सुमन थापा संगम

पसिनाको मूल्य .

धर्ती बोकेर आकाश छुन हिँड्ने  

तिम्रा गोडाहरू  

कहिल्यै थाकेको देखिनँ  

श्रम मागी रहेका पहाडहरू  

बुद्ध जस्तो शान्त भएर उक्लि रह्यौ

भिम जस्तै शक्तिशाली बनेर  

श्रमको अग्निमा होमिई रह्यौ तिमी ।  

श्रमिक दाजु !  

आकाशको निधारबाट  

तपतप पानीका थोपा चुहिए जसरी  

पसिना बनेर चुहिईरहेको देखेको थिएँ तिमीलाई

श्रमले खुम्चिएको तिम्रा हत्केलाका रेखाहरूबाट

पसिना अल्झिँदै झर्दै गर्दा  

विना स्वीकृति चुँडिएको फूलको पीडा  

सम्झिरहेकी छु ।  

तिम्रा कुर्कुचाहरू  

खडेरीले धाँजा फाटेको जमिनझैँ हुँदा  

भत्किन्छ मन पहिरोले पहाड भत्काए जसरी  

थाहा छैन

कसले देख्छ तिम्रो पसिना

पसिनामा होलि खेल्ने

होलिकाहरूले

युद्ध गर्ने

कौरबहरूले

या फेरि  

सकुनिको चाल चल्ने

राष्ट्रवादिहरूले ।  

दुःख बगेको छ

श्रम बगेको छ

फेरि पनि खाली छ  

चुल्होको ताप्के  

खाली छ शरीरमा एकसरो लुगा

यो देखेर हेरिरहेको  

निर्दोष पहाडका आँखाहरू रोईरहेछन् ।  

श्रमिक दाजु !

तिमी त्यो जमिन भरि  

अन्न भएर छरिएको देख्छु

बादलको थोपा भरि सिँचाई गर्ने पानीझँ  

पसिनाले भरिएको देख्छु

तिम्रा सुस्केराहरू

मर्स्याङ्ग्दीको भरि सुन्छु

फेरि पनि

अन्न स्याहार्ने बेला  

कुन्यु खाली, भकारी खाली ।  

तिम्रा फुटेका कुर्कुचा  

ठेला उठेका हात

पसिनाले आलि बनाएको निधार देखेर  

साच्चै इश्वरलाई दुख्छ कि दुख्दैन होला ?  

आदिम मान्छेहरू जस्तै  

जमिन्दारको हृदय  

भत्किन्छ कि भत्किन्न होला ?  

तिम्रो पसिनाको बाढीले  

खोला किनाराको ढुङ्गा जस्तै  

हृदय हुनेहरूको हृदय  

कहिल्यै रुझ्छ कि रुझ्दैन होला ?  

श्रमिक दाजु !  

आदर्शको पाठ घोकाउनेहरू

इमानको दर्शन रटाउनेहरू  

विचारको वेद पढाउनेहरू  

सम्पुर्णलाई बुझाउनु पर्छ

घाम जत्तिकै उज्यालो

बतास जत्तिकै स्वच्छ  

पानी जत्तिकै निर्मल र

समय जत्तिकै अमूल्य अमुल्य छ  

श्रम गर्दा बगेको पसिनाको मूल्य।

पानी बनिसकेछु 

एकैसाथ धड्किए  

हृदयको धड्कन्

पानीको थोपा बनेँ म ।  

कुन भूगोलको यात्री थियो ऊ

मनको साँघु तरेर

कुनबेला आईपुगेछन् पत्तै भएन

परेलिका ढोका खोली हेरेँ  

उनले त हृदयको दलिन नै नाघी सकेछन् ।  

उज्यालो  महशुस गर्दै थिएँ  

अचानक  

कसरी छोप्यो अधेंरीले ?  

कसरी भयो उसको कोमल हृदय कठोर,  

बुझ्नै सकिनछु

म अवाक थिएँ ।  

उहि हृदय

उहि धड्कन  

उहि प्रेमको तातो श्वास

खोजी रहें जीवनको लयसँगै  

र बगिरहें सेती नदीझैँ  

उसको प्रेममा  

पातले छांगोभित्र छहरा बगेझैं बगिरहें  

ऊ त प्रेममा रुझ्दै नरुझी परपर भएछ

कल्पनाको बतास  

भित्रभित्रै  हुरि बनेर उडि गएछ

आँखाहरू नथाकुन्जेल हेरिरहें उसलाई ।  

बगेछन् नयनका नीर

उसको सम्झनामा  

म त पानी बनीसकेछु

पानीलाई भिजाइदिन्छु ।  

समय .

समय !  

तिम्रो रफ्तारमा  

जीवनलाई हिँडाउने क्रममा  

मैले साँझलाई पनि हृदयमा सिउरिएँ

रातलाई पनि अंगालेर मुस्कुराएं

आँखाबाट खस्ने तप्केनीहरूले  

तिमीलाई रुझाउला कि भनेर  

अहिले नखस है, भनि कैयौंपटक थम्थम्याए ।  

मलाई पनि  

उदाउन मन हुन्थ्यो प्रत्येक बिहानीसंगै

मुस्कुराउन मन हुन्थ्यो प्रत्येक फूलसंगै

हिँड्न मन हुन्थ्यो बतासको बेगसंगै

खोलाको गतिसंगै ।  

तिम्रै लागि  

अनगिन्ती चाहनालाई भित्रभित्रै कैद गर्दै

आफुलाई तृप्त बनाएँ ।  

समय !  

कहिले तिम्रो प्रश्नले म टुक्रिन्थें  

जीवनका दुर्धटित बाटाहरूमा

कहिले तिम्रो जवाफले फेरि पुर्ण हुन्थें ।  

घरीघरी 

आफैंलार्य बगाउने गरि आँखाबाट बगिरहन्थेँ  

तर किन बग्थेँ त्यसरी ?  

प्रश्नहरूको हुरी चलिरहन्थ्यो हृदयमा ।  

चरा जस्तै स्वच्छन्द उड्ने मेरो रहर

किन कैद भैईरहन्थ्यो पिंजडामा ?  

अहिले पनि

कदमकदम उभिएर खबरदारी गर्छ समाजले

कहिले चोर औंला सोझ्याउँदै बाटो नबिराउनु भन्छ जिम्मेवारीले ।  

समय !  

अब तिमीसंग मलाई प्रश्न गर्नु छ  

खबरदारी  

जिम्मेवारी

आजसम्म किन नाघ्न सकिन मैले ?

मलाई जवाफ देउ  

मेरो जीवनको त्यो बाटो खै ?  

जहाँ म स्वतन्त्र हिँडिरहेकी थिएँ  

अब मलाई त्यो बाटोसंगै त्यहीँ छुटेका  

मेरा एउटा एउटा

पाइतालाका सुन्दर डोबहरू चाहिन्छ ।  

बालुवामा लेखिएको नाम .

बाबाको आँखाबाट झरिरहेछ  

तिर्खाईरहेको सागर जस्तो प्रेम ।  

प्रेमले मात्र छुन सकिने सम्झनाको पल्लो छेउ  

पुग्नु भएकी आमासम्म

बाबालाई नै उडाई लैजाला जस्तो गरि चल्ने बतासले

बाबाको मौन आवाज पुर्याउँछ कि पुर्याउँदैन होला ?  

विदिर्ण पदचापहरूको शान्त धुनमा सुनिरहेथें  

बाबाको अश्रु पुकार ।  

हिँड्दा  

आफुसंगै हिँडाउनु भएथ्यो बाबाले  

सम्हालेर आमाका पाईतालाहरू ।  

अघि बढिरहँदा बाटोबाट चिनाउनु भएथ्यो

बिरानो शहर , बिरानो आकाश, बिरानो गल्ली र सामुन्द्रीक तटहरू ।  

आफै गुनगुनाउँदै भन्नू हुन्थ्यो (

मेरो औँला नछोडि समाती हिँड है म संगै ।  

बाबाको त्यो गहिरो प्रेमालापमा  

दुखेर फूलहरूले खसाएथे आँसुका थोपाहरू

रोकिएथ्यो गगनबाट धर्तिमा झर्दै गरेको  

घामको किरण ।  

सागरको आँगनमा उभिएर  

बालुवाको ढुकढुकि बटुल्दै

लेख्नुभएथ्यो मायालु नाम ‘हिमा’ ।  

त्यो आलो नाम अघिल्तिर हुनुहुन्थ्यो  

आमाको प्रेमले काँपिरहनुभएको बाबा ।  

बाबा उसै एक्लो भए पनि

उभ्याउन चाहनु हुन्थ्यो आमालाई आफ्नो अगाडी

छुवाउन चाहनु हुन्थ्यो सागरको चिसो पानी ।  

देखाउन चाहनु हुन्थ्यो क्षितिजले जन्माउदै गरेको बालक घाम ।  

हेर्दाहेर्दै 

लहरहरू फिँजाएर  बगिरहेको अस्मेल सागर  

लहरसँगै हुत्तिँदै आएर  

आमाको नामलाई बगाई लग्यो सागरले

जोगाउन चाहानुहुन्थ्यो बाबा आमाको नामलाई बगाउन चाहान्थ्यो सागर  

आखिर त्यो त बालुवामा लेखिएको नाम न थियोे

अहिले बाबा

सागरको लहरहरूमा खोज्दै हुनुहुन्छ आमालाई ।  

म किनारमा उभिएर यतिखेर  

लेख्न खोजिरहेछु फेरी  

बालुवामा एउटा नाम ।  

अन्तिम चुम्बन गर्न सकुँ  

प्रेम दुख हो ।  

प्रेम पीडा हो ।  

लाग्छ,  

प्रेम फगत जिन्दगीको बृहत कथा हो ।  

म चाहन्छु, तिम्रो मजेत्रो भित्र लुक्न

म चाहन्छु, आँखाका डिल हुँदै झर्ने झरना  

तिम्रो हत्केलाले रोक्न

म चाहन्छु, तिम्रो वात्सल्यमा आफूलाई हराउन।  

म घुम्दै थिँए ब्रह्माण्डको अर्को शहर

ऎनैऎनाको भित्ताहरूमा देखेँ  

जहाँ तिमी जस्तै तिमी थियौ

बन्द आँखाले हेर्दै थिएँ म तिमीलाई

सुन्दर त्यो स्वरूप ।  

उफ्,  

जब म उभिएको धरातल हल्लिँदै  

म लरखराउन पुगेँछु  

मलाई बिउँझाउने विश्वास अनि भरोसाको  

भ¥याङमा म अडिन पुगेँ

त्यहाँ म मात्र थिएँ

केवल तिमीलाई अन्तर्मनबाट हेर्दै थिएँ

पन्ध्र बर्ष अघिको तिम्रो तस्बिर  

चितामाथिको उज्यालो त्यो प्रतिविम्व ।  

आमा !  

लाग्छ अझै पनि  

पवनका अदृष्य हातले  

मेरा केशहरू सुम्सुम्याउँदै छ्यौ  

तिमी यतै कतै छ्यौ मेरो आसपास।  

एकनिमेष तिमीलाई सम्झिरहेछु

लागिरहेछ,  

तिम्रो चिताबाट उडेको धुवाँसंगै म बादल बनुँ  

झरी बनेर एकपटक तिम्रो सामु फेरि झरुँ  

अनि  

तिम्रो आलिङ्गनमा बाँधिएर तिमीलाई  

अन्तिम चुम्बन गर्न सकुँ ।