कर्णालीमा यो वर्ष स्याउको उत्पादन घटेको छ । उत्पादन कम भएपछि बजारमा स्याउको मूल्य बढेको छ । अपेक्षा अनुसार स्याउ उत्पादन नभएपछि किसानले कोशेलीको रुपमा दिन पनि नपुगेको गुनासो गरेका छन् । उत्पादन नहुँदा आम्दानी पनि गुमेको यहाँका किसानको भनाइ छ ।

कर्णालीमा सबैभन्दा धेरै स्याउ जुम्लामा फल्छ । जुम्लामा गतवर्ष मात्र १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । तर योवर्ष जम्मा पाँच हजार मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले उत्पादन घटेपछि यसपाली स्याउको मूल्य बढेकोे बताए । जुम्लामा यसपाली प्रतिकिलो ए ग्रेडको १६०, बी ग्रेडको १५५ र सी ग्रेडको १५० रुपैयाँ तोकिएको छ । उत्पादन घटेका कारण स्याउको मूल्य अझ बढ्न सक्ने देवकोटाको भनाइ छ ।

त्यस्तै हुम्लामा गतवर्ष साढे १४ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यहाँ योवर्ष उत्पादन आधा घटेको छ । त्यस्तै गतवर्ष १५ सय मेट्रिक टन स्याउ उत्पादन भएको मुगुमा पनि ७० प्रतिशत उत्पादन घटेको छ । स्याउ उत्पादन घटेपछि योवर्ष बाहिरी जिल्लामा स्याउ निर्यात नहुने जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख पञ्चलाल बुढाले जानकारी दिए ।

गतवर्ष तीन हजार दुईसय ९६ मेट्रिक टन स्याउ उत्पादन भएको डोल्पामा पनि योवर्ष झण्डै चारसय मेट्रिक टन स्याउ मात्रै उत्पादन भएको कृषि विकास कार्यालयका सहायक प्राविधिक बुद्धि बुढाथोकीले बताए ।

कर्णालीका जुम्ला, डोल्पा, मुगु, कालिकोट र हुम्लामा अर्गानिक स्याउ उत्पादन हुन्छ । तर योवर्ष भने झण्डै ७० प्रतिशतले स्याउ उत्पादन घटेको छ । स्याउको फूल फुल्ने समयमा असिना पानी पर्दा फूल झरेपछि उत्पादनमा कमी आएको हो । गत जेठ बैशाखमा परेको असिना र पानीका कारण स्याउ उत्पादन घटेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । ‘योवर्ष आफैमा स्याउ उत्पादन घट्ने बर्ष हो’ देवकोटाले भने, ‘जेठ बैशाखमा असिना पर्दा आधा उत्पादन घटेको हो ।’ उत्पादन घटेपछि गत वर्षको तुलनामा स्याउको मूल्य बढेको हो । ‘गतवर्ष किलोको ८०/९० रुपैयाँमा बिक्री हुन्थ्यो, योवर्ष एकसय ६० रुपैयाँसम्म पुगेको छ’, उनले भने, ‘उत्पादन घटेका कारण स्याउको मूल्य बढेको हो ।’
 
स्याउको उत्पादन घट्दा व्यवसायिक किसान भने मर्कामा परेको उनले जनाए । पछिल्लो समय जुम्लाका अधिकांश किसालने व्यवसायिक रुपमै स्याउ उत्पादन सुरु गरेका छन् । कर्णालीमा उत्पादित स्याउ सुर्खेत, नेपालगन्ज, पोखरा र काठमाडौंलगायतका सहरमा बिक्री हुन्छ । स्याउ निर्यातका लागि सम्बन्धित जिल्ला कृषि विकास कार्यालयले कृषकलाई कार्टुन उपलब्ध गराउँदै आएका छन् । कर्णालीमा रेड डेलिसियस, गोल्डेन र चक्लेटी लगाएतका जातका स्याउको खेती गरिँदै आएको छ ।

प्रति दानाको १५ रुपैयाँसम्म

गतवर्ष १५ सय मेट्रिक टन स्याउ उत्पादन भएको मुगुमा योवर्ष जिल्ला बाहिर निर्यात गर्नका लागि स्याउ छैन । ‘उत्पादन घटेपछि जिल्ला बाहिर निर्यात गर्ने स्याउ नै छैन’ जिल्ला कृषि विकास कार्यालयमा मुगुका प्रमुख पञ्चलाल बुढाले भने, ‘योवर्ष त आफन्तलाई कोशेली मात्रै भयो ।’ कार्यालयले अघिल्ला वर्षहरुमा स्याउ निर्यातका लागि चार हजारभन्दा बढी कार्टुन किसानलाई उत्पलब्ध गराउँदै आएको थियो । तर योवर्ष भने किसानले कार्टुनको माग नै गरेका छैनन् ।

स्याउ उत्पादन घटेका कारण सदरमुकाम गमगढीमा १०/१५ रुपैयाँ प्रति दानामा स्याउ बिक्री हुँदै आएको उनले बताए । सडक पुगेपछि किसानले स्याउ जिल्ला बाहिर पठाउन थालेका थिए । गतवर्ष ५० हजार रुपैयाँ आम्दानी गरेकी छायाँनाथरारा नगरपालिका–५ कार्कीबाडाका जगमाया भामले योवर्ष दुई हजार मात्रै आम्दानी हुने बताउँछिन् । ‘भाउ र बजारको समस्या नभएपछि अन्नबाली छोडेर स्याउ खेतीमा लागेका थियौं,’ उनले भनिन्, ‘यसपाली उत्पादन घटेपछि घरखर्च कसरी चलाउने भन्ने चिन्ता लाग्न थालेको छ ।’

त्यस्तै हालसम्म सडक सञ्जालमा नजोडिएको हुम्लामा पनि यसपाली प्रतिदाना १० रुपैयाँका दरले स्याउ बिक्री हुँदै आएको छ । जहाजबाट स्याय निर्यात गर्दा महंगो पर्ने भएकाले दश रुपैयाँ दानाको स्याउ बिक्री गर्नु परेको सिमकोट गाउँपालिका वडा नम्बर ४ कि मालती शाहीले बताइन् ।