कोरोना महामारीले सम्पूर्ण विश्वलाई नै हल्लाइदिएको छ। यो महामारीले विश्वको अर्थतन्त्रलाई डामाडोल पारिदिएको छ। 

विश्वभरका सरकारले आफ्ना प्रणालीमा करिब १८ लाख करोड डलर खन्याउँदा पनि कम्पनीहरु टाँट पल्टिरहेका छन्। कोरोना महामारीका कारण जर्मनीका करिब ५ लाख कम्पनीहरु टाँट पल्टिसकेका छन्। विश्वकै सबैभन्दा बलियो अर्थतन्त्र भएको अमेरिकाका पनि ४५ कम्पनीहरुले संकटग्रस्त भएको भन्दै आवेदन दिएका छन्। 

यी घटनाबाट अहिले देखिएको आर्थिक संकट सन् २००८ को मन्दीभन्दा पनि ठूलो हुन सक्ने आँकलन गर्न थालिएको छ। सन् २०२० मा अहिलेसम्म करिब १८ लाख करोड डलरको तरलता प्रवाह गरिए पनि सबै प्रकारको सरकारी र कर्पाेरेट बोन्ड र सेयरहरु मन्दीतर्फ अग्रसर भइरहेका छन्। यसका साथै यी सबैको मूल्यमा निरन्तर गिरावट आइरहेको छ। 

ठूला अमेरिकी कर्पाेरेट कम्पनीहरु धमाधम टाँट पल्टिरहेका छन्। यसले सन् २००८ मा देखिएको आर्थिक संकटलाई पनि पार गर्ने देखिएको छ। १७ अगस्टसम्म ४५ अमेरिकी कम्पनीहरुले संकटग्रस्त भएको भन्दै आवेदन दिएका छन्। यी कम्पनीहरुमध्ये प्रत्येक कम्पनी एक अर्ब डलरभन्दा धेरै सम्पत्ति भएका छन्। 

त्यस्तै स्पेनको बैंक अफ स्पेनल त्यहाँका करिब एक चौथाइ कम्पनीहरु टाँट पल्टने अवस्थामा पुगिसकेका छन्। 

मुडिजले गरेको अनुमानअनुसार विश्वका प्रमुख अर्थतन्त्रहरुका १० प्रतिशतभन्दा बढी कारोबार गम्भीर रुपमा वित्तीय तनावमा छन् र कयौँ भने प्राविधिक रुपमा टाँट पल्टिसेकेका छन्। विश्लेषकहरुका अनुसार खर्बौं रुपैयाँको तरलताबाट लगानीकर्ता र सरकारबीच सुरक्षाको एउटा गलत सन्देश गइरहेको छ। 

लगातार टाँट पल्टिरहेका र बन्द भइरहेका कम्पनीहरुले रोजगार, लगानी र विकास सबैको भविष्य दाउमा लागेको छ। अहिलेसम्म के स्पष्ट भइसकेको छ भने तरलता जोखिमलाई केही समयका लागि टाल्न सकिन्छ। तर यसले घट्दो नगद प्रवाह र टाँट पल्टने सम्भावनालाई भने टाल्न नसकिने देखिएको छ। 

यद्यपि ताइवान, दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र होल्यान्डजस्ता देशहरुले यस्तो प्रकारको संकटमाथि राम्ररी लगाम लगाउन सफल भएका छन्। यी देशहरुले कोरोना महामारीसँग जुध्नका लागि केवल राम्रो तयारीमात्रै गरेनन् बरु महामारीको दौरान लकडाउनबाट अर्थतन्त्रमाथि पर्न सक्ने असरलाई कम गर्नतर्फ लागेका थिए। 

कोरोना महामारी नियन्त्रण लिन विश्वका कयौँ सरकारहरुले गैरजिम्मेवारपूर्ण निर्णय गर्दै अर्थतन्त्रलाई भगवान भरोसमा छोडिदिएका थिए। जसका कारण ती देशहरुमा हाहाकार मच्चिन थालेको छ। 

यदि पहिलेदेखि नै उत्पादकत्व घटेर कमजोर बनिसकेको अर्थतन्त्र छ र सोल्भेनसी रेसियो पनि घटेको छ भने यस्तो अर्थतन्त्रलाई यदि दुई–तीन महिनासम्म लकडाउन गर्ने हो भने यसको नकारात्मक असर अवश्य पनि धेरै वर्षसम्म देखिनेछ। ज्यादा मागको नीति, गैरआवश्यक प्रोत्साहन र योजनाहरुले अधिक तरलताको संकटलाई अझै गहिर्याउने छ र समूचित अर्थव्यवस्थालाई यस्तो मोडमा ल्याई पुर्याउनेछ जहाँ अगाडि कुनै पनि बाटो बाँकी रहने छैन। यसले कम्पनीहरुलाई टाँट पल्टन बाध्य पार्नेछ। किनकि सबै कुरा यसरी वित्तीय संकटको अवस्थामा पुग्नेछन् जहाँ कम्पनीहरुको ब्यालेन्स सिट धेरै नै नराम्रो अवस्थामा पुग्नेछ र कम्पनीको भ्यालुएसन पनि धेरै नै कम हुनेछ। – एजेन्सी