विराटनगरमा शुक्रबार साँझ नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्यांकर विष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो ।

ठूलो आवाजमा विष्फोट भएपछि नजिकका बस्तीका घरहरू भूकम्पले हल्लाएझैं हल्लिएको थियो भने विराटनगर ४ प्रगति टोलका २ वर्षको शिशुसहित ३ जना बेहोससमेत भएको स्थानीय ले जानकारी दिए ।

उनका अनुसार ग्यारेजमा काम गर्ने २ जना मजदुरसमेत बेहोस भएका थिए । विष्फोटपछि स्थानीय त्रसित भएका छन् । ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरूपमा क्षतिग्रस्त भएको छ । ग्यारेजनजिकका केही घरको टिनको छानासमेत उप्किएको स्थानीयले जानकारी दिएका छन् । ट्यांकरमा इन्धन नभएको र खाली रहेको हुँदा ठूलो क्षति हुन नपाइएको बताइएको छ ।

बस्तीको छेउमा मोटर ग्यारेज सञ्चालन गर्दा स्थानीयसँग सहमति नलिएको र ध्वनि र अन्य वातावरण प्रदूषण भएको भन्दै ६ महिनाअघि नै स्थानीयले ग्यारेज अन्यत्र स्थानान्तरण गर्न माग गर्दै वडा कार्यालय र विराटनगर महानगरपालिकालाई स्थानीयले आाग्रह गर्दै निवेदन दिएका थिए ।

तर, वडा कार्यालयले चासो नदेखाउँदा ग्यारेज असुरक्षितरूपमा सञ्चालन भइरहेको थियो । शुक्रबारको घटनाले त्यहाँबाट तत्कालै ग्यारेज हटाउनु पर्ने भन्दै स्थानीयले दबाब दिएका छन् । उनीहरूले अब ग्यारेज सञ्चालन गर्न नदिने भन्दै तत्काल बन्द गर्न माग गरेका छन् ।