विगत २४ घण्टामा नेपालमा थप १,१११ जनामा कोभिड-१९ पुष्टि भएको र कोरोनाभाइरस सङ्क्रमणका कारण आठ जनाको मृत्यु भएको र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो भने पुष्टि भएका सङ्क्रमितको सङ्ख्याले दोस्रो पटक १,००० नाघेको हो।

अहिलेसम्म एक चिनियाँ नागरिकसहित देशभरि १८३ जनाको कोरोनाभाइरससँग सम्बन्धित कारणले मृत्यु भइसकेको छ। सक्रिय सङ्क्रमित कुल सङ्ख्या १५,२७३ पुगेको छ।

अहिले फेला परेका सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकामा ३७७ जना छन्। यो पनि उपत्यकाका तीन जिल्लामा अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक सङ्ख्या हो।