सस्ता नाम कमाउने नियतले चल्दैछ संसार यो
छोटा बस्त्र भिरेर पश्चिमतिरै ढल्दैछ संसार यो
काला काम गरी हिँडेर यसरी बिग्रन्छ तिम्रै छवि
अर्काको कविता हरेर पनि खै के बन्न सक्छौ कवि ?

कस्तो दुर्मति झाङ्गिदैछ जनमा हट्दै नहट्ने भयो
सोझो कर्म गरेर मानिस उँचो बन्नै नसक्ने भयो
चोरेरै पनि मुक्ति मिल्दछ भने को बस्छ मन्त्रै जपी
अर्काको कविता हरेर पनि खै के बन्न सक्छौ कवि ?

देख्दा लाग्छ अचम्म मानवहरू खै सभ्यता काँ गए
पैसैले सब किन्न तत्पर रहे आफ्ना बिराना भए
हेर्दा चट्ट छ किन्तु कर्तुत गरी थाक्दैन मान्छे ठगी
अर्काको कविता हरेर पनि खै के बन्न सक्छौ कवि ?।।।

भ्रष्टाचार बिचित्र उर्लन गयो टिक्नै नसक्ने गरी
बिघ्नै धान थियो खनेर अहिले ढुङ्गा छ खेतैभरी
यौटा सर्जक बन्न सक्दछ यहाँ आफ्नै बुताले रवि
अर्काको कविता हरेर पनि खै के बन्न सक्छौ कवि ?