समाजको सबैभन्दा गतिशील र चलायमान शक्ति युवाशक्ति हो, जुन शक्तिलाई चेतना, साहस, विचार र सही दृष्टिकोणले सुसज्जित बनाउन सकियो भने मुलुकका धेरै जटिलताहरू हल हुन सक्छन् र देश समृद्धिको बाटोमा अगाडि बढ्न सक्छ । मानव समाजको विकास र परिर्वतनमा जहाँ पनि युवाहरूले नै अतुलनीय भूमिका निर्वाह गरेका छन् । चाहे रोमन दास स्पार्टाकसले गरेको दास विद्रोह होस्, चाहे युरोपको पुनर्जागरण र सामन्तवाद विरोधी पुँजीवादी क्रान्ति, चाहे १९१७ को महान् रूसी अक्टोबर क्रान्ति वा १९४९ को चिनियाँँ क्रान्ति वा भियतनाम, क्युबा लगायतका देशमा गरिएका समाजवादी आन्दोलनहरू हुन्, यी सबैमा युवाहरू नै अग्रपङ्क्तिमा थिए । नेपालको १०४ वर्षे जहानियाँ राणा शासनको विरुद्धमा सङ्घर्ष गर्ने र सहिद हुने युवाहरू नै थिए भने २०३५–३६ को आन्दोलन, २०४६ र २०६२–६३ को आन्दोलनमा पनि युवा नै सक्रिय थिए । माओवादीको १० वर्षे आन्दोलनमा धेरै युवा समर्पित भएका थिए । राजनैतिक परिवर्तनका आन्दोलनहरूमा मात्र होइन, प्रकृति विज्ञानको अनुसन्धान गर्ने र संसारलाई जोड्न सक्ने नयाँ प्रविधिको विकास गर्ने वैज्ञानिक र आविष्कारहरू पनि अधिकांश ४० वर्षभन्दा कम उमेरकै युवाहरू देखिन्छन् ।
यस प्रकार युवा भन्नाले प्रगतितर्फ उन्मुख, नवीन सोच र चीनतनले निर्देशित समाज परिवर्तनको संवाहक, रचनात्मक र सृजनशील, समाज र राष्ट्रका लागि परिवर्तनकामी, विद्रोही, साहसी शक्ति हो भन्न सकिन्छ । युवा उमेरमै नेतृत्व गरेर आफ्नो सृजनशीलतालाई समाजका लागि समर्पित गर्ने थुप्रै व्यक्तिहरू छन् । साम्यवादका प्रवर्तक माक्र्स–एङ्गेल्स कम्युनिस्ट घोषणा पत्र जारी गर्ने बेलामा क्रमशः ३० र २८ वर्षका थिए । लेनिनले ४६ वर्षको उमेरमा १९१७ को महान् अक्टोबर क्रान्तिको साफल नेतृत्व गर्नु भयो । १९५९ मा बाटिस्टा हवाना प्रवेश गर्दा फिडेल क्यास्ट्रो ३२ वर्षका थिए । आधुनिक चीन निर्माणको महाअभियानको योजना सहित चिनियाँँ कम्युनिस्ट पार्टी गठन गर्दा माओ २८ वर्षका थिए । कोरियाली नेता किम इल सुङले ४० वर्षको युवा उमेरमा संयुक्त राज्य अमेरिकी साम्राज्यवादलाई परास्त गर्न नेतृत्व गरेका थिए । समाजवादी क्युबा स्थापनाको अभिभारा पुरा गर्दा चेग्वेमारा ३१ वर्षका थिए । २००६ सालमा नेकपाको स्थापना गर्दा पुष्पलाल २५ वर्षका थिए । १९९७ मा राणाशाहीको विरुद्धमा लाग्दा सहादत प्राप्त गर्ने गङ्गालाल २१ वर्षका थिए । यी दृष्टान्तहरूले के बताउँछ भने युवा उमेरमै हामीले कुन बाटो रोज्ने, कहाँसम्म हिड्ने, कुन जिवन रोज्ने भन्ने स्पष्ट दृष्टिकोण निर्माण गर्‍यौँ भने साँच्चै समाजको रूपान्तरणमा पाइला चाल्न सक्छौँ ।
समाजमा जुन प्रकारको विभेद, असमानता र शोषण छ, त्यसको स्वरूप र चरित्र बुझेर मात्र त्यसलाई परिवर्तन गर्नु सम्भव हुन्छ । वैज्ञानिक विश्व दृष्टिकोणले मात्र क्रान्तिकारी विचार निर्माण गर्न सक्छ । त्यसैले युवाहरूलाई वैज्ञानिक विश्व दृष्टिकोण निर्माण गराई मिलिट्यान्ट र अनुशासित समूहहरू बनाएर सङ्गठित प्रकारले जनवादी आन्दोलनका लागि तयार गर्न सकिन्छ । युवा कम्युनिस्टको बारेमा लेनिन भन्नु हुन्छ– क्रान्तिकारी युवा पिँढीलाई शिक्षित मूल उद्देश्य पहिले उनीहरूमा नागरिक साहसको भावना जगाउनु, उनीहरूलाई त्यस्ता राजनैतिक योद्दाहरू बनाउनु हुन्छ, जो सर्वहारा वर्ग र श्रमजीवी जनताप्रति आत्मैदेखि वफादार होऊन् । त्यसको अर्थ के हुन्छ भने उनीहरूभित्र पँुजीवादी व्यवस्थाप्रति घृणाको त्यस्तो भावना जगाई दिनुपर्छ, जसबाट उसले आवश्यक हुने बित्तिकै कुनै पनि बेला त्यसको विरुद्ध बलिदान गर्न तयार होस् ।
हाम्रो देशमा वा समाजमा युवाहरूमा पर्याप्त जोश र जाँगर भएता पनि धैर्यताको कमी र शीघ्र परिणामको अपेक्षा हुने हुनाले तिनीहरू छिट्टै हौसिने र छिट्टै निराश भइहाल्ने प्रवृत्ति छ भने सजिलै उपयोग र दुरूपयोग समेत हुने गरेका छन् । युवाहरूमा परम्परागत संस्कार, सस्कृति, मूलतः दुव्र्यसनीमा फस्ने, महत्वाकाङ्क्षी बन्ने, नेतृत्वको चाकडी, चाप्लुसी, दलाली गरेर व्यक्तिगत स्वार्थपूर्ति गर्न खोज्ने, स्वदेशमा सामान्य कष्ट सहन नसक्ने र विदेशतिर पलायन हुने, पार्टी सङ्गठन, पद्धति, अनुशासनमा बस्न नसक्ने, गहन अध्ययन, कठोर परिश्रम, सिप कार्यकुशलता हासिल गर्नतिर ध्यान नदिई छिट्टै नेतृत्वको चाहना राख्ने, डिजिटल लतमा एकोहोरो सामाजिक सञ्जालमा लठ्ठ पर्ने र आफनो जिम्मेवारीबोध र कर्तव्य भुल्दै जाने टपरटुइयाँ प्रवृतिहरू पनि देखिने गरेको छन् । पुँजीवादले ल्याएको पछिल्लो सांस्कृतिक विकृतिले एकातिर, विज्ञानको सट्टा युवा पिँढीको दिमागमा धर्म, अज्ञानता र रहस्यको विषय कोचिदिएको छ भने अर्कातिर, मानवीय मूल्य–मान्यतालाई तहसनहस पार्ने गरी छाडा, फोहोरी, लागूऔषध जस्ता विकृतिहरू थोपरिदिएको छ । त्यसले गर्दा नयाँ पुस्ता सांस्कृतिक रूपले निकै असभ्य र भ्रष्ट बन्ने चुनौती बढेको छ । युवा पुस्तालाई यसले विचार, राजनीतिबाट विमुख गर्दै लगेको छ । पुँजीवादले प्रविधिलाई अधिकतम मुनाफा सोहोर्ने साधन मात्र बनाएकाले मान्छे प्रविधि शोषित हुने स्थिति बनेको छ । यस्ता गलत प्रवृत्तिहरूलाई वैचारिक, सैद्धान्तिक र व्यावहारिक प्रशिक्षणद्वारा सुधार गरी क्रान्तिकारी आन्दोलनमा सहभागी बनाउन सकिन्छ ।
हाम्रो देश लामो समयदेखि अर्धसामन्ती र अर्ध औपनिवेशिक शोषण, दमन र उत्पीडनबाट आक्रान्त भइरहेको छ । विश्व प्रभुत्ववाद, साम्राज्यवाद र विशेष गरी भारतीय विस्तारवादले नेपाललाई विभिन्न प्रकारले आफ्नो एकाधिकारमा राख्न षडयन्त्र गरिरहेको छ । सीमा अतिक्रमण, असमान सन्धि–सम्झौता, जनसाङ्ख्यिक आक्रमण, अनाधिकृहत बाँध निर्माण र डुबान, राजनैतिक हस्तक्षेप, दलाल वहुराष्ट्रिय कम्पनीहरूको प्रवेश आदि मार्फत् आफ्नो दादागिरी मच्चाइरहेको छ । यसरी हेर्दा देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथि ठुलो खतरा उत्पन्न भइरहेको छ । नेपालका युवाहरूले नेपालको राजनैतिक तथा सामाजिक परिवर्तनको आन्दोलनहरूमा वलिदान गरेर सशक्त उपस्थिति जनाएका छन् तर नेपाली जनता र युवाको चाहनामाथि कुठाराघात गर्दै पटक पटक सत्ता पालैपालो सम्हालेका राजनैतिक दलले आन्दोलनका एजेन्डा संस्थागत गर्नतिर ध्यान दिइरहेका छैनन्, बरु विदेशी साम्राज्यवादी र विस्तारवादी शक्तिहरूसँग आत्मसमर्पणवादी प्रवृत्ति अपनाएर नेपालमा उनीहरूका एजेन्डा भित्राउने काम गरिरहेका छन् । जस्तो कि सङ्घीयता लागु गर्ने, क्रिस्चियानिटीको प्रभाव विस्तार गर्न खोलिएको विवादित संस्थासँग मिलेर कार्यक्रम गर्ने, खुकुलो नागरिकताको व्यवस्था गर्ने, विदेशी वहुराष्ट्रिय निगमलाई छुट दिने, नेपालका ठुला जलविद्युत कम्पनीहरू कमजोर विदेशी संस्थालाई जिम्मा दिने आदि कार्य चाहे काङ्ग्रेस, चाहे आफूलाई कम्युनिस्ट भन्ने सबै सरकारले गरिरहेका छन् ।
आज नेपालमा थुप्रै सम्भावनाहरू हुँदै गर्दा पनि सरकारको गलत रवैया र अव्यवस्थापनका कारण हरेक वर्ष श्रम बजारमा करिब साढे चार लाख युवाहरू रोजगारीका लागि तड्पिरहेका हुन्छन् भने करिब साढे पाँच लाख युवाहरू रोजगारीका लागि विदेशिन्छन् । बेरोजगार युवाहरूलाई उद्यमी र व्यवसायी बनाउन सकेमा, विदेश जाने युवालाई स्वदेशमै रोजगार प्रदान गर्न सकेमा, युवाहरूमा जोश–जाँगर र ऊर्जा भरि आत्मविश्वास बढाउन सकेमा, युवा उत्साह र शृजनशीलतालाई श्रम, सिप र उत्पादनसँग जोड्न सकेमा, युवाहरूलाई सक्षम र जिम्मेवार बनाउन सकेमा, राष्ट्र निर्माणमा युवाहरूको साझेदारी र सहभागिता बढाउन सकेमा, जल, जमिन, जङ्गल, जडिबुटी, जनावर, जलवायु र जनशक्तिको उचित व्यवस्थापन गरी युवा परिचालन गरेमा यही व्यवस्थाभित्र पनि कैयौँ सुधारहरू गर्न सकिन्छ । तर होनहार, ऊर्जाशील युवाहरूलाई वैदेशिक रोजिगारीमा पठाएर विदेशमै पलायन हुने अवस्था सृजना गराएर डी.भी. पर्दा र पी.आर. पाउँदा गर्व गर्न सक्ने अवस्था सृजना गरेर, विप्रेषणमा रमाउने र विदेशी सेनामा भर्ती हुँदा मक्ख पर्दै भाग्य चम्कियो भनेर हौसिने परिपाटी बढ्दै गइरहेको छ । त्यसलाई निरुत्साहित गर्नेभन्दा पनि संस्थागत गर्ने कार्य सरकारले नै गरिरहेको देखिन्छ । यसैकारणले युवा आन्दोलनको एजेन्डा राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्नदेखि लिएर तत्कालीन सुधारका कार्यलाई समेत ध्यान दिदै श्रमजीवी वर्गको सत्ता निर्माण गर्न दीर्घकालीन सङ्घर्षसँग जोडिएको हुनु आवश्यक छ ।
अहिले युवा आन्दोलनको एजेन्डा तथा चर्चा तत्कालीन लाभ–हानीको आधारमा हेर्ने र त्यसैमा सीमित गर्ने प्रवृत्ति देखिन्छ । यसले मुलुकको आमूल परिवर्तनमा छेकवार लगाउने गर्दछ । त्यसैले युवाहरूलाई तत्कालीन आवश्यकताको आधारमा सङ्गठित बनाउने र सङ्घर्षमा लगाउने र त्यो सङ्घर्षलाई श्रमजीवी वर्गको मुक्ति आन्दोलनसँग एकाकार बनाउनु पर्दछ । समाजको आमूल परिर्वन भनेको मुख्यतः उत्पादन सम्बन्ध र वितरण प्रणालीसँग सम्बन्धित हुन्छ । समाजको विभेद र असमानता भनेको सामूहिक प्रकारको उत्पादन प्रणाली र व्यक्तिगत पद्धतिको वितरण प्रणालीसँग अन्तरनिहित छ । यस प्रकारको असमानता विरुद्ध वर्गसङ्घर्षलाई तीव्र रूपमा अगाडि बढाउनु पर्दछ । नेपालको युवा आन्दोलन सशक्त रूपमा उठ्न सकिरहेको छैन । खासगरी सत्ताधारी पार्टीका युवा सङ्घ÷सङ्गठनहरूले मुलुकको दिशा–निर्देशित गर्ने कुरामा रचनात्मक रूपमा पहलकदमी लिन सकेका छैनन् । मुलुकमा व्याप्त अराजकता, हिंसा, भ्रष्टाचार, बेथितिका विरुद्ध सङ्घर्ष केन्द्रितभन्दा पनि सत्ताको दावेदारी गर्ने प्रवृत्ति विकास भएको छ । युवाहरू साँच्चै कस्तो हुनु पर्छ भन्ने सन्दर्भमा मदन भण्डारीले भनेका थिए– आजका युवा सङ्घर्षहरू नाटक सुरु हुनु अगाडिका उद्घोषण, बाजा र भूमिका जस्ता बनून् । घाम झुल्किनुभन्दा अगाडिको क्षितिजको लालीमा जस्तो बनून्, आँधी आउनुभन्दा अगाडिका हुनहुनाहट जस्तो बनून्, जन्ती र बेहुला आइपुग्न अगाडिको भातखरु जस्तो बनुन् । आज कम्युनिस्ट नामको पार्टीको नेतृत्वमा दुइ–तिहाइको सरकार भएता पनि युवाहरूलाई त्यो किसिमबाट हौसला प्रदान गर्ने र समाजवादी योजना बनाई त्यसमा सहभागी बनाउने कार्य भएको छैन वा परम्परावादी प्रकारले नै सरकार चलिरहेको छ र कम्युनिस्ट मूल्य–मान्यतालई समेत बदनाम बनाउने कार्य भइरहेको छ । यसैले युवाहरूले सचेतताका साथ अहिलेको यथास्तितिलाई तोडदै अग्रगामी परिवर्तनको दिशामा अगाडि बढ्नु पर्दछ । विश्व सर्वहारा वर्गका महान्् नेता माओले नोभेम्बर १७, १९५७ मा मास्कोमा चिनियाँ युवा–विद्यार्थीहरूको सभामा दिएको प्रवचनमा भनेका थिए–“यो संसार तिमीहरूको हो, हाम्रो पनि हो तर अन्तिम विश्लेषणमा तिमीहरूकै हो । शक्ति र चेतनापूर्ण तिमी युवाहरू बिहान आठ÷नौ बजेको सूर्य झैँ जिवनको फक्रँदो बेलामा छौ । हाम्रो आशा तिमीहरूमै रहेको छ । संसार तिमीहरूकै हातमा रहेको छ ।” यही उद्घोष बोकेर चिनियाँ युवाहरूले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको बाटोमा लामबद्ध बने र चीनको मुहार फेरे । हामीले पनि युवाहरूको त्यस्तै हुँकार बोकेर मुलुकको स्वाधीनताका लागि, जनहितका लागि, सर्वहारा वर्गीय मुक्ति आन्दोलनका लागि र समतामूलक समाज निर्माणको लागि आफूलाई समर्पित गर्नु पर्ने बेला भएको छ । (अखिल नेपाल युवक सङ्घको अडतिसौँ स्थापना दिवसको अवसरमा रूपन्देहीको बुटवलमा २०७५ माघ २६ गते आयोजित कार्यक्रममा प्रस्तुत अवधारणापत्र)