विश्वको महाशक्ति अमेरिकी साम्राज्यवादी तथा आफूलाई सभ्य, सुशिक्षित, लोकतन्त्रवादी, मानव अधिकारवादी भनेर भन्ने युरोपेली मुलुकहरूको नरभक्षी अनुहार पुनः भेनेजुएलाको आन्तरिक मामलामा हस्तक्षेप गरेर देखाउँदै छन् । भेनेजुएलामाथि आर्थिक प्रतिबन्ध लगाउने र अन्त्यमा यदि मदुरोले राष्ट्रपति पद नछोडे सैनिक हस्तक्षेप गर्ने राष्ट्रपति ट्रम्पको योजना छ । सार्वभौम सत्ता सम्पन्न दक्षिण अमेरिकी मुलुक भेनेजुएलामाथि उसको आन्तरिक मामलामा हस्तक्षेप गर्नु ठुलो बेइमानी हो । जबसम्म विश्वमा साम्राज्यवाद रहन्छ, तबसम्म विश्व शान्ति हुन सक्दैन । अमेरिकी साम्राज्यवाद र पहिलेका पुराना साम्राज्यवादी अर्थात् विकसित पुँजीवादी मुलुकका लागि सार्वभौम सत्ता सम्पन्न तेल तथा अन्य बहुमूल्य खनिज पदार्थहरूले भरिपूर्ण सभ्य, सुसंस्कृत, शान्तिप्रिय मुलुकहरूका आन्तरिक मामलामा हस्तक्षेप गर्नु, खण्डित गर्नु र ती प्राकृतिक स्रोत र साधनहरूमाथि अधिकार जमाउनु नै प्राथमिक महत्व हुँदै आएको छ । कुनै मुलुक यी साम्राज्यवादी शक्तिका लागि रणनीतिक स्वार्थ पूर्ति गर्न महत्वपूर्ण सैनिक कार्वाही गर्ने आधारका लागि पनि त्यहाँ अधिकार जमाउनु प्राथमिकतामा पर्दै आएको छ । विश्वभर जति पनि अमेरिकी सैनिक अखाडाहरू छन् ती सबै विश्वका कुनै पनि भागमा आक्रमण गर्न सकिने गरी निर्माण गरिएका छन् । आज भेनेजुएलामाथि जुन किसिमले हस्तक्षेप गर्दैछ, त्यो मुलुक उसका लागि ठुलो परिणाममा भएको विश्वको सबैभन्दा ठुलो तेल खानीदेखि प्राकृतिक ग्याँस, फलामको घाउ, सुन, बक्साइड, हाड्रोपावर र हिरा आदि छन् । भेनेजुएलासँग कच्चा तेलका खनिज पदार्थ ३०० बिल बिबिल्स छ ।
भेनेजुएलालाई बोलिभेरियन रिपब्लिक अफ भेनेजुएला भनिन्छ । कोलम्बसले दक्षिणी अमेरिकी महादेशको पारिया प्रायद्वीपमा अगस्ट १४९८ मा खुट्टा टेकेका थिए । १४९९ मा एलोन्सो डे ओजेडाले भेनेजुएला भनेर नामाकरण गरे अर्थात् सानो भेनिस पनि भनियो । किनभने भारतीयहरूका घरहरू जस्तै खामो हालेर बनाइएका घर (खोल्मेघर) हुन्छन् । सोविस उपनिवेशवादीहरूले भेनेजुएलामाथि सिमोन बोलिभारले कारा बोबोको नजिकै जुन १८२१ मा विजय नगरुञ्जेलसम्म शासन गरे । कोलम्बियन सङ्घबाट १८३० मा अलग भएपछि गणतन्त्र भएको थियो । भेनेजुएलाको इतिहासमा धेरैजसो समय सैनिक शासकहरूले शासन गरे । १९५९देखि प्रजातान्त्रिक रूपले चुनिएको सरकारले सत्ता चलाउँदै आएको छ ।
भेनेजुएलाको जनसङ्ख्या ३०,९१२,३०२ छ भने जनजातिहरूमा स्पेनिस, इटालियन पोर्चुगिज, अरब, जर्मन, अफ्रिकन आदिवासी छन् । रोमन क्याथोलिक धर्म ९६ प्रतिशतले मान्दछन् । प्रतिव्यक्ति जी.डी.पी. १६,७०० र भेनेजुएलाको आयात ३३.४ विलियन अमेरिकी डलर छ । यू.एस. १८.४ प्रतिशत चीन १५.३ प्रतिशत ब्राजिल ९.७ प्रतिशत, कोलम्बिया ५.९ प्रतिशत, निर्यात ४७.५ अरब अमेरिकी डलर, यु.एस. २६.६ प्रतिशत, भारत १३.७ प्रतिशत, चीन ११.७ प्रतिशत, क्युबा ६.४ प्रतिशत छ । यो तथ्याङ्क वर्तमानमा मिल्दैन भने ह्युगो चाभेजको सत्ता अहिले छैन ।
गरिब परिवारमा जन्मेका चाभेज २१ वर्षको उमेरमै सिमोन बोलिभार विश्व विद्यालय पढ्दै गर्दा उनले बोलिभारियावाद भन्ने सामाजिक राष्ट्रवादी संस्थाको स्थापना गरे । तत्कालीन राष्ट्रपति पेरेजको जनविरोधी कामको आलोचना गर्नुका साथैपछि सैनिक सेवामा गए लेप्mटिनेन्ट कर्णेल पनि भए । फेब्रुअरी ४, १९९२ मा पाँच सैन्य टोली एकीकृत गरेर सैनिक विद्रोहको नेतृत्व गरे तापनि असफल भएपछि जेल परे । सैन्य विद्रोहको उद्देश्य राष्ट्रपतिलाई पदच्यूत गर्ने सत्ता आफ्नो हातमा लिने थियो । यो विद्रोहमा १४ जना सैनिक मारिए र ५० जना घाइते भए । जेलमा बस्दा ल्याटिन अमेरिका र विश्व राजनीतिको राम्रो अध्ययन गरे । सन् १९९४ मा राफदेर कालदेरा राष्ट्रपति भएपछि आम माफीमा परेर जेल रिहा भए । १९९८ मा भएको आम निर्वाचनमा ५६ प्रतिशत भोटले विजयी भए । चाभेजले आफ्नो मुलुकको नाम बोलिभारीयन गणतन्त्र राखे । जनमत सङ्ग्रह गराएर राष्ट्रपतिको पदावधि ६ वर्ष र दुई सदनको काम एउटैबाट गर्ने निर्णय गराएर सैनिक परिवेशबाट उदाएका चाभेजले माक्र्स, एङ्गेल्स, लेनिन र ट्राटस्कीका विचारहरूलाई आफ्नो आदर्श मानेता पनि आफूलाई न त कम्युिनस्ट भने, न त कम्युनिस्ट पार्टी भनेर आफ्नो पार्टीको नाम नै राखे, तैपनि चाभेजले माक्र्सवादी दर्शनका केही कार्यक्रमहरू अगाडि ल्याएका थिए ।
चाभेजका जनपक्षीय कामहरू ः
१) पाँच मिलियन एकडभन्दा बढी जमिन्दारहरूको जमिन गरिब किसानहरूलाई बाँड्नु ।
२) मजदुरहरूको भलाइका लागि भेनेजुएलामा एक लाखभन्दा बढी सहकारीको स्थापना ।
३) ३० हजारभन्दा बढी जनकम्युनको स्थापना ।
४) शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाका प्रश्न राज्यले नै दायित्व लिने योजना र गरिब र धनीका बीचको खाडल समाप्त गर्ने चाभेजले धेरै कार्यक्रम जनसमक्ष ल्याए । यसकारण जनताको आर्थिक वृद्धिदर पनि १.४ प्रतिशत बाट ३.२ प्रतिशत पुग्यो ।
चाभेजका उपर्युक्त कदमहरूलाई उनले “एक्काइसौँ शताब्दीको समाजवाद” भने । चाभेजको सरकारमा कम्युनिस्टहरू पनि संलग्न थिए । चाभेजको अन्तर्राष्ट्रिय जगतमा साम्राज्यवाद विरोधी मोर्चा खोल्नुका साथै साम्राज्यवादीले अधिकार जमाएका उद्योगहरूलाई राष्ट्रियकरण गरेर उनीहरूलाई भेनेजुएलाबाट लखेटेकाले मात्र नभएर अमेरिकी साम्राज्यवादीका आर्थिक सङ्गठनहरू अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क आदिलाई अन्तर्राष्ट्रिय जगतमा प्रभुत्व जमाउने आर्थिक संयन्त्र भनेर भण्डाफोर गरे । चाभेजले दक्षिण अमेरिकी सङ्गठन क्युबासँग मिलेर सङ्गठन निर्माण गरे, जसको मुख्य उद्देश्य अमेरिकी साम्राज्यवादको विरोध गर्नु थियो । यस सङ्गठनमा निकारागुआ, इक्वेडर, र क्यारेभियन मुलुकहरूलाई सामेल गरिएका थिए । चाभेजले साम्राज्यवाद विरोधी मुलुकहरू इरान तथा अफ्रिकी मुलुकहरूसँग कूटनीतिक सम्बन्ध राखे । चाभेजले रूस, चीन, इरान, सिरियासँग कूटनैतिक सम्बन्ध गाँसेका मात्र होइनन्, पीडित छिमेकी मुलुकहरूलाई सहयोग गरे । आफ्नो मुलुकको तेल छिमेकी राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय जगतमा चलेको तेलको मूल्यभन्दा सस्तो मूल्यमा तेल दिए । आम जनतामा उनी ज्यादै लोकप्रिय पनि बने किनभने गाउँगाउँमा शिक्षा र स्वास्थ्य सेवा दिनुको साथै गरिबमुखी बजेट र महङ्गो खाद्यान्नलाई सस्तो गरे ।
चाभेजलाई अमेरिकी साम्राज्यवादीले आफ्नो प्रमुख दुश्मनको रूपमा हेरेर चाभेजको सत्ता पल्टाउन अमेरिकी साम्राज्यवादीको गुप्तचर संस्था सी.आई.ए. ले २००२ अप्रिलमा एउटा प्रतिक्रियावादी सैनिक विद्रोह गरायो र चाभेजलाई गिरफ्तार गराएर थुन्यो । तर जनताले चाभेजलाई थुनेको ठाउँमा घेरा हाल्नुका साथै भेनेजुएलाका राजधानी काराकसमा रहेका देशभक्त सेना र जनताको बलमा ४७ घण्टापछि चाभेज मुक्त गरे । पुनः सत्ता सञ्चालनको काममा व्यस्त भएर चाभेज अमेरिकी साम्राज्यवादीका विरुद्ध दृढतापूर्वक उभिए र क्युबा, ब्राजिल, इरान, अर्जेन्टिना तथा बोलिभियासँग साम्राज्यवाद विरोधी मोर्चा बनाएका थिए । यसकारण अमेरिकी साम्राज्यवादीहरू चाभेजको अन्त्य चाहन्थे । जुन ३०, २०११ मा क्युबा भ्रमणमा गएका अवस्थामा चाभेजलाई क्यान्सर भएको पत्ता लाग्यो । क्युबामा उपचार गरियो र चार पल्टसम्म शल्यक्रिया गरे तापनि चाभेजको २०१३ मार्च ५ तारिखमा मृत्यु भयो । उनको मृत्युपछि उपराष्ट्रपति निकोलस मदुरो राष्ट्रपति भए ।
मदुरो राष्ट्रपति भएपछि तेलको मूल्यमा आएको गिरावटले भेनेजुएलाको अर्थतन्त्रलाई ठुलो धक्का लाग्यो । किनभने मुद्रामाथिको नियन्त्रण र मूल्य नियन्त्रणले गर्दा जी.डी.पी. ३.९ प्रतिशत ले २०१४ मा घट्यो भने २०१५ मा ५.७ प्रतिशतले घट्यो । तस्करी रोक्न कोलम्बियाको सीमा अगस्ट २०१५ मा बन्द गरियो । तरपछि भेनेजुएला र कोलम्बियाका बीचमा ११ अगस्ट २०१६ मा सम्झौता भयो र पुनः सीमा खुला गरियो । अमेरिकी साम्राज्यवादीद्वारा आर्थिक प्रतिबन्ध लगाएपछि भेनेजुएलामा तेलको मूल्यमा आएको कमी तथा खाद्यान्न तथा बिजुलीको कमीले गर्दा अमेरिकी सी.आई.ए.द्वारा सञ्चालित विपक्षीहरूले लुटपाट सुरु गरे । राष्ट्रपति मदुरोले २०१६ मा ६० दिनको सङ्कटकालको घोषणा गरे । पुनः ६० दिनको सङ्कटकाल थप गरे । खाद्यान्न बाँड्न सेना परिचालन गरियो ।
अमेरिकी साम्राज्यवादीद्वारा भेनेजुएलामाथि आफ्नो कठपुतली सत्ता कायम गर्ने जमर्को पुनः गरिदैछ । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा अमेरिकी विदेशमन्त्री मिक पोम्पिओले जनवरी २६ मा भने कि प्रत्येक राष्ट्रले एउटा पक्ष लिनु पर्छ र स्वतन्त्रताका शक्तिलाई समर्थन गर्नु पर्छ । पाम्पियोले यसो भन्नुको तात्पर्य भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र २३ जनवरीमा स्वघोषित अन्तरिम राष्ट्रपति जौन ग्युडो, जो राष्ट्रिय सभा अध्यक्ष हुन्, उनलाई संयुक्त राज्य अमेरिका र पश्चिमी मुलुकहरूले मान्यता दिए । यसरी अमेरिकी साम्राज्यवादीले ग्युडोलाई राष्ट्रपतिको मान्यता मात्र नदिएर, पम्पिओले राष्ट्रपति मदुरोमाथि सत्ता छोड्ने दबाब मात्र नदिएर आर्थिक प्रतिबन्धका साथ अरू धेरै विकल्पहरू पनि रहेको बताएका छन्, जसमा सैनिक हस्तक्षेप पनि रहेको छ । राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार फासिस्ट जोन बोल्टनको तस्बिरसँगै नोट प्याड पनि थियो, त्यसमा “५००० सेना कोलम्बियाका लागि” भनेर लेखिएको थियो । भेनेजुएलामा मदुरोको सरकारका विरुद्ध प्रदर्शनहरू भएका छन् । राष्ट्रपति मदुरोले वैधानिक राष्ट्रपति आफू भएको बताएका छन् भने ग्युडोले पनि आफूलाई वैद्य राष्ट्रपति भएको बताएका छन् । भेनेजुएलामा दिन–प्रतिदिन बढ्दो राजनैतिक हिंसाले तहसनहस भएको भेनेजुएलाको अर्थतन्त्र अरू धरासायी हुँदैछ ।
संयुक्त राज्य अमेरिकाको दक्षिण अमेरिकी नीति विगतदेखि नै आक्रामक बर्बर र नीच छ भने हाल भेनेजुएलाका सम्बन्धमा पनि राजनैतिक रूपले कुनै पनि रचनात्मक कदम लिन सक्दैन । अमेरिकी साम्राज्यवादीहरूले बिसौँ शताब्दीमा लगातार ल्याटिन अमेरिकी मुलुकका आन्तरिक मामलामा हस्तक्षेप गर्दै आएको छ र अमेरिका भूराजनीतिसँग करेसाका मुलुकहरूमा हस्तक्षेप गर्नु स्वाभाविक हो । अमेरिकी २८ औँ राष्ट्रपति विड्रो विल्सनले १९१३ मा भने– “म दक्षिणी अमेरिकी गणतन्त्रहरूलाई असल मान्छे छान्नु पर्छ भनेर शिक्षा दिन गइरहेछु ।” अरू अमेरिकी राष्ट्रपतिहरूले दक्षिण अमेरिकी मुलुकहरूलाई उनीहरूले चाहेको वा आवश्यक पदार्थहरू दिएर सन्तुष्ट राख्ने तर कुनै जबाफदेहिता अथवा स्वतन्त्रता नदिए पनि त्यस क्षेत्रमा कसरी राजनैतिक स्थितिलाई कसरी सुधार गर्नु पर्छ भन्ने जान्दथे । यसको परिणाम त्यस क्षेत्रमा प्रजातन्त्र र स्थायित्व ज्यादै कम भयो ।
शीतयुद्धको समयमा अमेरिकी साम्राज्यवादीहरूले दक्षिण अमेरिकी मुलुकहरूमा अशान्ति मच्चाउन सी.आई.ए.लाई व्यापक रूपले प्रयोग गर्‍यो । अमेरिकी साम्राज्यवादीहरूले दक्षिण अमेरिकी क्षेत्रका मुलुकहरूमा वामपन्थीको सरकारका विरुद्ध विपक्षीहरूलाई गोप्य रूपले सहायता गर्दै आएको छ । १९५४ मा सी.आई.ए. ले एउटा सानो आक्रमणकारी दस्तालाई तालिम दिएर ग्वाटेमालाका राष्ट्रपति ज्याकोबो अरवेन्जलाई हटाउने प्रयास गर्‍यो । किनभने राष्ट्रपतिले संयुक्त फलफूल कम्पनीको जमीनलाई पुनः वितरण गरे । १९६४ मा राष्ट्रपति लिन्डन जोन्सनले ब्राजिलका राष्ट्रपति जुआओ गौलार्टका विरुद्ध भएका ब्राजिलियन सेनाको सैनिक विद्रोहलाई समर्थन उपलब्ध गराउन तयारी गरेका थिए तर यो विद्रोह सफल भएकाले सहायता लिनु परेन । १९७० को प्रारम्भमा रिचार्ड निक्सनको प्रशासनले चिलीका समाजवादी राष्ट्रपति साल्भाडो र एलेन्डेका विरुद्ध सैनिक विद्रोह गराएर अपदस्थ गरे ।
उपर्युक्त दक्षिण अमेरिकी वामपन्थी तथा समाजवादी राष्ट्रपतिहरू, जो निर्वाचित भएरै सत्तामा पुग्नुलाई प्रजातान्त्रिक नदेख्ने अमेरिकी बर्बर नरभक्षी साम्राज्यवादीद्वारा सैनिक तानाशाही फासीवादी सत्तालाई प्रजातन्त्रवादी भनेर उत्सव नै मनाउने गरेको छ । ग्वाटेमाला दशकौँको गृहयुद्धले कृषिमा सुधारहरू भएर जहाँ अमेरिकी साम्राज्यवादीहरूले सैनिक विद्रोहहरू गराएर सैनिक सत्ता कायम गराएको थियो । जहाँ ब्राजिलमा २१ वर्षसम्म सैनिक तानाशाही चल्यो र चिलीमा बर्बर हत्या, यातना दमनचक्र १७ वर्षसम्म चल्यो, यही हो–अमेरिकी साम्राज्यवादीको प्रजातन्त्र र मानव अधिकारवादी हुनुको परिचय ¤
सन्काहा राष्ट्रपति डोनाल्ड ट्रम्पका वर्तमान सुरक्षा सल्लाहकार बोल्टन पुनः सत्तामा आएका छन्, जसले शीत युद्धकालको पूर्व राष्ट्रपति रेगनका प्रशासनमा काम गरेका व्यक्ति हुन् । तिनै बोल्टन अहिले भेनेजुएलाका सम्बन्धमा सैनिक कार्वाही गर्ने पक्षमा छन् भने अर्को विशेष दूत इल्लिओर अब्रामलाई पठाएको छ जो रेगन प्रशासनमा काम गरेका मात्र नभएर सेन्ट्रल अमेरिकामा संयुक्त राज्य अमेरिकाले मानव अधिकारका गम्भीर उल्लङ्घनकर्ता बदनाम अब्रामसले १९८६ मा भने– “म लामो समयसम्म एक जना प्रतिक्रान्तिकारी भएको छु ।”
भेनेजुएलामा मदुरो सरकारका विरुद्ध अमेरिकी साम्राज्यवादी समर्थित गुएडोले गत वर्षको डिसेम्बरमा गोप्य रूपले संयुक्त राज्य अमेरिकाका घोर दक्षिणपन्थी अधिकारी, कोलम्बियाली र ब्राजिलका दक्षिणपन्थी सरकारहरूसँग भेटवार्ताहरू गरेका छन् । अमेरिकी साम्राज्यवादीको आर्थिक प्रतिबन्धले गर्दा भेनेजुएलाको स्थिति गम्भीर बन्दै गएको छ । २०१८ मा भेनेजुएलाको मुद्राको अवमूल्यन १०,००,००० प्रतिशत रहेको साम्राज्यवादीका सञ्चार माध्यममा आएका छन् । यदि संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि हस्तक्षेप गर्छ भने त्यसका विरुद्ध क्रान्तिकारी सर्वहारावादी भेनेजुएयाली जनताले दीर्घकालीन जनयुद्ध गर्नेछन् , चाहे राष्ट्रपति मदुरोको स्थानमा गुएडो राष्ट्रपति हुन् या नहुन्, किनभने भेनेजुयाली जनताले आफ्नो स्वतन्त्रता र सार्वभौम सत्ताको रक्षाका लागि विगतमा पनि साम्राज्यवादी तथा सैनिक तानाशाहीका विरुद्ध सङ्घर्ष गरेर आफ्नो लोकतन्त्र र सार्वभौम सत्ताको रक्षा गरेका थिए ।
अमेरिकी साम्राज्यवादीले देख्दा जति डरलाग्दा सक्कली बाघ जस्ता देखिन्छन् तर उनीहरू यति डरछेरुवा हुन्छन् कि उनीहरू कुखुराको चल्ला जस्तै हुन्छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले यदि भेनेजुएलामा हस्तक्षेप गरे भने भेनेजुएली जनताका सामु अमेरिकी साम्राज्यवादीले लज्जाजनक हार खानेछन्, जसरी अहिले वर्षौङ्को अफगान युद्ध पनि अमेरिकीहरूलाई तालिवानीहरूले परास्त गर्दै छन् । सानो गरिब उत्तर कोरियाको परमाणु बमका अगाडि आतङ्कित भएर ट्रम्प वार्ता गर्न तम्सिने गरेका छन् ।