कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि देशको सबैभन्दा ठूलो इन्धन आपूर्ति डिपो अमलेखगन्ज डिपो तीन दिनका लागि बन्द गरिएको छ।

अमलेखगन्ज डिपोमा कार्यरत ६ जना कर्मचारीलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको हो। कर्मचारीमा कोरोना पुष्टि भएसँगै अमलेखगन्ज डिपो तीन दिनका लागि बन्द गरिएको नेपाल आयल निगमले जनाएको छ। 

यसैगरी अमलेखगन्ज डिपोअन्तर्गत नै रहेको वीरगन्ज कार्यालयका तीनजना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ। वीरगन्ज कार्यालय पनि तीन दिनका लागि बन्द गरिएको छ। 

दुवै कार्यालयमा कर्मचारीहरुको पीसीआर परीक्षण गर्ने तयार भइरहेको निगमले जनाएको छ। संक्रमित कर्मचारीहरुलाई भने आसोलेसनमा राखिएको छ। 

त्यसो त अमलेखगन्ज डिपोमा पर्याप्त इन्धन मौज्दात रहेकोले पेट्रोलियम पदार्थको अभाव नहुने निगमले विश्वास दिलाएको छ। यो डिपोबाट विशेष गरी काठमाण्डौ, पोखरालगायतका मुख्य सहरमा इन्धन वितरण हुँदै आएको छ। 

डिपोका कर्मचारीमै संक्रमण देखिएपछि डिपो सुचारु गर्न काठमाण्डौबाट टोली पठाउने तयारी निगमले गरेको छ।