काठमाडौं, १० फागुन । वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बिहीवार बेलुका ७ः ३० बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्ट चार तलामाथिबाट चुडिएर खस्दा अस्पतालमा कार्यरत मजदुर सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र २० वर्षीय भूमिकुमार चौधरीकाे मृत्यु भएकाे हाे ।

सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।उनको आन्तरिक रक्तश्राव भइरहेकेा चिकित्सकले जनाएका छन् । एक जनाको घटनास्थलमै मृत्यु भएको थियो अर्का व्यक्तिलाई हस्पिटल भर्ना गरिएको एक घण्टामा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

दुई जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिखएकाे छ । राष्ट्रिय ट्रमा सेन्टरका निमित्त निर्देशक डा विनोदमान शेरचनका अनुसार टाउकोमा गम्भीर चोट तथा अन्य मल्टिफल फ्याक्चर भई घाइते भएका तीन जनामध्ये एक जनाको ट्रमा सेन्टर लैजाँदा लैजाँदै बाटोमा, अर्को एक जनाको ट्रमा सेन्टरको आकस्मिक कक्षमा पुरयाई उपचार शुरु गर्न लाग्दा ज्यान गएको हो । उनले अर्को एक जनाको पनि गम्भीर अवस्थामा उपचार भईरहेको बताए ।

लिफ्ट के कारणले चुडिँयो भन्नेबारे अस्पताल प्रशासन र प्रहरीले छानवीन गरिरहेको बताइएको छ । घटनालाई बीर अस्पलात प्रशासनले सकेसम्म लुकाउन खोजको थियो ।