त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका दर्शनाचार्य तहका विद्यार्थीले सर्वोच्च अदालतले इम्बोस्ड नम्बर अङ्ग्रेजी भाषामा मात्र राख्ने भनी गरिएको फैसलाप्रति आपत्ति जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै विद्यार्थीले सर्वोच्च अदालतको सो फैसलाप्रति आपत्ति जनाउनुका साथै गैरजिम्मेवारीपूर्ण कदम भएको बताएका हुन् ।

‘अंग्रेजी भाषामा मात्र राख्ने भनिएको इम्बोस्ड नम्बर प्लेटको सर्वत्र विरोध हुँदाहुँदै पनि हालसालै न्यायिक गरिमालाई नै धमिल्याउने ढङ्गले सर्वोच्च अदालतबाट इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नभई अङ्ग्रेजी भाषामा मात्र राख्ने भनी गरिएको फैसलाप्रति हामी खेद प्रकट गर्दै घोर निन्दा एवम् भत्र्सना गर्दछौँ,’ संयोजक बृषराज रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली अक्षरमा प्रयोग हुने मात्राको कारण अक्षरको आकार सानो ठूलो हुने भएकाले नम्बर प्लेटका साइज एउटै हुन नसक्ने, अङ्ग्रेजी भाषाको नम्बर प्लेट प्रयोग गर्दा सवारी साधनको चोरीपैठारी तथा दुर्घटना कम हुनेजस्ता निरर्थक तर्कहरू पेस गर्दै गरिएको यो फैसला हास्यास्पद मात्र नभई राष्ट्रघातीसमेत देखिन्छ । नेपालको राष्ट्रियता र अस्मितासँग गाँसिएको यस्तो महत्वपूर्ण विषयलाई जगेर्ना गर्नुपर्ने निकायबाटै चालिएको यस्तो गैरजिम्मेवारीपूर्ण कदम निन्दनीय छ ।’

सर्वोच्च अदालतले नेपाली भाषाको अपमान गरी अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला गर्नु निन्दनीय तथा आपत्तिजनक काम रहेकाले तत्काल सच्याउन विद्यार्थीले माग गरेका छन् । ‘हरेक राष्ट्रले आफ्नाे राष्ट्रभाषालाई पहिलो प्राथमिकतामा र त्यसपछि मात्रै अन्तर्राष्ट्रिय भाषाका हिसाबले अङ्ग्रेजी भाषालाई स्थान दिने गरेको अन्तर्राष्ट्रिय अभ्यासअनुरूप हाम्रो सन्दर्भमा पनि इम्बोस्ड नम्बर प्लेटमा सुरुमा देवनागरी लिपि र त्यसपछि मात्र रोमन लिपिको प्रयोग गर्नु उपयुक्त हुन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सम्बन्धित निकायले समयमै यस फैसलालाई सच्याउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’ 

साथै, विद्यार्थीले मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल तथा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूद्वारा सञ्चालित अभियानप्रति ऐक्यबद्धता जनाउँदै अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने भन्न  फैसला तत्काल सच्याई  इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य रूपमा नेपाली भाषाको प्रयोग गर्न माग गरेका छन् ।