देउखुरी दाङको एउटा छुट्टै उपत्यका हो । पहिले दाङ र देउखुरी जोडेर जिल्लाको नाम लिने गरिन्थ्यो । अहिले पनि जिल्ला अदालतको नाम दाङ देउखुरी जिल्ला अदालत छ । देउखुरीवासीले घोराही, तुलसीपुर क्षेत्रलाई दाङ उपत्यका भनेर चिन्छन् ।घोराही जाँदा दाङ जाने भन्ने चलन छ । देउखुरी उपत्यकामा लमही नगरपालिकाका साथै राजपुर, गढवा र राप्ती गाउँपालिका पर्छन् । अहिले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरिएको देउखुरी उपत्यका राप्ती नदीको दुवैतिर फैलिएको छ ।

राप्ती नदीले चर्चेको राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका साथै अर्घाखाँचीको शीतगंगा नगर क्षेत्रमा राजधानी भनिएकाले भालुबाङ क्षेत्रलाई केन्द्र मानेर स्थापना हुने आकलन गरिएको छ । भालुबाङको अधिकांश क्षेत्र राष्ट्रिय वनको जग्गामा विस्तार भएको बजार हो । अहिले पनि यहाँका बासिन्दाले नगर विकास समितिलाई कर तिरेका आधारमा आफ्नो सम्पत्तिको उपभोग गरिरहेका छन् । जग्गा धनीपुर्जाका लागि पटकपटक प्रयास गरे पनि भालुबाङ बजार व्यक्तिका नाममा दर्ता हुन सकेको छैन ।

देउखुरी उपत्यका र भालुबाङ क्षेत्र रुकुम, रोल्पाबाट नुन बोक्दा पैदल हिँड्ने गरेको क्षेत्र हो । देउखुरी उपत्यका हुँदै कोइलाबास, कपिलवस्तु र बुटवल जाने गरिन्थ्यो । पूर्वपश्चिम राजमार्ग निर्माण भएपछि भालुबाङ बजारका रूपमा स्थापित भएको हो । अधिकांश राजमार्ग निर्माणका क्रममा काम गर्न आएका विभिन्न ठाउँका मजदुर भालुबाङ क्षेत्रमा बसोबास गरेका थिए । राप्ती नदीले ओगटेको क्षेत्र प्रशस्त भएकाले नदी तटबन्धन गरी पर्याप्त जग्गा निकाल्न सक्ने सम्भावना देखिन्छ ।

देउखुरीबाट दाङ र कपिलवस्तुका भारतीय सीमा क्षेत्र नजिक पर्छन् । यसले राजधानीलाई व्यावसायिक रूपमा पनि छिमेकसँग जोड्न सघाउने देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए । दाङ, कपिलवस्तु, अर्घाखाँची, पूर्वी रुकुम, रोल्पा र प्यूठान क्षेत्रको मिलनबिन्दु भएकाले देउखुरी सबैको केन्द्र परेको उनको भनाइ छ ।

असोज १६ गते प्रदेश ५ को सरकारले प्रदेशको राजधानी देउखुरी उपत्यकामा राख्ने निर्णय गर्‍यो। त्यसमा पनि भालुवाङ बजारलाई केन्द्रमा राखेर दाङका गढवा र राप्ती गाउँपालिका अनि अर्घाखाँचीको शितगंगा नगरपालिकाको केही भाग समेटेर राजधानी बनाउने भनियो।

रूपन्देही र नवलपरासी पश्चिमका सांसदहरूले विरोध गरे। बुटवलमा प्रदर्शन पनि भयो।

मंगलबार प्रदेश सभामा भएको मतदानमा भने देउखुरी उपत्यकामा राजधानी राख्ने प्रस्ताव दुई तिहाइ बढी मतले पारित भयो। अर्थात्  गाउँपालिकामात्रै रहेको  देउखुरी सोझै प्रदेशको राजधानी बन्यो।