–कल्पना पौडेल ‘जिज्ञासु’


मेरो जननीलाई बिपन्नताको च्यादर ओढेर
संपन्नताको खोस्टा टुक्राउदै,
बर्षौं देखि मिलेर बसेका दाजु-भाईमा,
कलहको बिउ रोपी दिएर
कलंकित गरेका छन् ।
गाउँ, बस्ती, शहर अनि देशका लागि भन्दै
बिगुल फुक्दै हिड्ने मुर्कुट्टाका जल्लादहरू
आज भोली चार हातका झण्डा लहराउदै
चिल्ला कारमा चढेर, सितारे होटलका रस-पानमा मस्त छन,
अनि मेरी जननी प्रसब पिडामा छटपटाउदै छिन ।
सुनौलो भाग्य खोज्नु पर्ने युवाहरु,
कौडिको भाउ अनि रैथाने कुकुर झै प्रवासमा,
भोक बेच्न बाध्य छन, भोजन चपाउदै ।
अनिकाल र दरिद्रताले छाएको मेरो कृषी प्रधान देश,
कल्पनाको नयाँ नेपाल
नेताका झुटा चुनावी प्रचार अनि आस्वासन जस्तै,
कतै सपना तुहिने त हैन
बम बारुद पड्किएर गएका ज्यान थोरै भए की ?
जनताको सुरक्षा भन्दै लुटी खाने धेरै भए
गरिबको संज्ञा दिदै चुसी खाने धेरै भए
धेरै चुसियाे या लुटियाे मेरो प्यारो जननी ।
फगतको कुर्सि, मान्छे उही, दरबार उही,
गरिबका झोपडी अनि बस्तीहरुमा,
गरिब मजदुर र श्रमिकको खुन पसिनाहरुमा
बिश्वास चुस्न पल्केका यि मतिहारहरु,
छातीमा कुल्चेर गरिब दु:खीको शाेषण गर्दा,
रोई रहेकी छिन मेरी जननी ।
अब हामीमा समानता छाउनु पर्छ,
अहम्, रिस, राग, लोभ अनि मोह त्याग्नु पर्छ,
सँगै बसि कमिलाका ताँती झै एकजुटता हुनुपर्छ
असहाय, बृद्धा, अपाङ्ग र अनाथहरूको सेवा गरि,
कर्मको बिश्वास अनि आड-भरोषामा,
देशले न्याय पाउनु पर्छ ।
अव हाम्रो हिमाल हाँस्नु पर्छ,
हाम्रा गुराँस फुल्नु पर्छ
तराइमा धान झुल्नुपर्छ
हाम्री जननी हास्नु पर्छ ।।