बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको विभत्स हत्या भएकाे छ।

बृद्ध हजुरबुवा र हजुरआमाको संरक्षणमा रहेकी बालिकाको बुधबार राति विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव घरभन्दा दुई किलोमिटर टाढा स्थानीय एक मन्दिरमा फेला परेको थियो ।

प्रहरीले बालिकाको हत्या गरेको आशंकामा स्थानीय एक जनालाई पक्राउ गरेको छ।

मष्टा गाउँपालिका वडा नंम्बर २ खिकालाकी १२ वर्षीया बालिका बुधबार पशु चौपाया बाँध्न सिमछानामा गएकी र राती अबेर सम्म घर नआएपछि खोजी गर्दै जाँदा सोही राती गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिम मन्दिरमा उनको शव फेला परेको थियो ।

बालिकाको शरीर भरी निलडाम र नग्न अवस्थामा शव भेटिएको मष्टा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शेरबहादुर खड्काले बताए । उनका अनुसार बालिकाले कानमा लगाएका सुनका गहना समेत लुटिएकाे छ।

बालिकाको शव फेला परे लगत्तै राती नै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुन सक्ने बताए । उनले भने, ‘म मंगलबार राती नै घटनास्थल पुगेर हेर्दा बलात्कारपछि हत्या जस्तो नै देखिन्छ ।’

तर पोष्टमार्टको रिपोर्ट नआउन्जेल केही भन्न नसकिने उनले बताए । बिहीबार बेलुका जिल्ला अस्पताल बझाङमा शवको पोष्टमार्टम गरिएको र आज बेलुकासम्म रिपाेर्ट आउने प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । उनले भने, ‘घटनामा संलग्नको आशंकामा एक जना स्थानीय पक्राउ परेका छन्, थप अनुसन्धान भइरहेको छ।’

बालिकाका बुवाआमा भने विगत तीन वर्ष देखि रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । घरकी जेठी छोरीका रुपमा रहेकी ती बालिकाका दुई बहिनी र एक भाइ रहेका छन् । दुई बहिनीसहित मृतक बालिका हजुरबुवा र हजुरआमाको संरक्षणमा रहेकी थिइन्। एक भाइ भने आमाबुवा सँगै भारतमा रहेका छन्।

‘स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत ती बालिका अरु बहिनीको अभिभावक जस्तै रहेकी थिइन्’ मष्टा गाउँपालिकाका अध्यक्ष कर्ण कठायतले भने–‘बाजे बजै बृद्ध रहेकाले घरको सबै जिम्मा ती बालिकाको नै थियो।’

उनले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरि दोषीलाई कारबाहीका लागि स्थानीय प्रहरी प्रशासनलाई आग्रह गरिएको बताए।

अध्यक्ष कठायतले भने, ‘गाउँपालिकाका तर्फबाट घटनाको अनुसन्धानका लागि पूर्ण सहयोग गरिरहेका छौँ, दोषीले उन्मुक्ति पाउनुहुन्न।’

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले बताएका छन्।