बहस विचार होइन, व्यक्तिकेन्द्रित छ, नवीन विचार र दृष्टिकोणविनै नेतृत्वका लागि भइरहेका कलाविहीन छिनाझप्टीले जग हँसाइरहेको छ

नेपाली कांग्रेस १४औँ महाधिवेशनको संघारमा खडा छ । लोकतन्त्रप्रति आस्थावान् पार्टीका लागि महाधिवेशन ठूलो पर्वजस्तै हो । महाधिवेशनमा हुने सघन बहस र निष्कर्षले पार्टीलाई सयौँ वर्षसम्म निर्देशित गर्न सक्छ । आज हामीले महाधिवेशनमा उठाउने एजेन्डा, गर्ने बहस र निकाल्ने निष्कर्षमाथि दशकौँपछि समेत मूल्यांकन भइरहन सक्छ । त्यसैले हामीले महाधिवेशन कसरी गर्छाैं, यो पहिलो र महत्वपूर्ण सवाल हो । 

लोकतन्त्रको समृद्ध परम्पराको प्रतिनिधित्व गर्ने कांग्रेसको महाधिवेशनलाई लिएर छापामा जसरी विषयहरू उठिरहेका छन्, यसले कांग्रेस आफ्नो पार्टीजीवनको सबैभन्दा निराश र प्राणविहीन अवस्थामा बाँचिरहेको छ भन्ने बुझ्न कठिन छैन । किनकि, बहस विचारमा होइन, व्यक्तिमा केन्द्रित छ, कुनै नवीन विचार र दृष्टिकोणविना नै नेतृत्वका लागि भइरहेका कलाविहीन छिनाझप्टीले जग हँसाइरहेको छ । यस सन्दर्भमा नेता प्रदीप गिरिको भनाइ अझ सान्दर्भिक छ । ‘कांग्रेसले यस समय विचारधाराका ठाउँमा केही संस्कार, केही नारा, केही अपवाक्य, केही सित्तैँ र उधारो आएका दान, उपदान र महावाणीबाट काम चलाइरहेको छ ।’ यस स्थितिको तत्काल अन्त्य हुन आवश्यक छ । नेपाली कांग्रेसले नवजीवन पाउनका निमित्त भावनाको धरातलबाट उठेर सिद्धान्तको उचाइमा चढ्नुपर्छ, अर्थात् गतिशील हुनुपर्छ ।

कांग्रेसको विषय आउँदा बिपीको नाम कतै छुट्दैन, तर बिपीको व्यक्तित्व र विचारपद्धतिबारे यस वेला हामीलाई कुनै सरोकार छैन । बिपी गतिशील हुनुहुन्थ्यो, त्यसैले उहाँको चिन्तनमा पनि व्यापक फैलावट र गतिशीलता देखिन्छ । आफ्ना विचारलाई परिमार्जन र परिष्कार गर्न र दार्शनिक रङ दिन उहाँ काबिल हुनुहुन्थ्यो । उहाँले भिन्न–भिन्न परिस्थितिमा गान्धी, नेहरू र जयप्रकाश नारायणका विचारतर्फ पालैपालो छलाङ लगाउनुभयो । मार्क्सवादका कतिपय सार्वभौम मूल्यहरूको प्रशंसा गर्नसमेत उहाँ चुक्नुभएन । आफ्ना विचारलाई छाड्न सक्ने, नयाँ विचारलाई बहस र छलफलपछि आत्मसात् गर्न सक्ने विशिष्ट खुबी थियो, उहाँमा । त्यही कारण बिपीका पालामा कांग्रेसले पटक–पटक नयाँ जीवन पाउँथ्यो । नयाँ जीवनतर्फको त्यो गति कांग्रेसमा अहिले अवरुद्ध छ, पार्टी चिन्तन एवं विचारहीनताको गहिरो दलदलमा भासिएको छ । यसर्थ, आउने महाधिवेशनमा सबैभन्दा प्रखर रूपमा छलफल हुनुपर्ने विषय नै यही हो ।

बिपीका पालामा कांग्रेसले पटक–पटक नयाँ जीवन पाउँथ्यो । नयाँ जीवनतर्फको त्यो गति कांग्रेसमा अहिले अवरुद्ध छ, पार्टी मूल्य र विचारहीनताको गहिरो दलदलमा भासिएको छ । यसर्थ, आउने महाधिवेशनमा सबैभन्दा प्रखर रूपमा छलफल हुनुपर्ने विषय यही नै हो ।

मानव सभ्यताका सम्मुख यतिवेला केही खतराका संकेत देखिएका छन् । अहिले मान्छेले प्रविधि होइन, प्रविधिले मान्छे चलाइरहेको छ । मानव जीवनमाथि यसअघि इतिहासमै कहिल्यै प्रविधि यति साह्रो हावी भएको थिएन । सधैँ मान्छेले नै आफूअनुकूलमा प्रविधि चलाइरहेका थिए । अब तपाईंलाई के मन पर्छ वा मन पर्दैन, तपाईंले भन्दा बढी फेसबुकले थाहा पाउन सक्छ । कुन विचारधारा तपाईंको मस्तिष्कमा छिराउन सकिन्छ ? अब डाटामार्फत केही मान्छेले बन्द कोठाबाटै यो काम फत्ते गरिदिन सक्छन् । डाटा मान्छेमाथि शासन गर्ने सबैभन्दा ठूलो हतियार हुँदै छ । जर्ज अरवेलको उपन्यासमा जस्तै ठूलो दाइले कतैबाट हेरिरहनुभएको छ भनेजस्तै गरी मान्छेका गोपनीयता हनन भइरहेका छन् । समग्र मानव जातिको जानकारी सिलिकन भ्यालीका मुठ्ठीभर मान्छेका हातमा पुगिसकेको छ । यसले सबैभन्दा बढी क्षति लोकतन्त्रलाई नै गरिरहेको छ । अमेरिकाजस्तो मुलुकको चुनाव फेसबुकले प्रभावित गरेको आरोप लोकतन्त्रप्रति चिन्तित शोधकर्ताले लगाइरहेका छन् । तीव्र गतिमा घृणा फैलिएको छ । फरक मतप्रति असहिष्णुता बढ्दै गएको छ । मान्छे जताततै आक्रोशको पोका मनमा राखेर हिँडिरहेको छ । र, उसको आक्रोशको ज्वालामा सामाजिक सञ्जाल भन्ने जञ्जालले ऊर्जा थपिरहेको छ । 

लोकतन्त्रका केन्द्रहरूबाट नश्लवादी तथा दक्षिणपन्थीहरू सुनामीजसरी उठिरहेका छन्, दक्षिणपन्थीहरू चुनावबाटै विजयी भइरहेका छन् । संसारभरि धार्मिक, जातीय, नश्लीय, लैंगिक तथा साम्प्रदायिक विभाजन बढ्दै गएका छन् । चौतर्फी मूल्यहीनता बढेको छ भने व्यवस्थित र रणनीतिक चिन्तनको गम्भीर अभाव देखिइरहेको छ । इतिहासको दिशा नै बदल्ने सामथ्र्य राख्ने युवाका विचारलाई आज मिम र ट्रोलले निर्देशित गरिरहेका छन् । इजरायलमा इतिहास प्राध्यापन गरिरहेका युभल नोहा हरारी मान्छेको यो यात्राले उसको जातिको अस्तित्व नै लोप हुने खतरातर्फ औँल्याउँछन् । यस्तो अवस्थामा नेपाली कांग्रेसले संसारभरिबाट उठिरहेका संकटका आँधीलाई कसरी पार गर्ने ? विश्वव्यापी देखिएका यी गम्भीर संकटलाई शीतयुद्धकालीन केही जार्गन र वासी दार्शनिकीले अब काम चल्ने देखिँदैन । आजका विश्वव्यापी संकट (जुन नेपालका पनि संकट हुन्) हल गर्न हामी के गर्छौं ? महाधिवेशनमा छलफल हुनुपर्छ । महाधिवेशन गुट र गिरोहका बाँडचुँडमा गएर टुंगिनु हुँदैन । अहिलेदेखि नै सबै कांग्रेसीजनको ध्यान यतातर्फ जान आवश्यक छ, अन्यथा हामीले महाधिवेशनमा आफ्नै चिहान खनिरहेका हुनेछौँ ।

उदार प्रजातान्त्रिक मूल्य मान्यतामा देखिएको संकटलाई कोरोनाले अझै तेज पारिदिएको छ । विश्व पुँजीवादका केन्द्रहरूलाई कोरोनाले तहसनहस पारिरहेका कारुणिक दृश्य टेलिभिजनका पर्दामा दैनिक आइरहेका छन् । उनीहरू स्वास्थ्य संकटलाई व्यवस्थापन गर्नमा कमजोर र उत्तरदायित्व वहन गर्नमा उदासीन देखिए । नाफाको दौडमा उनीहरूले बनाएका भ्वाङ संकटले उधारिदिएको छ । अलोकतान्त्रिक सरकारहरू झनै बलिया देखिएका छन् र तिनले सडकमा हतियारका बलमा नागरिकको हुर्मत लिइरहेका छन् । वाक स्वतन्त्रता र मानवअधिकार कमजोर भइरहेको छ । राजनीतिक समस्याको फौजी समाधान खोज्ने प्रवृत्ति अझै बढ्ने देखिँदै छ । कोरोनाको यो महाव्याधिले विश्वको आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक तथा सामरिक शक्ति सन्तुलनलाई फेरबदल गर्ने प्रस्ट छ । १४औँ शताब्दीमा सिंगो युरोपलाई तहसनहस पार्ने ब्ल्याक डेथले पुँजीवादको उदय गराएको थियो । त्यस बखत पनि मानवीय मूल्यमा व्यापक उथलपुथल भएका थिए, मानव समाजले जीवन र जगत्लाई हेर्ने नयाँ दृष्टिकोण प्राप्त गरेको थियो । कोरोनाले ब्ल्याक डेथले जसरी नै आनकातान फरक पार्छ भनिहाल्ने अवस्था नभए पनि व्यापक उथलपुथलबाट हामी गुज्रिँदै छौँ भन्नेमा द्विविधा छैन । संघारमा आइरहेको उथलपुथललाई वैचारिक रूपमा कांग्रेसले कसरी व्याख्या गर्छ ? संकटहरूको सामना गर्ने वैचारिकी के हुनेछ ? हामीले महाधिवेशनमा छलफल गर्नुपर्नेछ । 

विश्वव्यापी मात्रै होइन, घरेलु संकटमाथि पनि हामीले मन्थन गर्नुपर्नेछ । नेपाली कांग्रेस त्यस्तो विशाल सूर्य बन्न सक्नुपर्छ, जसको आलोकमा कार्यकर्ताले आफ्नो जीवन र आफ्नो समयका अन्धकार पन्छाउन सकून् । कसैलाई उज्यालो दिन नसक्ने पार्टीको कुनै औचित्य छैन । कार्यकर्ताको जीवनसँग प्रत्यक्ष जोडिएका जटिल प्रश्नहरूको जवाफ पार्टीको दार्शनिकीले दिन सक्नुपर्छ । कुनै कांग्रेसी युवकका मनमा यो समय चलिरहेको हुन्डरी के हो र त्यससँग उसले कसरी जुध्नुपर्छ ? युवकका लागि कांग्रेससँग जवाफ हुनुपर्छ । राष्ट्रिय जीवनमा हस्तक्षेप गर्ने पार्टी भएकाले कांग्रेसको दृष्टि आफ्ना कार्यकर्तामा मात्रै सीमित भएर हुँदैन, साम्यवादको रुमानी सपनामा आफ्नो बैंस खेर फालिरहेका युवालाई वैचारिक दृष्टिभ्रमबाट मुक्त गर्न कांग्रेसले के गर्छ ? कम्युनिस्ट पार्टीका इमानदार तर वैचारिक दृष्टिभ्रमको सिकार युवाका लागि कांग्रेससँग जवाफ हुनुपर्छ । पानीपँधेरामा किन अझै पनि दलित कुटिइरहेका छन् र त्यसको समाधान के हो ? पार्टीले यो अमानवीयताको प्रतिकार ठोस रूपमा कसरी गर्छ ? दलितहरूका लागि कांग्रेससँग जवाफ हुनुपर्छ । असमानता चौतर्फी बढिरहेको छ, मुठ्ठीभर मान्छे मात्र धनी भइरहेका छन् । अहिले पनि श्रम गर्नेहरू अपमानित छन्, श्रम लुट्नेहरू शक्तिशाली कम्युनिस्ट सरकारका मन्त्री फेर्ने हैसियतमा छन्, दुईतिहाइको सत्तालाई कठपुतली बनाउने सामथ्र्य बनाइरहेका छन् । यो शोषण र दलालीको दुष्चक्रबाट मुक्ति कसरी सम्भव छ ? समाजवादी कांग्रेससँग श्रमिकहरूका लागि जवाफ हुनुपर्छ । 

समय आर्टिफिसियल इन्टेलिजेन्सको छ, श्रम बजारबाट लाखौँ मान्छेलाई रोबर्टले विस्थापित गर्ने दिन हाम्रा आँखैअगाडि आइपुग्न धेरै समय बाँकी छैन । आज हुर्किरहेका र भोलि विकराल बेरोजगारी सामना गर्नुपर्ने बालबालिकाका लागि कांग्रेससँग जवाफ हुनुपर्छ । अन्तरजातीय विवाह गरेकै कारण दानवीय अत्याचार भोगेका प्रेम जोडीका आक्रोशका अघि उभिएर दिने जवाफ कांग्रेससँग हुनुपर्छ । कुल गार्हस्थ्य उत्पादनमा एकतिहाइको योगदान गर्ने, कृषि धानेका किसान मल नपाएर छटपटाइरहेका छन् र कृषिमन्त्री पाँचतारे होटेलका वातानुकूलित कोठामा पार्टीका दुई अध्यक्ष मिलाउने रणनीति बुनिरहेका छन् । 

कुल गार्हस्थ्य उत्पादनमा एकतिहाइको योगदान गर्ने कृषि धानेका किसान मल नपाएर छटपटाइरहेका छन् र कृषिमन्त्री पाँचतारे होटेलका वातानुकूलित कोठामा पार्टीका दुई अध्यक्ष मिलाउने रणनीति बुनिरहेका छन् । सत्ताको कोर्रा लागेर छटपटाइरहेको घाइते किसानलाई हात समातेर उठाउने एजेन्डा कांग्रेससँग हुनुपर्छ ।

सत्ताको कोर्रा लागेर छटपटाइरहेको घाइते किसानलाई हात समातेर उठाउने एजेन्डा कांग्रेससँग हुनुपर्छ । सिंगो कम्युनिस्ट पार्टीले माथिदेखि तलसम्म ब्रह्मलुट चलाइरहेको समय इमानको अदालतमा सतिसालझैँ उभिन सक्ने निष्ठावान् नेताहरूको विशाल पंक्ति कांग्रेससँग हुनुपर्छ । पाँच वर्षमा आउने एउटा चुनावमा प्रजातन्त्रका लागि भन्दै भोट माग्ने कार्यकर्ता होइन, गाउँका चोक, चौतारामा उभिएर यो युगमा मानव जातिले सामना गरिरहेका गम्भीर चुनौतीमाथि चिन्तन गर्न सक्ने ऊर्जावान् युवा अभियन्ताहरूको विशाल डफ्फा कांग्रेससँग हुनुपर्छ । सानो झोला पिठ्युँमा बोकेर पञ्चायती कालरात्रिसँग जुध्ने कांग्रेस नेताहरू मध्यराति जनताका मझेरीमा ढिँडो खाएर संगठन बनाउँथे । आज पार्टी र प्रजातन्त्रप्रति त्यतिकै निष्ठा, आस्था भएका अविचलित कांग्रेस योद्धाहरूले मात्रै कम्युनिस्ट सर्वसत्तावादसँग लड्न सक्छन् । त्यसैले गाउँ चिनेका र किसानलाई बुझेका कुशल संगठकहरूको समृद्ध फौज कांग्रेससँग हुनुपर्छ । 

कुनै पनि राजनीतिक पार्टीसँग स्पष्ट पक्षधरता हुन जरुरी छ । कांग्रेस कस्तो र कसको पार्टी हो ? हामीले आधारभूत प्रश्नबाट छलफल सुरु गर्नुपर्नेछ । कुनै समय कांग्रेस शैलजा आचार्य, नोना कोइराला र मंगलादेवी सिंहहरूको पार्टी थियो, अहिले यो निर्मला पन्त र बोक्सीको आरोपमा हत्या गरिएकी ढेगनीदेवी महतोहरूको पार्टी बन्न सकेको छ कि छैन ? कांग्रेसका दिग्गज नेताहरूले आफ्नो उर्वर समय मधेसमा बिताएका छन् । त्यो कांग्रेस मधेसको कांग्रेस थियो । अहिले उग्र राष्ट्रवादको दुन्दुभी बजाउँदै सत्ताले मधेसीसँग राष्ट्रभक्तिको डिएनए परीक्षण गरेर हुर्मत काढिरहेको छ, कांग्रेस आफ्नै देशमा अपमानित मधेसीको पार्टी हो कि होइन ? मधेसले बुझ्ने भाषामा कांग्रेसले महाधिवेशनबाट जवाफ दिनुपर्नेछ । प्रहरी हिरासतमा अकारण मारिएका शम्भु सदाको पार्टी हो कि होइन, कांग्रेस ? हामीले जवाफ दिनुपर्नेछ । ‘हामीभित्र म, सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेस’ भनेर नारा लगाउने हामी साँचो अर्थमा जातको भेलले भेरीमा बगाएका नवराज विकको पक्षमा उभियौँ कि उभिएनौँ ? हामीले आफैँलाई पनि प्रश्न गर्नुपर्नेछ । नेपाली कांगे्रस बाढीमा डुबिरहेका, पहिरोमा परिरहेका, भोकमरी सहिरहेका, भूकम्प तथा कोरोनाजस्ता विपत्तिमा संघर्ष गरिरहेका जनताको आवाज अटाउने पार्टी बन्न सक्यो कि सकेन ? आफूलाई निर्मम आलोचना गर्दै हामीले पार्टीको पक्षधरता अझ स्पष्ट पार्नुपर्नेछ । 

मानव सभ्यताले अस्तित्वमाथि नै चुनौती सामना गरिरहेको यो समय सरकार भने स्वास्थ्य सामग्री खरिद गर्दासमेत अनियमितता गरिरहेको छ । मानव स्वास्थ्य जाँच्ने किटमा घुसखोरी गर्ने यो सत्तालाई सम्भवतः इतिहासले सबैभन्दा नालायक र अमानवीय सत्ताका रूपमा युगौँसम्म दुत्कारिरहनेछ । भविष्यका अगाडि ठाडो शिर गरेर उभिनसमेत नसक्ने सरकारले जनतालाई शासन गरिराख्दा प्रतिपक्षका रूपमा कांग्रेस के गर्दै छ ? आफैँप्रति प्रश्न सोध्न हामीले बिर्सियौँ भने इतिहासले पनि हामीलाई बिर्सिदिनेछ । हेक्का रहोस्, संवैधानिक नियुक्तिमा भाग खोज्न अञ्जुली थापेर बालुवाटार प्रवेश गर्ने नेतृत्वले कांग्रेसलाई अवसानतर्फको बाटोमा मात्रै अग्रसर गराउँछ । त्यसैले हामीले महाधिवेशनमा हाम्रो प्रतिपक्षी भूमिकाको पनि मूल्यांकन गर्नुपर्नेछ । जनवादको सपनामा रक्तपातको बाटो हिँडेका कम्युनिस्टहरू आफ्नो उग्रता त्यागेर धमाधम शान्तिपूर्ण बाटोमा आउँछन् भने त्यो कांग्रेस विचारको विजय हो । कांग्रेसको लोकतन्त्रको विचारले विजय हासिल गरेकै समय हामी निर्वाचनमा भने किन पराजित भइरहेका छौँ ? 

अहिले हामी वैचारिक तथा दार्शनिक संकट बेहोरिरहेका छौँ । कम्युनिस्टको अधिनायकवादी बाटो र नवउदारवादी पुँजीवादको अग्घोर असमानताको बाटो यी दुवैदेखि हामीले कसरी प्रजातान्त्रिक समाजवादको बाटोलाई अलग राख्न सक्छौँ ? कांग्रेस कार्यकर्ताका हजारौँ मस्तिष्क एकै ठाउँमा राखेर हामीले महाधिवेशनमा मन्थन गर्नुपर्नेछ । 

कांग्रेसलाई आसन्न संकटबाट बचाउने हो भने हामीले नेपाली समाजसमक्ष वैकल्पिक दार्शनिकी प्रस्तुत गर्नुपर्नेछ । विश्लेषक विष्णु सापकोटाले भर्खरै लेखेको आलेखमा जस्तै नेपालमा कांग्रेस किन आवश्यक छ भनेर सबैले बुझ्ने भाषामा प्रस्ट बौद्धिक व्याख्या दिन जरुरी छ । हामीले नयाँ आशा र उमंग समाजमा सञ्चार गराउन सक्नुपर्छ । त्यसैले महाधिवेशनको सम्मुखमा अहिले कुन खानदानले कांग्रेस कब्जा गर्ने भनेर जसरी कच्चा प्रस्तुति नेताहरूबाट आइरहेका छन्, त्यो नै सबैभन्दा विडम्बनापूर्ण परिदृश्य हो । समाजबाट आधारभूत प्रश्नहरू टिपेर तिनको बौद्धिक र दार्शनिक जवाफ खोज्न ढिला भइसकेको छ । कांग्रेस पुनर्जागरणको एक मात्र विकल्प यही हो ।