नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहसँग काे कुराकानी

 कम्युनिष्ट पार्टीमा किन बारम्बार फुट भइरहन्छ ?

यो प्रश्नलाई हामीले दुई प्रकारले बुझ्नु पर्दछ । एउटा सैद्धान्तिक र अर्को अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा यस सम्बन्धी अनुभवहरुबाट ।हामीले के बुझ्नुपर्छ भने सम्पूर्ण संसारको स्वरुप द्वन्द्वात्मक प्रकारको हुन्छ । विश्वमा विभिन्न प्रकारका द्वन्द्वहरु भइरहेका हुन्छन् । समाजमा सबै चिजहरुमा द्वन्दहरु भइरहन्छ । परिवार, विभिन्न संघ–संस्था, धार्मिक संगठन वा राजनीतिक संगठनहरुमा पनि द्वन्द्व भएको पाइन्छ । जसले द्वन्द्वात्मक भौतिकवाद माथि विश्वास गर्छ उसले यो मान्दछ कि प्रकृतिमा हरेक कुरामा द्वन्द्व हुन्छ । यसकारण कम्युनिष्ट आन्दोलनमा पनि द्वन्द्व हुन्छ र कम्युनिस्ट पार्टीमा पनि द्वन्द्व हुन्छ ।

कम्युनिष्ट पार्टी सर्वहारावर्गको पार्टी हो । यसको समाजवाद साम्यवादसम्म पुग्ने लक्ष्य हुन्छ । सर्वहारावर्गको पार्टी भएपनि पार्टीमा कैयौं गैर सर्वहारा तत्व, विचार वा प्रवृतिहरुको प्रवेश भएको हुन्छ । ती कुराहरुले पार्टीमा असर पार्दछ । पार्टीमा एकातिर सर्वहारा दृष्टिकोण अगाडि बढाउनको लागि प्रयत्न भइरहेको हुन्छ भने अर्कातिर गैर सर्वहारा दृष्टिकोणले त्यो कार्यमा बाधा पु¥याउने गर्दछ । ती दुई खाले प्रवृतिका बीचमा द्वन्द्व भइरहन्छ । गैर सर्वहारा प्रवृति बेग्ला बेग्लै रूपमा पार्टीमा देखापर्दछन् । तिनीहरूको विरुद्ध लगातार संघर्ष गर्नुपर्छ । यसकारण द्वन्द्व नभैकन कम्युनिष्ट पार्टी अगाडि बढ्न सक्दैन ।

नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजनको विजारोपण कहिलेदेखि सुरु भयो ?

 पार्टीमा अनुशासन सम्बन्धी कमजोरीहरु दोस्रो महाधिवेशन भन्दा अगाडिदेखि नै देखापरेका थिए । दोस्रो महाधिवेशन अगाडि पनि कतिपय अनुशासन सम्बन्धी कमजोरीहरु देखापरेका थिए । कैयौं साथीहरुलाई कारबाही गरिएको थियो तर त्यतिबेलाको सकरात्मक पक्ष के थियो भने कारबाहीमा परे पनि साथीहरुले पार्टी फुटाउने प्रयास गरेका थिएनन् । उनीहरुमाथि कारबाही भएपनि अनुशासनमा बस्थे । र, पार्टीमा सक्रिय भइरहन्थे । मतभेद भएमा अनुशासनमा बसेर पार्टीभित्र नै संघर्ष गर्दथे । त्यो बेला कतिपय पल्ट नेतृत्वमा पनि परिवर्तन भयो । पीवीमा रहेका साथीहरु माथि पनि कारबाही भयो तर उनीहरुले पार्टीलाई फुटाउने काम गरेनन्

कम्युनिष्ट पार्टीमा आफ्नै खालको संगठनात्मक प्रणाली हुन्छ, जनवादी केन्द्रियता हुन्छ । त्यस्का आफ्नै संगठनात्मक मान्यताहरु हुन्छन् । त्यसलाई हामीले पालना गर्नुपर्छ तर सबै साथीहरुले सबै अवस्थामा त्यसलाई पालना गर्दैनन् । त्यो अवस्थामा अनुशासनको कारबाही गर्नुपर्ने हुन्छ । प्रायःजसो जनवादी केन्द्रियताको उल्लंघन सबै देशमा, सबै ठाउँमा हुने गरेको छ ।

खास गरेर पार्टीमा फुटको वीजारोपण दोस्रो महाधिवेशन पछि नै सुरु भएको सबैलाई थाहा छ । दोस्रो महाधिवेशनमा पार्टीमा दुईवटा लाइन देखापरेका थिए । एउटा गणतन्त्रको लाइन र अर्को बैधानिक राजतन्त्रको लाइन । ती दुईओटा विचारको बिचमा संघर्ष भयो र द्वित्तीय महाधिवेशनले गणतन्त्रको लाइनलाई पास गर्यो । तर नेतृत्वमा वैधानिक राजतन्त्रका पक्षधर डा. केशरजंग रायमाझी चुनिए । विचार एउटा पास भयो, नेतृत्व अर्कै आयो । तैपनि त्यसले त्यति नराम्रो गर्दैनथ्यो । रायमाझीले बहुमतको लाइनलाई मानेर जनवादी केन्द्रियताको सिद्धान्तअनुसार पार्टी सञ्चालन गरेको भए समस्या पर्ने थिएन । तर उनले महाधिवेशन लगत्तै महाधिवेशनले गरेका निर्णयहरु गलत छन्, यसले पार्टीलाई ध्वस्त पार्छ भनेर त्यसका विरुद्धमा काम गरे । उनले महाधिवेशनले गरेका निर्णयको पक्षमा एउटा वक्तव्य पनि दिएनन्, सर्कुलर पनि जारी गरेनन् । त्यहाँबाट समस्या सुरु भयो ।

केशरजंग रायमाझी त बहुमतमा थिए, उनीसँग यहाँहरुले कसरी विद्रोह गर्नुभयो ?

 दोस्रो महाधिवेशनमा संविधानसभाको पक्षमा एकमत थियो । पुष्पलाल, रायमाझीलगायत सबै त्यसमा सहमत थिए । (त्यतिबेला मनमोहन अधिकारी देशमा हुनुहुन्थेन, उहाँ उपचारको लागि चीन जानु भएको थियो ।)  पछि राजाले संविधान सभाको विरुद्धमा षडयन्त्र गर्न थालेपछि कैयौं पार्टी वा नेताहरुले उनको पक्षमा लागेर संविधानसभाको नारालाई छाड्दै गए । उनीहरुले प्रधानमन्त्री पदको लोभमा वा अन्य विभिन्न कारणले संविधानसभाको नारा छाड्दै गए । अन्य पार्टीका कैयौं नेताहरु प्रधानमन्त्री, मन्त्री पदको लोभका कारणले राजालाई समर्थन गर्न पुगे । टंकप्रसाद आचार्य, डा. केआई सिंह, बिपी कोइरालाले पनि संविधानसभाको नारा छोडे । त्यसको असर हाम्रो पार्टीमा पनि पर्यो । महामन्त्री डा.केशरजंग रायमाझीले पनि संविधानसभाको नारा छोडे ।

हाम्रो पार्टीमा लामो समयसम्म गणतन्त्र वा वैधानिक राजतन्त्रको प्रश्नमा मतभेद रह्यो । संविधानसभा मान्ने कि नमान्ने भन्ने विषयमा संघर्ष चलिरह्यो । यो विषयमा केन्द्रीय कमिटीमा मतभेद भइसकेपछि त्यसलाई महाधिवेशनमा लगेर टुंग्याउने भन्ने समझदारी भयो । हामीले २०१७ साल फागुनमा चितवनमा पार्टीको तेस्रो महाधिवेशन गर्ने निर्णय गरेका थियौँ तर त्यही साल पुस १ गतेको काण्ड घट्यो । राजाले कू गरेपछि हामीले महाधिवेशन स्थगन गरेर दरभंगा प्लेनम गर्यौं ।

यहाँ एउटा सकारात्मक पक्ष के थियो भने तुल्सीलाल पहिला माझीको पक्षमा भएपनि राजाले ‘कू’ गरिसकेपछि उहाँ गणतन्त्रको पक्षमा आउनु भयो । १७ सालको काण्ड भन्दा पहिले पुष्पलाल, शम्भुराम र हामीहरु संविधानसभाको पक्षमा नै थियौँ र त्यस्का लागि पार्टीभित्र हामीले कडा संघर्ष गरेका थियौँ । तर ०१७ सालको काण्डपछि पुष्पलाल, शम्भुरामहरुले संविधान सभाको नारा छोड्नु भयोे

दरभंगा प्लेनमा तीनवटा मत देखा परे । नेपाली कांग्रेसले विघटित संसदको पुनर्स्थापनाको कुरा गरेको थियो । पुष्पलालले राजासँग संघर्ष गर्नको लागि विघटित संसदको पुनर्स्थापनाको मागलाई अगाडि सार्नु भयो । मैले संविधानसभाको चुनाव हुनपर्नेमा जोड दिएँ र केशरजंग रायमाझीले संसदीय प्रणालीको माग राखे । केन्द्रीय कमिटीमा संविधानसभाको पक्षमा म एक्लै थिएँ तर दरभंगा प्लेनममा संविधानसभाको पक्षमा अत्यधिक बहुमत भयो । त्यो बेला रायमाझीले भित्राभित्रै दरबारका मान्छेहरुसँग साँठगाठ गरिरहेका थिए । त्यो बेला मैले प्लेनममा माझीमाथि कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव राखेँ । त्यो बेला तुल्सीलालले प्लेनमको अध्यक्षता गरिरहनु भएको थियो । मैले प्रस्ताव राखेपछि अब पार्टी फुट्नेभयो भनेर उहाँ घ्वाँ घ्वाँ रुनु भयो । त्यसपछि मेरो प्रस्तावमा छलफल नै हुन सकेन । दरभंगा प्लेनममा नै रायमाझी माथि कारबाही गर्न सकेको भए सायद पार्टीको इतिहास बेग्लै हुन्थ्यो होला । दरभंगा प्लेनमले संविधान सभाको नारालाई अत्याधिक बहुमतले पारित गर्‍यो । तर प्लेनमको निर्णय केन्द्रीय समितिले मान्नै पर्छ भन्ने नियम छैन । त्यसैले केन्द्रीय समितिले प्लेनमले पारित गरेको संविधान सभाको नारालाई अस्वीकार गर्यो ।

<p>संविधान सभाको नारालाई अस्वीकार गरेपछि प्लेनममा पराजित भएका अन्य दुई वटा नाराहरुलाई पनि अगाडि नबढाउने र पार्टीहरु माथिको प्रतिबन्ध हटाउने तथा मौलिक अधिकार र राजबन्दीको रिहाई समेतको लागि संघर्ष गर्ने निर्णय गरियो । प्लेनममा रायमाझीका विरुद्ध कारबाही गर्ने प्रस्तावमा छलफल नगरेपनि केन्द्रीय समितिले उनलाई (रायमाझीलाई) महामन्त्री पदबाट हटाएर रायमाझी सहित तीन जनाको सचिवालय बनाउने निर्णय गर्यो । तर छिट्टै रायमाझी राजाको पक्षमा गएको कुरा प्रष्ट भयो । त्यसपछि दरभंगामा भएका हामीहरु म, तुल्सीलाल, शम्भुराम र भरतमोहन समेतले रायमाझी र उनको पक्षमा रहेको केन्द्रीय समितिको बहुमतका विरुद्ध विद्रोह गर्ने सल्लाह गर्‍यौं। त्यसपछि म पुष्पलालसँग सल्लाह गर्न काठमाडौँ आएँ ।

तर शम्भुरामजीसँग हामीले सल्लाह गरेनौं । किनभने उहाँले पञ्चायत व्यवस्थाका विरुद्ध संघर्ष गर्ने दरभंगा प्लेनमले जुन निर्णय गरेको थियो, त्यसबारे पुर्नविचार गर्नुपर्छ भन्ने मत प्रकट गर्न थाल्नु भएको थियो । दरभंगा प्लेनमबाट फर्किएपछि राजा र पञ्चायत व्यवस्थाको विरोध गर्ने निर्णयमा पुनर्विचार गर्नुपर्छ भन्ने मत प्रकट गर्न थाल्नु भएको थियो । त्यसैले रायमाझीको विरुद्ध विद्रोह गर्ने र तेस्रो महाधिवेशन गर्ने विषयमा हामीले उहाँसँग कुनै सल्लाह गरेनौँ । हामीले हाम्रा बिचमा अन्तरजोनल (तत्कालिन अवस्थामा अञ्चलस्तरीय कमिटिहरु) सम्मेलन गरेर तेस्रो महाधिवेशनको आयोजना गर्ने सल्लाह भयो । तर त्यो अन्तरजोनल सम्मेलनको तयारीका सिलसिलामा प्यूठान गएको बेलामा म कपिलवस्तुमा गिरफ्तार भएँ । र तेस्रो महाधिवेशनमा मैले भाग लिन सकिन । २०१९ सालमा बनारसमा तेस्रो महाधिवेशन सम्पन्न भयो ।

तेस्रो महाधिवेशनमा भएको फुटको बारेमा बताइदिनुहोस् न ?

तेस्रो महाधिवेशन पछि पार्टीमा फुटको एउटा लामो श्रृंखला सुरु भयो । माझीलाई निकाल्ने सकारात्मक कार्य तेस्रो महाधिवेशनले पुरा गर्यो । यो एउटा महत्वपूर्ण सैद्धान्तिक र राजनीतिक उपलब्धी थियो तर त्यसपछि पार्टीमा गम्भीर प्रकारको अनुशासन विहीनता देखापर्‍यो । पार्टी भित्रका सबै मतभेदहरुबारे खुला रुपले बनारसका गल्ली र चिया पसलहरुमा कुरा हुन थाल्यो । जनवादी केन्द्रियताको सिद्धान्तको उल्लंघन हुन थाल्यो । महाधिवेशनले गरेका निर्णय, पार्टीको केन्द्रीय कमिटीले वा पीवीले गरेका निर्णयहरु जथाभाबी बाहिर जान थाले । त्यसको परिणाम के भयो भने, पार्टी कैयौं टुक्रामा बाँडियो । र पार्टीमा कैँयौँ समानन्तर समितिहरु बने

तुल्सीलालले संसदीय लाइनको पक्षमा संगठन बनाएर दिल्लीमा कार्यालय बनाएर काम गर्न थाल्नुभयो । काठमाडौं, ललितपुर, पूर्वकोशी र पश्चिमका साथीहरूले बेग्ला बेग्लै समानान्तर समितिहरु बनाएर काम गर्न थाले । पुष्पलालले २०२५ सालमा गोरखपुरमा तेस्रो सम्मेलन गरेर बेग्लै समानान्तर केन्द्रीय समिति बनाएर काम गर्न थाल्नु भयो । मनमोहन अधिकारी, म निर्मल लामा, शम्भुरामसहित हामीहरू जेलमा थियौं ।

जेलबाट पहिला निर्मल लामा छुट्नु भयो । त्यसपछि मनमोहन, र शम्भुराम छुट्नु भयो र अन्तमा म छुटेँ । त्यतिबेलासम्म पार्टी कैयौं टुक्रामा बाँडिइसकेको थियो ।

जेलबाट छुटेपछि पार्टीलाई एकीकरण गर्ने प्रयास भएन ?

२०२७ सालमा म जेल बाहिर आइसकेपछि अब पार्टीलाई एकीकरण गरी एउटै केन्द्र बनाउनुपर्छ भनेर हामीले सल्लाह गरयौं र २०२८ साल मंसिर २० गते काठमाडौंमा एउटा भेला गरेर केन्द्रीय न्यूक्लसको गठन गर्यौं । त्यसको सेक्रेटरीमा मनमोहन अधिकारी हुनुहुन्थ्यो भने सचिवालयमा शम्भुराम र म थियौं । समितिका अन्य सदस्यहरुमा पछि थपिएकासमेत गरेर जय गोबिन्द शाह, निर्मल लामा, चित्रबहादुर केसी, भरतमोहन अधिकारी, कमल कोइराला, भक्तबहादुर श्रेष्ठ, शिद्धिलाल सिंह, राम बहादुर, दिल बहादुर श्रेष्ठ, गंगाधर घिमिरे लगायत कैयौँ साथीहरु हुनुहुन्थ्यो

पुष्पलालसँग एउटै पार्टी बनाउने प्रयास भएको तर त्यो सम्भव नभएको यहाँले विभिन्न प्रशंगमा बताउनुभएको छ । त्यसबारे अलि स्पष्ट पारिदिनुहोस् न ।

विसं २०२६ सालमा हामी १५/१६ जना काठमाडौंको भद्रगोल जेलमा थियौं । जेलमै हाम्रो एउटा भेला भएको थियो र त्यो भेलाले नै पार्टी एकीकरण गर्नको लागि प्रयत्न गर्ने समझदारी बनाएको थियो । त्यसका लागि विभिन्न दस्तावेजहरु तयार भएका थिए । ती दस्तावेजहरुमा नेपाली कांग्रेसको नयाँ प्रकारले ब्याख्या गर्ने समझदारी भएको थियो । जस्तोकि सबैलाई थाहा छ, मार्क्सवादी–लेलिनवादीहरुले नयाँ जनवादी कालमा राष्ट्रिय पुँजीपति वर्गलाई मित्रशक्ति मान्दछन् । त्यो बेलासम्म पार्टीले नेपाली कांग्रेसलाई राष्ट्रिय पुँजीपति वर्गको पार्टी र, त्यसकारण, जनतान्त्रिक तथा मित्रशक्ति मान्ने गरेको थियो । २०२६ सालको भद्रगोल जेलमा भएको भेलाले कांग्रेसलाई राजा सरह दुश्मन शक्ति हो भन्ने विश्लेषण गर्यो । र, त्यसलाई राजा सरह सामन्त, दलाल र नोकरशाही पुँजिपति वर्गको पार्टी भएको विश्लेशण गर्याे ।

हामीले नेपाली कांग्रेसबारे गरेको त्यो नयाँ विश्लेषणमा जेलमा भएका साथीहरु मध्ये निर्मल लामाको मात्र मतभेद थियो । त्यो बेला उहाँले पार्टीको पुरानै विश्लेषण नै सही छ भनेर अडान लिनु भएको थियो । तर जेलबाट छुटेपछि उहाँले पनि भद्रगोल जेलको त्यो नेपाली काँग्रेस प्रतिको नयाँ विश्लेषणलाई स्वीकार गर्नु भएको थियो । आफ्नो आत्म संस्मरणमा उहाँले त्यो कुराको उल्लेख गर्नु भएको छ । पछि न्यूकल्समा महाधिवेशनको लागि दस्तावेज तयार पार्दा मनमोहनजीले पनि पार्टीको पुरानै मतका पक्षमा अडान लिनु भएको थियो । निर्मल लामाले पछि जेलबाट छुटेपछि आफ्नो आत्म संस्मरणमा लेख्नु भएको छ: ‘पहिला म ने.का. संबन्धी मोहनविक्रमको लाइनमा सहमत हुनसकेको थिइन तर अहिले म सहमत छु ।’ तर, मनमोहन पछिसम्म सहमतिमा आउनुभएन । उहाँ ने.का. सम्बन्धी पुरानै अडानमा कायम रह्नुभयो । तैपनि चौथो महाधिवेशनमा गएर त्यो समझदारीबारे टुंगो लगाउने समझदारी भयो ।

चौथो महाधिवेशनको तयारीका लागि हामीले सबैतिर साथीहरुलाई सम्पर्क गर्यौं । काठमाडौं, पाटन, पश्चिमतिरका साथीहरु, पूर्वका समितिहरु, सबैतिर सम्पर्क भयो । माओ विचारधारालाई मान्ने सबै साथीहरुलाई समेट्ने प्रयास गर्यौं । त्यसक्रममा हामीले पुष्पलालजीसँग पनि सम्पर्क गर्यौं । किनभने उहाँले पनि माओविचारधारा मान्नुहुन्थ्यो तर हामीले तुल्सीलालजीलाई भने सम्पर्क गरेका थिएनौं । किनभने तुल्सीलालले सोभियत संसद्वादी लाइनको पक्ष लिनु भएको थियो ।

पहिले हामीले पुष्पलालजीलाई सम्पर्क गर्न शम्भुरामजीलाई फर्मेसगञ्ज पठाएका थियौँ । तर, पुष्पलालले ‘हामीले तेस्रो सम्मेलन गरेका छौं, सबै साथीहरू त्यसैमा सामेल हुनुपर्छ र त्योभन्दा बाहिर एकताको प्रयत्नमा म सामेल हुन सक्दिन’ भन्नुभयो ।

त्यसपछि हामीले फेरि उहाँलाई भेट्न मनमोहनजीलाई बनारस पठायौं । फेरि पनि पुष्पलालजीले आफ्नो पहिलेकै अडान दोहोर्याउनु भयो । नेपाली कांग्रेस सम्बन्धी दृष्टिकोणमा मनमोहनजी र हाम्रो मतभेद थियो तर मनमोहन र पुष्पलालजीको विचार मिल्थ्यो । मनमोहनजीले पुष्पलाललाई ‘कन्भिन्स’ गरेर ल्याउन सक्नु भएन । बरु पुष्पलालजीकै विचारमा उहाँ कन्भिन्स भएर आउनुभयो । हाम्रो भनाइ के थियो भने कांग्रेस सम्बन्धी विषयमा मतभेद भएपनि यो विषयलाई महाधिवेशनमा लगेर टुंग्याउन सकिन्छ । तर पुष्पलालजीले मान्नुभएन । उहाँले नमानेको मात्रै होइन, मनमोहनजीलाई समेत आफ्नो पक्षमा लैजानुभयो र स्वयम् मनमोहन पनि महाधिवेशन गर्ने कुराको विरुद्धमा जानुभयो । विराटनगरमा फर्केपछि उहाँले ‘केटाहरुले महाधिवेशन गर्न थालेका छन्, म त्यसमा सामेल छैन’ भनेर सार्वजनिक रुपले नै विचार प्रकट गर्नुभयो । त्यसरी पुष्पलाललाई पार्टी एकतामा सामेल गर्ने हाम्रो प्रयत्न सफल भएन ।

यहाँहरुले पुष्पलाललाई ‘गद्दार’ भनेको प्रसंगले अहिले पनि आलोचना हुने गरेको छ । वास्तवमा पुष्पलाललाई गद्दार भन्नुको कारण के थियो र के आधारमा सच्याउनुभयो ?

माथि पनि भनियो कि, विसं २०२६ सालमा हामी भद्रगोल जेलमा भएको भेलामा नेपाली कांग्रेस राष्ट्रिय पूँजीवादी पार्टी नभएर सामन्त, दलाल र नोकरशाही पूँजीपति वर्गको पार्टी भएको र, त्यसकारण, दुश्मन शक्ति भएको विश्लेषण गरेका थियौँ । पुष्पलालले कांग्रेसलाई जनतान्त्रिक र मित्रशक्तिका रुपमा व्याख्या गरिरहनुभयो । जेलबाट बाहिर आइसकेपछि पुष्पलालजीसँग हाम्रो त्यो विषयमा मतभेद भयो । तैपनि यो आधारभूत सैद्धान्तिक विषय होइन, महाधिवेशनमा गएर टुंगो लगाउन सकिन्छ भन्ने हाम्रो धारणा थियो । तर पुष्पलालजी त्यसको लागि तयार हुनुभएन

खास गरेर दुईवटा विषयमा पुष्पलालजीसँग हाम्रो मतभेद भयो : नेपाली कांग्रेसलाई हेर्ने विषयमा र त्यो बेला अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चीन र रुसका पार्टीहरुका बिचमा चलेको महान बहसका विषयमा । नेपाली काँग्रेसबारे उहाँसँग हाम्रो कुन प्रकारको मतभेद रह्यो ? त्यो कुराको पहिले नै उल्लेख भईसकेको छ । महान बहसको बेलामा उहाँ मध्यमार्गी दृष्टिकोणमा पुग्नुभएको थियो । त्यो दृष्टिकोण थियो, चीन र रुसका पार्टीहरुमा चलेको महान बहसका सन्दर्भमा एक प्रकारको तटस्थ वा समान दूरीको दृष्टिकोण । भारतको सी.पी.एमले त्यही प्रकारको दृष्टिकोण बनाएको थियो । पुष्पलालको पहिलेदेखि सी.पी.एम सित निकट सम्बन्ध थियो । त्यसको असर विश्व कम्युनिष्ट आन्दोलनमा चलेको महान बहसमा पनि पर्यो । खास गरेर नेपाली कांग्रेसलाई हामीले दुश्मन शक्ति ठहर्‍याएको तर, उहाँले मित्रशक्ति मानेको हुनाले हामीले उहाँलाई गद्दार घोषित गर्यौँ । त्यसपछि गद्दार पुष्पलाल भन्ने पुस्तक निस्कियो ।

पुष्पलालजीको निधन पछि हाम्रो पार्टीको (राष्ट्रिय भेला या सम्मेलन) मा पुष्पलाल प्रतिको हाम्रो पुरानो दृष्टिकोणलाई हामीले बदल्यौं । उहाँले नेपाली कांग्रेसलाई मित्रशक्ति मान्नुभयो, त्यो उहाँको कमजोरी थियो तर त्यही कारणले उहाँलाई गद्दार भन्नु गलत भएको थियो भन्ने निष्कर्षमा पार्टी पुग्यो । हाम्रो समझदारी के रह्यो भने उहाँले ने.का. बारे गलत दृष्टिकोण अपनाएको भएपनि वा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा मध्यपन्थी दृष्टिकोण अपनाएको भएपनि उहाँका कैँयौँ सकारात्मक पक्षहरु पनि थिए । उहाँले जीवनभरि नै राजतन्त्रबारे सम्झौताहीन संघर्ष गर्नुभएको थियो । कम्युनिष्ट पार्टीको स्थापना र त्यसको सम्र्बधनमा उहाँको महत्वपूर्ण योगदान रहेको थियो । त्यसैले उहाँलाई गद्दार घोषित गर्ने निर्णयलाई हामीले फिर्ता लिएका थियौँ ।

यद्यपी हामीले एउटा पुस्तकको शीर्षकमा गद्दार पुष्पलाल लेख्यौं तर पुस्तकको भित्र कहीँ पनि गद्दार भन्ने शब्द थिएन । हामीले आत्मालोचना गर्यौं र पुस्तकको शीर्षक परिवर्तन गरेर पछि ‘क्रान्ति या भ्रान्ति’ भन्ने राख्यौं । तर, कोअर्डिनेसन वा मालेका साथीहरुले ‘वर्गसंघर्ष’ भन्ने आफ्नो मुखपत्रमा सयकडौँ पल्ट पुष्पलाल, मनमोहन अधिकारी र मलाई पनि गद्दर भनेर लेखेका छन् । यो विषयमा उनीहरूले कहिल्यै पनि आत्मालोचना गरेनन् । त्यो विषयमा कहिँ पनि छलफल हुँदैन । हामीले एउटा पुस्तकको शीर्षकमा गद्दार भनेको विषयलाई आत्मालोचना गर्यौं, त्यो विषयमा बारम्बार चर्चा हुने गर्दछ तर मालेका साथीहरुले पुष्पलाललाई गद्दार भनेका विषयमा कहिले पनि कुरा उठाउने गरिन्न ।

 सबै पक्षलाई समेटेर एउटै पार्टी बनाउने उद्देश्यले बनाएको न्यूक्लस पनि छिन्न भिन्न भयो नि, त्यसको कारण के थियो ?

हामीले केन्द्रीय न्यूक्लस गठन गरेपछि फेरि त्यसमा कैँयौँ राजनीतिक मतभेदहरु देखा परे । न्युक्लसमा सामेल साथीहरुका विभिन्न कमजोरीका कारण कतिपय कारबाहीमा परेका थिए भने कतिपयले मतभेदका कारण बेग्लै संगठन निर्माण गरेका थिए ।

महाधिवेशनका लागि दस्तावेजहरु तयार पार्ने शिलसिलामा हाम्रो शम्भुरामजीसित कैयौँ मदभदहरु देखा परे । उहाँले कुनैपनि विषयमा पर्चा निकाल्ने, वक्तव्य दिने वा पार्टी भित्र सर्कुलर पठाउने कुराको पनि विरोध गर्नुभएको थियो । उहाँको तर्क थियो, त्यसो गर्नु पार्टीको भूमिगत प्रणालीका विरुद्ध थिए । र त्यसो गर्दा पार्टी खुला हुन्थ्यो । त्यसो गर्नुलाई उहाँले कानुनी मार्क्सवाद पनि बताउनु भएको थियो । राजनीतिक दलहरुमाथिको प्रतिवन्ध हटाउने, राजनीतिक स्वतन्त्रताको माग गर्ने तथा मौलिक अधिकार र राजनीतिक अधिकारको माग गर्ने आदि विषयहरुको पनि उहाँले विरोध गर्नुभएको थियो । उहाँको भनाई थियो त्यसो गर्दा ने.का. पनि खुला हुन्छ, उनीहरुका राजवन्दीहरु पनि छुट्छन्, र उनीहरुले पनि राजनीतिक स्वतन्त्रता वा मौलिक अधिकारको प्रयोग गर्न थाल्छन् । त्यो आन्दोलनको हितमा हुनेछैन ।

मनमोहन, निर्मल लामा, भरतमोहन, चित्रबहादुर के.सी. सहित हामीहरु सबै उहाँका त्यस प्रकारका विचार विरुद्ध थियौँ । विद्यार्थी आन्दोलनको सिलसिलामा उहाँसितको हाम्रो मतभेद अरु तिव्र बन्यो । शम्भुरामजी विद्यार्थी मोर्चाको इन्चार्ज हुनुहुन्थ्यो । त्यतिबेला काठमाडौंमा विद्यार्थीको आन्दोलन चलिरहेको थियो । उहाँले विद्यार्थीको त्यो आन्दोलनलाई सम्झौतामा टुंग्याउनुभयो । त्यसो गर्दा उहाँले पार्टीसित पनि सल्लाह गर्नुभएन । पार्टीले उहाँको त्यो कार्यलाई गम्भीर गल्ती ठहर्‍यायो र केन्द्रीय न्यूक्लसले सर्वसहमतिले उहाँलाई निष्काशित गर्‍यो ।

हामीले २०३० सालको फागुनमा सिराहामा पार्टीको चौथो महाधिवेशन गर्ने ठेगान गरेका थियौं । जस्तै कि पहिले नै भनियो, हामीले मनमोहनजीलाई पुष्पलालजीसँग सम्पर्क गर्न बनारस पठाएका थियौं । उहाँले हाम्रो चौथो महाधिवेशन गर्ने कुरालाई सार्वजनिक गरेको कुराको पहिले नै चर्चा भएको छ । म महाधिवेशनको शिलशिलामा पाल्पा पुगेको बेलामा भरतमोहनले ‘विवाह नहुने भयो, तुरुन्त नै बसेर सल्लाह गर्नु पर्ने भयो’ भनेर मलाई आकासवाणी पठाउनुभयो । त्यो बेला फोनको चलन थिएन र अकासवाणीद्धारा नै समाचारको आदानप्रदान गर्ने गरिन्थ्यो । सिराहामा न्यूक्लसको आकस्मित बैठक बस्यो । त्यसले मनमोहनको त्यस प्रकारको गल्तीलाई गम्भीर ठहर्‍याएर उहाँलाई पार्टीबाट निस्कासित गर्ने निर्णय गर्‍यो । त्यो निर्णय सर्वसम्मतीले नै भएको थियो । त्यो निर्णयमा भरतमोहन, कमल कोइरालाहरुको पनि सहमति थियो ।

देशभित्र भूमिगत रुपले हुन थालेको महाधिवेशनको समाचारलाई सार्वजनिक गर्नु अत्यन्तै गम्भीर गल्ती थियो । हामीले महाधिवेशनमा आउने साथीहरुलाई जरुरी समाचार पठाएर रोक्यौं । न्यूक्लसको त्यही बैठकले २०३१ सालको असारमा बनारसमा चौथो माहाधिवेशन गर्ने निर्णय गर्‍यो । त्यो गर्दा भरतमोहन, कमल कोइरालाहरु समेत हुनुहुन्थ्यो । तर पछि उहाँहरु महाधिवेशनमा सामेल हुन आउनु भएन । काठमाडौं उपत्यकाका साथीहरु पनि त्यो महाधिवेशनमा सामेल हुन आउनु भएन । त्यसरी माथि उल्लेखित विभिन्न कारणहरुले न्यूक्लस टुक्रिँदै गएको थियो ।

त्यही न्यूक्लसको समयदेखि नै मेरो चित्रबहादुर केसीसित सक्रिय राजनीतिक सम्पर्क रहँदै आएको थियो र त्यो बेलादेखि अहिले सम्म त्यो सम्बन्ध कायम रहेको छ । यहाँ यो पनि उल्लेखनीय छ कि त्यो बेला त्यो न्यूक्लसमा भएका साथीहरु मध्ये हामीहरु अब तीन जना चित्रबहादुर के.सी, कमल कोइराला र म मात्र जीवत छौँ । अरु कुनै साथी जीवित भएको भए अहिले मलाई याद छैन ।

हामीले बनारसमा चौथो महाधिवेशन गर्यौं । चौथो महाधिवेशनले नयाँ केन्द्रीय समिति निर्वाचित गर्‍यो, जसमा म महामन्त्री निर्वाचित भए भने पीवीमा जय गोबिन्द शाह र निर्मल लामा सचिवालयमा चुनिनु भयो । त्यो बेला केन्द्रीय समितिमा चुनिएका साथीहरुमा खम्बासिङ काजी, चित्रबहादुर के.सी, खुविराम आचार्य, सुर्यनाथ यादव, मोहन वैद्य आदि हुनुहुन्थ्यो । मोहन वैद्य त्यो बेला जेलमा हुनुहुन्थ्यो र जेलमा भएकै अवस्थामा केन्द्रीय समितिमा निर्वाचित हुनुभएको थियो । बैकल्पिक सदस्यहरुमा गंगाधर घिमिरे, ऋिषि देवकोटा आजाद सहित ४ जना हुनुहुन्थ्यो ।

चौथो महाधिवेशनमा के कस्ता मतभेद थिए र फेरि विभाजन भयो ?

चौथो महाधिवेशनमा हाम्रा केही मतभेदहरु थिए । खास गरेर निर्मल लामाजीसँग पंचायती चुनावको उपयोग गर्ने कि बहिष्कार गर्ने भन्ने विषयमा हाम्रो मतभेद थियो । त्यो प्रश्नमा केन्द्रीय समितिको बैठक वा विभिन्न भेला वा सम्मेलनहरुमा चुनावको बहिष्कारको पक्षमा नै बहुमत हुने गरेको थियो र चुनावको उपयोगको पक्ष सबै पराजित हुने गरेको थियो ।

त्यही प्रकारले अन्य कतिपय प्रश्नहरुमा पनि उहाँसित हाम्रो कतिपय मतभेदहरु थिए । तर लामाजीको विभिन्न प्रश्नहरुमा हाम्रा बिचमा तिव्र मतभेदहरु भएपनि उहाँले सधैँ बहुमतको निर्णयलाई मानेर अनुशासित प्रकारले काम गर्नुहुन्थ्यो । कुनै गल्ती भएमा त्यसबारे तुरुन्तै आत्माचोना गर्नुहुन्थ्यो र त्यसलाई तुरुन्त सच्चाउने कोशिस गर्नुहुन्थ्यो । त्यसले गर्दा उहाँसितका मदभेदका कारणले उहाँसित पार्टीमा फुट भएन ।

तर त्यतिबेलै मेरो सम्बन्धमा एउटा घटना घट्यो र पार्टीले मलाई महामन्त्रीसहित केन्द्रीय कमिटीबाट हटायो र पार्टी सदस्यताबाट तीन वर्षका लागि निष्काशन गर्यो । अनि म मद्रास गएँ ।

त्यसपछि पार्टीका गोपनीयताहरु भंग हुन थाले । लामाजीको एउटा कमजोरी थियो उहाँले पार्टीका कतिपय गोपनीयताहरु भंग गर्नुभयो । अनि पार्टीले उहाँलाई पनि केन्द्रीय कमिटीबाट हटायो । म र लामाजी दुवैजना केन्द्रीय कमिटीबाट हट्यौं । महामन्त्रीमा भक्तबहादुर श्रेष्ठ चुनिनु भयो ।

तपाईं र लामाजी दुवै जना कन्द्रीय समितिमा नभएको अवस्थामा उहाँसित फुट हुनुको कारण के थियो त ?

जुनबेला चौथो महाधिवेशनमा फुट भयो त्यो बेला निर्मल लामाजी र म हामी दुबैजना केन्द्रीय समितिमा थिएनौँ । जलजलासितको प्रेम सम्बन्धको प्रकरणमा केन्द्रीय समितिले मलाई महामन्त्री, पीवी र केन्द्रीय समितिबाट र तीन महिनाका लागि साधारण सदस्यबाट समेत निस्कासित गरेको थियो । र लामाजी पार्टीको महामन्त्री हुनुहुन्थ्यो । पछि ‘लुजटक’ गरेको आधारमा उहाँलाई पनि महामन्त्री पद र केन्द्रीय समितिबाट समेत हटाईएको थियो र भक्तबहादुर महामन्त्री बन्नु भएको थियो । लामाजीले के ‘लुजटक’ गर्नु भएको थियो । त्यो बेला म केन्द्रीय समितिमा नभएको हुनाले त्यस सम्बन्धी विस्तृत जानकारी मलाई छैन ।

भक्तबहादुर श्रेष्ठ महामन्त्री भएको बेलामा नै काठमाडौं उपत्यकाका साथीहरुसित उहाँको तीब्र मतभेद बढेर गयो । त्यो अवस्थामा ६ जना साथीहरुले केन्द्रीय समितिमा राजीनामा दिनुभयो र त्यो राजीनामालाई सार्वजनिक पनि गर्नु भयो

त्यो बेला राजीनामा दिने हदसम्मका मदभेदहरु के थिए ?

त्यसबारे मलाई बढी जानकारी छैन । उहाँहरुको राजीनामा पछि केन्द्रीय समिति भंग भयो । त्यो स्थिति माथि विचार गर्न २०४० सालमा गोरखपुरमा राष्ट्रिय सम्मेलन भयो । त्यो सम्मेलनमा निर्मल लामा र श्याम श्रेष्ठ आउनुभएको थियो । त्यो सम्मेलनमा मुख्य विवादको विषय ६ जना साथीहरुले दिएको राजीनामाबारे नै भयो । भक्तबहादुर, चित्रबहादुर के.सी, मोहन वैद्य, र हामीहरु समेतले ‘राजीनामाको प्रश्नमा पार्टी भित्र त्यसबारे छलफल हुन सक्दथ्यो तर त्यसलाई सार्वजनिक गर्नु गम्भिर गल्ती थियो भन्ने मत राखेर उहाँहरु विरुद्ध कारबाही हुनुपर्छ’ भन्ने विचार प्रकट गर्यौँ । पार्टी भूमिगत भएको अवस्थामा पार्टीभित्रको मतभेदलाई त्यसरी बाहिर लैजानु र नामहरु समेत सार्वजनिक गर्नु गम्भीर प्रकारको गल्ती थियो भन्ने हाम्रो सोचाई थियो । तर लामाजीले राजीनामा दिने साथीहरुको पक्ष लिनुभयो । त्यसपछि सम्मेलनले ६ जना साथीहरु सहित लामाजी र श्याम श्रेष्ठ समेतलाई पार्टीबाट निष्काशित गर्ने निर्णय गर्‍यो । त्यसपछि उहाँहरुले बेग्लै भेला गरेर लामाजीको नेतृत्वमा नेकपा चौथो महाधिवेशनको गठन गर्नु भयो ।

यसरी हामी लामाजीसँग अलग हुनुपर्यो । वास्तवमा लामाजीसँगको त्यो फुट गलत थियो, त्यसलाई रोक्नुपर्थ्यो र रोक्नका लागि प्रयत्न गर्नुपर्दथ्यो । त्यसकालागि को कति जिम्मेवार छ त्यसबारे इतिहासलै नै मूल्यांकन गर्नेछ । त्यही सम्मेलनले नेकपा (मशाल) नाम राख्यो र हाम्रो पार्टीको नाम नेकपा (मसाल) रह्यो । त्यो सम्मेलनले चित्रबहादुर केसीको नेतृत्वमा केन्द्रीय संगठन समितिको गठन गर्‍यो । जसमा जयगोविन्द शाह, भक्तबहादुर, मोहन वैद्य, म समेत थियौँ । तर पछि उहाँहरु मध्ये चित्रबहादुर केसीलाई छाडेर अन्य साथीहरुसित हामीहरु अलग हुँदै जानु पर्‍यो।

मोहन वैद्य र तपाईंहरुको बीचमा फुट हुनाको कारण चाहिँ के थियो ?

पाँचौ महाधिवेशनले मोहन बैद्यलाई महामन्त्रीको रुपमा चुनेको थियो । पछि उहाँहरुसित पनि फुट भयो र पार्टी ‘मोटो’ र ‘पातलो’ मशाल/मसालमा विभाजित भयो ।

गोरखपुर सम्मेलन र पाँचौ महाधिवेशनका बिचको अवधिमा ‘रीम’ (रिभूलुसनरी इनटरनेसनली मुभमेन्ट) को गठन भएको थियो । त्यसको यूरोपमा भएको स्थापना सम्मेलनमा पार्टीका तर्फबाट मैले प्रतिनिधित्व गरेको थिए । त्यो स्थापना सम्मेलनमा आर.सी.पी, यू.स.ए सित हाम्रो पार्टीको गम्भीर मतभेद भएको थियो । खास गरेर उनीहरुले नव–ट्राटस्किवादी नीति अपनाएकाले त्यसका विरुद्ध हामीले कडा संघर्ष गर्नु परेको थियो । रीम र माओवादीहरुको कथित ‘जनयूद्ध’ पुस्तकमा त्यसबारे विस्तृत विवरण दिइएको छ ।

पाँचौं महाधिवेशनमा एउटा मतभेद देखा पर्यो । महाधिवेशनमा राजनीतिक प्रतिवेदन चित्र बहादुर केसीले प्रस्तुत गर्नु भएको थियो भने अरु धरै दस्तावेजहरु मैले प्रस्तुत गरेको थिएँ । मैले तयार पारेको दस्तावेजमा पार्टीमा देखा परेको ‘मध्यपन्थी’ प्रवृतिको आलोचना गरिएको थियो । त्यस सम्बन्धी विस्तृत व्याख्या ‘मध्यपन्धी अवसरवादको सिंहावलोकन’ पुस्तकमा दिईएको छ । त्यो आलोचनाको पक्षमा केन्द्रीय समितिमा पहिले बहुमत थियो, भक्त बहादुर बैठकमा उपस्थित भएपछि पक्ष र विपक्षमा बराबर मत भयो । त्योबेलासम्म रामसिंह श्रीस हाम्रो पक्षमा नै हुनुहुन्थ्यो । पछि उहाँको त्यो मत परिवर्तन नै महाधिवेशनका लागि निर्णयात्मक कारण बन्यो । हामी अल्पमतमा पर्यौं ।

महाधिवेशन सम्पन्न भयो, तर बहुमत पक्षले मलाई चरित्र सम्बन्धी गलत आरोप लगाएर निष्काशित गर्‍यो । त्यो जलजला सम्बन्धी आरोप सत्य थियो तर त्यसका लागि पाँचौ महाधिवेशनमा म माथि लगाइएको आरोप झुठ्ठा र षड्यन्त्रमुलक थियो । त्यसपछि म हलबाट बाहिर निस्किएँ । त्यो कारबाहीका कारणले म केन्द्रीय समितिमा निर्वाचित हुने बाटो पनि बन्द भयो ।

महाधिवेशनमा रीमका प्रतिनिधिहरु पनि आएका थिए । रिमसँग हाम्रो पहिलेदेखि नै मतभेद भएको कुरा माथि नै उल्लेख भएको छ । पाँचौ महाधिवेशनमा मैले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोल सम्बन्धी प्रस्ताव राखेको थिएँ र त्यो सर्वसम्मतिले पारित पनि भएको थियो ।

रीम सितको मतभेदमा एउटा प्रश्न श्रीलंकाको तामिल आन्दोलन सम्बन्धी पनि थियो । तामिलहरुले स्वतन्त्र राष्ट्र हुनुपर्छ भनेर श्रीलंकामा सशस्त्र संघर्ष गरिरहेका थिए । हाम्रो मत श्रीलंका जस्तो सानो मुलुकमा बेग्लै स्वतन्त्र राज्यको लागि संघर्ष गर्नु सही छैन र त्यहाँ स्थानीय स्वायत्त शासनको माग सही छ भन्ने थियो । तर रीमले तामिलहरुको स्वतन्त्र राज्यको मागलाई समर्थन गरेको थियो । तर हाम्रो महाधिवेशनले तामिलहरुको स्वतन्त्र राज्यको मागलाई समर्थन नगर्ने निर्णय गरेको थियो ।

महाधिवेशनले वैद्यलाई महामन्त्रीमा चुन्यो र प्रचण्ड प्रथम पल्ट केन्द्रीय समितिमा चुनिएका थिए । महाधिवेशन लगत्तै पछि जारी गरिएको वक्तव्यमा तालिमहरुको स्वतन्त्र राज्यको मागलाई समर्थन गरियो । त्यो वक्तव्य पाँचौ महाधिवेशनको निर्णयका विपरित थियो । पाँचौ महाधिवेशनमा सहभागी भएका रीमका प्रतिधिहरुको असरमा परेर नै महाधिवेशनको निर्णयका विरुद्ध त्यस प्रकारको वक्तव्य जारि गरिएको थियो । त्यो गम्भीर प्रकारको अनुशासन विहीनता थियो । राजनीति प्रस्ताव सहित अन्य दस्तावेज प्रकाशित गर्दा पनि महाधिवेशनका निर्णयहरुमा धेरै तोडमोड गरिएको थियो । केन्द्रीय समितिका तीन जना सदस्यहरु चित्रबहादुर केसी, भैरव रेग्मी र गोविन्द सिंह थापाले महाधिवेशका निर्णयहरुमा गरिएको त्यस प्रकारका तोडमोडको विरोध गरेर एउटा पत्र केन्द्रीय कार्यालयमा बुझाउनु भयो । बिहान उहाँहरुले त्यो पत्र बुझाउनु भयो, साँझ उहाँहरु तीनै जनालाई निष्कासित गरियो ।

त्यो बेलाको केन्द्रीय नेतृत्वले महाधिवेशनका निर्णयलाई तोडमोड मात्रै गरेन, त्यस्तो गर्नु गलत भयो भनेर पार्टीलाई सुझाव दिँदा उहाँहरु माथि नै कारबाही गरियो । त्यसपछि हामीले विद्रोह गरेर बेग्लै पार्टीको गठन गर्‍यौं ।

त्यसपछि हाम्रा बेग्ला बेग्लै संगठनहरुलाई ‘मसाल’ र ‘मशाल’ भन्न थालियो । पछि पाँचौ महाधिवेशनको केन्द्रीय समितिले लामाजीको नेतृत्वको ‘चौथो महाधिवेशन’ समेत सित पार्टी एकता गरी एकता–केन्द्रको गठन गरेपछि पातलो र मोटोको भेद हरायो र एउटै नेकपा (मसाल) मात्र बाँकी रह्यो ।

रीमबाट अलग कसरी हुनुभयो ?

पहिले रीममा नेपालबाट हाम्रो पार्टी मात्र सदस्य थियो । एकताकेन्द्र बनेपछि त्यो पनि रिमको सदस्य बन्यो । रीमको नव ट्राटस्कीवादी सिद्धान्तसित त्यसको स्थापनाकालदेखि नै हाम्रो संघर्ष चल्दै आएको थियो । एकताकेन्द्र रीममा सामेल भएपछि उनीहरुले रीमका नीतिहरुलाई पुरै समर्थन गरे, तर हाम्रो उनीहरु (रीम) सितको संघर्ष झन् बढ्दै गयो । खास गरेर उनीहरुले रीमको स्थापना सम्मेलनमा पारित गरेको माओविचारधाराका ठाउँमा माओवाद अपनाउने निर्णय गरेपछि उनीहरुसितको हाम्रो संघर्ष तीब्र बनेर गयो । स्टालिनको प्रश्नमा त त्यस्को स्थापना कालदेखि नै उनीहरुसित हाम्रो तीब्र मतभेद थियो । त्यही प्रकारको पृष्ठभूमि रीमको प्रतिनिधी काठमाडौंमा एकताकेन्द्र र हामी दुवैलाई भेट्न आए । उनीहरुको जोड नेपालमा सशस्त्र संघर्ष सुरु गर्नुपर्छ भन्नेमा थियो । हामीले नेपालको परिस्थितिसित मेल नखाने भएर त्यो प्रस्तावलाई मान्न अस्वीकार ग-यौँ । यो सबैलाई थाहा भएको कुरा हो कि एकताकेन्द्र (जो पछि नाम बदलेर माओवादी केन्द्र बनेको थियो) ले रीमको प्रस्तावलाई स्वीकार गर्‍यो र नेपालमा सशस्त्र संघर्ष सञ्चालन गर्‍यो ।

त्यसपछि उनीहरुले हामीलाई एउटा चिठ्ठी लेखे । त्यो चिठठ्ीमा यो अल्टिमेटम दिइएको थियोः या त माओवादलाई समर्थन गर्नुहोस् या रीमबाट स्वेच्छिक राजीनामा दिनुहोस् । त्यसबारे विचार गर्न हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्यो र ती दुवै सर्तहरुलाई अस्वीकार गर्ने तथा रीम भित्र बसेर नै अन्तरसंघर्ष चलाउने निर्णय गर्‍यो । त्यसपछि रीमले हामीलाई त्यसबाट निष्कासित गर्‍यो ।

रीमको प्रस्ताव स्वीकार गरेर सशस्त्र संघर्ष संचालन गरेको माओवादीको पनि पछि रीमसित सम्बन्ध टुट्यो र उनीहरु सशस्त्र संघर्षबाट शान्तीपूर्ण आन्दोलनको पक्षमा आए । रीमको प्रस्तावलाई अस्वीकार गर्ने हाम्रो निर्णय वा माओवादीहरुको त्यसलाई स्वीकार गर्ने यी बेग्लाबेग्लै निर्णयहरु मध्ये कुन सही वा गलत थियो ब्यवहारले त्यो कुराको फैसला गरिसकेको छ । र आउने दिनहरुमा त्यसको मुल्यांकन पनि गर्ने छ । (रीमका प्रतिनिधीसँग भएको कुराकानीको विवरण हामीले ‘रीम र माओवादीको कथित जनयूद्ध’ पुस्तकमा दिएका छौ) ।

बाबुराम भट्टराईको समूह पार्टीबाट बाहिरिनुको कारण चाहिँ के थियो नि ?

२०४८ सालको चुनावलाई लिएर चित्रबहादुर केसी र हाम्रो बीचमा मतभेद भयो । केसीले चुनावको उपयोग गर्नुपर्छ भन्नुभयो, हामीले बहिस्कार गर्नुपर्छ भन्यौं । केन्द्रीय कमिटीमा उपयोगको पक्षमा बहुमत भयो तर राष्ट्रिय सम्मेलनले बहिष्कार गर्ने निर्णय ग¥यो । बाबुराम भट्टराईहरु पनि चुनाब बहिस्कार गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । पछि उहाँहरुको पक्षका साथीहरुले उहाँहरुका तर्फबाट दुईजना केन्द्रीय कमिटीमा हुनुपर्छ भनेर माग गर्नुभयो । निर्वाचित कमिटीमा निर्धारित संख्या भन्दा बढी सदस्यहरु थप्न सही हुदैनथ्यो । त्यो बाहेक त्यसरी सम्झौता गरेर केन्द्रीय समितिमा कुनै सदस्यहरु थप्ने कार्य हाम्रो पार्टीले अभ्यास गर्दै आएको पद्दतीका विरुद्ध थियो । त्यसकारण हामीले उहाँहरुको प्रस्तावलाई स्वीकार गर्न सकेनौँ । त्यसपछि उहाँहरुले पार्टीबाट अलग भएर बेग्लै समानान्तर समिति गठन गर्नुभयो र पछि एकता केन्द्रमा सामेल हुन जानुभयो । पछि भट्टराईको नेतृत्वमा नै संयुक्त जनमोर्चा नेपाल बन्यो र त्यसले चुनावमा पनि भाग लियो ।

दिनानाथ शर्मा र मेघराज ज्ञवाली पार्टीबाट कसरी अलग हुनुभयो ?

उहाँले हतियार र सेना नभएको पार्टी कम्युनिष्ट पार्टी हुन सक्दैन भनेर आफ्नो मत राख्नुभएको थियो । अन्य विषयहरुमा पनि उहाँले लगातार आफ्ना मतभेदहरु प्रकट गर्दै आउनु भएको थियो । तर पार्टीका सबै सम्मेलन वा बैठकहरुमा उहाँको मत पराजित हुने गरेको थियो । पछि उहाँ आफै हाम्रो पार्टीबाट अलग हुनु भयो र बेग्लै समूहको गठन गर्नु भयो । त्यो समूह पछि माओवादीमा मिल्न गयो । उहाँको सम्पूर्ण कार्यविधि माथि विचार गर्दा उहाँको मुख्य उद्देश्य हाम्रो पार्टीलाई माओवादीमा मिसाउने नै थियो भन्ने कुरा पछि हामीलाई थाहा भयो ।

त्यही समयमा मेघराज ज्ञवाली पनि हाम्रो पार्टीको केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो । पार्टीमा उहाँले लगातार मतभेद देखाउने वा अन्तरसंघर्ष गर्दै आउनु भएको थियो । पछि उहाँले हाम्रो पार्टीका नीतिहरुको आलोचना गरेर लामो वक्क्तव्य निकाल्नु भयो र बेग्लै समूहको गठन गर्नु भयो । केही समय पछि उहाँ माओवादीमा मिल्न जानु भयो । अहिले उहाँ कहाँ हुनुहुन्छ ? हामीलाई थाहा छैन ।

माथि उल्लेखित उदाहरणहरुबाट हाम्रो पार्टीबाट अलग हुने साथीहरुले हाम्रो पार्टीलाई दक्षिणपन्थी घोषित गरेर बेग्लै समूहको गठन गर्ने र पछि माओवादीमा मिल्ने गरेका छन् । तर पछि उनीहरुले स्वयम् दक्षिणपन्थी दिशा समेट्ने गरेका छन् । पछि पनि त्यही प्रकारको क्रम अगाडि बढ्दै गयो, जसको प्रसंग अनुसार हामीले पछि चर्चा गर्ने छौँ ।

तत्कालिन (एकता–केन्द्र) सँग भएको पार्टी एकता पनि लामो समय टिक्न सकेन । त्यसको कारण के थियो ?

हाम्रो पार्टीको छैटौं महाधिवेशनले तत्कालीन (एकता–केन्द्र)लाई माक्र्सवादी–लेलिनवादी संगठनको रुपमा ब्याख्या गरेर त्यो सित पार्टी एकता गर्ने निर्णय गर्यो । एकताकेन्द्र माओवादीसँग अलग भइसकेको थियो, र खासगरी लामाजी र हाम्रा बीचमा पार्टी एकताको लागि कुरा चलेको थियो । तर उहाँको असामायिक निधन भएको हुनाले हाम्रो मुख्य वार्ता नारायण काजी श्रेष्ठ (प्रकाश) सित नै चल्यो र करिब ४ वर्षको वार्ता पछि त्यो समूहसँग हाम्रो एकता भयो । त्यो छलफलमा सैद्धान्तिक, राजनीतिक, संगठनात्मक प्रश्नहरुमा पनि कैयाँै मतभेदहरु देखा परे । तर ती मतभेदहरुबारे सार्वजनिक रुपले बहस चलाउदै एकता महाधिवेशनमा ती मतभेदहरुको टुंगो लगाउने समझदारी बन्यो । पार्टी एकता भएपछि म महामन्त्री भएँ र प्रकाश सहमहामन्त्री हुनुभयो ।

त्यो बेला पार्टी एकता भएपछि पार्टीमा गम्भीर प्रकारको अनुशासन विहीनता देखापर्न थाल्यो । पार्टीका निर्णयहरु सार्वजनिक हुन थाले । पीवी वा केन्द्रीय कमिटीका निर्णयहरुबारे पार्टीभित्र सर्कुलर जानुभन्दा पहिले ती निर्णयहरुको विवरण पत्रपत्रिकामा प्रकाशित हुन थाले । पार्टी एकता पछि करिब ४ वर्षसम्म त्यस प्रकारको स्थिति रह्यो ।

पछि हामीलाई के थाहा भयो भने प्रकाशले माओवादीसँग गोप्य सम्बन्ध राखेर काम गर्नुभएको थियो र हाम्रो पार्टीलाई पूरैनै माओवादीमा सामेल गराउनका लागि हामीसित पार्टी एकता गर्नुभएको थियो । उहाँ हाम्रो पार्टीको सहमहामन्त्री हुनुहुन्थ्यो तर हामीलाई थाहा नदिईकन उहाँ माओवादी नेतृत्वसँग सम्पर्क गर्न रोल्पा जाने गर्नु हुन्थ्यो । सिलिगुडिको बैठकमा पनि, जहाँ बाह्र बुँदे सहमतिको तयारी भएको थियो, हामीलाई थाहा नदिईकन भाग लिन जानु भएको थियो । त्यसरी उहाँले हामीसित पार्टी एकता गरेपनि उहाँको मुख्य उद्देश्य हाम्रो पार्टीलाई माओवादीमा नै मिलाउने थियो भन्ने कुरा स्वयम् माओवादी संगठन भित्रकै साथीहरुको सुचनाबाट हामीहरुलाई थाहा हुँदै गयो ।

२०६२/०६३ सालको जनआन्दोलनमा त्यो बेलाको हाम्रो पार्टीको वैधानिक मोर्चा जनमोर्चा नेपाल सामेल भएको थियो । तर त्यसमा पार्टीलाई सामेल हुन नदिन उहाँले पुरा शक्ति लगाउनु भयो । ६२÷६३ को आन्दोलनपछि उहाँहरुको जोड सरकारमा सामेल हुने तर्फ रह्यो । र जनमोर्चा नेपालबाट नै त्यसका पक्षमा निर्णय गराउनु भयो । खास गरेर हाम्रो पार्टी वा जनमोर्चामा पूर्व मसालका बराबर सदस्यहरु थिए । हाम्रो पूर्व पार्टीको तर्फबाट केन्द्रीय कमिटीमा सामेल भएका रामसिंह श्रीसको नेतृत्वमा केही साथीहरुले सरकारमा जाने प्रस्तावको पक्षमा मत दिए । त्यसले गर्दा त्यो निर्णय गर्दा हामीहरु अल्पमतमा पर्यौँ तर त्यो निर्णय जनमोर्चा नेपालले नै गरेको थियो र पार्टीका तर्फबाट निर्णय भएको थिएन । यो कुरामा हाम्रो विरोध रह्यो कि पार्टीले निर्णय नगर्दै बैधानिक मोर्चाले त्यस प्रकारको निर्णय गर्नु सही थिएन । त्यसप्रकारको पृष्ठभूमीमा हामीले एकता केन्द्रसँग सम्बन्ध तोड्यौ र २०६३ सालमा सातौं महाधिवेशन गरेर नेकपा (मसाल) को पुनस्थापना गर्यौँ । हाम्रो पार्टीलाई पुरै माओवादीमा लैजाने प्रकाशहरुको प्रयत्न त हुन सकेन, तर रामसिंहको नेतृत्वको एउटा समूहलाई हाम्रो पार्टीबाट फुटाएर लैजान उनीहरु सफल भए । हाम्रो समूहबाट फुटेर गएको त्यो समूह पछि कैयौँ टुक्रामा विभाजन भयो र उनीहरु मध्ये कतिपय साथीहरु पुनः नेकपा (मसाल) मा फर्केर आए ।

सातौं महाधिवेशनपछि पनि डिलाराम आचार्य र गिरीधारी लाल न्यौपाने लगायतको समूह पार्टीबाट अलग भएर माओवादीमा मिसिन पुग्यो त्यसको कारण के हो?

कारण सिधा र स्पष्ट छ ।उहाँहरु हाम्रो पार्टीबाट अलग भएर माओवादीमा सामेल हुनका लागि विभिन्न ठाउँमा गुटबन्दी गर्न थाल्नुभएको भन्नेबारे हामीलाई एक दुई ठाउँबाट रिपोर्ट आयो । पछि त्यसबारे छलफल गर्नको लागि पार्टीको एउटा भेला भयो । त्यो भेलामा इण्डियाका धेरै साथीहरुले डिलारामहरुले भित्रभित्रै गुटबन्दी गरेको रिपोर्ट गर्नु भयो । त्यो भेलाले नै डिलाराम र गिरीधारीलाई पार्टीबाट निष्काशन गर्यो । त्यसपछि, जस्तो कि पहिले पनि हुँदै आएको थियो, उहाँहरुले हाम्रो पार्टीलाई दक्षिणपन्थी घोषणा गरेर एउटा बेग्लै समूह बनाउनु भयो र केही दिन पछि त्यो माओवादीमा मिल्न गयो ।

आठौं महाधिवेशनमा पनि मतभेद देखियो, समानान्तर दुईवटा प्रस्ताव पनि पेश भयो । तर महाधिवेशनले मतभेदको टुंगो लगाउन नसकेको गुनासो सुनिन्छ नि ?

यो कुरा सत्य हो कि आठौं महाधिवेशनमा पनि कतिपय मतभेदहरु देखा परेका थिए । केन्द्रीय समितिको बहुमतको प्रस्तावहरुको विरुद्ध बेग्लै प्रस्तावहरु पनि प्रस्तुत भए । तीनिहरु उपर विभिन्न तहमा छलफलहरु भयो, फोरमहरु चले । जनवादी तरिकाले आठौं महाधिवेशनमा ती मतभेदहरुबारे छलफल भयो र महाधिवेशनले आफ्नो निर्णयहरु दिएको छ । सर्वसम्मतिले नयाँ केन्द्रीय समितिको निर्वाचन भयो । महाधिवेशन पार्टीको अर्वाेच्च अंग हो र आफ्ना मतभेदहरु भएपनि त्यसले गरेका निर्णयहरुलाई स्वीकार गरेर जानु पर्दछ ।

महाधिवेशन पछि पहिलेको बहुमत र अल्पमत बाँकी रहदैन । विभिन्न मतभेदहरु हुन सक्छन् । ती मतभेदलाई विधान सम्मत तरिकाले चलाउँदै महाधिवेशनका निर्णयहरुलाई मानेर जानु पर्दछ । दुईवटा महाधिवेशनको बिचमा केन्द्रीय समिति सर्वाेच्च अंग हो । र त्यसको बहुमतलाई सबैले मानेर जानु पर्दछ । त्यही जनवादी केन्द्रियताको सिद्धान्त हो ।

तर त्यो प्रश्नमा २ वटा कमीहरु देखा परे । प्रथम, महाधिवेशन बेलाको मतभेदलाई निरन्तरता दिने । द्धितीय, मतभेदहरुलाई एक वा अर्काे प्रकारले सार्वजनिक पनि गर्ने । हामीले त्यस प्रकारका अनुशासन विहीन कार्यहरुलाई रोक्ने प्रयत्न गर्यौँ । तर अनुशासन विहीनताले खुला रुप लिन थालेपछि कतिपय पार्टी सदस्यहरुलाई अनिश्चित कालका लागि पार्टीबाट निष्कासित गर्नु पनि पर्यो तर त्यस प्रकारका केही उदाहरणहरु बाहेक आठौँ महाधिवेशनपछि पार्टीमा मूल रुपमा अनुशासन र एकता कायम छ ।

पार्टीमा अल्पमत बहुमत हुनु स्वभाविक हो । पार्टीले साथीहरुलाई कारबाही गर्नु, पुनर्बहाली गर्नू त्यो पनि निरन्तर चलिरहने प्रक्रिया हो । महाधिवेशनमा भएका अल्पमत र बहुमत सधैँ त्यही अवस्थामा रहन्छ भन्ने हुँदैन । एकपटक बहुमत पक्ष तिर भएको साथी अल्पमत तिर लाग्न सक्छ । विचार परिवर्तन हुनसक्छ तर मूल कुरा पार्टीको अनुशासन हो । पार्टीको निर्णय मानेर अनुशासित भएर काम गर्नुपर्दछ । यदि त्यसो भएन भने हाम्रो पार्टीको विधानले नै अनुशासन विहीनताका लागि कारबाही गर्ने व्यवस्था गरेको छ । आठौं महाधिवेशन पछि पनि कतिपय व्यक्तिहरुले अनुशासन उल्लंघन गरेका कारण हामीले कारबाही गर्नुपरेको छ तर फरक मत राखेको कारणले कसैलाई पनि कारवाही गरिएको छैन ।

कम्युनिष्ट पार्टीको अनुशासन जनवादी केन्द्रीयताको सिद्धान्तमाथि आधारित हुन्छ । पार्टीको संगठनको त्यो प्रणाली टुट्यो भने एउटा कम्युनिष्ट पार्टी नेपाली कांग्रेस जस्तो बन्दछ । जुन कुरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदाहरण बाट प्रष्ट हुनेछ । अहिले विश्व स्तरमा र नेपालमा पनि जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित संगठनात्मक प्रणालीलाई बुर्जुवा पार्टीको जस्तो बनाउने प्रवृति निकै बढेर गएको छ र त्यसको असर हाम्रो पार्टीमा पनि परेको छ । कम्युनिष्ट पार्टीको त्यस प्रकारको पतन हुन नदिनका लागि हामीले सैद्धान्तिक र राजनीतिक क्षेत्रका साथै संगठनात्मक क्षेत्रमा पनि कडा संघर्ष गर्न परिरहेको छ ।

जसलाई हामीले विभिन्न गम्भीर प्रकारका अनुशासन विहीन कार्यको लागि पार्टीबाट निष्कासित गर्यौँ, उनीहरुले पार्टीका विरुद्ध भ्रम फैलाउने वा पार्टीलाई फुटाउने प्रयत्नहरु पनि गरिरहेका छन् ।

हाँक प्रकरणमापार्टी निकै कठोर भएको देखियो नि ?

हाँक पत्रिका पार्टीको सम्पत्ति थियो । पहिला त्यो शोभाखर धनञ्जयको नाममा दर्ता थियो । पछि उहाँको निधन पछि श्रीमती शान्ताले पार्टीलाई हस्तान्तरण गर्नुभयो । पञ्चायत कालमा पार्टीमाथि प्रतिबन्ध भएको हुनाले त्यसलाई पार्टीको नाममा दर्ता गर्न नमिल्ने भएको हुनाले हामीले गोबिन्दसिंह थापाको नाममा पत्रिका दर्ता गराएका थियौं । हामीले पछिल्लो समयमा कुनै पनि व्यक्तिका नाममा पार्टीका सम्पत्तिहरु नराख्ने र प्राली अन्तर्गत राख्ने भनेर निर्णय गरेका थियौं । त्यसमा गोबिन्दसिंह थापाको पनि सहमति थियो । पार्टीले गोबिन्द सिंहको अध्यक्षतामा ५ जनाको बोर्ड बनाएर संचालन गर्ने निर्णय गरेको थियो । तर पछि उहाँले त्यो पत्रिका माथिको आफ्नो व्यक्तिगत स्वामित्व छाड्न तयार हुनु भएर । उहाँले पार्टीको निर्णयका विरुद्ध पार्टीको सम्पत्ति माथि व्यक्तिगत स्वामित्व कायम गर्ने कार्य गरेपछि हामीले उहाँलाई अनिश्चितकालका लागि पार्टीबाट निष्कासन गरेका थियौँ । उहाँको त्यो गतिविधिमा मतियारको रुपमा सामेल हुनेहरुलाई पनि हामीले त्यही प्रकारको कारबाही गर्यौं ।

कम्युनिष्ट आन्दोलनमा एकता भन्दा धेरै विभाजन भएको देखिन्छ । पार्टी एकता गर्ने तपाईंहरुको पहल भएन कि, सम्भव नभएको हो?

बेला बेलामा विभिन्न पक्षहरुसँग पार्टी एकताका प्रयास नभएका होइनन् । ति कतिपय अवस्थामा सफल पनि भएका छन् र कतिपय अवस्थामा असफल भएका छन् । पार्टी एकता सम्भव नभएपनि मित्रशक्ति मानिएका शक्तिहरुसँग हामीले कार्यगत एकता गर्ने गरेका छौं ।

पूर्वमाओवादी वा पूर्वएमाले अथवा वैद्य, विप्लव, माले, मजदुर किसान पार्टी, संयुक्त आदि समूहहरुलाई हामीले देशभक्त, जनतान्त्रिक वामपन्थी संगठन शक्ति भनेर मानेका छौँ । उनीहरुसँग संघर्ष सँगसँगै एकता पनि हुने गरेको छ ।

हाम्रो वैद्य, विप्लवहरुसँग कैयौंपटक पार्टी एकताका कुराहरु पनि भए तर सफल हुन सकेन । अहिले हामीसँग सबैभन्दा नजिक भएको वैद्यजीको समूह नै हो । उहाँहरुसँग हाम्रा कतिपय कुराहरु मिल्छन् जस्तो कि नयाँ जनवादी क्रांतिको विषयमा हाम्रो कुरा मिल्छ । तर तात्कालिक राजनीतिको विषयमा कतिपय कुराहरु मिल्दैनन् । अहिलेको संघीयताको विषयमा उहाँहरु र हाम्रो बीचमा कुरा मिल्दैन । उहाँहरुले संघीयता स्वीकार गर्नुहुन्छ, हामीले त्यसलाई समर्थन गर्दैनौँ । उहाँहरुको जातीयताको दृष्टिकोणसित पनि हाम्रो मतभेद छ । अहिले देशमा कायम भएको गणतन्त्रको प्रश्नमा पनि हामीहरु र उहाँहरुका बिचमा मतभेद छ । उहाँहरुले ती दुबैलाई प्रतिक्रियावादी बताउनु हुन्छ र तीनिहरुलाई समाप्त गर्ने कुराहरुमा जोड दिनुहुन्छ र हामीले राजतन्त्र वा तानाशाही व्यवस्थाका तुलनामा तीनिहरुलाई प्रगतिशील मान्दछौ र प्रतिक्रियावादी हमलाबाट तीनिहरुको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

विप्लबजीहरुसँग पनि हाम्रा कतिपय कुराहरु मिल्छन् तर केही कुराहरु मिल्दैन । उहाँहरुले नयाँ जनवादी व्यवस्थाको तुलनामा समाजवादी व्यवस्था कायम गर्ने कुरामा जोड दिनुहुन्छ । त्यो सोचाईसित हाम्रो मतभेद छ । उहाँको कार्यशैली पनि एक प्रकारको आतंकवादी प्रकारको छ । त्यो एक प्रकारले पहिलेको माओवादीहरुको उग्र–वामपन्थी भड्कावको अवशेष हो । र त्यसलाई हामीले विरोध गर्दछौँ । ती दुवै पक्षहरुसित हाम्रो पार्टी एकताको कुरा भएर पनि ती मतभेदका कारणले उहाँहरु सित हाम्रो एकता हुन सकेन । तैपनि उहाँहरुसित कार्यगत एकता गर्ने हाम्रो नीति कायम छ । त्यसैले हामीले विरोध र संघर्षका बिचमा पनि एकता कायम गर्ने प्रयत्न गर्दछौँ । उहाँहरुसित कालापानी, लिपुलेक र लिम्पियाधुरा तथा एमसीसी आदि कैयौँ विषयहरुमा हामीले संयूक्त रुपले संघर्षहरु संचालन गर्ने गरेका छौँ ।

गत कालमा पनि हामीले विभिन्न राष्ट्रियता, प्रजातन्त्र वा जनजीविकासँग जोडिएका प्रश्नहरुमा बारम्बार अन्य पक्षहरुसित मिलेर संघर्ष गर्दै आएका छौँ । २०४६ साल भन्दा पहिले तत्कालिन मशाल (मोटो), माले, चौथो महाधिवेशन तथा शम्भुराम र रुपलाल विश्वकर्माहरु सित मिलेर पंचायती व्यवस्थाका विरुद्ध भूमिगत रुपले संयुक्त संघर्ष समिति गठन भएको थियो । पछि मालेले सोभियत संघको व्यवस्थालाई समाजवादी व्यवस्था भनेर समर्थन गर्यो । पहिले त्यसले सोभियत संघलाई सामाजिक साम्राज्यवादी देश भनेको थियो । हाम्रो जोड यो कुरामा थियो कि उक्त प्रश्नमा मालेसित हाम्रो मतभेद भएपनि पंञ्चायती तानाशाही व्यवस्था विरुद्धको हाम्रो संयुक्त संघर्ष समितिलाई टुट्न दिनु हुदैन । तर मुख्यतः मशाल (मोटो) समूह त्यसका लागि सहमत नभएपछि हाम्रो त्यो एकता टुट्यो ।

२०४६ सालको आन्दोलनमा हामीले नेका र वाम मोर्चासित सहकार्य गरेका थियौँ । २०४६ सालको आन्दोलनमा नेपाली काँग्रेससँग मिलेर जानुपर्छ भन्ने हाम्रो मत रह्यो । तर त्यसबारे नेकासित २०४६ सालको आन्दोललाई समर्थन गर्नेबारे हाम्रो पार्टीमा तीब्र मतभेद देखा परेको थियो । खास गरेर बाबुराम भट्टराई समेतका केही साथीहरुको नेपाली काँग्रेससँग मिलेर जान हुँदैन भन्ने मत थियो । कांग्रेसलाई भारतले समर्थन गरेका कारण आन्दोलनमा कांग्रेससँग हामी मिल्नु हुँदैन भन्ने उहाँहरूको मत रह्यो । हाम्रो पार्टीको प्लेनममा त्यसबारे धेरै बहस भयो । त्यो प्लेनम लखनऊमा भएको थियो । प्लेनमले २०४६ सालको निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाका विरुद्धको संघर्षलाई समर्थन गर्ने र त्यसमा सामेल हुने निर्णय गर्यो ।

त्यो बेला हाम्रो नीति वाम मोर्चामा पनि सामेल हुने थियो । तर बाममोर्चाकी अध्यक्ष साहाना प्रधानले हामीले पहिले पुष्पलाललाई गद्धार भनेको हुनाले हामीलाई त्यसमा मिलाउन तयार नभएपछि हामीहरु बाममोर्चामा सामेल हुन सकेनौं । त्यसपछि हामीले मशाल (मोटो), शम्भुराम, रुपलाल सहितका समूहहरुसित मिलेर संयुक्त राष्ट्रिय जनआन्दोलन गठन गरेर पञ्चायती व्यवस्थाका विरुद्ध संघर्ष गर्यौँ । त्यो संघर्षमा हामीले बाममोर्चा र नेपाली कांग्रेससित पनि सहकार्य गरेका थियौँ । २०४६ सालको आन्दोलन सफल भएपछि हामीले संविधान सभाको नारा दियौँ ।

हामीले संविधान सभाको नारा दिएपछि मशाल (मोटो) समेतले हामीसित सँगै जान नसकिने भनेकाले त्यो संयुक्त आन्दोलन टुट्यो । हाम्रो जोड संविधान सभाको निर्वाचनबारे मतभेद भएपनि त्यो संयुक्त आन्दोलनलाई एउटा मोर्चाको रुपमा निरन्तरता दिनुपर्छ भन्ने थियो ।

महाकाली सन्धीका बिरुद्ध हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि सहकार्य गरेका थियौँ । गिरिजाको तानाशाही शासनका विरुद्ध हाम्रो पार्टी सहित ९ बामको करिब दुई – ढाई वर्षसम्म संयुक्त आन्दोलन चलेको थियो । त्यसले कालापानी माथिको भारतीय कब्जाका बिरुद्ध पनि आवाज उठाएको थियो । करिब २ वर्षसम्म राष्ट्रियता र अन्य जनजीविकाहरुसित सम्बन्धित प्रश्नहरुमा १७ समूहहरुको संयुक्त आन्दोलन चलेको थियो । तर त्यो पनि लामो समय टिक्न सकेन । त्यसपछि त्यो संयुक्त जनआन्दोलन संघर्ष समिति पनि विघटन भयो ।

२०४६ सालको जनआन्दोलन पछि हाम्रा बीचमा पार्टी एकीकरण गर्ने प्रयत्न भयो । मशाल (मोटो), लामा, र रुपलालहरुका बिचमा पार्टी एकता गर्ने कुरा उठ्यो । तर त्यो एकता वार्ताको पहिलो बैठकमा नै हाम्रा बीचमा मतभेद भयो । हामीले पहिले सैद्धान्तिक राजनीतिक विषय टुंगो लगाएर जानुपर्छ भनेर भन्यौं । तर अन्य पक्षहरुको मत पहिले एकता गर्ने र पछि सैद्धान्तिक राजनीतिक विषयहरुमा छलफल गर्ने भन्ने रह्यो । त्यसपछि त्यो एकता वार्ताबाट हामी अलग भयौँ र अन्य पक्षहरुले मिलेर एकता केन्द्र बनाए । त्यही एकता केन्द्र पछि माओवादी संगठनमा बदलिएको थियो ।

समग्रमा कम्युनिष्ट पार्टीको अहिलेसम्म भएका फुटलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

त्यो मुल्यांकन गर्ने कार्य सजिलो छैन । यो अत्यन्त कठिन र जटिल विषय हो । त्यो सित गम्भीर प्रकारका सैद्धान्तिक, संगठनात्मक र व्यवहारिक समस्यहरु जोडिएका छन् । अहिलेसम्म पार्टीमा भएको फुटहरुले कैयौँ महत्वपूर्ण साथीहरुबाट हामी अलग हुनु परेको छ । ती सबै साथीहरु आज पार्टीमा सँगै भएको भए पार्टी आजको भन्दा कैयौँ गुणा बढी शक्तिशाली हुन्थ्यो । यो दुःखको कुरा हो कि ती साथीहरु जानुका साथै पार्टीको शक्तिलाई क्षीण बनाएको छ । त्यसले पार्टी र क्रान्तिकारी आन्दोलनलाई धेरै कमजोर बनाएको छ । त्यसका लागि व्यक्तिगत रुपमा म वा अन्य कुनै साथीहरु जिम्मेवार छन्, समाजको चरित्र जिम्मेवार छ, त्यो परिस्थितिजन्य बाध्यता हो या हाम्रो बस भन्दा बाहिरको कारणले त्यस्तो भएको हो । ती सबै कुराको विश्लेषण गर्नको लागि एउटा लामो लेख वा पुस्तकको नै आवश्यक पर्दछ । हाम्रो देशमा मात्र होइन संसारको कम्युनिष्ट आन्दोलनमा नै त्यस प्रकारका फुटहरु धेरै भएका छन् । फुटसित सम्बन्धित सैद्धान्तिक वा राजनीतिक कारणहरुबारे धेरै लेख वा दस्तावेजहरु लेखिएका छन्, एक अर्का प्रति आरोप लगाएर धेरै सामाग्रीहरु प्रकाशित भएका छन् । तर फुटहरु किन भए, के तीनिहरुलाई रोक्न सकिन्थ्यो ? रोक्न नसकिएकोमा को जिम्मेवार छ ? त्यसबारे विश्लेषण गरेर कुनै लेख वा पुस्तक लेखेको मलाई थाहा छैन ।

नेपालको कम्युनिष्ट आन्दोलनमा भएका फुटहरुको लामो सुची छ । डा. केशरजंग रायमाझी देखि लिएर पुष्पलाल, मोहनचन्द्र अधिकारी, मनमोहन अधिकारी, भरतमोहन अधिकारी, तुल्सीलाल, शम्भुराम, निर्मल लामा, जय गोविन्द शाह, दिनानाथ, मोहन वैद्य, प्रचण्ड, बाबुराम भट्टराई, मेघराज ज्ञवाली, रामसिंह, डिलाराम, गिरिधारीलाल न्यौपाने, गोविन्द सिंह थापा आदि सहित धेरै साथीहरुसित हाम्रो सम्बन्ध टुटेको छ । यो संख्या त्यतिमा मात्र सिमित छैन । रायमाझी, पुष्पलाल, मोहनचन्द्र अधिकारी, निर्मल लामा, मोहन वैद्य, बाबुराम भट्टराई आदिसित जोडिएर हजारौँ साथीहरु हामीहरुबाट अलग भएका छन् । २०१७ सालमा पञ्चायती व्यवस्था कायम भएपछि वा त्यस भन्दा पहिले वा पछि पनि नेका, राप्रपा, एमाले, माओवादी आदिमा हाम्रा हजारौँ साथीहरु सामेल भए । अहिलेको नेकपाका दुवै धारहरु पूर्व एमाले र पूर्व माओवादी पनि हामीहरुबाट नै अलग भएर गएको शक्ति हो, यद्यपी हामीहरुबाट अलग भएपछि उनीहरुमा नयाँ नेता र कार्यकर्ताहरुको विकास हुँदै गयो । यो भन्नु सायद अतिसयोक्ति हुने छैन कि त्यो लामो श्रृंखलासँग म पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले जोडिएको छु, धेरै जसोमा प्रत्यक्ष रुपले ।

आखिर त्यस्तो किन भयो ?

माक्र्सवादी दर्शनले, द्वन्द्वात्मक भौतिकवादी दर्शनले यो कुरामा जोड दिन्छ कि प्रथम, कुनै कार्य वा घटना एउटा होइन सयकडौं कारणहरुको सम्मिलित परिणाम हुन्छ । द्वित्तीय, कुनैपनि एउटा घटना वा विषयलाई ठिकसित बुझ्न त्यसलाई एक्लै लिएर होइन, त्योसित जोडिएको समग्र परिस्थितिको मूल्यांकन गरेर नै कुनै निष्कर्षमा पुग्ने प्रयत्न गर्नुपर्छ । तर त्यसपछि पनि सत्य सधैँ अपूर्ण हुन्छ र सत्यलाई जान्नका लागि पुनः नयाँ नयाँ प्रकारले अध्ययन गरिरहनु पर्ने आवश्यक हुन्छ । सत्य अपूर्ण हुने मात्र होइन, नयाँ तथ्यको जानकारी, चेतनामा हुने परिवर्तन र विकास अनुसार सत्यको रुपमा पनि परिवर्तन भई रहन्छ । त्यसैले माक्र्सवादी दर्शनले सत्य निरपेक्ष हुँदैन र सापेक्ष हुन्छ भनेर मान्दछ । त्यै कुरा नेपालको कम्युनिष्ट आन्दोलनमा भएको फुटबारे पनि सत्य हो । अहिले यहाँ नेपालको कम्युनिष्ट आन्दोलनको सन्दर्भमा प्रकट गरिने विचारहरुलाई पनि त्यही सापेक्ष अर्थमा नै बुझ्नु पर्दछ र त्यसमा लगातार विवाद वा छलफल भैरहने कुरा निश्चित छ ।

फुटको समस्या नेपालको कम्युनिष्ट आन्दोलनको मात्र समस्या होइन, विश्वको कम्युनिष्ट आन्दोलनमा पनि त्यो एउटा गम्भीर समस्या हो । कम्युनिष्ट आन्दोलन मात्र होइन, विभिन्न देशहरुका प्रजातान्त्रिक, क्रान्तिकारी सामाजिक आन्दोलनहरुमा पनि कैयौँ प्रकारका मतभेद, अन्तरविरोध वा फुटहरु देखा पर्ने गरेका छन् । त्यो कुरा राजनीतिक क्षेत्रमा मात्र होइन, दर्शन, धर्म, साहित्य, पत्रकारिता, परिवार वा यहाँ सम्मकि व्यक्तिगत र पारिवारिक जीवनमा पनि देखा पर्ने गर्दछ । विभिन्न दर्शनहरुका बिचमा लगातार द्वन्द्व चलिरहेको हुन्छ र एउटै दर्शनभित्र पुनः नयाँ प्रकारले द्वन्द्व र विभाजनको प्रक्रिया चल्ने गर्दछ । धर्मको क्षेत्रमा कति धेरै विभाजन र द्वन्द्व हुने गर्दछ ? त्यो आम रुपमा थाहा भएको कुरा हो । हिन्दु, बौद्ध, इसाई, मुस्लिम आदि सबै धर्महरुमा द्वन्द्व र विभाजन भएर कैयौँ सम्प्रदायमा बाँडिएको कुरा कुनै लुकेको कुरा होइन । कतिपय लेखकले योसम्म विचार प्रकट गरेका छन्, धर्मको नाममा संसारमा जति युद्ध र रक्तपात भएको छ, त्यति अन्य कुनै विषयमा भएको छैन । त्यस प्रकारको प्राकृतिक, ऐतिहासिक र अन्तर्राष्ट्रिय पृष्ठभूमिमा नै कम्युनिष्ट आन्दोलन भित्रको अन्तरविरोध र फुटलाई पनि बुझ्ने प्रयत्न गर्नुपर्दछ ।

विश्व कम्युनिष्ट आन्दोलनको इतिहास अन्तरविरोध र फुटहरुले भरिएको छ । माक्र्स, एंगेल्स वा प्रथम अन्तर्राष्ट्रियको सयममा नै एक दर्जन भन्दा बढी ग्रुपहरु थिए । द्वित्तीय विश्वयुद्धको समयमा विभिन्न सामाजिक प्रजातान्त्रिक पार्टीहरुका विचमा फुट नभएको भए त्यो बेला नै विश्व समाजवादी क्रान्ति हुने सम्भावना थियो । त्यो फुटको कारणले विश्वको समाजवादी आन्दोलन एकातिर कम्युनिष्ट आन्दोनल र अर्काे तिर सामाजिक प्रजातन्त्रवादी आन्दोलका रुपमा विभाजित भयो । रुसको पार्टीमा बोल्सेविक र मेन्सेविकमा भएको फुट सबैलाई थाहा भएको कुरा हो । त्यहाँ समाजवादी क्रान्ति पछि पनि कैयौं मतभेदहरु देखा पर्दै गए र कैयौँ शीर्षस्त नेताहरु, जस्तै की ट्राटस्की, बुखारी, आदि, कम्युनिष्ट पार्टीबाट अलग हुँदै गए । सोभियत संघको कम्युनिष्ट पार्टीको विश्व पार्टी कांग्रेस पछि ख्रुस्चेबले लिएको नीतिका कारणले विश्व कम्युनिष्ट आन्दोलन विभाजित भयो

त्यो विभाजन नभएको भए आज विश्व कम्युनिष्ट आन्दोलन धेरै शक्तिशाली हुन्थ्यो । ख्रुस्चेबले अपनाएको नीतिका कारणले अन्तमा सोभियत संघमा समाजवादी व्यवस्थाको अन्त्य भयो र विश्व समाजवादी व्यवस्थाको नै पतन भयो । चीनमा एघार एघार पल्ट पार्टीमा फुट भएको थियो । भारतको कम्युनिष्ट पार्टी सी.पी.आई. सी.पी.एम र नक्सलाईटमा विभाजित भयो । तीनिहरुबाट पनि दर्जनौं ग्रुपहरु बन्दै गए । युरोप, अफ्रिका, दक्षिण पूर्वी एसिया, अमेरिका र ल्याटिन अमेरिकाका पनि त्यस प्रकारका थुप्रै उदाहरणहरु छन् । एउटै पार्टीबाट फुटेर बनेका विभिन्न गु्रपहरु बाहेक विभिन्न पार्टीहरुबाट व्यक्तिगत रुपमा विभिन्न पार्टीका सदस्यहरु पनि पार्टीबाट अलग हुने वा पलायन हुने गरेका विश्वको र नेपालको कम्युनिष्ट आन्दोलनमा पनि लाखौँ उदाहरणहरु पनि पाइन्छन् । त्यस प्रकारको पृष्ठभूमिमा नै हामीले नेपालको कम्युनिष्ट पार्टी भित्र भएका अन्तरविरोध वा फुटहरुलाई बुझ्नु पर्दछ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा भएका महत्वपूर्ण फुटहरुलाई कसरी सम्झनुहुन्छ ?

नेपालको कम्युनिष्ट पार्टीमा भएका मुख्य रुपले ६ वटा फुटहरु उल्लेखनीय छन्ः १. डा. रायमाझीसँग भएको फुट, २. मोहनचन्द्र अधिकारीको नेतृत्वमा कोअर्डिनेसन ग्रुपसँग भएको फुट वा माले पक्षसित भएको फुट, ३. तुल्सीलाल पक्षसँग भएको फुट, ४. पुष्पलालको पक्षसँग भएको फुट, ५. निर्मल लामाको नेतृत्वमा ‘चौथो महाधिवेशन’ पक्षसँग भएको फुट र ६. मोहन वैद्यको नेतृत्वमा माओवादी पक्षसँग भएको फुट ।

ती मुख्य फुटहरु बाहेक बाबुराम भट्टराई, दिनानाथ, डिलाराम, रामसिंह आदि पनि विभिन्न समयमा र विभिन्न प्रकारले हाम्रो पार्टीबाट अलग हुँदै गएका थिए । ती सबै फुटहरुका कारण प्रकृति वा पृष्ठभूमि बेग्ला बेग्लै प्रकारका थिए र ती सबैका बिचका अन्तरहरुको मूल्यांकन गरेर नै उनीहरुबारे बिचार गर्नु सही हुनेछ ।

माथिका विभिन्न फुटहरुमाथि हामीले बेग्ला बेग्लै प्रकारले विचार गर्नु पर्दछ ।

प्रथम, डा. रायमाझी पक्षसँगको फुटको प्रकृति शत्रुतापुर्ण नै थियो । उनले स्पष्ट रुपले राजाको पक्ष लिएका थिए । राजासँगको हाम्रो संघर्षको स्वरुप शत्रुतापूर्ण थियो । त्यसैले रायमाझी पक्षसित सम्बन्ध विच्छेद नगरेको भए हाम्रो पुरै पार्टी राजाको क्याम्पमा जान्थ्यो । तर उनले आफ्ना पक्षमा कैयौँ इमान्दार र सच्चा कम्युनिष्टहरुलाई पनि लगे । त्यसबाट पार्टीलाई धेरै क्षति पुग्यो । हामीले ठीक त्यहि रुपमा राखेर त तुल्सीलालको विरोध गर्दैनौ किनभने उहाँ एउटा इमान्दार र सच्चा कम्युनिष्ट हुनुहुन्थ्यो ।

दितीय, तुल्सीलाल इमान्दार, कर्मठ र त्यागी कम्युनिष्ट नेता हुनुहुन्थ्यो तर उहाँले सोभियत संसोधनवादी धार समात्नुभएको थियो । त्यो अवस्थामा उहाँसितको सम्बन्ध विच्छेद अवस्यम्भावि थियो । र न्यूक्लसको बैठकको बेलामा पनि उहाँसँग हामीले एकताको लागि कुनै कुरा गरेनौ ।

तृतीय, पुष्पलाल पक्षले माओविचारधारा पनि मानेको हुनाले हामीले उहाँहरुसित पनि मिलेर चौथो महाधिवेशन गर्ने सोचाई बनाएका थियौ । तर उहाँले हाम्रो प्रस्तावलाई स्वीकार नगरेको हुनाले नै उहाँसित एकता हुन सकेको थिएन । खास गरेर नेकाको विष्लेषणबारे हामीसित उहाँको मतभेद भएको हुनाले नै उहाँसित एकता हुन सकेन । हाम्रो प्रस्ताव चौथो महाधिवेशनमा गएर त्यो विवादलाई टुंग्याउनु पर्छ भन्ने थियो तर त्यसका लागि उहाँ तयार हुनु भएन र त्यसले गर्दा उहाँसित हाम्रो एकता हुन सकेन ।

चौथो, कोअर्डिनेशन ग्रुप र माओवादी मुख्य रुपले अन्तर्राष्ट्रिय प्रभाव परेर उग्र बामपन्थी दिशा लिएका थिए । त्यो उनीहरुसँगको हाम्रो फुट स्वभाविक वा अनिवार्य नै थियो । पूर्व मालेले भारतको नक्सलवादी आन्दोलनको असरमा परेर तथा माओवादी ग्रुपले रीमको प्रभावमा परेर उग्रवामपन्थी दिशा समातेको थियो । यी दुवैका विरुद्ध हामीले कडा सैद्धान्तिक र संगठनात्मक संघर्ष गर्नु परेको थियो । ती दुवैसित सम्बन्ध विच्छेद नभएको भए र उनीहरुसित त्यस प्रकारको संघर्ष नगरेको भए हाम्रो पार्टीले पनि उग्र बामपन्थी भड्काव र पछि, जस्तोकि अहिले उनीहरुको व्यवहारबाट नै प्रष्ट भएको छ दक्षिणपन्थी बाटो समात्ने थियो तर उनीहरुसितका मतभेद वा फुटका बावजुद उनीहरुलाई हामीले मित्र शक्ति नै मान्यौँ । र अहिले उनीहरुको पार्टी एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पनि मित्र शक्ति मानेका छौँ ।

पाँचौ, हामीलाई के लाग्छ भने निर्मल लामा पक्षसितको फुट आवश्यक र सही दुवै थिएन । त्यो फुट लामाजी र म दुवै जना केन्द्रीय समितिमा नभएको बेलामा भएको थियो । लामाजी र हाम्रो बिचमा भद्रगोल जेल, न्यूक्लस र महाधिवेशनका बेलामा पनि कैयौँ मतभेद थिए । मतभेदहरुका विचमा हाम्रा विचमा सधैँ एकता हुने गर्दथ्यो र पार्टीको निर्णयहरुलाई मानेर जाने गरेका थियौँ तर हामी दुवै जना केन्द्रीय समितिमा नभएका बेलामा केन्द्रीय समितिमा उत्पन्न अन्तरविरोधका कारणले नै अन्तरविरोध र फुटको स्थितिलाई सिर्जना गर्यो । तर पार्टीमा फुट भए पछि नै हामी दुवैका बिचमा पार्टी एकता कायम गर्ने बारे चिन्तित रहेका थियौँ । नारायणकाजी श्रेष्ठसँग भन्दा लामाजीसित भएको कुराकानी र समझदारीका आधारमा नै एकता केन्द्र र हाम्रा बिचमा पार्टी एकताको प्रक्रिया अगाडि बढेको थियो । तर बिचमा नै उहाँको निधन भएको हुनाले एकता केन्द्रसँगको हाम्रो पार्टी एकता भएर पनि त्यसको दुःखद अन्त भयो ।

छैठौँ, हाम्रो पार्टीको छैठौं महाधिवेशन सम्बन्धी निर्णय र ४ वर्षको गहन सैद्धान्तिक छलफलपछि हाम्रो पार्टीको एकता केन्द्रसँग पार्टी एकता भएको थियो । तर त्यो टिकाउ हुन सकेन । पछि हामीलाई यो कुरा प्रष्ट हुँदै गयो कि उनीहरुको मुख्य उद्देश्य हाम्रो पार्टीलाई पनि माओवादीमा सामेल गर्नु नै थियो । लामाजीले इमान्दारिता पूर्वक नै पार्टी एकता गर्न खोज्नुभएको थियो । तर नारायणकाजीले माओवादीको गोप्य योजना अनुसार नै हामीसित पार्टी एकता गरेका थिए । त्यो कुरा प्रष्ट भएपछि उनीहरुसँगको हाम्रो एकता भंग भयो र हामीले नेकपा (मसाल)को पुनर्स्थापना गर्यौं ।

माथिका मुख्य फुटहरुबाहेक अन्य कैँयौँ पक्षहरुसँग पनि सामान्य प्रकारका फुटहरु हुने गरेका छन् । जसमध्ये बाबुराम, दिनानाथ शर्मा, मेघराज ज्ञवाली, डिलाराम, रामसिंह आदिसित भएका फुटहरु उल्लेखनीय छन् । ती सबै फुटहरुको एउटै कारण रहेको छः माओवादीको प्रभावमा परेर त्यो समूहमा सामेल हुनको लागि नै उनीहरु हाम्रो पार्टीबाट फुटेर गएका थिए । उनीहरुको फुटको तरिका पनि एउटै रहेको छः हाम्रो पार्टीबाट अलग भएपछि एउटा अस्थायी रुपले बेग्लै पार्टीको गठन गरेर हाम्रा बढी भन्दा बढी कार्यकर्तालाई आफूतिर तान्ने प्रयत्न गर्ने र पछि माओवादीमा सामेल हुने

पार्टीमा सैद्धान्तिक राजनैैतिक बाहेक अन्य कारणले पनि फुट हुने गरेको छ ?

माथि हामीले हाम्रो पार्टीमा भएका मुख्य फुट तथा तीनिहरुका प्रकृति वा कारणहरुको सरसरी प्रकारले चर्चा गर्यौँ तर पार्टीबाट फुट्नुका पछाडि सधैँ सैद्धान्तिक वा राजनीतिक कारणले मात्र काम गर्ने गरेका छैनन् । त्यसका पछाडि काम गरेका अन्य कतिपय कारणहरुमा हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । कम्युनिष्ट पार्टी सर्वहारा वर्गको पार्टी हो र त्यसले सबै कम्युनिष्टहरुले सर्वहारा विश्व दृष्टिकोण अपनाउनु पर्ने कुरामा जोड दिन्छ । त्यसको अर्थ हुन्छ, शोषित वर्गका क्रान्तिकारी हित तथा पार्टी वा क्रान्तिका हितहरुलाई प्राथमिकता दिएर काम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसको विपरित पुँजिवादी विश्व दृष्टिकोणले व्यक्तिगत स्वार्थ वा नाफालाई नै सर्वोपरी मान्दछ । तर कम्युनिष्ट पार्टीको सर्वहारा दृष्टिकोण अपनाउनु पर्ने आवश्यकता भएपनि व्यक्तिगत जीवनमा पुँजीवादी विश्व दृष्टिकोणबाट थोरै बहुत वा अधिकतर रुपमा प्रभावित हुन्छ । को कति त्यसरी प्रभावित हुन्छ त्यो कुरा उसको चेतनाको कति विकास भएको छ ? त्यसमाथि निर्भर गर्दछ ।

हाम्रो जस्तो देशमा सबै जसो कम्युनिष्टहरु पुँजीपति वा निम्न पुँजीपति वर्गबाट आएका हुन्छन् । त्यसले गर्दा उनीहरुले जन्मजात रुपमा नै पुँजीवादी संस्कार, सोचाई, बानी वा स्वभावहरु लिएर आएका हुन्छन् । पुरानो रुढिवादी र पिछडिएको परम्पराले पनि पुँजीवादी दृष्टिकोणलाई नै बल पुर्याईरहेको हुन्छ । त्यो अवस्थामा कोही संगठनात्मक रुपले कम्युनिष्ट पार्टीमा सामेल भएपनि वा त्यसको उच्च तहमा पुगेपनि उसमा पुँजीवादी दृष्टिकोणले धेरै नै काम गरेको हुन्छ । त्यसले गर्दा उसमा कैयौँ गैर कम्युनिष्ट सोचाइ, कमजोरी वा प्रवृतिहरु देखा पर्दछन् । त्यस प्रकारका सोचाइहरु पार्टीभित्र कैयौँ विकृत रुपमा देखा पर्दछन् । कतिपय अवस्थामा त्यस प्रकारका सोचाईहरु प्रकट रुपमा ‘क्रान्तिकारी’ को रुपमा पनि देखा पर्दछन्, तर अन्तत्वगत्वा त्यस प्रकारका प्रवृतिहरुले दक्षिणपन्थी अवसरवादी दिशा नै समात्दछन् । पार्टीमा विभिन्न समयमा देखा पर्ने विभिन्न प्रकारका अवसरवादी सोचाइ, अनुशासन विहीनता, भड्काव वा फुटका पछाडि पनि त्यस प्रकारको पुँजीवादी दृष्टिकोणले एक वा अर्काे प्रकारले लगातार काम गरिरहेको हुन्छ र त्यस प्रकारका प्रवृतिहरुका विरुद्ध कम्युनिष्ट पार्टी भित्र सधैँ संघर्ष गरिरहनुपर्ने आवश्यकता हुन्छ । सैद्धान्तिक प्रशिक्षण, संगठनात्मक कार्यमा सुधार वा अनुशासनका कार्वाहीहरुद्वारा त्यस प्रकारको संघर्ष चलाई रहनुपर्ने आवश्यकता हुन्छ ।

तर त्यस प्रकारको संघर्ष एउटा कठिन र जटिल प्रक्रिया हो । खास गरेर आज विश्वव्यापी रुपमा नै क्रान्तिकारी कम्युनिष्ट आन्दोलन अत्यन्तै कमजोर र रक्षात्मक अवस्थामा पुगेको तथा पुँजीवादी उपभोक्तावादी सोचाइ वा व्यक्तिवादी सोचाई बढ्दै गएको, विश्वव्यापी रुपमा नै कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादी सोचाइ व्याप्त भएको र त्यसको असर मार्क्सवादी–लेनिनवादी संगठनात्मक प्रणालीमा परेको हुनाले पनि त्यस प्रकारको संघर्षको कठिनाई कैयौँ गुणा बढेर जान्छ । तर त्यस प्रकारको अत्यन्त कडा र प्रतिकुल अवस्थामा पनि हामीले त्यस प्रकारको संघर्षलाई अगाडि बढाउनै पर्छ । त्यसको कुनै विकल्प छैन । अन्यथा कम्युनिष्ट पार्टीको, जस्तै कि त्यहि प्रकारको परिस्थितिमा धेरै देशका कम्युनिष्टहरुको पतन हुँदै आएको छ, हाम्रो देशको कम्युनिष्ट पार्टीको पनि पतन भएर जाने छ । तर त्यस्तो हुन नदिन हामीले दशकौँ देखि संघर्ष गर्दै आएका छौ र अहिले पनि गरिरहेका छौँ ।

अहिले नेकपा (मसाल)ले शुद्धीकरणको कार्यक्रम सञ्चालन गर्न थालेको भन्ने समाचार बाहिर आएको छ, त्यसलाई पार्टीभित्रका भिन्न मत राख्ने पार्टीका कार्यकर्तालाई दबाउने अधिनायकवादी तरिका पनि भन्ने गरिएको छ । त्यसबारे केही प्रकास हालिदिनु हुन्छ कि ?

कम्युनिष्ट पार्टी भित्रको शुद्धीकरण कार्यक्रमलाई बुर्जुवा र कम्युनिष्ट विरोधीहरुले सधैँ पार्टीभित्रका भिन्न मतलाई दबाउने तथा पार्टीमा तानाशाही कायम गर्ने तरिका बताउँदै आएका छन्, त्यो अवस्थामा हाम्रो पार्टीको शुद्धीकरण कार्यक्रमलाई त्यसरी आलोचना गर्नु कुनै नयाँ र आश्चर्यको कुरा होइन । कम्युनिष्ट पार्टीमा सैद्धान्तिक प्रशिक्षण, संगठनात्मक कारबाही वा सामान्य प्रकारका अनुशासनका कारबाहीद्वारा माक्र्सवादी–लेनिनवादी संगठनात्मक प्रणालीलाई कायम राख्ने प्रयत्न गरिन्छ । तर कतिपय अवस्थामा पार्टीभित्रका संगठनात्मक वा अनुशासन सम्बन्धी समस्याहरुले गम्भीर र व्यापक रुप लिन्छन् । त्यो अवस्थामा सामान्य भन्दा बढी केही व्यापक रुपले पार्टी भित्रका कमजोरीहरुलाई हटाउन ठोस कार्यक्रम अपनाउनु पर्ने आवश्यकता हुन्छ । त्यही शुद्धीकरण कार्यक्रम हो ।

रुस र चीनका कम्युनिष्ट पार्टीहरुमा लेनिन, स्टालिन वा माओका नेतृत्वमा कैयौँ पल्ट शुद्धीकरण कार्यक्रमहरु सञ्चालन गरिएका थिए । हाम्रो पार्टीमा पनि गत कालमा त्यसरी शुद्धीकरणका कार्यक्रमहरु गरिएका थिए । शुद्धीकरणका कार्यक्रमका शिलशिलामा विभिन्न स्तरका पार्टी सदस्यहरुलाई उच्च कमिटी बाट तल्लो कमिटीमा झार्ने, कतिपय अवस्थामा सदस्यताबाट हटाएर समर्थकमा राख्ने वा कुनै खास अवस्थामा पार्टी सदस्यताबाट पनि अनिश्चितकालका लागि निष्कासन गर्ने गरिन्छ ।

बेग्ला बेग्लै समयको स्थिति र आवश्यकता अनुसार शुद्धीकरणको प्रकृति वा कार्यविधिमा पनि अन्तर हुन्छ । अहिले, एकातिर, देशमा कोरोना भाइरसका कारणले पैदा भएको असामान्य अवस्था र अर्कातिर, पार्टीमा देखा परेको गम्भीर प्रकारको अराजकता र अनुशासन विहीनताको अवस्थामा अहिले अपनाइने शुद्धीकरणको कार्यविधि पनि पहिले भन्दा केही बेग्लै र असामान्य प्रकारको हुने कुरा स्पष्ट छ । तैपनि त्यसको मुल उद्देश्य पार्टी भित्रको संगठन प्रणालीलाई सुदृढ पार्नु नै हो र, हामीलाई विश्वास छ, त्यसद्वारा पार्टीको संगठनात्मक प्रणाली, अनुशासन र एकता अरु सुदृढ हुनेछ र पार्टीका राजनीतिक र संगठनात्मक जिम्मवारी पुरा गर्न अरु बढी सफल हुनेछ ।

अधिकांश रुपमा फुटेर गएकाहरुले तपाईंलाई नै जिम्मेवार ठहर्‍याउने वा दोष दिने गरेको सुनिन्छ नि ?

फुटसित जोडिएका, सैद्धान्तिक, राजनीतिक, संगठनात्मक र धेरै नै व्यवहारिक पक्षहरु छन् । तीनिहरुको व्याख्या गर्नको लागि एउटा सिंगै पुस्तक लेखेपनि अपर्याप्त हुनेछ । यसबारे कतिपय विषयहरुको माथि चर्चा भैसकेको छ । तैपनि त्यसबारे अन्तमा केही थप्नु सायद अप्रासंगिक हुनेछैन । जस्तो कि माथिको विवरणबाट प्रस्ट हुन्छ, अहिलेसम्म पार्टीका थुप्रै पक्षहरु पार्टीबाट फुटेर गएका छन् वा कैयौँ कार्यकर्ताहरुलाई हामीले कारबाही गरेर पार्टीबाट निष्कासित गर्नु परेको छ । माथि हामीले केही खास मुख्य नेता वा कार्यकर्ताहरुको नै उल्लेख ग¥यौँ । ती बाहेक पनि त्यो संख्या कैयाँै गुणा ठुलो छ । आज त्यो ठुलो संख्यामाथि विचार गर्दा यो सोचेर अवश्य पनि दुःख लाग्छ । ती सबै अहिले पनि एउटै पार्टीमा संगठित वा एकताबद्ध भएको भए पार्टी वा नेपालको कम्युनिष्ट आन्दोलन कति शक्तिशाली हुन्थ्यो होला । त्यसको लागि को दोषी छ ? हामीहरु वा ती साथीहरु, जो हामीबाट फुटेर गए वा जसलाई हामीले निष्कासित गर्नु पर्‍यो । निश्चय नै यो प्रश्न खाली नेपालको मात्र होइन, जस्तै कि माथि पनि उल्लेख गरियो, यो सम्पूर्ण विश्व कम्युनिष्ट आन्दोलनसँग नै जोडिएको छ । यहाँ हामीले त्यो प्रश्नबारे खाली नेपालको कम्युनिष्ट आन्दोलनका सन्दर्भमा नै विचार गर्दैछौँ ।

हाम्रो पार्टीमा गतकालमा भएका फुट वा कारबाहीहरुका लागि को जिम्मेवार छ ? त्यसबारे हामीले आत्मगत र अमूर्त प्रकारले होइन, वस्तुगत प्रकारले ती कारणहरुको मुल्यांकन गरेर विचार गर्नु पर्दछ । जसका कारणले ती फुटहरु भए वाजुन कारणले हामीले कैयौँ नेता वा कार्यकर्ताहरु माथि कारबाही गर्नु प¥यो । त्यसबारे कतिपय पक्ष वा व्यक्तिहरुमा चिजहरुलाई वस्तुवादी वा यथार्थवादी प्रकारले मुल्यांकन गर्नु भन्दा हामीप्रतिको विरोधका कारणले ती सबै घटनाहरुका लागि एकहोरो प्रकारले हामीहरुलाई नै दोषी ठहर्याउने प्रवृति पनि कम पाइन्न । त्यसरी केही व्यक्तिहरुलाई हामीप्रति आफ्नो विरोध प्रदर्शन गर्न मद्दत पुग्ला तर त्यसरी, स्पष्ट छ सत्यको नजिक पुग्न सकिने छैन । सत्यको नजिक पुग्न चिजहरुमाथि बिनाकुनै पुर्वाग्रह वा बिनाकुनै दोष यथार्थवादी तरिकाले नै मुल्यांकन गर्नु पर्दछ ।

केशरजंग रायमाझीले राजावादी लाइन लिएको हुनाले हामीले उनीहरुका विरुद्ध विद्रोह गर्नुपर्‍यो। त्यो विद्रोह नगरेको भए पुरै पार्टी राजावादी क्याम्पमा जाने थियो । यदि हामीले त्यो विद्रोह नगरेको भए वा बहुमतको निर्णय मानेर गएको भए त्यो बेला पार्टी एकता कायम रहन्थ्यो होला, तर पार्टी पुरै राजावादी क्याम्पमा जान्थ्यो र अन्तमा त्यसको, जस्तै कि रायमाझीको नेतृत्वमा भयो, विसर्जन नै हुन्थ्यो । अनि के उनका विरुद्ध विद्रोह गर्नु गलत भयो ?

तृतिय महाधिवेशन पछि पार्टी करिब आधा दर्जन टुक्रामा बाँडियो । त्यो बेला मनमोहन अधिकारी, शम्भुराम, कमलराज रेग्मी, निर्मल लामा, म आदि सबै जेलमा थियौँ । स्पष्ट छ कि त्यसरी पार्टी विभाजन हुनुको पछाडि हामीहरु मध्ये कोही पनि जिम्मेवार थिएनौं । तर हामीहरुले जेलबाट छुटेपछि त्यो टुक्रा टुक्रामा बाँडिएको पार्टीलाई एकीकृत गर्ने प्रयत्न ग¥यौँ । निश्चय नै त्यसो गर्दा हामीले पंचायती व्यवस्थामा सामेल भैसकेकाले कमलराज रेग्मी र सोभियत शंसोधनवादी लाइनलाई समर्थन गरेको हुनाले तुल्सीलाललाई सामेल गरेनौँ । उहाँहरु दुवै जनालाई पार्टी एकीकरणको प्रक्रियाबाट अलग गर्नुका पछाडि सैद्धान्तिक कारण नै थियो, त्यसकारण त्यो गलत थिएन ।

पुष्पलालसित हामीले पार्टी एकता गर्नको लागि धेरै नै प्रयत्न गरेका थियौँ । त्यसका लागि हामीले शम्भुराम र मनमोहनलाई समेत उहाँसित भेट गर्न भारतमा पठाएका थियौँ । तर उहाँले नमानेको हुनाले नै उहाँसित पार्टी एकता हुन सकेको थिएन । हाम्रो जोड नेकाको प्रश्नमा उहाँसित मतभेद भएपनि चौथो महाधिवेशनमा गएर त्यो विषय टुंग्याउनु पर्छ भन्ने थियो । हाम्रो त्यो अनुरोधलाई उहाँले स्वीकार गरेको भए उहाँसितको फुटको कारणले नेपालको कम्युनिष्ट आन्दोलनलाई पुगेको ठुलो क्षतिबाट बच्न सकिन्थ्यो । गद्दार पुष्पलाल सम्बन्धी विवाद उहाँसित पछि पैदा भएको विवाद हो । त्यसलाई हाम्रो पार्टीले पछि सच्याएको पनि थियो ।

शम्भुरामले विद्यार्थी आन्दोलनलाई पंचायती सरकारसित सम्झौतामा टुंगाएको हुनाले हामीले उहाँलाई निष्कासित गर्नु परेको थियो । उहाँलाई निष्कासन गर्दा मनमोहन अधिकारी, निर्मल लामा, जय गोविन्द शाह, भरतमोहन अधिकारी सहित हामी सबैको सर्वसम्मती थियो । पहिले उहाँले पंचायती व्यवस्थाको विरोध सम्बन्धी दरभंगा प्लेनमको निर्णयलाई पुर्नविचार गर्नुपर्छ भन्ने विचार राखेकाले तेस्रो महाधिवेशनमा हामीले उहाँलाई सामेल गरेका थिएनौँ । तैपनि पछि पार्टी एकतामा उहाँलाई सामेल गरेका थियौँ । तर विद्यार्थी आन्दोलनका बेलामा पंचायती व्यवस्थाप्रति सम्झौता परस्त नीति अपनाएको हुनाले हामीले उहाँमाथि कारबाही गर्नु परेको थियो ।

मोहनचन्द्र अधिकारीलाई हामीले पार्टीबाट निकालेका थिएनौँ । उहाँले स्वयम् नै हाम्रो पार्टीसित विद्रोह गरेर बेग्लै समुह बनाएर नक्सालवादी आन्दोलनलाई समर्थन गरेको र त्यस अनुसार नेपालमा उग्र ‘वामपन्थी’ कारबाही सुरु गरेको हुनाले नै उहाँहरु हामीहरुबाट अलग हुनुभएको थियो । त्यही क्रममा झापाली समुह कोअर्डिनेसन ग्रुप, माले हुँदै एमाले बनेको थियो । मनमोहन अधिकारीले महाधिवेशनको गोप्यता भंग गरेको हुनाले उहाँलाई पार्टीबाट निष्कासित गर्नुपरेको थियो । २०३० को फागुनमा सिराहामा नै भूमिगत प्रकारले हुने भनिएको महाधिवेशनको गोप्यतालाई भंग गर्नु पुरै पार्टीलाई खतरामा हाल्नु थियो र त्यो गम्भीर गल्ती थियो । त्यो गम्भीर गल्तीका लागि निर्मल लामा, जय गोविन्द शाह, चित्रबहादुर के.सी., भरतमोहन, कमल कोइराला सहित हामी सबैले सर्वसम्मतीले उहाँलाई पार्टीबाट निष्कासित गरेका थियौँ । त्यो बैठकले नै चौथो महाधिवेशन २०३१ को असारमा बनारसमा गर्ने ठेगान गरेको थियो । यद्यपी पछि गोप्यताको दृष्टिकोणले त्यो महाधिवेशन त्यही सालको भदौमा भएको भनेर प्रेस विज्ञप्ति दिइएको थियो । भरतमोहन अधिकारी, कमल कोइरालाहरु स्वयम् निर्णय गरेको चौथो महाधिवेशनमा सामेल नभएर आफैँ चौथो महाधिवेशनबाट अलग हुनुभएको थियो ।

पछि निर्मल लामा र म दुवै जना केन्द्रीय समितिमा नभएको बेलामा केन्द्रीय कमिटीका ६ जना साथीहरुले सामुहिक राजीनामा दिनु भयो र त्यो राजीनामालाई सार्वजनिक गर्नु भयो । त्यो बेला पार्टीको नेतृत्वमा भक्तबहादुर र मोहन वैद्यहरु हुनुहुन्थ्यो । नेतृत्व सँग कुन प्रकारको अन्तरविरोध भएर त्यसरी राजीनामा दिने स्थिति उत्पन्न भयो ? त्यसबारे आधिकारीक रुपमा त्योबेला केन्द्रीय समितिमा भएका साथीहरुले नै बताउन सक्नुहुनेछ । जे होस्, त्यसरी राजीनामालाई सार्वजनिक गर्नु एउटा भूमिगत पार्टीका लागि गम्भीर गल्ती थियो । त्यो गल्तीको लागि २०४० मा गोरखपुरमा भएको राष्ट्रिय सम्मेलनले उहाँहरुलाई निष्कासित गर्ने निर्णय गरेको थियो । लामाजीले त्यो गल्तीको पक्ष लिएको हुनाले नै उहाँलाई पनि पार्टीबाट निष्कासित गर्नुपरेको थियो । हामीले त्यस प्रकारको गल्तीलाई गम्भीर प्रकारको अनुशासन विहीनता ठहराएर उहाँहरुमाथि त्यस प्रकारको कारबाही गरेका थियौँ ।

निर्मल लामासित भद्रगोल जेलदेखि नै हाम्रा मतभेदहरु थिए । तर उहाँमा चित्रबहादुर के.सी मा जस्तै मतभेद भएपनि बहुमतको निर्णय मानेर अनुशासनमा बसेर काम गर्ने स्वभाव थियो । न्यूक्लस र चौथो महाधिवेशनमा पनि हामीले मतभेदका बिचमा त्यसरी एकता गरेर काम गर्दै आएका थियौँ । तर हामी दुवैै जना केन्द्रीय समितिमा नभएको बेलामा केन्द्रीय समितिमा जुन प्रकारको अन्तरविरोध पैदा भएर ६ जना साथीहरुले सामुहिक राजीनामा दिने स्थिति उत्पन्न भयो, त्यसपछि भएको गोरखपुरको राष्ट्रिय सम्मेलनमा उहाँले त्यो अनुशासन विहीन कारबाहीको समर्थन गर्न पुग्नुभयो । त्यसले गर्दा उहाँ हामीहरुबाट अलग हुनुभयो र नेकपा चौथो महाधिवेशनको गठन गर्नु भयो । तैपनि हामीलाई लाग्दछ, उहाँसित हाम्रो कुनै गम्भीर सैद्धान्तिक मतभेद थिएन र त्यसरी हाम्राबिचमा फुट नभएको भए त्यसबाट पछि पार्टीलाई पुगेको क्षतिबाट बच्न सकिन्थ्यो । त्यसकालागि को कति जिम्मेवार छ, पछि इतिहासले मुल्यांकन गर्ने विषय हो ।

पाचौँ महाधिवेशन पछि मोहन वैद्यको नेतृत्वमा बनेको केन्द्रीय समितिले महाधिवेशनका निर्णयहरुमा गम्भीर प्रकारका तोडमोड गरेको थियो । त्यो निर्णयलाई सच्याउन चित्रबहादुर के.सी. सहित तीनजना केन्द्रीय सदस्यहरुले एउटा निवेदन दिँदा उहाँहरुलाई पार्टीबाट निष्कासित गरिएको थियो । बिहान उहाँहरुले निवेदन दिनुभयो, साँझ उहाँहरुलाई निष्कासित गरियो । त्यसपछि हाम्रा अगाडि विद्रोह गर्नु बाहेक अन्य कुनै विकल्प बाँकी रहेको थिएन । पछि उहाँहरुले रीमसित मिलेर उग्र ‘वामपन्थी’ कारबाही सुरु गरेपछि उहाँसितको हाम्रो अन्तरविरोध झन् बढेर गएको थियो । यदि हामीले उहाँहरुसँग सम्बन्ध विच्छेद नगरेको भए हाम्रो पार्टी पुरै उग्र ‘वामपन्थी’ भड्कावमा जान्थ्यो र पछि दक्षिणपन्थी दिशामा जान्थ्यो । त्यसरी इतिहासले हाम्रो त्यो विद्रोहलाई सही सावित गरेको छ ।

जस्तो कि आमरुपमा थाहा छ, ४ वर्षको सघन वार्तापछि हाम्रो एकता केन्द्रसित पार्टी एकता भएको थियो । तर पछि स्वयम् माओवादी भित्रका शुत्रबाट हामीलाई यो थाहा भयो कि एकता केन्द्रको हामीसितको पार्टी एकताका पछाडि मसाललाई माओवादीमा सामेल गर्ने गोप्य ग्राइन डिजाइनले काम गरेको थियो । त्यसपछि हामीले एकता केन्द्रसँग सम्बन्ध विच्छेद गरेर नेकपा (मसाल)को पुर्नस्थापना गरेका थियौँ । हामीले उनीहरुसित त्यसरी सम्बन्ध विच्छेद नगरेको भए हामीहरु माओवादीमा सामेल हुन पुग्दथ्यौँ ।

माओवादीहरुले बास्तवमा लगातार र योजनाबद्ध प्रकारले नै हाम्रो पार्टीलाई फुटाउने काम गरेका थिए । त्यो क्रममा उनीहरुले बाबुराम, दिनानाथ, मेघराज ज्ञवाली, डिलाराम आचार्य, गिरधारीलाल न्यौपाने आदिलाई पनि योजनाबद्ध प्रकारले फुटाएका घटनाहरुको पहिले नै चर्चा भैसकेको छ । एकता केन्द्रद्वारा उनीहरुले हाम्रो पुरै पाटीलाई नै उनीहरुको संगठनमा सामेल गर्ने कोशिस गरेका थिए । यदि उनीहरु त्यसमा सफल भएको भए हामीहरु उनीहरुका पछि लागेर उनीहरुसँगै दक्षिणपन्थी दिशा समात्न पुगेका हुन्थ्यौँ । त्यसरी स्पष्ट छ कि एकता केन्द्रसितको सम्बन्ध विच्छेद हाम्रो सही निर्णय थियो ।

यहाँ यो उल्लेखनीय छ कि बाबुराम, दिनानाथ, मेघराजहरुलाई हामीहरुले पार्टीबाट निष्कासन गरेका थिएनौँ । उनीहरुले स्वयम् हाम्रो पार्टीबाट अलग भएर बेग्लै समानान्तर ‘पार्टीहरु’ बनाएर पछि माओवादीमा मिल्न गएका थिए । डिलारामहरुले प्रवासमा गोप्य रुपले गुटबन्दी गरेर त्यहाँको पुरै संगठन सहित माओवादीमा जाने षडयन्त्र गरेका थिए । त्यो कारणले उनीहरुलाई पार्टीबाट हटाउनु परेको थियो । गोविन्द सिंह थापाले, जस्तो कि सबैलाई थाहा छ, पार्टीको सम्पत्ती, ‘हाँक’ पत्रिकामाथि कब्जा जमाएको हुनाले नै उहाँलाई पार्टीबाट निष्कासित गर्नु परेको थियो । अन्य विभिन्न व्यक्तिहरुलाई पंचायत, कांग्रेस, एमाले, माओवादी आदिमा सामेल भएको हुनाले पार्टीबाट निष्कासित गर्नु परेको थियो । पार्टीबाट पलायन, निस्कृयता आदि कारणले पनि कैयौँ पार्टी सदस्यहरु लगातार अलग भैरहन्छन् ।

माथि उल्लेख भएअनुसार जुनसुकै कारणले कोही हामीबाट फुटेर गएको भएपनि वा हामीले कारबाही गरेको भएपनि विनाअपवाद उनीहरु सबैले हामीहरुलाई नै गलत ठहराउने गरेका छन् । उनीहरुको दाबी यो पछि छ कि, पार्टीमा अहिलेसम्म भएका फुट वा कारबाहीहरुका लागि हाम्रो कार्यशैली नै जिम्मेवार छ । तर बास्तवमा के कुरा सही हो र के कुरा गलत हो ? त्यसबारे निर्णय गर्दा, जस्तै कि माथि भनियो, कुनै खास घटना माथि आत्मगत वा मनोगत प्रकारले होइन सम्बन्धित कारणहरु माथि वस्तुवादी र ठोस प्रकारले विश्लेषण गरेर नै के सही हो र के गलत हो ? त्यो छुट्याउनु पर्दछ ।

अन्तमा केही भन्नु छ कि ?

यो विश्वव्यापी सिद्धान्त हो कि कुनै पनि विषयमा न्याय गर्नका लागि त्यसका केही खास मान्यताहरु हुन्छन् । हाम्रो पार्टीभित्रका फुट वा कारबाहीबारे पनि के सही हो र के गलत हो ? त्यो कुराको निर्णय कुनै अमूर्त तरिकाले होइन, बेग्ला बेग्लै मान्यता वा दृष्टिकोण अनुसार नै गरिने कुरा प्रस्ट छ ।

हिन्दु, इसाइ, मुस्लिम, बौद्ध आदि सबै धर्महरु वा पुँजीवादी, साम्राज्यवादी, राजावादी र तानाशाही शासकहरुले पनि आफ्नो मान्यता अनुसार नै के सही छ वा के गलत छ ? त्यो कुराको निरुपण गर्ने गर्दछन् । जसले पंचायती व्यवस्थालाई समर्थन गर्छन् उनीहरुका लागि रायमाझीको लाइन नै सही हुनेछ र उनका विरुद्ध हामीहरुले गरेको विद्रोहलाई गलत ठहराउने छन् । सोभियत शंसोधनवादलाई समर्थन गर्नेहरुका लागि तुल्सीलालको पक्ष सही हुनेछ र उहाँका विरुद्ध हामीहरुले लिएको नीति गलत हुनेछ । उग्र “वामपन्थी” लाइनलाई समर्थन गर्नेहरुका लागि कोअर्डिनेशन ग्रुप वा पूर्व माले तथा माओवादीको लाइन सही हुनेछ र उनीहरुका दृष्टिकोणमा हामीहरुले उनका विरुद्ध गरेको संघर्ष गलत हुनेछ । एकता केन्द्रसँगको हाम्रो संम्बन्ध विच्छेदलाई पनि माओवादीहरुले गलत नै बताउने छन् ।

अन्य धेरैजसो प्रश्नहरु बढी संगठनात्मक प्रणाली वा अनुशासनसँग नै जोडिएका छन् । मनमोहन अधिकारी, शम्भुराम, निर्मल लामा, बाबुराम भट्टराई, दिनानाथ, मेघराज ज्ञवाली, डिलाराम, गिरिधारी, गोविन्द सिंह थापा आदिका विरुद्ध हामीले गरेका कारबाहीहरु मुख्य रुपले त्यही श्रेणीमा आउँछन् । मनमोहनले महाधिवेशनको गोप्यता भंग गरेपछि उनका विरुद्ध कारबाही गर्नु सही थियो वा थिएन ? दिनानाथ समेतले हाम्रो पार्टी छोडेर गएपछि उनीहरुलाई पार्टीबाट निष्कासित गर्नु सही थियो वा थिएन ? ऋषि देवकोटा ‘आजाद’ को प्रसंग चर्चा हुनु छुटेको छ । उहाँ पनि चौथो महाधिवेशनको वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्थ्यो । पछि उहाँले बेग्लै समानान्तर संगठन बनाएको हुनाले उहाँलाई पार्टीबाट निष्कासित गर्नु परेको थियो । यी सबै कारबाहीहरु सही थिए वा थिएनन् ? त्यो कुराको निर्धारण यो कुराले गर्नेछः लेनिनवादी संगठन प्रणाली वा जनवादी केन्द्रीयताबारे कसले कुन प्रकारको दृष्टिकोण अपनाउँछ ? उक्त प्रश्नमा अहिले विश्वव्यापी रुपमा र नेपालको कम्युनिष्ट आन्दोलनमा पनि व्यक्तीवादी, अराजकतावादी वा बुर्जुवाप्रकारको ‘स्वतन्त्र’ दृष्टिकोण अपनाउने प्रवृतीहरु बढ्दै गैरहेको छन् । उनीहरुले पार्टीको कुनै पनि प्रकारको अनुशासनलाई, लेनिनको पालादेखि नै, अधिनायकवादी प्रणाली बताउँदै आएका छन् । त्यस प्रकारको प्रवृतिका विरुद्ध संसार भरिका मार्क्सवादी–लेनिनवादीहरुले कडा संघर्ष गर्दै आउनु परेको छ र अहिले पनि हामीले त्यो संघर्ष गरिरहेका छौँ ।

नेपालमा पनि दशकौँदेखि त्यस प्रकारको संघर्ष गर्दै आउनु परेको छ । जो पार्टीको संगठन प्रणाली बारे व्यक्ती वादी, अराजकतावादी वा बुर्जुवा ‘स्वतन्त्र’ दृष्टिकोण राख्दछन् वाउनीहरुले निश्चित रुपले गतकालमा अनुशासनका प्रश्नमा हामीले गरेका कडा कारबाहीहरुको विरोध गर्नेछन् ।

निश्चय नै उक्त प्रश्नमा गरिएका कतिपय कारबाहीहरुबारे पनि आवश्यकताअनुसार हामीले मुल्यांकन गर्दै जानेछौं । तैपनि समग्र रुपमा माथि हामीले हाम्रो पक्ष नै प्रस्तुत गरेका छौँ । अन्य सम्बन्धित सबै पक्षहरुका आफ्ना–आफ्ना बेग्लै मतहरु हुन सक्दछन् र तीनिहरुबारे छलफल चलिरहनेछ । अहिलेका विवादहरुबारे इतिहासले पनि नयाँ–नयाँ प्रकारले फैसला दिँदै जानेछ । त्यो एउटा निरन्तर चलिरहने प्रक्रियाहो ।

अन्तमा एउटा कुरा भनिहालौं । अहिलेसम्म जुन साथीहरु हाम्रो पार्टीबाट फुटेर गए वा जसलाई हामीले कारबाही गरेर पार्टीबाट निष्कासित गर्नुप¥यो, ती सबैसँग हाम्रो कुनै व्यक्तिगत विरोध वा वैमनस्यता थिएन । डा. केशरजंग रायमाझीदेखि पुष्पलाल, मनमोहन अधिकारी, तुल्सीलाल, शम्भुराम, निर्मल लामा, मोहन वैद्य, प्रचण्ड, जय गोविन्द शाह, भरतमोहन अधिकारी, कमल कोईराला, बाबुराम भट्टराई, दिनानाथ शर्मा, रामसिंह श्रीस, डिलाराम आचार्य, गिरधारीलाल न्यौपाने, गोविन्द सिंह थापा आदि सबैसित व्यक्तिगत रुपमा हाम्रो आत्मिय वा मैत्रिपूर्ण सम्बन्ध थियो । तैपनि एकातिर कतिपय सैद्धान्तिक वा राजनीतिक प्रश्नहरु र, अर्कातिर, जनवादी केन्द्रीयता वा अनुशासन सम्बन्धी प्रश्नहरुमा भएका मतभेदहरुका कारणले नै या त पार्टीबाट फुटेर गए या हामीले कारबाही गरेर पार्टीबाट निष्कासित गर्नु पर्‍यो ।

आफ्ना घनिष्ट मित्रहरुसँग त्यसप्रकारको संघर्ष गर्नु वा एक वा अर्काे प्रकारले सम्बन्ध विच्छेद गर्नु निश्चय पनि दुःखको कुरा हो । तैपनि सैद्धान्तिक, राजनीतिक वा नीति सम्बन्धी मतभेदहरुका कारणले हामीले उहाँहरुका विरुद्ध त्यस प्रकारको संघर्ष गर्नु पर्‍यो । पार्टीको क्रान्तिकारी सिद्धान्त, राजनीतिक लाइन र माक्र्सवादी लेनिनवादी संगठनात्मक प्रणालीको रक्षाका लागि त्यस प्रकारको अप्रीय बाटो पनि समात्न बाध्य हुनु पर्दछ । विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा लगातार त्यस्तो हुँदै आइरहेको छ र हाम्रा अगाडि पनि त्यस प्रकारको बाटो, संघर्षको बाटो समात्नुको कुनै विकल्प थिएन र छैन पनि ।

अन्तर्वार्ताः विद्यानाथ अधिकारी , युगदर्शन अनलाइनबाट