कोरोनाले विश्वका गरिब मुलुकदेखि महाशक्ति राष्ट्रसम्म सबैलाई नराम्ररी प्रभावित पारेको छ। यही महाव्याधिका कारण अर्थतन्त्र ओरालो लाग्दा विश्वभर करोडौंले रोजगारी गुमाउनु परेको छ। कोरोनाले अर्थतन्त्रमा पारेको असर सन् २००९ मा विश्वव्यापी आर्थिक मन्दीभन्दा बढी देखिएको तथ्यांकले देखाउँछ। रोजगारी पनि यसैले धेरै खोसेको छ, जति विगतमा कुनै महामारीले खोस्न सकेको थिएन। 

अमेरिका
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकको शीर्ष स्थानमा अमेरिकाको नाम छ। यहाँका ३ करोडभन्दा बढी व्यक्तिको प्रत्यक्ष रोजगार गुमेको अध्ययनहरूले देखाएका छन्। सन् २००९ को विश्वव्यापी आर्थिक मन्दीलाई पनि पछि पार्ने गरी यसपटक कोरोनाले अमेरिकी अर्थतन्त्रलाई प्रभावित गरेको छ। अमेरिकामा यो वर्षको अप्रिलमा बेरोजगारीदर १४.७ प्रतिशत पुग्यो। जब कि सन् २००९ को अक्टुबरमा बेरोजगारीदर १० प्रतिशतसम्म पुगेको थियो। अप्रिल महिनामा त अमेरिकामा करिब ७८ प्रतिशतले रोजगारी गुमाएका थिए। 

ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्र
संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व श्रम संगठन (आईएलओ) ले अघिल्लो साता एक प्रतिवेदन सार्वजनिक गरेको छ। कोरोना महामारीले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा पारेको असरबारे गरिएको अध्ययनले एक दशकअघि विश्वले भोगेको आर्थिक मन्दीभन्दा कोरोनाको प्रभाव अर्थतन्त्रमा बढी देखिएको पाइएको छ। कोरोना माहामारीका कारण यस क्षेत्रमा रोजगार र आयमा ठूलो संकुचन आएको छ। 

प्रतिवेदनअनुसार यस क्षेत्रमा मात्रै करिब ३ करोड ४० लाख नागरिकले रोजगारी गुमाएका छन्। बढ्दो बेरोजगारीलाई हल गर्न नयाँ रणनीति अख्तियार गर्नुपर्ने सुझाव आईएलओको छ। अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, कोस्टारिका, मेक्सिको, पाराग्वे, पेरु र उरुग्वेमा गरिएको अध्ययनअनुसार त्यहाँका नागरिकको समग्र आम्दानी १९ प्रतिशतले खुम्चिएको छ भने काम गर्ने समय (वर्किङ आवर) पनि २० प्रतिशतमा सीमित भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा यो क्षेत्रको क्षेत्रीय जीडीपीमा माइनस ९.४ प्रतिशतले संकुचन आउने अनुमान गरेको छ। 

भारत
भारतमा अहिले बेरोजगारी दर ६.६ प्रतिशत छ। जब कि मे महिनामा यो दर २४ प्रतिशत पुगेको थियो। त्यति बेला भारतभर लकडाउन गरिएको थियो र जागिर गुमाउनेको संख्या पनि अत्यधिक थियो। सरकारी तथ्यांकअनुसार भारतमा अप्रिलमा मात्रै १२ करोड व्यक्तिले जागिर गुमाएका थिए। भारतले कोरोना संक्रमण बढिरहेकै बेला देशव्यापी लकडाउन खुकुलो गरेपछि अर्थतन्त्र चलायमान बन्यो। यसका कारण पछिल्ला दिनहरूमा बेरोजगारीदर पनि घट्दै गएको हो। विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुकमध्ये भारतले कोरोनाका कारण जनस्वास्थ्यसँगै अर्थतन्त्रमा ठूलो नोक्सानी व्यहोर्नु पर्‍यो। कतिपय विश्लेषकका अनुसार भारतलाई पुरानै अवस्थामा फर्किन अझै चार वर्ष लाग्नसक्छ। भारत विश्वमै धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा दोस्रो स्थानमा छ। 

अस्ट्रेलिया
विश्वका अन्य मुलुकजस्तै अस्ट्रेलियाको अर्थतन्त्र कोरोनाका कारण थिलथिलो बन्यो। मेमा अस्ट्रेलियाको बेरोजगारी दर ६.८ पुगेको थियो। यो सन् २००१ पछिकै सबैभन्दा खराब अवस्था हो। अगस्टदेखि भने अर्थतन्त्र सुधारोन्मुख छ। अर्थतन्त्रमा सकारात्मक संकेतहरू देखिन थालेका छन्। अगस्टमा मात्रै सरकारी र निजीमा गरी करिब दुई लाख ६ हजार रोजगारीका लागि आवेदन मागिएको थियो। यो अघिल्लो महिनाको तुलनामा ६० प्रतिशत बढी हो। अस्ट्रेलियामा अहिले पनि नौ लाखभन्दा बढी व्यक्ति बेरोजगार छन्। 

क्यानडा
कोरोना महामारीले क्यानडाको अर्थतन्त्रलाई लगभग आर्थिक मन्दीकै अवस्थामा पुर्‍याएको थियो। तर मुलुकलाई आर्थिक संकटबाट जोगाउन सरकारले सामाजिक दूरी कायम गराउँदै अर्थतन्त्रलाई सुचारु गरेपछि केही राहत भने अवश्य भयो। अर्थतन्त्रलाई पुरानै अवस्थामा आउन भने अझै समय लाग्ने देखिन्छ। मेमा बेरोजगारीदर १३.५ प्रतिशत पुगेको थियो। यो सन् १९७६ यताकै सबैभन्दा खराब समय हो। 

क्यानडामा कोरोना भाइरस महामारीका कारण ठूलो संख्यामा नागरिकले रोजगारी गुमाए। मार्च, अप्रिलमा मात्रै करिब ३० लाख व्यक्तिले रोजगारी गुमाएका थिए। अहिले क्यानडामा ७० प्रतिशतभन्दा बढी व्यक्ति रोजगारीमा फर्किसकेका छन्। जुनमा मात्रै क्यानडामा चार लाख १८ हजार नयाँ रोजगारी थपिए।

बेलायत
बेलायतमा कोरोनाका कारण अर्थतन्त्र धराशयी बन्दै गएपछि धेरै निजी कम्पनीले कामदार कटौती गर्ने नीति नै बनाए। बेलायतमा मार्चमा पहिलो पटक लकडाउन सुरु भएको थियो। त्यसपछि अगस्टसम्ममा त्यहाँका २७ लाख नागरिकले आफू रोजगारविहीन भएको भन्दै सरकारसँग सुविधा मागेका छन्। अहिले भने बेरोजगारीदर ४.१ प्रतिशत छ। यसबीचमा ७ लाखभन्दा बढीले रोजगारी गुमाए। यो वर्ष बेरोजगारीदर ९ प्रतिशतमाथि पुग्ने आकलन गरिएको छ। कोरोनाकै कारण लाखौंले अर्काे वर्ष पनि जागिर नपाउने अवस्था आउन सक्ने विज्ञहरूको अनुमान छ। 

इटाली
कोरोनाबाट सबैभन्दा बढी प्रभावित युरोपेली मुलुकमध्ये इटाली एक हो। इटालीमा मार्चदेखि लकडाउन सुरु गरिएको थियो। यहाँ बेरोजगारीदर ९.७ प्रतिशत छ। मेमा ८४ हजार व्यक्तिले रोजगारी गुमाए भने अप्रिलमा २ लाख ७४ हजार बेरोजगार बने। त्यस्तै जुनमा करिब ६ लाखले रोजगारी गुमाएको त्यहाँको सरकारी तथ्यांकले देखाएको छ। 
अहिले इटालीमा लकडाउन हटाइएको छ। यसका कारण रोजगारीका क्षेत्रमा निरन्तर सुधार भइरहेको छ। अगस्टमा ८३ हजार नयाँ रोजगारी थपिएका छन्। सेप्टेम्बरमा रोजगारीमा फर्किनेको संख्या उल्लेख्य छ। 

रुस
रुसमा प्रत्येक वर्ष बेरोजगारीको संख्या घट्दै गएको छ। सन् २०१६ मा ५.५६ प्रतिशत, सन् २०१७ मा ५.२१, सन् २०१८ मा ४.८५ र सन् २०१९ मा ४.५९ प्रतिशत बेरोजगारी थियो। मुलुकमा बेरोजगारीदर घटाउँदै गएको रुसको अर्थतन्त्र सन् २०२० मा भने सुखद रहेन। कोरोनाका कारण अहिले बेरोजगारीदर बढेर ६.४ प्रतिशत पुगेको छ। अगस्टमा ४८ लाख १० हजार व्यक्तिले रोजगारी गुमाए भने जुलाईमा ४७ लाख ३० हजार बेरोजगार बने। -खगेन्द्र भणडारी
(एजेन्सीहरूको सहयोगमा)