‘ममाथि मार्क्सबाट ठूलो प्रभाव परेको छ । उनको तरिकाबाट आज पनि म प्रभावित छु । उनले आफ्नो निष्कर्षमा भनेजस्तो भने सधै हुँदैन, तर उनी त्यस निष्कर्षमा कसरी पुग्छन् भन्ने प्रक्रिया महत्वपूर्ण हो । समाजको बन्दोबस्त र मनोविज्ञानमा आर्थिक अवस्थाले कसरी ठूलो असर पार्छ, क्रान्ति कसरी हुन्छ र समाजमा रहेका शक्तिहरू कसरी क्रान्तिमा एक हुन्छन् भन्ने उनको धारणा महत्वपूर्ण छ । इतिहासको आर्थिक प्रस्तुतीकरण मौलिक विचार थियो……।’
– बी.पी. कोइराला, ‘गान्धीको पुनर्मूल्याङ्कन’ शीर्षकको अन्तरवार्ताबाट

बहुआयामिक व्यक्तित्वः स्वप्नद्रष्टा नेता
बी.पी. कोइराला नेपालको प्रजातान्त्रिक तथा समाजवादी आन्दोलनका एकजना विशिष्ट धरोहर हुन् । नेपालमा प्रजातान्त्रिक चेतनाको विजारोपण, त्यसको विस्तार र प्रजातान्त्रिक समाजको आधारशीला निर्माणमा उनले ज्यादै महत्वपूर्ण भूमिका खेलेका छन् । साहित्यमा समेत गहिरो दख्खल राख्ने र नेपाली साहित्य भण्डारमा उत्कृष्ट साहित्यिक सिर्जनाहरू हस्तान्तरण गर्ने बी.पी. कोइरालाको व्यक्तित्व, चिन्तन र क्रियाकलापको गहिरो प्रभाव नेपाली समाज र प्रजातान्त्रिक विश्वमा आज पर्यन्त अनुभूत गर्न सकिन्छ । त्यसैले नै होला, भिन्न स्कुलिङमा हुर्किएका नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीलेसमेत आफूलाई मन पर्ने नेताहरूको सूचीमा बी.पी. कोइरालाको नाम पहिलो नम्बरमा राखेका थिए ।
विशिष्ट व्यक्तित्व र चिन्तकहरू प्रायः संसारभरि नै अति– प्रशंसा र अति– आलोचनाको घेरामा पर्न पुगेका अनेकौं सन्दर्भहरू हामी देख्न पाउँछौं । यस्तो ‘अति’का कारण समाज उनीहरूबारे सम्यक, सन्तुलित र वस्तुनिष्ठ अवधारणा विकास गर्न र उनीहरूबाट ग्रहण गर्नै पर्ने शिक्षा लिनबाट वञ्चित हुन पुग्छ । अति–प्रशंसाका माध्यमबाट आकाशमा पु¥याइसकेपछि उनीहरू हामीबाट अलगिंदै जान्छन््् । उनीहरू समाजबाट कट्दै जान्छन् । ‘अतिमानव’ का रूपमा विश्लेषण गरेपछि उनीहरू हामीभित्रकै, हामीमध्येकै विशिष्ट क्षमता र योगदान भएका व्यक्ति होइन, कुनै अलौकिक व्यक्तित्वका रूपमा महिमामण्डित हुन पुग्छन् । त्यसो भइसकेपछि उनीबाट सिक्ने होइन, उनलाई पूजा गर्ने काम मात्रै बाँकी रहन्छ । अनि, अति–निन्दा या अति–आलोचनाले सम्बन्धित व्यक्तिका योगदान, भूमिका र सान्दर्भिकतालाई अस्वीकार गर्छ । नोक्सानमा फेरि पनि समाज नै पर्छ– ऊ सम्बन्धित व्यक्तिका महान योगदानको लाभबाट बञ्चित हुन्छ ।
बी.पी. कोइरालाको हकमा पनि यस्तो भएको छ । उनका कतिपय अनुयायीहरू उनलाई ‘महामानव’ को विशेषणले प्रशंसित गर्छन् । यो विशेषणभित्र अन्तरनिहित माया, विश्वास र सद्भावलाई बुझ्न सकिन्छ । तर यसो भनिरहँदा बी.पी. कोइरालालाई आफ्नो युग र आफ्नो सन्दर्भका सबैभन्दा अग्ला धरोहरका रूपमा हेर्ने, उनको सङ्घर्ष, शिक्षा र आदर्शलाई देश–काल सापेक्ष राखेर विश्लेषण गर्ने र आजको सन्दर्भमा उनलाई अझ बढी प्रासङ्गिक बनाउने दायित्व कमजोर नहोस् भन्ने कुरामा हेक्का राख्नुपर्छ । अन्यथा, उनलाई आफ्नो समयका सारथीका रूपमा बुझ्न सकिँदैन ।

बी.पी. र समाजवाद
‘विश्वमा समाजवादको अन्तिम विजय हुन्छ भन्ने मेरो अटल विश्वास छ । हामी अहिले सङ्घर्ष, तानातानी, दरिद्रता, राग–द्वेष र अशान्तिबीच समुद्रमा थाकेका नाविकजस्तो टाढा क्षितिजमा समाजवादी तटको अस्पष्ट रेखा देखिरहेका छौं । त्यहाँ पुगेर हामी आफ्नो सारा थकाइ मार्दछौं र शान्त एवं सुखमय समाजको निर्माण गर्दछौं । यो सपनाको कुरा होइन ।’ (तरुण दलको सम्मेलनमा उद्घाटन भाषणबाट)
बी.पी. कोइरालाको समग्र राजनीतिक जीवन प्रजातान्त्रिक समाजवादबाट अभिप्रेरित र दिशानिर्देशित भएको देखिन्छ । ‘महाराजाधिराजको वैधानिक नायकत्वमा जनताप्रति उत्तरदायी शासन व्यवस्था कायम गर्ने’ राजनीतिक उद्देश्यसहित गठन भएको नेपाली कांग्रेसलाई बी.पी.ले ‘केबल प्रजातन्त्रको मात्र चर्चा गर्नु निरर्थक कुरा हो’ भन्ने निष्कर्षकासाथ ‘समानता र न्यायको आधारमा सम्पूर्ण समाजको पुनर्निर्माण गर्ने’ आर्थिक लक्ष्यसम्म डोहो¥याएका थिए । ‘जबसम्म न्यायपूर्ण आधारमा समाजको पुनर्निर्माण भइसक्दैन, तबसम्म समाजको सर्वाङ्गीण विकास सर्वथा असंभव छ’ भन्ने विश्लेषण गर्दै बी.पी.ले आर्थिक समानतामा विशेष जोड दिएका थिए । पाँच प्रतिशत व्यक्तिका हातमा देशको अधिकांश जमिन हुनु तथा बाँकी ९५ प्रतिशत व्यक्ति भूमिहीन रहनुलाई उनी अन्यायपूर्ण ठान्थे । त्यसैले भूमिसुधार र जमिनको न्यायोचित पुनर्वितरण बी.पी.को प्राथमिक आर्थिक एजेण्डा थियो । त्यसरी नै समाजको व्यापक औद्योगीकरण तथा मजदुरहरूलाई ट्रेड युनियन अधिकार जस्ता विषय पनि उनले आफ्नो आर्थिक एजेण्डामा समेटेका थिए ।
‘सामन्ती व्यवस्थाले आफ्नो अवस्थामा जस्तोसुकै सुधार गरे पनि राष्ट्रिय सम्पत्ति बढाउने क्षमता राख्दैन । सामन्ती व्यवस्थामा समाजले जमिनको पूर्णरूपले उपभोग गर्न नसकेको कारणले पनि जमिनलाई सामन्ती व्यवस्थाबाट मुक्त गर्नु आवश्यक छ । समाजले जमिनबाट जति परिमाणमा उत्पादन गर्नुपर्छ, सामन्ती उत्पादन प्रणालीमा त्यतिमात्रामा उत्पादन लिनु संभव छैन । देशको दरिद्रताको अन्त्य गर्नकालागि चाल्नुपर्ने सबैभन्दा पहिलो व्यवहारिक कदम सामन्ती उत्पादन व्यवस्थाको अन्त्य गर्नु हो । म केबल समाजवादी सिद्धान्तका आदर्शका आधारमा यो कुरा भनिरहेको छैन, स्थूल व्यवहारिकताका आधारमा पनि दोहो¥याइरहेको छु । कसैले समाजवादमा आस्था राखुन् या नराखुन्, तर सामन्ती व्यवस्थाको अन्त्यबिना ष्जर जमिनमा काम गर्ने कृषकहरूलाई जमिनमाथिको पूर्ण स्वामित्व उपलव्ध नगराई देशले आर्थिक विकासको प्राथमिक कदम पनि चाल्न सक्दैन ।’ (तरुण दलको सम्मेलनमा उद्घाटन भाषणबाट) यसरी बी.पी. सामन्तवादको अन्त्य गर्ने कुरालाई मुलुकको विकासको अनिवार्य पूर्वशर्त मान्थे । उनको नेतृत्वमा गठित पहिलो जननिर्वाचित सरकारले बिर्ता उन्मूलन गर्ने निर्णय गरेर नेपालमा सामन्तीउत्पादन पद्धतिलाई कमजोर पार्ने ऐतिहासिक कदम चालेको थियो ।
बी.पी. समाजवाद र प्रजातन्त्रलाई अविभाज्य विषय ठान्थे । ‘असमानता या आर्थिक शोषण विद्यमान भएको प्रजातन्त्र प्राण नभएको शरीरजस्तो मात्र हो । त्यस्तै, प्रजातन्त्र नभएको समाजवाद पनि केबल नारा मात्र हो, शोषणको अर्को नाममात्र हो ।’ यसरी बी.पी. समाजवाद र प्रजातन्त्र अन्तरघुलित भएको, ती दुई तत्वबीच सामञ्जस्य र सन्तुलन भएको समाज निर्माण गर्न चाहन्थे भन्ने स्पष्ट देखिन्छ । यिनै अवधारणाहरू ‘प्रजातान्त्रिक समाजवाद’ को रूपमा अगाडि सारिएका थिए ।

बी.पी., माक्सवाद र कम्युनिष्टहरूस“गको अन्तरसम्बन्ध
आफ्नो राजनीतिको आरम्भकालमा, भारतमा बस्दा, बी.पी. कोइरालाले माक्सवाद र भारतीय कम्युनिष्ट आन्दोलनमा गहिरो चासो राखेका थिए । उनी स्वयंले भनेका छन् – कम्युनिष्ट आन्दोलनमा मलाई आकृष्ट गर्ने व्यक्तिको नाम लिनुप¥यो भने म ट्राट्स्कीकै नाम लिन सक्छु । उनी लेखाइ र व्यक्तित्वमा अभूतपूर्व व्यक्ति थिए ।’ तर रुसी कम्युनिष्ट पार्टीभित्रको सत्ता सङ्घर्ष, स्तालिनको आधिपत्य र त्यस क्रममा भएको दमनले बी.पी.मा कम्युनिष्ट आन्दोलनप्रति नकारात्मक मनोविज्ञान निर्माण गर्न भूमिका खेलेको देखिन्छ । उनी भन्छन्– स्तालिन उच्च तहमा पुगेपछि त्यहाँ हत्या भएको समाचार आउँदा मलाई ठूलो चोट पुग्यो । तसर्थ मैले त्यो कम्युनिष्ट पार्टी नै त्यागेँ ।’ (‘गान्धीको पुनर्मूल्याङ्कन’ बाट ।)
त्यसका अतिरिक्त, भारतीय कम्युनिष्टहरूका कतिपय त्रुटिपूर्ण नीतिहरूले पनि बी.पी.लाई कम्युनिष्टहरूप्रति नकारात्मक बन्न अभिप्रेरित गरेको देखिन्छ । त्यतिबेला भारतीय कम्युनिष्टहरू जडसूत्रवाद र यान्त्रिकताको शिकार भएका थिए । उनीहरूले आफ्नो मुलुुकको विशिष्ट स्थितिलाई उपेक्षा गर्दै तेस्रो अन्तर्राष्ट्रिय (कम्युनिष्ट केन्द्र) ले लिएका नीतिहरूलाई यान्त्रिकरूपले अनुशरण गरिरहेका थिए । नाजिवाद र फासीवाद विरुद्धको विश्वव्यापी सङ्घर्षमा त्यतिबेला बेलायत, अमेरिका र फ्रान्स ‘मित्र राष्ट्र’ का रूपमा रुससँगको गठबन्धनमा आवद्ध थिए र तिनीहरूले जर्मनी, इटाली र जापानको फासिस्ट क्याम्पलाई पराजित गर्न ठूलो भूमिका खेलेका थिए । तसर्थ, विश्व सन्दर्भमा हेर्दा बेलायतको भूमिका सकारात्मक देखिनु स्वाभाविकै थियो । तर भारतको सन्दर्भमा भने स्थिति फरक थियो । भारतीय स्वतन्त्रताका निम्ति भने मुख्य चुनौतीका रूपमा अङ्ग्रेज उपनिवेशवाद नै थियो र भारतीय सन्दर्भमा बेलायत विरुद्धको सङ्घर्ष मुख्य थियो । तर भारतीय कम्युनिष्टहरू आनो मुलुकको यो विशिष्ट अवस्थालाई बुझ्न, तदनुरूप नीति तर्जुमा गर्न र सक्रिय भूमिका खेल्न असमर्थ देखिए । रुसी कम्युनिष्टहरूको आँखाबाट संसारलाई हेर्ने क्रममा उनीहरू बेलायतप्रति नरम देखिए र उत्कर्षमा पुग्न लागेको स्वतन्त्रता सङ्ग्राममा निर्णायक भूमिका खेल्नबाट चुके । सायद यो स्थिति बी.पी.लाई कम्युनिष्टहरूबाट टाढा राख्ने निर्णायक विषय बन्न पुग्यो । उनले आफ्ना भाइ गिरिजाप्रसाद कोइरालालाई कम्युनिष्ट प्रभावबाट मुक्त गराउन यस सन्दर्भलाई बारम्बार उल्लेख गर्ने गरेको कुरा गिरिजाप्रसाद कोइरालाको संस्मरणमा चर्चा गरिएको छ ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्तालिनले गरेका ज्यादतीबारे आलोचनात्मक दृष्टिकोण राख्नु स्वाभाविक विषय ठान्न सकिन्छ र भारतका कम्युनिष्टहरूले गरेका गलत क्रियाकलापको आलोचना पनि सहज विषय मान्न सकिन्छ । तर बी.पी.ले त्यही आँखाले नेपाली कम्युनिष्टहरूलाई हेर्नु, उनीहरूप्रति नकारात्मक भाव राख्नु र सामन्तवाद विरोधी सङ्घर्षमा कम्युनिष्टहरूसँगको सहकार्यलाई वेवास्ता गर्नुलाई भने सही मान्न सकिंदैन । स्तालिनका ज्यादतीहरू उनका निजी गल्ती थिए र सोभियत सङ्घमा समाजवादको प्रयोग एउटा स्थानीय परिघटना थियो । यसका लागि न त समग्र कम्युनिष्ट आन्दोलनलाई दोषी ठह¥याउन सकिन्थ्यो न माक्सवादलाई नै गलत ठान्न उचित हुन्थ्यो । त्यसमाथि, नेपाली कम्युनिष्ट आन्दोलन त नेपाली राजनीतिक आन्दोलनको अविभाज्य अङ्गथियो र यो विशुद्ध नेपाली उपज थियो । आफ्नो पहिलो पर्चामै ‘नागरिक स्वतन्त्रता सबैको अधिकार !’ भन्ने नारा अगाडि सार्ने, पहिलो घोषणापत्रमा पूर्ण लोकतान्त्रिक प्रणालीको पक्षपोषण गर्ने र यी उद्देश्य प्राप्तिका लागि अकल्पनीय बलिदान गर्ने नेपाली कम्युनिष्ट आन्दोलनलाई भारतीय या रुसी चस्माले हेर्नु बी.पी.को गम्भीर भूल थियो भन्न सकिन्छ । फलतः पुष्पलालले २०१६ सालमै राजाको संभाव्य प्रतिगामी कदमप्रति खबरदारी गर्दै लोकतान्त्रिक शक्तिहरूको एकताको आह्वान गर्दा पनि त्यसलाई उपेक्षा गर्ने गल्ती भयो । जब २०१७ को राजा महेन्द्रको तानाशाही कदमपछि पुष्पलालले नेपाली कांग्रेसको दुईतिहाई बहुमत रहेको र कम्युनिष्ट पार्टीका चार जनामात्रै सदस्य रहेको विघटित संसदको पुनस्र्थापनाको माग अगाडि सारे, त्यसलाई पनि वेवास्ता गर्ने काम भयो । जब पुष्पलालले पञ्चायत विरुद्ध संयुक्त जनआन्दोलनको आवश्यकतालाई बारम्बार जोड दिइरहे, त्यसलाई पनि कम्युनिष्टहरूको कमजोरीका रूपमा लिने र बरु उनीहरूसँगभन्दा राजासँग मेलमिलापको नीतिलाई प्राथमिकता दिने गल्ती भयो । यसले गर्दा लोकतन्त्रका निम्ति आजीवन सङ्घर्ष गर्ने बी.पी. कोइराला आफ्नै जीवनकालमा लोकतन्त्रको पुनर्बहालीको ऐतिहासिक क्षण देख्न÷भोग्नबाट बञ्चित हुनु पर्ने दुःखद स्थिति सिर्जना भयो ।
धन्यवाद छ स्वर्गीय गणेशमान सिंहलाई, जसले २०४६ सालमा संयुक्त जनआन्दोलनको आवश्यकतालाई वोध गर्दै वाम–कांग्रेस सहकार्यको आधार निर्माण गरे । जसको फलःस्वरूप ३० वर्ष लामो पञ्चायती तानाशाही ४९ दिन लामो जनआन्दोलनका अगाडि परास्त भयो र प्रजातन्त्र स्थापना भयो । धन्यवाद छ दिवंगत गिरिजाप्रसाद कोइरालालाई, जसले राजा ज्ञानेन्द्रको तानाशाही कदमपछि संयुक्त जनआन्दोलनको अपरिहार्यता महसुस गरे, नेकपा (एमाले) लगायत सात दलको मोर्चा निर्माणमा अगुवाइ गरे र ठूलो जोखिम मोलेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन अग्रसरता देखाए । फलःस्वरूप सयौं वर्ष पुरानो राजतन्त्र अन्त्य भएर मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ र आज हामीहरू गणतन्त्र नेपालका सम्मानित नागरिकका रूपमा शिर ठाडो गर्न पाएका छौं । संविधान निर्माण, सङ्क्रमणकालको अन्त्य र सबल र समृद्ध राष्ट्र निर्माणका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूको सहकार्यको निरन्तरता भोलिका निम्ति पनि अपेक्षित, आवश्यक र अपरिहार्य छ ।

बी.पी., समाजवाद र नवउदारवाद
बी.पी. कोइराला प्रतिवद्ध समाजवादी थिए र यो उद्देश्य प्राप्तिका लागि आजीवन सङ्घर्षरत रहे । सङ्घर्षका दौरानमा कहिले उनी गान्धीवादी जस्तो देखिए र सत्याग्रहको बाटो अवलम्बन गरे । कहिले क्यास्ट्रो जस्तो देखिए र सशस्त्र सङ्घर्षको पक्षपोषण गरे । कहिले चाहिँ राजासँग मेलमिलापको पैरवी गरे । सङ्घर्षका उनका विभिन्न कार्यनीति र माध्यमहरूको औचित्य र प्रभावकारितामाथि बहस गर्न सकिन्छ, तर लोकतन्त्र र समाजवादप्रतिको उनको निष्ठामाथि कसैले पनि प्रश्न खडा गर्न सक्दैन ।
बी.पी.को बुझाइ र परिकल्पनाको समाजवाद धेरै सरल र वोधगम्य थियो । हरेक किसानका घरमा लैनो गाई र जोत्न पुग्ने जमिनको परिकल्पना गरिरहँदा, राष्ट्रिय योजना आयोगमा हलो जोतिरहेको किसानको तस्बिर राखेर उनीहरूलाई लक्षित गरी योजना बनाउन निर्देश गरिरहँदा र समाजवाद गरिबीको पुनर्वितरणको सिद्धान्त होइन, यो समृद्धिको प्रणाली हो र यसका लागि सबैभन्दा पहिले मुलुकको औद्योगीकरण, राष्ट्रिय अर्थतन्त्रको विकास र आत्मनिर्भरता आवश्यक छ भनिरहँदा बी.पी. धेरै हदसम्म समाजवादलाई नेपाली विशिष्टता प्रदान गर्न चाहन्थे भन्ने स्पष्ट देख्न सकिन्छ । यद्यपि, बी.पी.का आलेखहरूमा समाजवादको बारेमा सविस्तार व्याख्या गरिएको पाइँदैन ।
भूमिसुधारका माध्यमबाट सामन्ती भूस्वामित्वको अन्त्य गर्ने र भूमिहीन किसानहरूलाई जमिन उपलव्ध गराउनु पर्ने, मुलुकको औद्योगिकीकरण गरेर पर्याप्त रोजगारीका अवसर सिर्जना गर्नु पर्ने र मजदुरहरूलाई ट्रेड युनियन अधिकार लगायतका हक प्रदान गर्नु पर्ने, महिला, दलित, सीमान्तकृत समुदायलाई राज्यले विशेष अधिकारको व्यवस्था गर्नु पर्ने र शिक्षा, स्वास्थ्य लगायतका विषयमा राज्यले पर्याप्त लगानी गर्नु पर्ने जस्ता बी.पी.का अवधारणाहरू माक्र्सवादले परिकल्पना गरेको समाजवादी ध्येयसँग मिल्दाजुल्दा छन््् । त्यसैले होला, बी.पी.ले धेरै ठाउँमा म माक्र्सको आर्थिक सिद्धान्तसँग सहमत छु भनेको पढ्न पाइन्छ । एकपल्ट उनले पुष्पलाललाई ‘तपाईले गर्ने आर्थिक कार्यक्रम तयार गर्नुहोस् म समर्थन गर्नेछु, तर राजनीतिक कार्यक्रम मैले तयार गर्छु तपाईंले स्वीकार
गर्नुपर्छ’ भनेको भनेर पनि उनीहरूका समकालीनहरू चर्चा गर्छन् ।
तर राजनीतिक कार्यक्रममा भने बी.पी. कम्युनिष्टहरूले अगाडि सारेको अवधारणाको चर्को आलोचकका रूपमा देखा पर्छन् । माथि नै चर्चा गरिए झैं, रुसी मोडल समाजवाद माक्र्सवादको एकमात्र मोडेल थिएन, त्यो विशुद्ध रुसी परिघटना थियो । त्यस मोडेलमा गम्भीर कमजोरीहरू थिए र पछि तिनै कमजोरीका कारण त्यो समाजवादी ढाँचा असफल भएर ढल्यो । तर त्यसैलाई आधार मानेर बी.पी.ले कम्युनिष्टहरूको समाजवाद तानाशाही हुन्छ भनेर आलोचना गरेको पाइन्छ । ‘समाजवादको इतिहासमा कुनै पनि समाजवादीले ‘समाजवाद’लाई तानाशाही व्यवस्थाको पर्यायवाची शब्द मानेका थिएनन् । आर्थिक न्याय वा समानता नभएको समाजमा स्थापित भएको प्रजातान्त्रिक परिपाटीको अपूर्णतातर्फ निश्चय नै समाजवादी दार्शनिकहरूको ध्यान गएको थियो । उनीहरूको प्रयत्न प्रजातन्त्रलाई पूर्णता प्रदान गर्ने दिशातर्फ थियो । तर यता आएर ‘केही ठूला राष्ट्रहरूमा समाजवादको नाम प्रयोग गरेर शुद्ध तानाशाही व्यवस्थाको स्थापना भएकाले साधारण जनतामा समाजवाद र प्रजातन्त्र भिन्न प्रकारका र आपसमा विरोधी व्यवस्था हुन् भन्ने भ्रम पर्न गएको छ ।’ (प्रजातन्त्र समाजवादको अभिन्न अङ्ग’ बाट ।) यहाँनिर बी.पी.ले माक्र्सवादको प्रयोगका क्रममा कतिपय मुलुकमा भएका गलत विधि, पद्धति या ढाँचाको आधारमा सामान्यीकृत निष्कर्ष निकालेको देखिन्छ ।
सोभियत मोडल समाजवादको असफलतासँगै विश्व कम्युनिष्ट आन्दोलनले आना अभ्यास र अनुभवहरूको बारेमा आत्मसमिक्षा, पुनर्मूल्याङ्कन र पुनरावलोकन गरेको छ । यस क्रममा, क्रान्तिका लागि हिंसात्मक बाटोको अपरिहार्यता र हिंसालाई सिद्धान्त सरह मान्ने बीचलनबाट आफूलाई मुक्त गर्दै ल्याएको छ । एक्काइसौं शताव्दीको समाजवाद बहुदलीय प्रतिष्पर्धा र बहुलवादमाथि आधारित हुने, त्यहाँ कम्युनिष्ट पार्टीले प्रतिष्पर्धामा श्रेष्ठता हासिल गरेर र जनताको मन जितेर मात्रै शासन सञ्चालन गर्ने र समाजवादी व्यवस्थामा पनि लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताहरू स्थापित हुने अवधारणा विकास हुँदै गएको छ । यस अर्थमा हिजो कम्युनिष्ट आन्दोलन र कम्युनिष्टहरूले अगाडि सारेको समाजवादी प्रणाली सम्बन्धी कतिपय आलोचनाहरू अब असान्दर्भिक हुन पुगेका छन््् । वैज्ञानिक समाजवाद र प्रजातान्त्रिक समाजवादबीचका केही दूरीहरू घट्दै गएका छन््् । यद्यपि, वर्ग पक्षधरता, आन्दोलनको बाटो र कतिपय आर्थिक मान्यताका बीचमा रहेका आधारभूत भिन्नताहरू सहजै मेटिने अवस्थामा छैनन् ।
तर जसरी पछिल्लो समय सोभियत ढाँचाको समाजवाद एक खाले अधिनायकवादी शासन व्यवस्थामा स्खलित भएर ढल्न पुग्यो, त्यसरी नै कतिपय मुलुकमा ‘प्रजातान्त्रिक समाजवाद’ पनि नवउदारवादमा पतन हुँदै गयो । प्रजातन्त्र भनेको पाँच वर्षमा एकपल्ट भोट हाल्न पाउने अधिकारमा सीमित हुन पुग्दा र त्यसले जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन नसक्दा तथा राज्यका आर्थिक नीतिहरू मुठ्ठीभर सम्भ्रान्तहरूका पक्षमा सीमित हुन पुग्दा, आर्थिक वृद्धिले स्वतः अवसर र समानता सिर्जना गर्छ भन्ने भ्रममा राज्यले सामाजिक सुरक्षा, सामाजिक न्याय र जनताप्रतिको उत्तरदायित्वबाट विमुख हुँदै जाँदा ती व्यवस्थाहरू जनताबाट कट्दै गए । सोभियत सङ्घको विघटनपछि एकपल्ट विश्वमा कथित नयाँ विश्व व्यवस्था र उदारवादको अन्तिम विजयको दुन्दुभी मच्चियो, जसमा कम्युनिष्ट आन्दोलनले मात्रै होइन, ‘प्रजातान्त्रिक समाजवाद’ ले पनि तिरस्कारको सामना गर्नुप¥यो । नेपालकै सन्दर्भमा कुरा गर्दा, २०४८ सालपछि उदारीकरण, निजीकरण रखुल्ला बजार अर्थतन्त्रका नाममा राज्यले किसानलाई दिने अनुदान कटाउँदा, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत सेवालाई पनि व्यापारीकरण गर्दा र भूमिसुधार, किसानलाई न्याय र श्रमजीवी जनताको हितलाई बेवास्ता गर्दा नेपाली समाजमा कति गहिरो बिषमता बढ्यो भन्ने कुरा हामी सहजै देख्न सक्छौं । यसले गर्दा २०४६ सालमा आन्दोलन गरेर ल्याएको प्रजातन्त्र जनताबाट कट्दै गएको र जनताको असन्तुष्टिलाई भजाउँदै गाउँबाट उग्रवामपन्थ र सहरबाट राजाको दक्षिणपन्थले शिर ठाडो पार्दै अन्त्यमा प्रजातन्त्र नै समाप्त पारेको ताजा अनुभव हामीसँग छ । त्यसैले जसरी वैज्ञानिक समाजवादको नाममा देखा परेको एकदलीय ढाँचा अस्वीकार्य छ, त्यसरी नै प्रजातान्त्रिक समाजवादका नाममा अगाडि आएको नवउदारवाद पनि अग्राह्य छ । यी दुबै थरि अवधारणा
वर्तमानमा हामीले भोगिरहेका समस्याहरूको समाधानका विकल्प होइनन् ।

अन्त्यमा
बी.पी.को परिकल्पनाको प्रजातान्त्रिक समाजवादको ‘रिभिजिट’ गर्ने बेला भएको छ । स्थिति बदलिएको छ भन्ने नाममा समाजवादी मूल्यहरूलाई नै तिरष्कार गरेर नवउदारवादका सामु आत्मसमर्पण गर्ने कुरा जत्ति हानीकारक छ, त्यति नै बदलिँदो सन्दर्भ, परिवेश र आवश्यकताको परिप्रेक्ष्यमा ती अवधारणालाई विकास र समृद्ध पार्न छाडेर केबल ‘बी.पी.को समाजवाद’ भन्दै शब्दोच्चारण गरेर पनि आजका चुनौतीको
सामना गर्न संभव छैन । यस सन्दर्भमा खास गरी बी.पी.ले जन्माए–हुर्काएको पार्टीको विशेष ध्यान जानु आवश्यक देखिन्छ ।
अहिलेलाई चाहिँ नेपालको लोकतान्त्रिक आन्दोलनका विशिष्ट नायक, प्रजातान्त्रिक समाजवादका अविश्रान्त योद्धा र नेपाली साहित्य आकाशका एक उज्ज्वल नक्षत्र बी.पी. कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली !

-याे लेख केही बर्ष पुरानाे भएपनी अहीलेकाे सन्दर्भमा उपयुक्त नै रहेकाेले बी पी जयन्तीकाे सन्दर्भमा यहाँ दीइएकाे छ ।