नेपाली कांग्रेसले डा. गोविन्द केसीले राखेका मागहरु जायज रहेको भन्दै ऐक्यबद्धता जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले डा. केसीको मागमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ति जारी गरिसकेको बताए । तर पनि केन्द्रीय कार्यसमिति बैठकबाटै थप निर्णय गरी ऐक्यबद्धता जनाउने तयारी भइरहेको उनले बताए । 

तर कोरोना संक्रमण जोखिमका कारण भोलि (सोमबार) बस्‍ने भनिएको केन्द्रीय कार्य समितिको बैठक बस्‍ने/नबस्‍ने सम्बन्धमा आजै पार्टीले निर्णय गर्ने पनि उनले बताए । कार्यसमिति बस्‍नुअघि आज (आइतबार) का बोलाइएको पदाधिकारी बैठक भने स्थगित भइसकेको उनले बताए । 

केन्द्रीय कार्यसमिति बैठक बस्ने/नबस्ने सम्बन्धमा सबै कार्यसमिति सदस्य र सचिवालय सदस्यहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै निर्णय हुने पनि शर्माले स्पष्ट पारे । डा. केसीले विगतदेखि नै जायज माग राख्दै आएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश माग पूरा हुने उनले बताए । पछिल्लो समय पीसीआर परिक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राखेकाले सरकारले तत्काल वार्ता गरी सुनुवाइ गर्नुपर्ने शर्माको भनाइ छ ।

संसदको विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरिनसकेको प्रवक्ता शर्माले बताए । यद्यपि जनजीवन चलिरहेको अवस्थामा भौतिक दूरी कायम राखेर संसद अधिवेशन चलाउनुपर्ने उनले बताए । विदेशबाट नेपालीहरु फर्कन नपाएको अवस्था, चाडपर्वमा बजारमा हुने महँगी, अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थालगायत विषयमा सरकारले संसद अधिवेशन बोलाएर नागरिकका कुरा राख्‍न मार्गनिर्देश गर्नुपर्ने पनि प्रवक्ता शर्माले बताए । यो विषयमा पनि केन्द्रीय कार्यसमितिले औपचारिक निर्णय गर्नेपनि प्रवक्ता शर्माको भनाइ छ ।