सुजिता उपमन्यु ढकाल
धोती नलगाए नि हुन्छ कुर्था लगाउनु नि
बाहिर निस्किँदा सिउँदो खाली नराख्नु
हातमा एउटा एउटा भएनी चुरा लगाउनु
यहाँँ जाँदा हुन्छ त्यहाँ जान हुन्न बार लगाइदिन्छौ
अनी भन्छौ तिमी ;हामी ओपन माइन्डेड मान्छे।।
कहिले काँही साथीभाइ भेट्न
जान पनि दिन्छौ
फर्किँदा अबेर गर्न पाइन्न जाउ
जागिर खाउ पनि भनिदिन्छौ
थाकेर आएको शरीरले एक रास भाँडा माझ्दै गर्दा
अनी भन्छौ तिमी ;हामी ओपन माइन्डेड मान्छे।।
कहिले काँही ढिला उठ्दा
झुक्किएछौ भन्दै कराउँदैनौ
तर रजस्वलाको बेलामा छोएको
भान्सा गएको पटक्कै मन पराउँदैनौ
छाउ गोठमा जाउ भन्या त छैन नि
अनी भन्छौ तिमी ;हामी ओपन माइन्डेड मान्छे।।
तिमीलाई तिमी भन्न नपाउने
घरको ठुलाले के भन्नु हुन्छ ??
मलाई चाहीँ तँ को सम्बोधन मज्जाले गर्न पाइने
मायाले हो के लाटी भन्न नि भ्याउँछौ अझै
अनी भन्छौ तिमी ;हामी ओपन माइन्डेड मान्छे।।
म पनि एड्जस्ट गरिदिन्छु
जिन्दगी भरिको साथ
जीवनसाथी भन्दै
अनी एड्जस्ट एड्जस्ट एड्जस्ट
तर अब सोध्छु
मलाई मेरै अधिकार दानमा दिने तिमी को हौ?
तिमीले दिएको मात्र
मैले हात थाप्ने भए
म को थिएँ ; को हुँँ ;
को हुनेछु भन्ने कुरा मेरा शब्दकोशबाट
च्यातेर कुनामा मिल्काइदिन्छु अनी सोध्छु
मलाई सिउडो स्वतन्त्रताको जालमा राख्ने तिमी को हौ?
म जिन्स मन पर्नेलाई
चुरालाई हतकडीझैँ मान्नेलाई
सिन्दुरलाई फगत रातो रङ मान्नेलाई
भगवान र पूजामा विश्वाश नगर्नेलाई
सिमारेखा यत्ती हो भनेर
दर्जनौ पाठ पढाउने तिमी को हौ ?
यदी सम्बन्धमा शर्त लागु हुन्छ भने
त्यो सम्बन्ध हैन हिसाब किताब हो
मेरो लुगाको च्वाइस
मेरो कमाइ मेरो स्वतन्त्रतासँग
तिम्रो खोक्रो आत्मसम्मान
जोड्नुनै तिम्रो गलत सोच हो।।
तिम्रो प्रेमको ढाडसमा
मेरो स्वतन्त्रताको घाँटी निमोठ्ने काम नगर
मेरो वरिपरि हैन
तिम्रो दिमागको वरिपरि सिमारेखा बनाउ मेरो
पखेटा काट्न बन्द गर
असीमित उडान मेरो रोकिने छैनन् कहिले पनि ।।