पछिल्लो समय कोरोना संक्रमण दर र मृतकको संख्या पनि उच्च बनेको छ। पहाडका केही जिल्लालाई छाडेर हेर्ने हो भने अधिकांश संक्रमित तराईका जिल्लाका छन्। भारतसँग सिमाना जोडिएका जिल्लामा संक्रमण तीव्र गतिमा फैलिएको छ।

सर्वसाधारणमा मात्र नभइ स्वाथ्यकर्मी, सुरक्षा कर्मी, सञ्चारकर्मी, उद्यमी व्यवसायीलगायतमा कोरोना संक्रमण भइसकेको छ। भारतबाट आएका व्यक्तिलाई सीमामा ‘होल्डिङ’ नगरी सीधै घरमा पठाइनु, समाजमा सचेतना नअपनाइ भीडभाड गर्नु, नियन्त्रका लागि सरकारकाले प्रभावकारी कदम चाल्न नसक्नु लगायत कारण नै कारोना समुदायमा फैलिएको विज्ञ बताउँछन्। मोरङ, पर्सा, कपिलवस्तु र कैलाली पनि संक्रमण दर उच्च भएका जिल्ला हुन्। पर्सामा सबैभन्दा बढी अर्थात् २ हजार २२,मोरङमा १ हजार ५ सय १७,कैलालीमा १ हजार ५ सय ६७ र कपिलवस्तुमा १ हजार ७८ जना संक्रमित छन्। 

 ‘होल्डिङ’ सेन्टर नहुँदा संक्रमण तीव्र

भारतबाट आएका व्यक्तिलाई ‘होल्डिङ’ नगरी होम आइसोलेसन र होम क्वारेन्टिन विधि लागू गर्दा सुदूरपश्चिममा कोरोना संक्रमण उच्च बनेको छ । सुदूरपश्चिममा बिहीबारसम्म ५५ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीमा मात्रै कारोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ। डोटी र अछाममा पनि संक्रमित बढेका छन्। डोटीमा ८ सय ९६ जना र अछाममा ८ सय ७३ जनामा कोरोना पुष्टि भएको छ ।

दुबईबाट आएका धनगढी उपमहानगरपालिका ५ हसनपुरका ३४ वर्षीय पुरुषमा चैतको १४ गते पहिलो कोरोना देखिएको थियो। त्यसपछि उनकै परिवारका एक जना महिला सदस्यमा संक्रमण देखिएको थियो। लम्की चुहाकी एक महिला गरी चैतमा मात्रै कैलालीमा कोरोनाका तीन जना बिरामी थिए ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक हेर्ने हो भने चैतमा कैलालीमा ३ जना मात्रै कोरोनाका संक्रमित थिए। चैत ७ गते देशैभर लकडाउन भयो। वैशाखमा एक जनामा पनि कोरोना पुष्टि नभएको कैलालीमा जेठमा ७६ जना, असारमा ७ सय ४५ जना, साउनमा ४ सय ५ जना र भदौको १० गतेसम्म ३ सय ३८ जना गरी १५ सय ६७ मा कोरोना पुष्टि भएको छ ।

स्थानीय तहअनुसार भन्ने हो भने कैलालीमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकासँगै जोडिएको गोदावरी नगरपालिकामा ४ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। कैलालीमा १३ स्थानीय तह छन्। तीमध्ये लम्कीचुहा नगरपालिकामा २ सय ५१ जना, धनगढी उपमहानगरपालिकामा २ सय १९ जना, गौरीगंगा नगरपालिकामा १ सय ८६ जना, टीकापुर नगरपालिकामा १ सय ४५ जना, घोडाघोडी नगरपालिकामा ७५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बर्दगोरिया गाउँपालिकामा ५७ जना, भजनी नगरपालिकामा ५१ जना, जानकी गाउँपालिकामा ४४ जना, कैलारी गाउँपालिकामा ४२ जना, चुरे र जोशीपुर गाउँपालिकामा १५÷१५ जना र मोहन्याल गाउँपालिकामा ८ जना गरी १५ सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।

नाका व्यवस्थापनमा त्रुटि

कैलालीमा कोरोनाका बिरामी बढ्नुमा पहिलो कारण सीमा नाकाको व्यवस्थापनमा त्रुटि देखिएको छ। भारतबाट आएकाको सीमाबाटै व्यवस्थापन हुन नसक्दा संक्रमण फैलिएको अनुमान छ। वरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थ भन्छन्, ‘सीमा नाकामै व्यवस्थापन हुनुपर्ने हो तर भएन, त्यसपछि क्वारेन्टिन पनि अस्तव्यस्त भए। क्वारेन्टिनमा स्वाब लिएकालाई पनि रिपोर्ट आउँदासम्म ‘होल्ड’ गर्न सकिएन। त्यसैले अहिले घरघरमा कोरोना पुगिरहेको छ ।

सुदूरपश्चिममा चैतदेखि अहिलेसम्म भारतबाट २ लाख ८४ हजार मानिस स्वदेश फर्किसकेका छन्। डा. कायस्थ भन्छन्, ‘अहिलेको अवस्था स्थानीय संक्रमणको पहिलो चरण हो। अहिले भारतबाट फर्किरहेका थोरै संख्याका व्यक्तिलाई अझै व्यवस्थापन गर्न सकिन्छ ।’

उनले सरकारले ल्याएको होम आइसोलेसन र होम क्वारेन्टिन नीति आत्मघाती भएको बताए। उनले भने, ‘यो निर्णय तुरुन्त परिवर्तन हुनुपर्छ ।’ भारत अहिले दैनिक करिब ७० हजार मानिसमा कोरोना पुष्टि भइरहेको छ। भारतबाट नेपाल फर्कने क्रम पनि रोकिएको छैन ।

सुदूरपश्चिमका लागि अबको अवस्था अझ खतरापूर्ण रहेको डा.कायस्थको अनुमान छ। उनी अझै पनि सीमा नाकाबाट आउने सबैलाई ‘होल्डिङ’ मा राख्नुपर्ने सुझाव दिन्छन्। सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयले प्रदेश सरकारलाई सीमा क्षेत्रमा ‘होल्डिङ’ क्षेत्र बनाउन सुझाव दिएका दुई महिना भयो तर अझै हुन सकेको छैन ।

प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी भन्छन्, ‘मैले मुख्यमन्त्री, सामाजिक विकासमन्त्रीसहित प्रदेशको महामारी नियन्त्रण समितिमा यो सुझाव दिएको दुई महिना भइसक्यो ।’ तर अहिले सामुदायिक विद्यालयमा बनाइएका क्वारेन्टिन हटाइएका छन् भने सीमा क्षेत्रमा आएका आ–आफ्नो घर गइरहेका छन् ।

पर्सामा संक्रमित २ हजार नाघे 

कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेको पर्सा जिल्लामा संक्रमितको संख्या २ हजार नाघेको छ। बुधबार राति थप २४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित २ हजार २२ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति ५ सय १० जनाको स्वाब नमुना परीक्षण गर्दा पर्साका २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। उनका अनुसार, जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक, उनकी    श्रीमती र छोरामा पनि संक्रमण भेटिएको छ ।

यस्तै पर्साको सखुवाप्रसौनी गापामा ७ र कालिकामाई गापा–५ विरन्चीवार्वाका ५ जनामा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको चौरसियाले जानकारी दिए। वीरगन्ज महानगरपालिका–११ का २ जना, ८, १०, १३, १४ र २६ का १÷१ जनामा संक्रमण भेटिएको उनले बताए। २ जना सशस्त्र प्रहरीमा पनि संक्रमण पुष्टि भएको जानकारी उनले दिए ।

पर्सामा साउनयता मात्रै १ हजार ८ सय ६१ जनामा संक्रमित थपिएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार, असार मसान्तसम्म पर्सामा १ सय ६१ जनामा मात्र संक्रमण भेटिएको थियो। तीमध्ये १ सय ५९ जना निको भई घर फर्किएपछि असार अन्तिममा वीरगन्जस्थित कोभिड अस्पतालको आइसोलेसनमा २ जना मात्र संक्रमित उपचाररत थिए। तर, साउन महिना सुरु भएपछि परीक्षणको दायरा बढाइएका कारण त्यसयता दिनहुँ अत्यधिक संख्यामा संक्रमित थपिँदै गएका छन् ।

समुदायस्तरमै पुगेर स्वाब संकलन गर्नुका साथै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ र सःशुल्क परीक्षण पनि थालिएकाले संक्रमितहरूको संख्या बढ्दै गएको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार, पर्सामा १ सय ३२ स्वास्थ्यकर्मी, ८७ सुरक्षाकर्मी, १३ पत्रकार, ९८ थुनुवा, ४९ अस्पताल सफाइकर्मी र ३ एम्बुलेन्स चालक पनि संक्रमित भएका छन् ।

संक्रमणको ‘चेन ब्रेक’
संघीय सरकारले गरेको लकडाउन खुला हुनु अघिसम्म सामान्य अवस्थामा रहेको मोरङ अहिले कोरोना संक्रमणको ‘हट स्पट’ बनेको छ। संक्रमित थपिने संख्या मात्रै होइन मृतकको संख्या पनि बढेको छ ।

बिहीबार सम्मको तथ्यांकअनुसार मोरङमा एक हजार पाँच सय १७ संक्रमित छन्। मृतकको संख्या १५ पुगेको छ। दैनिक थपिने संक्रमित पनि प्रदेश १ का अन्य जिल्लाको तुलनामा मोरङमै बढी रहेको समाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ। प्रदेश १ मा मृत्यु हुने सबै मोरङका हुन्। खुल्ला सिमाना, उद्योग कलकारखानाका भारतीय मजदुर, लकडाउन खुलेपछि बढेको भीडभाड र स्वास्थ्य सचेतना नअपनाउँदा संक्रमण बढेको बताउँछन् स्थानीय तहका जनप्रतिनिधि ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भन्छन्, ‘८ किलोमिटर खुला सिमाना छ। त्यहाँबाट भित्रिनेको संख्या नरोकिएकाले संक्रमण उच्च भएको हो ।’ मोरङका १७ स्थानीय तहमध्ये आधाभन्दा बढीले भारतीय सीमा छोएका छन्। भारतीय सिमानामा भएका बजारमा जाने र यस्ता सीमा क्षेत्रबाट सामान लिएर नेपाल प्रवेश गर्दा संक्रमण भित्रिएको पराजुलीको ठहर छ। ‘सीमा हेर्ने जिम्मा संघीय सरकारको हो, प्रदेश सरकारले समन्वय गर्न सकेन। संक्रमणको मुख्य कुरानै यही हो’, उनले भने ।

विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) हुँदै दैनिक एक सयको हाराहारीमा मालवाहक ट्रक नेपाल भित्रिन्छन्। ती सवारीमा एक सय ५० देखि दुई सय यातायात कर्मचारी दैनिक नेपाल आवतजावत गर्छन्। तर, उनीहरुको न त स्वास्थ्य जाँच हुन्छ न त लेखा जोखा नै ।

जिल्ला सुरक्षा समितिको बैठकले विराटनगर महानगरपालिकासहित मोरङका १७ वटै स्थानीय तहमा १६ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ। यसअघि विभिन्न स्थानीय तहले आफ्नै हिसाबमा ‘लकडाउन’ गरेका थिए। तर समुदायस्तरमा फैलिएको संक्रमणको ‘चेन ब्रेक’ हुन नसक्दा ‘मोडालिटी’ परिवर्तन गरी केही खुकुलो प्रावधानसहित जिल्लाभर निषेधाज्ञा लगाइएको प्रशासनले जनाएको छ ।

असावधानीले फलियो कोरोना 

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिकाका ५० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ। यससँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

कपिलवस्तु प्रदेश ५ कै सबैभन्दा धेरै संक्रमित भएको जिल्ला हो। प्रदेशका १२ जिल्लामा संक्रमितको संख्या करिब ६ हजार पुगेकोमा कपिलवस्तुका १ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या प्रदेशभरको १८ प्रतिशत हो। कपिलवस्तुमा केही समयअघि संक्रमण क्वारेन्टाइनमा मात्रै सीमित थियो। यसअघि लकडाउन खुलेपछि भीडभाड बढ्दा संक्रमण अहिले समुदायस्तरमा फैलिएको छ ।

भारतबाट लुकीछिपी घर फर्किने र क्वारेन्टाइनमा नबस्दा संक्रमण जोखिम बढेको छ। लकडाउन खुकुलो भएका बेला सावधानी नअपनाउँदा संक्रमण बढेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापा बताउँछन्। ‘अहिले कलस्टर–कलस्टरमा संक्रमण देखिएको छ, बजार क्षेत्र बढी प्रभावित छन्, उनले भने, ‘बाह्य यात्रा विवरण नभएकामा पनि संक्रमण बढ्दो छ। उनीहरू लक्षणसहितका छन् ।’ पहिलो चरणको लकडाउन खुकुलो भएसँगै बैंक वित्तीय संस्था, सुपरमार्केट र हाट बजार संक्रमण एक व्यक्तिबाट अन्यमा फैलिएको उनको ठहर छ ।

थापा भन्छन्, ‘स्वास्थ्य मापदण्ड पालना गरिएन, एउटै बैंकमा सय÷डेढ सयको लाम लाग्यो, बजारमा पनि उस्तै भीड भयो। यही कारणले कोरोना फैलिँदै गयो ।’ अहिलेको संक्रमण तौलिहवा, कृष्णनगर, बहादुरगन्जजस्ता सहरी क्षेत्रमा बढेको छ। सबैभन्दा बढी संक्रमित कपिलवस्तु नगर क्षेत्रमा छन्। मापदण्डविपरीतका क्वारेन्टाइन र आरडीटी परीक्षणको भर पर्दा कपिलवस्तुमा संक्रमण बढेको हो। भारतबाट भित्रिएका हजारौंलाई राख्ने ठाउँ अभाव र समयमा पीसीआर परीक्षण नहुँदा अहिले समस्या बढिरहेको छ ।

स्थानीय तहले क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा अझै ध्यान दिएका छैनन्। भारतबाट आउनेहरू सोझै घर पुग्छन्। भारतसँग ९३ किलोमिटर खुला सीमा नाका भएकाले प्रशासनले सबै ठाउँमा निगरानी बढाउन सकेको छैन। लुकीछिपी आएर घरमा पुग्नेलाई नियन्त्रण गर्न कठिन भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल बताउँछन्। ‘सुरक्षाकर्मीको निगरानी हुँदा हुँदै लामो सिमाना भएकाले लुकीछिपी भित्रिने धेरै छन्, उनी भन्छन्, ‘झाडी र धानखेतमा लुकेर आउनेलाई रोक्न सकिएको छैन ।’ यस्तै व्यक्तिबाट संक्रमण फैलिएको उनको बुझाइ छ ।

कपिलवस्तुमा अहिले सक्रिय संक्रमितको संख्या १ सय ९६ छ। तीमध्ये ३५ जना मात्रै सामुदायिक आइसोलेसनमा छन्। अन्य होम आइसोलेसनमा छन्। संक्रमण नियन्त्रणमा राजनीतिक दलको सहयोग कमजोर भएको सरोकारवाला बताउँछन्। सचेतना र अनुगमनमा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने उनीहरूको ठहर छ। संक्रमित बढेसँगै सुस्ताएका स्थानीय तहलाई सक्रिय बनाउन थालिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। ‘नागरिक आफैं सतर्क हुनु नै यसको रोकथाम हो। पालिकासहित सबै निकाय कोरोनाविरुद्ध लाग्नैपर्छ’, उनले भने। समुदायमा ‘र्‍यान्डम’ स्वाब परीक्षण र कन्ट्याक ट्रेसिङलाई जोड दिइएको पौडेलको भनाइ छ ।

(क्रान्ति शाह/वीरगन्ज, शिवराज भट्ट। धनगढी रविन भट्टराई, किशोर बुढाथोकी/ विराटनगर, लक्ष्मण पोखरेल/बुटवल )