चढी तोकिएको मूल्यअनुसार टिकट लिएको छ, छैन चेकजाँच पनि गर्नेछ ।
यसका साथै टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।