सम्माननीय प्रधानमन्त्री
खड्गप्रसाद ओलीज्यू
सादर नमस्कार  

२०७५ साउन ९ गते डा. गोविन्द केसीलाई उहाँको २४सौँ दिनको अनशनमा भेटेर आएपछि मैले यसै पत्रिकामार्फत तपाईंलाई एउटा पत्र लेखेको थिएँ। अस्ति पनि म डा. केसी अनशन बसेकै ठाउँमा टिचिङ अस्पतालमा उहाँलाई भेट्न गएँ। उहाँको स्वास्थ्य अवस्था ज्यादै नै नाजुक रहेछ। मैलेभन्दा बढी तपाईंले बुझिराख्नुभएको होला, किनकि तपाईं राष्ट्रको अभिभावक हुनुहुन्छ र राष्ट्रिय संयन्त्रमार्फत तपाईंकहाँ यथार्थ सूचना आएकै हुनुपर्छ। राष्ट्रको अभिभावकका रूपमा तपाईंले गर्नुपर्ने काम के हो, त्यो पनि मैले भनिरहनु आवश्यक छैन। तपाईं स्वयं विज्ञ हुनुहुन्छ।  

मैले यस विषयमा चिन्ता व्यक्त गर्दै केही दिनअघि तपाईंका एक सल्लाहकारसँग पनि फोनमा कुरा गरेको थिएँ। सल्लाहकारज्यूले ‘डा. केसी फलानो मन्त्री हटाऊ, फलानो पदाधिकारी हटाऊ या राख भन्नुहुन्छ, त्यो त गर्न सकिन्न नि’ भन्नुभयोे। तर उहाँका हाल प्रस्तुत मागमा कसैको राजीनामा मागिएको देखिँदैन, न त कसैलाई राख भनिएको छ। केवल वरिष्ठताका आधारमा नियुक्ति गर्ने मात्र माग गरिएको छ। त्यो त निर्विवाद सिद्धान्त नै होइन र ?  

अहिले डा. केसीका जम्मा ६ वटा माग छन्, जसमध्ये प्रमुख माग विगतमा भएका सहमति कार्यान्वयन गर भन्ने छ र कर्णालीमा एमबिबिएसको पढाइ सुरु गर्ने र केही जिल्लामा मेडिकल कलेज खोल्ने सहमति भएअनुसार खोल्नू भन्ने छ। ती माग त बिल्कुल जायज छन् नि, होइन र ? वास्तवमा ती माग डा. केसीका मात्र होइनन्, नेपाली जनताका माग हुन्। ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने हो भने जनताका वास्तविक आवश्यकतातर्फ ध्यान दिनुप¥यो, न कि मन्त्रिमण्डलमा मानिस थप्नेतिर। 

कर्णाली मेडिकल कलेजमा एमबिबिएसको पढाइका माग कर्णालीका जनताको हो। अन्यत्र मेडिकल कलेजको माग पनि जनताकै हो। अहिले कोरोना संक्रमणको लहर चल्दा हामी सबैलाई थाहा हुनुपर्ने हो, देशमा कसको कति महŒव रहेछ। अन्न उत्पादन गर्ने किसान र स्वास्थ्य क्षेत्रमा काम गर्ने डाक्टर, नर्सहरू पो सबैभन्दा ठूला रहेछन्। गन्तव्यहीन सत्ताको छिनाझपटी राजनीतिभन्दा तिनको पेसा पो ठूलो रहेछ।  

प्रधानमन्त्रीज्यू ! तपाईं स्वयं ती डाक्टरका कृपाले किड्नी फेरेर पनि स्वस्थ जीवन बिताइरहनुभएको छ। किसानका कृपाले खाइरहनुभएको छ। हामी सबै तिनकै कृपाले नै बाँचिरहेछौँ, खाइरहेछौँ। अहिले आएर स्वास्थ्य र भोजन पो आधारभूत आवश्यकता रहेछन् र ती व्यवसायी र सेवक पो ठूला रहेछन् भन्ने अझ छर्लंग भयो। अन्तिम घडीमा त राजनीतिसित जनतालाई धेरै मतलब नहुने रहेछ। त्यसैले जनताका ती आवश्यकतातिर ध्यान दिउँ भन्ने मात्र अनुरोध हो मेरो।  

डा. केसीले अघि सारेका माग सम्बोधन गर्दा तपाईंको हाइट घट्दैन, अझ बढ्छ। तर डा. केसीका विरुद्धको अडानले तपाईंलाई ठूलो नोक्सान गर्दैछ, यो ध्रुवसत्य हो। किनकि डा. केसी कुनै व्यक्तिगत माग राखेर अनशनरत हुनुहुन्न। देशभर पैदल घुम्नुभएका उहाँ दूरदराजका गरिब नेपाली जनता र समग्र राष्ट्रका पक्षमा अनशनरत हुनुहुन्छ। जनताले त्यो बुझेका छन्। वास्तवमा डा. केसीलाई सबैभन्दा ठूलो कम्युनिस्ट या जोगी भने पनि हुन्छ–परिवारविहीन, सम्पत्तिविहीन। उहाँलाई कुनै पार्टीको ट्याग लगाउन मिल्दैन। किनकि उहाँले सन् २०१२ देखि प्रायः सबै प्रधानमन्त्रीहरूको कार्यकालमा दुईदेखि चार–पाँच पटकसम्म अनशन बसेको देखिन्छ– बाबुराम भट्टराई (२), खिलराज रेग्मी (२), सुशील कोइराला (३), केपी ओली (अहिलेसमेत गरी ५ पटक रे), पुष्पकमल दाहाल (२) र शेरबहादुर देउवा (४)। कसका पालामा कतिपटक अनशन गरेको भनी अंकहरू स्पष्ट बोल्छन्। तर के नेपाली जनताका लागि डा. केसीले अनशन बस्नुपर्ने हो र ? यो त सरकारले आफैँ गर्नुपर्ने काम होइन र ?  

अहिले सम्बन्धनको कुरा त त्यति उठेको छैन। तर यति चाहिँ हेक्का राखौँ। कम्युनिस्ट सरकारहरूले स्वास्थ्य र शिक्षालाई राष्ट्रियकरण गर्ने हो, प्राइभेट मेडिकल कलेजलाई सम्बन्धन दिने होइन। जसले आजसम्म प्राइभेट मेडिकल कलेजमा लगानी गरेका छन्, तिनको लगानीको उचित मूल्यांकन गरी त्यसमा ब्याज समेत थपेर सरकारी ढुकुटीबाट भुक्तानी गरिदिनुस् र तिनलाई राष्ट्रियकरण गरिदिनुस्। त्यस कामलाई त्यति अपराध मानिने छैन, जति गुणस्तरविहीन कलेजलाई दिइने सम्बन्धनलाई मानिएला। वीरगन्जको नेसनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजमा विद्यार्थी भर्ना नभई ४५–४६ सिट खालि रहेको कुरा पनि अखबारमा उतिखेरै पढेको थिएँ । तपाईंले पनि पढ्नुभयो होला। सायद सरकारी भएकै कारण त्रिवि शिक्षण अस्पताल महाराजगन्ज राम्रो छ। गुणस्तरहीन कलेजलाई त सम्बन्धन दिए पनि जनताले तिनमा छोराछोरी पढाउँदैनन्। बरु विदेश पठाउँछन्।    

चीन, क्युबा, उत्तरकोरिया कतै पनि प्राइभेट मेडिकल कलेज भएको मैले सुनेको छैन। श्रीलंकामा पनि छैन। तपाईंलाई यो पनि थाहै होला, क्युबाको स्वास्थ्य सेवा विश्वमै राम्रो मानिन्छ। मैले त राजदूतको रूपमा जाँदा त्यो आफैँ देखेर आएको छु। त्यहाँ प्राइभेट कलेज अस्पताल छैनन्।

डा. केसीलाई भेटेर बाहिर आएपछि मलाई एकजना मानिसले डा. केसीको स्वास्थ्यबारे सोधे। मैले भनेको थिएँ, ‘डा. केसीको अनशन प्रधानमन्त्री ओली आफैँले हस्तक्षेप गरेर समाधान गर्नुपर्छ, मैले उहाँसित भेट गर्न पाए म उहाँलाई यही कुरा भन्थेँ।’ मेरो यो वाक्य सुनेपछि उनले भने, ‘म ओलीको पार्टीलाई भोट हालेको मान्छे हुँ, तर डाक्टर साहेब, ओलीलाई भेटेर काम छैन।’  

किन काम छैन भनी बुझाउन उनले अरु थप कुरा पनि भने तपाईंका बारेमा। त्यो सबै मिडियामार्फत पठाउने यो पत्रमा नलेख्नु नै बेस होला। तर तपाईंकै पार्टीको समर्थकले जुन आक्रोश व्यक्त गरे, त्यो व्यक्तिगत रूपमा, पार्टी अध्यक्षका रूपमा, प्रधानमन्त्रीका रूपमा या कुनै रूपमा पनि तपाईंका लागि शुभलक्षण थिएन। सारांशमा यति भनौँ, डा. गोविन्द केसी अनशन प्रकरणमा सरकारप्रमुख, पार्टीप्रमुख र नेपाल कम्युनिस्ट पार्टी सबैको लोकप्रियता घटेको छ। नघटोस् भन्ने मेरो कामना छ।  

तपाईंका नजिकका मानिसहरूले भन्दा होलान्, ‘अहिले हाम्रो लोकप्रियता घटेको छ भन्नु बकबास हो, हामीसित दुईतिहाइ बहुमत छ, पेलेर जान सकिन्छ।’ दुईतिहाइ बहुमत २०१७ सालमा पनि थियो। तर त्यतिखेर नै के भयो– सब जगजाहेर छ। त्यतिखेरको राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भबारे लेखिरहन आवश्यक छैन। हो, २०१७ र २०७५ सालको नेपाल उही र उस्तै छैन। तर डा. केसीको अनशन प्रकरणलाई उपेक्षा गरियो भने त्यो कुनै ठूलो अनिष्ट निम्त्याउने झिल्को हुन बेर छैन।