सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू,
सादर यथोचित !

कुशल रही यहाँको कुशलता चाहन्छु। मैले तपाईंको पूरा नाम लिएर सम्बोधन गरेकोमा क्षमा चाहन्छु। मलाई लाग्छ, तपाईंको पूरा नाम लिएर सम्बोधन गर्दा तपाईंलाई जिस्काएको जस्तो लाग्दो हो। किनकि तपाईंको पूरा नाम उच्चारण गर्ने बानी न त स्वयं तपाईंलाई न मलाई छ।

तपाईंलाई थाहा छ कि छैन कुन्नि? तपाईंको पूरा नामबाट सम्बोधन गर्दा समेत कतिपय तपाईंका ‘फ्यान’ हरू रिसाउँछन्। सामाजिक सञ्जाल तथा सामान्य चिया गफहरूमा उनीहरूलाई ‘हनुमान’ भन्ने गरेको देखिन्छ। उनीहरूको ‘हनुमान’ भन्ने शब्दसँग चाँहि मेरो असहमति छ।

हिन्दु धर्ममा हनुमानको ठूलो इज्जत र सम्मान छ। त्यसैले हिन्दु धर्मावलम्बीका लागि ‘हनुमान’ एउटा सम्मानित उपाधि हो। बरु तपाईंका फ्यानहरूको चरित्रलाई सम्बोधन गर्न ‘जमुरे’ अथवा ‘चण्डमुण्ड’ भन्ने शब्द उपयुक्त हुन सक्छ। जमुरे मदारीको इसारामा नाच्छ। यसो भन्दैमा तपाईंलाई मैले मदारीको संज्ञा दिएको नसोच्नुहोला। त्यस्तो दुराशय ममा छैन।

मलाई राम्रोसँग थाहा छ। तपाईंको इसारामा जमुरे होइन, सम्पूर्ण देश नाच्नुपर्छ। तर अपसोच, तपाईंको इसारामा कोही नाचिरहेको छैन। मुलुक प्रभावित भइरहेको छैन।

तपाईंबाट अघाउने र डराउनेहरू मात्र तपाईंको इसारामा नाचिरहेको देखिन्छ। अर्थात् तपाईंको इसारामा मुलुकवासी होइन, जमुरेहरू मात्र नाँच्दै छन्। नागरिक भने जमुरे बन्न तयार देखिएनन्।

आदरणीय प्रधानमन्त्रीज्यू,

तपाईंले मुलुकको एकता र आवश्यकता पन्छाएर ‘राष्ट्रवाद’ को प्रारम्भ गर्नुभयो। तर त्यो वास्तविक राष्टवाद नभएर उग्र राष्ट्रवाद ठहरियो। कथित राष्ट्रवादको कुरा आउनेबित्तिकै जमुरेहरू निकै हौसिए। तपाईंको उग्र राष्ट्रवादले नेपाली समाजलाई मानसिक रुपमा विभाजन गर्न खेलेको भूमिकालाई भने जमुरेहरूले नजरअन्दाज गरे।

संघीय, प्रादेशिक र स्थानीय तहको निर्वाचनमा जनताले तपाईंलाई विश्वास गरे। संघीय तहमा तपाईंको गठबन्धनलाई झन्डै दुई तिहाई बहुमत दिए। यसबाट तपाईंहरू मात्र होइन, तपाईंका विरोधीसमेत आशावादी थिए।

राजनीतिक स्थायित्व र मुलुकको सुन्दर भविष्यप्रति आशावादी थिए। खुलेर नभने पनि तपाईंका विरोधीहरूले समेत विकासको सपना देखेका थिए। किनकि उनीहरूले ठानेका थिए– स्थायित्वले विकास हुन्छ।

तपाईंको नारा पनि राम्रै थियो– समृद्ध नेपाल, सुखी नेपाली। कुनचाहिँ नेपाली ‘समृद्ध र सुखी’ हुन नचाहला? प्रमुख प्रतिपक्ष र अन्य प्रतिपक्षी दलहरूले समेत कुनै अवरोधबिना तपाईंका कदमको स्वागत गरे। तर तपाईंले दिएको परिणाम आज सबैका अगाडि छ।

घरघरमा ग्यासको पाइप पुर्याइदिने कुरा गरेर तपाईंले गोबरग्यास प्लान्ट उद्घाटन गर्नुभयो। पानीजहाजका लागि टिकट बिक्रीको घोषणा गर्नुभयो। चुच्चे रेलका कुरा गर्नुभयो। हावाबाट तुरुन्तै बिजुली निकाल्ने कुरा गर्नुभयो। तर तपार्ईंका यावत् कुराहरू हावादारी साबित भए।

अन्त्यमा तपाईंको विकासको असली नियत आफ्नै निर्वाचन क्षेत्रको ‘भ्यूटावर’ ठड्याउने कर्ममा मात्र खुम्चियो।

नेपालको जनकपुर–जयनगर रेलवे सन् १९३७ मा बनेको थियो। त्यसअघि सन् १९२७ मा अमलेखगन्ज–रक्सौल एनजीआर चल्थ्यो।

तपाईंले मात्र नारा लगाउनुभयो। रेलवेसम्बन्धी कुनै कम गर्नुभएन। उल्टै रेलको सट्टामा अहिले आफ्नै गृहजिल्ला र निर्वाचन क्षेत्र केन्द्रित गरेर रेलवेको ठेक्का लगाउने काम गर्नुभयो। त्यो पनि बढिबढाउमा नभएर मिलोमतोमा। र, ठेक्का पाउनेहरू पनि तपाईंका नजिकका। तपार्ईंले पक्कै पनि प्रतिपक्षलाई समेत सन्तुष्ट बनाउनुभयो होला भन्ने आशा गर्दछु।

गर्व लाग्छ, तपाईंको जति गुणगान गरे पनि सकिन्न। कोरोना महामारी तीव्र रुपमा फैलिरहँदा बालुवाटारको अट्टालिकामा सुरक्षित रहेर आमजनतालाई बेसारपानीले कोरोना निको हुने रायको गुणगान गाऊँ वा हाँछ्यू गरेर कोरोना भगाउने असंवेदनशीलताको। तपाईंलाई हरेक कुरा थाहा छ।

सम्मानीय प्रधानमन्त्रीज्यू,

प्रधानमन्त्रीज्यूलाई अन्यथा लाग्दैन भने यस खुलापत्रमार्फत केही सुझाव दिन चाहन्छु।

तपाईंसँग अहिले पूरै राज्य संयन्त्र छ। विभिन्न विषयहरूको अध्ययन–अनुुसन्धान गर्न लगाउनुस्। र, त्यसको परिणाम सार्वजनिक गर्नुस्। बेसारपानीको प्रयोगबाट कतिजना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भए? कतिजना संक्रमणको सिकार हुनबाट जोगिए? के के गरे कोरोनाबाट मुक्त भइन्छ आदिजस्ता विषयको जिम्मा सम्बन्धित चिकित्साकर्मीहरूलाई दिनुस्।

यस्तो अप्रिय कुरा मैले तपाईंलाई किन भनेको हो भने मुलुकको प्रमजस्तो व्यक्ति अहिले एउटा हावादारी पात्र बन्नुभएको छ। कोरोना महामारीले देश बहुआयामिक संकटमा छ। तर तपाईं देशलाई संकटमुक्त गर्ने दिशातर्फ अग्रसर हुनुहुन्न। खाली विषयान्तर गर्नमा तपाईं खप्पिस हुनुहुन्छ। नत्र एकजना शीर्ष कम्युनिस्ट नेता भएर पनि तपाईं भगवान् रामको शरणमा किन पर्नुहुन्थ्यो र?

तपाईंका इष्ट कार्ल मार्क्सले धर्मलाई अफिम भनेको कुरा बिर्सिसक्नुभयो? नबिर्सिनुभएको भए त कोरोना संकटको यस्तो महामारीमा अयोध्या र रामको अस्तित्व खोज्दै मूल मुद्दा बंग्याएर ठोरीमा किन अल्मलिनुहुन्थ्यो र? जमुरेहरूले तपाईंलाई जेसुकै सुनाएका भए पनि राम र अयोध्याबारे तपाईंको सोचसँग नागरिकको कुनै सरोकार छैन। न कसैका लागि तपार्ईंका कुरा पाच्य छन्।

तपाईंले सरकारको नेतृत्व सम्हाल्दै गर्दा मलाई एउटा कुरामा खसखस लागिरहन्थ्यो। त्यो थियो, अब प्रतिपक्षले तपाईंको विरोध गर्ने आधार के होला? किनकि विगतमा प्रारम्भ भएका केही विकास आयोजनाहरू तपाईंकै कार्यकालमा सम्पन्न हुँदै थिए। चाहेर नचाहेर पनि तपाईंलाई त्यसको जस जाँदै थियो।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने मात्र होइन, आफूले भ्रष्टाचारीको मुखै नहेर्ने आह्वान गर्नुभएको थियो। अर्कोतिर, विकासको मुल फुटाएर छोड्ने कुरा थियो।

त्यस्ता असल कुरामा प्रमुख प्रतिपक्षले के भनेर तपाईंको विरोध गर्ने? मलाई लागेको थियो, तपाईंको सरकारको विरोध गर्ने कुनै पनि मुद्दा प्रमुख प्रतिपक्ष लगायत कसैसँग रहने छैन।

अपसोच, प्रधानमन्त्रीज्यू, तपाईंले मलाई यति चाँडै गलत साबित गरिदिनुभयो। आजकल तपाईंले विपक्षीहरूसँग सम्झौता नै गरे जसरी उनीहरूलाई मुद्दाको चाङ दिन पो थाल्नुभयो। यद्यपि यो कुरा अलग्गै हो, कमजोर प्रतिपक्षीहरूले तपाईंले दिएका मुद्दाहरूसमेत बोक्न सकिरहेका छैनन्।

सम्माननीय प्रधानमन्त्रीज्यू,

तपाईंलाई थाहै होला, अहिले मन्त्रिमण्डलका कैयौं सदस्यहरू विवादमा छन्। भ्रष्टाचारमा मुछिएका छन्। ओम्नी, औषधि खरिद, सत्तरी करोडको मोलमोलाइ, सर्पका नाममा बहत्तर करोड, चकलेट आयातलाई न्यून भन्सार, कृषि मलको (अ) व्यवस्थापन, रेलवेको ठेक्का, मेलम्चीको समस्या लगायतका अनियमितताका विषय छन्। तर तपाईं अर्थपूर्ण रुपमा मौन हुनुहुन्छ। नागरिकले जे बुझ्नुपर्ने हो, तपाईंको मौनतालाई पनि त्यसरी नै बुझेका छन्।

तपाईंको गम्भीर स्वास्थ्य अवस्थाको बाबजुद पनि तपाईंलाई प्रधानमन्त्रीका रुपमा जनताले सहर्ष स्वीकार गरेका हुन्। मैले पनि तपाईंको स्वास्थ्यलाभको कामना गरेको हुँ। तपाईंजस्तो व्यक्तिले मुलुकलाई केही दिएरै जाने हो भन्ने विश्वास गर्ने व्यक्ति म एक्लो थिइनँ। यस्तो सोच्ने धेरै नेपाली थिए।

तर जनताको जीवनसँग खेलवाड गरेर तपाईंका मन्त्रीहरूले गरेको भ्रष्टाचारमा तपाईंको संलग्नता छैन भनेर कसरी विश्वास गर्ने? अनि तपाईं साँच्चै नेपालीलाई सुखी र नेपाललाई समृद्ध बनाउन प्रतिबद्ध हुनुहुन्छ भनेर कसरी मान्ने? तपाईंको अढाई वर्षको कार्यकालले हरेक क्षेत्रमा हामीलाई निरास मात्र बनाएको छ।

तपाईंका अन्धभक्त ‘कम्युनिस्ट’ ले तपाईंलाई ‘महामानव’ ठान्दा हुन्। हामीलाई यसमा कुनै आपत्ति छैन। तर एउटा कम्युनिस्ट सरकार प्रमुख भएर पनि कोरोना कालमा सडकमा पैतालामा ठेला पर्ने गरी हिँडिरहेका श्रमिक देखेर तपाईंको आँखा नरसाएकोमा हाम्रो आपत्ति छ।

एकातिर कोरोनाले भन्दा बढी आत्महत्या गरेर मृत्यु रोज्ने संख्याको अत्यास छ। अर्कोतिर मुलुक ठप्प पार्नेवाहेक सरकारसँग अर्को कुनै रचनात्मक विकल्प छैन। ठिकै छ, प्रधानमन्त्रीज्यू, ढुक्क हुनुहोस्। किनकि सरकार ढल्दैन। त्यति भए तपाईंलाई पुग्छ नै।

तपाईंको उही
धर्मेन्द्र झा