रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिएको सदर आवेदकमध्ये २० हजार ५०९ जनाको हात खालि भएको छ । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले शुक्रबार आइपीओ बाँडफाँड गरेको हो । जसमध्ये २० हजार ५०९ जनाले सेयर नपाएका हुन् । 

क्यापिटलले शुक्रबार नै प्रिअलोटमेन्ट मोड्यूल पनि सार्वजनिक गरेको थियो । आइतबार वा सोमबार मात्रै बाँडफाँड गर्ने भनिए पनि बाँकी तयारी पूरा भएकोले शुक्रबार नै बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । 

आइपीओमा ५ लाख ८७ हजार ५०९ जनाले दिएको आवेदन सदर भएको छ । सदर आवेदनमध्ये ५ लाख ६७ हजारले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी २० हजार ५०९ ले सेयर नपाएका हुन् । 

यो आइपीओ खरीदका लागि आवेदन दिएका १ हजार ९५५ जनाको आवेदन विविध कारणले रद्ध भएको छ । 

रिलायन्सले ५६ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा ५ लाख ८९ हजार ४६४ जना आवेदकले २ करोड २९ लाख २६ हजार १० कित्ताका लागि आवेदन दिएका थिए।

रिलायन्सको आइपीओ भदौ ४ गते निश्कासन भई ८ गते बन्द भएको थियो । यो कम्पनीको आइपीओमा मागभन्दा ४.०४ गुणा बढी आवेदन परेको थियो ।