सरकारले पीसीआर परीक्षणकाे शुल्क घटाएकाे छ । कोरोना भाइरसकाे सङ्क्रमण छ कि छैन भन्नका लागि गरिने पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे हाे । 

पीसीआर परीक्षणका लागि चाहिने आवश्यक समग्रीको मूल्य घटेकोले परीक्षणको शुल्क संशाेधन गरेर दुई हजार रुपैयाँ कायम गरिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । यसअघि पीसीआर परीक्षणकाे शुल्क चार हजार चार सय रुपैयाँ ताेकिएकाे थियाे ।   

सरकारी अस्पताल तथा पीसीआर परीक्षणका लागि अनुमति पाएका सबै निजी प्रयोगशालाले अब पीसीआर परीक्षणको शुल्क अधिकतम दुई हजार रुपैयाँमात्र लिन पाउने प्रवक्ता गौतमले जानकारी दिनुभयो । शुरूका दिनमा १५ हजार सम्म पनि शुल्क लिइएकाे थियाे ।