नेपालमा विगत २४ घण्टामा ८५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।


मृत्यु हुनेमा काठमाण्डूका एक महिला सहित तीन जना एवम् सिरहा, पर्सा, धनुषा र रुपन्देहीका एक-एक जना रहेका छन्।
अहिले थपिएका सङ्क्रमितमध्ये २३२ जना काठमाण्डू उपत्यकाका छन्।
यो वृद्धिसँगै नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको सङ्ख्या १६४ र सङ्क्रमितको कुल सङ्ख्या ३३,५३३ पुगेको छ ।
सो अवधिमा ११,३२७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
अहिले देशभरि १४,२५० जनामा सक्रिय सङ्क्रमण रहेको डा. गौतमले बताए।
तीमध्ये ५,६६९ जना घरमै र बाँकी ८,५८१ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुन्।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३१३ सङ्क्रमित निको भएका छन्। कुल निको हुनेको सङ्ख्या १९,११९ जना छ।
देशभरि क्वारन्टीनमा १०,४५३ जना छन्।
गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १,०१६ अर्थात् अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो।
त्यसैगरी भदौ ५ गते सरकारले ८३८ जनामा सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८१८ थियो।
यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८, साउन ३२ गते ६४१ र भदौ ८ गते ७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।