नबीन अर्याल

महावीर पुनको नेतृत्वमा २० युवा वैज्ञानिक पिपिई, भेन्टिलेटर, मास्क, कोरोना टेस्टिङ बुथ, रोबोटलगायत उपकरण बनाएर निःशुल्क वितरण गर्दै

कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट जोगिन सरकारले ११ चैतदेखि लकडाउन गरेसँगै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय सुनसान छ । विश्वविद्यालयका सम्पूर्ण विभाग र कार्यालय बन्द गरिएका छन् । बीचमा लकडाउन खुकुलो भएर बजार खुले पनि पढाइ सञ्चालन नहुँदा विश्वविद्यालयमा कुनै चहलपहल भएन । तर, त्यही विश्वविद्यालयको एउटा छेउमा रहेको ग्यारेजजस्तै देखिने भवनमा भने बिहानदेखि राति अबेरसम्म केही युवाहरू काममा व्यस्त हुन्छन् । जसरी कोभिड संक्रमण फैलिँदै गइरहेको छ, उति नै उनीहरूको व्यस्तता पनि बढ्दै गइरहेको छ ।

त्यहाँ झन्डै २० जना युवा वैज्ञानिक दिनरात नभनी कोरोनासम्बन्धी स्वास्थ्य सामग्री बनाइरहेका छन् । भवनभित्र कोभिडका बिरामीको गम्भीर उपचार र हेरचाहका लागि आवश्यक भेन्टिलेटर र नर्सिङ रोबोटहरू बनिरहेका छन् । निषेधाज्ञाले पूरै उपत्यका सुनसान बन्दा पनि ठाकठुक र र्‍याइँर्‍याइँ आवाज आइरहने उक्त भवन वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुनले खोलेको राष्ट्रिय आविष्कार केन्द्र हो । कोभिड महामारीबीच पनि युवा वैज्ञानिकहरू पिपिई, भेन्टिलेटर, मास्क, कोरोना टेस्टिङ बुथ, रोबोटलगायत सुरक्षा उपकरण बनाउन सक्रिय छन् ।

कोभिड महामारी एकैसाथ विश्वभरि फैलिएपछि सुरुवाती समयमा पिपिई र मास्कको चरम अभाव देखियो । अग्रपंक्तिमा खटिएर कोभिड संक्रमितको उपचारमा गर्नुपर्ने स्वास्थ्यकर्मीले पनि पिपिई र मास्क पाउन नसकेपछि पुनले राष्ट्रिय आविष्कार केन्द्रबाट उत्पादन गरी वितरण गरेका थिए । उनले अहिलेसम्म १२ हजारभन्दा बढी पिपिई गाउन ५८ जिल्लाका तीन सयभन्दा बढी हस्पिटल, प्राथमिक स्वास्थ्यचौकी, कोरोना आइसोलेसन सेन्टरलगायतलाई वितरण गरिसकेका छन् ।

                                                                                          

राष्ट्रिय आविष्कार केन्द्रले कोभिडको उपचारसँग सम्बन्धित पिपिई, फेस सिल्ड, कोरोना स्वाब कलेक्सन बुथ, एरोसल बक्स, भेन्टिलेटर, युभिसी डिसइन्फेक्सन बक्स, नर्सिङ रोबोट, स्वाब संकलन गर्ने सुइरो नसल स्वाब, डेड बडी बक्स र मास्कका लागि चाहिने फेब्रिकलगायत स्वास्थ्य उपकरणहरू बनाइरहेको छ । पुनले नयाँ प्रविधिको ‘न्यु मेटिक मास्क’ बनाएर ६५ वटा वितरण गरिसकेका छन् । यो मास्कको माग आइरहेको हुनाले थप उत्पादन गरिरहेको उनी बताउँछन् । कोभिडको संक्रमितको गम्भीर उपचारमा प्रयोग गर्न नयाँ भेन्टिलेटर बनाएर परीक्षण भइरहेको छ । ‘हामीले अहिलेसम्म कोभिडका लागि १० किसिमका स्वास्थ्य सामग्री÷उपकरण बनाएर वितरण गर्न सफल भइसक्यौँ,’ पुन सुनाउँछन्, ‘फ्रान्टलाइनर डाक्टरको आग्रह र सल्लाहबमोजिम कोभिडको उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण बनाइरहेका छौँ ।’

राष्ट्रिय आविष्कार केन्द्र सुरुमै एन–९५ मास्क बनाउन कस्सिएको थियो । तर, मास्कको फिल्टर चीनबाट ल्याउनुपर्ने भएपछि योजना स्थगित भयो । ‘अहिले ५ गियरको फिल्टर बनाउने मेसिन आइपुगेको छ,’ उनी सुनाउँछन्, ‘फिल्टर बनाएर आफैँ पनि मास्क उत्पादन गर्छौं र अरू मास्क उत्पादक कम्पनीलाई फिल्टर पनि दिन सक्छौँ ।’ उनका अनुसार अविष्कार केन्द्रले १५ वटा डेड बडी बक्स बनाएर वितरण गरिसक्यो । स्वाब संकलन गर्ने सुइरो परीक्षण भइरहेको छ । झन्डै १५ सय नसल स्वाब वितरण गरिसकेको उनी बताउँछन् । आविष्कार केन्द्रले बनाएको तीनवटा नर्सिङ रोबोटहरू वीरगन्ज, सर्लाही र सैनिक अस्पतालमा बिरामीको उपचारमा खटिइसकेका छन् । रोबोटले संक्रमित बिरामीलाई औषधि र खाना सर्भ गर्छ । अरू रोबोटहरू पनि बनिरहेको बताउँदै पुन भन्छन्, ‘विभिन्न अस्पतालबाट रोबोटको माग आइरहेको छ ।’

केन्द्रले नयाँ उपाय लगाएर उत्पादन गरेका स्वास्थ्य सामग्री र उपकरण निःशुल्क उपलब्ध गराइरहेको पुन सुनाउँछन् । उनी भन्छन्, ‘कसैले चाहेमा पैसा पनि दिन सक्छन्, तर पैसा दिन कोही पनि तयार देखिँदैनन् ।’ यदि स्वतःस्फूर्त पैसा दिएको भए त्यसले अरू काम गर्न पनि सहज हुन्थ्यो । अहिले केन्द्रले कोभिड संक्रमितलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान आइसोलेसन बक्स पनि बनाइरहेको छ । संक्रमित बिरामीलाई एम्बुलेन्सले बोक्न नमानिरहेका बेला केन्द्रले आइसोलेसन बक्स बनाएको हो । यो आइसोलेसन बक्समा बिरामी राखेर एम्बुलेन्समा बोक्न सकिन्छ । आइसोलेसन बक्स पनि ५५ थानभन्दा बढी वितरण गरिसकेको पुन सुनाउँछन् । केन्द्रले युभिसी डिसइन्फेक्सन बक्स बनाएर अहिलेसम्म ३० वटा वितरण गरिसकेको छ । एरोसल बक्स पनि अहिलेसम्म ३५ वटा वितरण गरिसके भने अझै बजाउने क्रम जारी छ । 

आविष्कार केन्द्रले अमेरिकाबाट आवश्यक सामान ल्याएर भेन्टिलेटर उत्पादन गरिरहेको छ, जुन अहिले परीक्षणको क्रममा छ । हस्पिटलमा बिग्रिएर थन्क्याइएका भेन्टिलेटर ल्याएर मर्मतसम्भार गरिँदै छ । पुराना भेन्टिलेटर पार्टपुर्जा फेरेर मर्मत गर्दा निकै सस्तो पर्ने पुन बताउँछन् । ‘पुराना बिग्रिएका भेन्टिलेटर पनि मर्मत गरिरहेका छौँ, नयाँ भेन्टिलेटर बनाउने काम पनि जारी छ,’ उनी सुनाउँछन्, ‘आगामी एक महिनाभित्र हामीले बनाएको नयाँ भेन्टिलेटर परीक्षण सम्पन्न भएर प्रयोगमा आइसक्नेछ ।’ उनका अनुसार आविष्कार केन्द्रले मागअनुसार वार्षिक डेढ दुई सयसम्म भेन्टिलेटर उत्पादन गरेर वितरण गर्न सक्ने क्षमता राख्नेछ । 

केन्द्रले एन–९५ मास्कको फिल्टर बनाउँदै छ । यस्तै, ब्याट्रीबाट चलेर हावालाई प्युरिफाई गर्ने प्रोटेक्सन मास्क ‘पावर एयर प्युरिफायर रेस्पिरेटर’ पनि बनाइँदै छ, जुन डाक्टर तथा स्वास्थ्यकर्मीका लागि अतिउपयुक्त हुनेछ । पुनका अनुसार यो विकसित किसिमको सुरक्षित मास्क हो । ‘हामीले नयाँनयाँ आइडियामा काम गर्ने हो, कोभिडसँग जुध्न सजिलो हुने उपकरण विकास गर्ने हो,’ उनी सुनाउँछन्, ‘कतिपय डाक्टरले यस्तो चिज बनाइदिन पर्‍यो भन्छन्, आफैँ आइडिया दिन्छन्, हामी डाक्टरहरूको अनुरोध र सुझाबअनुसार काम गर्छौं, हामी आफैँलाई पनि पहिल्यै स्वास्थ्य उपकरणबारे धेरै थाहा हुँदैन नि, आइडिया दिएपछि रिसर्च गरेर काम गर्ने हो ।’

                                                                                    ……..

महावीर पुन र राष्ट्रिय आविष्कार केन्द्रले कोभिडसँग लड्न डाक्टर र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री बनाएर निःशुल्क वितरण गर्दा पनि टीकाटिप्पणी गर्नेको कमी छैन । सामाजिक सञ्जालमा पनि कतिपयले उनीविरुद्ध विभिन्न टीकाटिप्पणी गरेर पोस्ट गरिरहेका हुन्छन् । कतिपयले उनलाई आविष्कार केन्द्रमा काम गर्ने वैज्ञानिक तथा कर्मचारीहरूलाई श्रम शोषण गरेको आरोप लगाइरहेका हुन्छन् । तर, उनी आलोचकहरूसँग डराएर होइन कि अझ आत्मविश्वास बढाएर काम गर्छन् । ‘मेरो कामप्रति टीकाटिप्पणी गर्नेसँग मलाई कुनै मतबल छैन, म आफ्नो काममा अगाडि बढिरहन्छु,’ उनी भन्छन्, ‘यहाँ कुरा काट्नेलाई कसैले पनि रोक्न सक्दैन, नकारात्मक टीकाटिप्पणी एउटा कानले सुन्ने र अर्को कानले उडाउने हो, यदि सकारात्मक टीकाटिप्पणी भएमा ग्रहण गरेर सुधार गर्दै जाने हो ।’

आविष्कार केन्द्रले आफ्ना उत्पादन निःशुल्क वितरण गरिरहेको छ । कसैले स्वतःस्फूर्त रूपमा पैसा दिए लिन्छ पनि । ‘हामीले स्रोत जुटाउन पर्दैन, मनकारी जनताले सहयोग गरेपछि आफैँ स्रोत जुटिहाल्छ,’ उनी थप्छन्, ‘हामीले दाताहरूसँग सहयोगका लागि अनुरोध गर्दैनौँ, जनताले व्यक्तिगत रूपमा आफूखुसी दिने हुन्, आविष्कार केन्द्रलाई देशविदेशबाट व्यक्तिगत सहयोग आइरहेको छ ।’ संघसंस्थाबाट केन्द्रलाई अत्यन्तै कम सहयोग आइरहेको उनको भनाइ छ । आविष्कार केन्द्रले वैज्ञानिक र कर्मचारीलाई तलबभत्ता दिएर राख्दैन । कतिपयलाई निर्वाह खर्च भनेर १०/१५ हजार रुपैयाँसम्म दिन्छ । ‘यहाँ काम गर्नेहरू स्वतःस्फूर्त रूपमा सेवा गर्न आउने हुन्, जागिर खान होइन,’ उनी भन्छन्, ‘आविष्कार केन्द्रले उनीहरूलाई खान, बस्न र आवश्यक मेटिरियल्स मात्र उपलब्ध गराउँछ ।’ 

लकडाउनअघि केन्द्रमा विभिन्न आविष्कारका काम भइरहेका थिए । कोभिडले ३३ वटा इनोभेटिभ प्रोजेक्टको काम रोकिएका छन् । सबै जनशक्ति कोभिडसँग सम्बन्धित सामग्री उत्पादनमा केन्द्रित भएपछि अरू प्रोजेक्टको काम ढिलाइ भएको हो । ‘अन्तिम चरणमा पुगेका प्रोजेक्ट ५/६ वटा थिए,’ पुन सुनाउँछन् । उनका अनुसार बेबी वार्मर, बाँदर लखेट्ने प्रविधि, ड्रोन, बेबी इङ्कुबेटर, किसानले उत्पादन गरेको तरकारी बजारमा पुर्‍याउनुभन्दा अगाडि दुई–तीन हप्तासम्म सड्नबाट जोगाउने प्रविधि सब्जी कोठी, मकै छोडाउने औजार, जोत्ने ट्याक्टरको पछाडि हाइड्रोलिक फिट गरेर डोजर र एस्काभेटरमा परिणत गर्ने काम अन्तिम चरणमा पुगेका छन् । पुरानो गाडीलाई इलेक्ट्रिक गाडीमा परिणत गर्ने काम पनि अन्तिम चरणमा छ । उनी भन्छन्, ‘एक/दुई पार्टपुर्जा नआइपुगेकाले काम रोकिएको छ, पार्टपुर्जा केरुङ भन्सारमा अड्किएका छन् ।’ बेबी इङ्कुबेटरको फाइनल भर्सन बन्दै छ । बेबी वार्मर पनि अस्पतालमा परीक्षणको क्रममा छ ।