एक जना परिचितले कोरोना लागेपछि आफ्नो अनुभव सुनाउँदै भने, ‘ओहो कोरोना संक्रमित भएर आइसियूसम्म पुगेर बाँचियो। यसलाई सामान्य सोचेर बेवास्ता नगरौं।’

फेरि अर्का संक्रमित पुरूषको भने अनुभव बेग्लै छ। उनले सुनाउँदै भने, ‘कोरोना संक्रमण हुँदैमा खासै डराउनु पर्दैन। रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाए  आफैं ठीक भएर जान्छ।’

यस्तै सामाजिक सञ्जालमा एक जनाले ‘कोरोना भन्ने नै छैन, यो खाली हल्ला मात्र हो’ भनेर पनि लेखे।

माथि उल्लेखित फरक फरक धारणा अहिले धेरैले पढेका, सुनेका वा देखेका होलान्। सरसर्ती हेर्दा कोरोनाको बारेमा जसले जसरी भोगे वा भोगेका छैनन् त्यसरी नै आ-आफ्ना धारणा बनाइरहेको पाइन्छ।

अर्थात् नेपालमा कोरोना संक्रमणलाई माथि उल्लेख गरेझैं तीन तरिकाले बुझ्ने गरिएको छ।

यसलाई बुझ्न मत पनि सोही अनुसार बाझिएको पाइन्छ। 

पहिलोपटक नेपालमा कोरोना भारइसको संक्रमण गत माघमा पुष्टि भएको थियो। कोरोनाको उद्गमस्थल मानिएको चीनको वुहानबाट आएका एक जनामा संक्रमण पुष्टि भएको थियो।

सोही समयमा चीनको वुहानमा हजारौंको मृत्यु र लाखौ संक्रमित हुने क्रम जारी थियो।

त्यहाँ भयावह अवस्था देखिनु र सञ्चार माध्यमहरूमा व्यापक प्रचार हुँदा नेपालमा पनि यसको डर विस्तारै बढ्दै थियो। जब इटालीले कोरोनाले ठूलो मानवीय क्षति व्यहोर्‍यो, त्यसपछि नेपालीबीच थप त्रास सृजना हुनथाल्यो।

सो समयमा चीनबाट फर्केका भन्नेबित्तिकै जो कोहीप्रति कोरोनाको शंका गर्ने र विस्तारै दूरी बढाउने र तिरस्कार गर्ने जस्ता काम भए। त्यो बेला नेपालमा कोरोनाको थप संक्रमित नभए पनि इटाली, स्पेन, फ्रान्स,बेलायत आदि युरोपेली देशहरूमा कोरोनाको भयावह स्थिति हुँदै जाँदा नेपालमा पनि त्रास बढ्न थालेको थियो।

तर कोरोनाको दोस्रो केस देखिनेबित्तिकै लकडाउन सुरू भयो।

सायद यो अवस्थासम्म आइपुग्दा माथि उल्लेख गरेझैं नेपालमा त्रास अत्यधिक बढी सकेको थियो, फलस्वरूप अकस्मात् लकडाउन सुरू गरियो।

यो लकडाउनलाई झन्डै तीन महिनाको हाराहारीसम्म निरन्तरता दिइयो। योबीच खासै कोरोनाको केस देखिएन।

मानिसहरूमा एक प्रकारको राहत महशुस भएको थियो। नेपालीमा कोरोनाको भय केही हदसम्म कम भएको पनि देखिन्थ्यो। तर अप्रत्याशित रूपमा भारतबाट आउनेहरूको चाप र उनीहरूमा गरिएको परीक्षणले कोरोना संक्रमित देखिन सुरू भयो।

उनीहरू संक्रमित भए पनि अधिकांशमा लक्षण थिएन। यो विश्वको लागि नै अलि फरक प्रकृतिको कोरोना थियो जसलाई ‘साइलेन्ट कोरोना भाइरस’ को नाम दिइएको थियो।

त्यतिन्जेल नेपालमा जति विश्वमा नै त्यति ठूलो संख्यामा लक्षणविहीन कोरोना भाइरसको बारेमा वर्णन र कुनै तथ्य सार्वजनिक भएको थिएन।

नेपालमा भने कोरोना भाइरस विदेशमा देखिएजस्तो भयावह रहेनछ भनिन थालियो। यी लक्षणविहीन संक्रमितहरूबाट कोरोना भनेको खासै डराउनु नपर्ने रहेछ भन्ने सन्देश जान थाल्यो।

योभन्दा अगाडि नेपालीमा देखिएको त्रासमा धेरै हदसम्म कमी आउन थाल्यो। भारतबाट भित्रिने नेपालीको संख्या बढ्दै जाँदा संक्रमितको संख्याको ग्राफ उकालो लाग्यो भने।

फेरि आउनेहरूको चाप कमी भएसँगै संक्रमितको ग्राफ पनि क्रमश: घट्दै गयो।

संक्रमितहरू अधिकांशमा लक्षणहरू नदेखिनु, मानवीय क्षति नगन्य देखिनु, संक्रमितको ग्राफ कम हुँदै जानु र संक्रमितहरू नाचगान गर्दै आइसोलेसनबाट डिस्चार्ज भएको दृश्यले संक्रमितहरू स्वयं र नागरिकहरूमा कोरोना खासै सोचेजस्तो डरलाग्दो होइन रहेछ भन्ने सन्देश गएको प्रष्ट देखिन्थ्यो।

यसैबीच नेपाल सरकारले अचानक लकडाउन अन्त्यको घोषणा गर्‍यो।

कोरोना केही होइन रहेछ भन्ने मनोवैज्ञानिक प्रभाव परिरहेको अवस्थामा अचानक लकडाउन खोलिँदा मानिसहरू जनस्वास्थका मापदण्डको वास्ता नगरी बाहिर हुलमुलमा जाने गरेको देखियो। जसले गर्दा कोरोनाको जोखिम बढ्दै गयो।

काठमाडौंलगायत नेपालका ठूला सहरहरूमा मानिसहरूको धेरै आवतजावत हुँदा जोखिम बढ्दै गएको हो।

जस्तै: वीरगञ्जमा पनि संक्रमण बढ्दै जान गयो। केस मात्र बढेन लक्षणसहितका संक्रमितहरू देखिन थाले। यसरी लक्षणसहितका संक्रमित बढ्दै जाँदा मृत्यु पनि बढ्दै गयो।

विस्तारै संक्रमितहरूलाई आइसियूको अभाव हुन थाल्यो।

उक्त समयमा भने संक्रमितहरूको अनुभव अघिल्लो समयको संक्रमितहरूको जस्तो थिएन।

विस्तारै संक्रमितहरूले कोरोना भनेको घातक रोग रहेछ, यदि समयमा सतर्कता नअपनाए मृत्यु समेत हुनसक्छ भनेर भन्न थाले।

काठमाडौंमा पनि ‘हटस्पट’ भनिएका ठाउँलगायत भारतबाट समेत मानिसहरूको आगमन हुँदा जोखिम ह्वात्तै बढ्यो।

सुरूमा काठमाडौं बाहिरबाट आउनेहरूमा देखिने गरेको कोरोना विस्तारै स्थानीयमा पनि देखिन सुरू भयो।

यहाँ पनि लक्षण सहितका संक्रमित देखिएको र आइसियू भरिँदा कोरोनालाई सामान्य नठान्न भनिन थालियो।

यस्तो सन्देश वा चेतावनी स्वयं स्वास्थ्य मत्रालयले समेत दिन थाल्यो। चिकित्सकहरूले आफैं पनि सघन उपचारमा पर्दा कोरोनालाई बेवास्ता नगर्न सुझाव दिन थाले।

जनस्वास्थ विज्ञहरूले नेपालमा पर्याप्त भेन्टिलेटर सहितको आइसियूको अभाव रहेको र यसको लागि आवश्यक थप पहल गर्न सुझाव दिन थाले।

तर लामो समयको लकडाउनको कारणले मानिसमा आर्थिक, सामाजिक तथा मानसिक तनाब बढ्दै गयो। संक्रमित भएर कडा लक्षणको अनुभव गरेका, लक्षणविहीन र सामान्य लक्षण मात्र देखिएका संक्रमितबीच कोरोनाको बुझाइ बाझिन थाल्यो। 

यो अहिलेको सबभन्दा विवादित विषय हो। कतिले यसमा पुँजीवादी र विश्व स्वास्थ्य संगठनको षडयन्त्र छ भनेर शंका पनि गर्न थाले।

यस्तो भ्रम प्राय: सामाजिक सञ्जालमा तीव्र फैलिरहेको छ। जसले गर्दा मानिसमा जनस्वास्थका मापदण्ड लागू गराउनका लागि थप चुनौती खडा भएको देखिन्छ। र यस्तो भ्रम चिर्न भरपुर काम पनि भएको देखिँदैन। 

विश्व स्वास्थ संगठनको प्रतिवेदन अनुसार लगभग ८० प्रतिशत संक्रमितमा कोरोनाको लक्षण सामान्य देखिने गर्दछ।

१४ प्रतिशतमा लक्षण कडा हुँदा उपचारको लागि अस्पताल भर्ना हुनुपर्ने र झन्डै ५ प्रतिशतलाई सघन उपचार कक्षको आवश्यकता पर्दछ।

यसलाई हेर्दा ८० प्रतिशत संक्रमितले यो सामान्य भाइरस रहेछ भनेर बुझ्नेछ र १४ प्रतिशत संक्रमितले बेवास्ता नगर्न सल्लाह दिनेछ भने  झन्डै ४ प्रतिशत संक्रमितले यो निकै डरलाग्दो र प्राणघातक रोग हो भन्ने छन्।

नेपालमा भने कोरोना देखिएको सुरूआती समयमा ९९ प्रतिशतभन्दा बढी संक्रमितहरूमा लक्षण नदेखिँदा र औषधि पनि खासै दिनु नपर्दा यो भाइरसप्रति बेवास्ता गरेको पाइन्छ।

तर पछिल्लो समयमा आइसियूमा सघन उपचार आवश्यक पर्ने  संक्रमितहरूको संख्या बढ्दै जाँदा र मृत्यु हुनेहरूको संख्या पनि तुलनात्मक रूपमा बढेकोले समाजमा कोरोनाको त्रास बढ्दै गएको देखिन्छ।

कोरोना संक्रमण भई नसकेको वा संक्रमण भैसकेर पनि थाहा नपाएका अर्को समूहले भने कोरोना भन्ने भाइरस नै छैन भनेर सामाजिक सञ्जालमा व्यापक प्रचार गरेको पाइन्छ। यस्ता घटना प्राय: विदेशमा रहेकाहरूले बढी गर्ने गरेको पाइन्छ।    

नेपाल र विश्वको तथ्यांक हेर्दा अधिकांश कोरोना संक्रमितमा लक्षण सामान्य वा लक्षणविहीन नै भएको पाहिन्छ। तसर्थ, संक्रमित हुँदैमा आत्तिनु पर्ने भने होइन। तर बेवास्था गर्नु पनि हुँदैन किनभने कसलाई कतिबेला संक्रमण गर्छ र कसमा अत्यधिक कडा रूप प्रस्तुत हुन्छ भनेर थाहा हुँदैन।

(डा.पुन, संयोजक क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल )